प्रतिबन्धविरुद्ध सिर्जनात्मक प्रतिरोध

समय समीक्षा

- अशोक सुवेदी

यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त
यो त साह्रै बेइज्जत भो, यो त सारै सरम भो
देश बेच्नु हुन्न भन्दा गोली चलाउने
भ्रष्टाचार भयो भन्दा जेल पठाउने
तस्करी बढ्यो भन्दा अतिवादी देख्ने
बलात्कारको विरोध गर्दा उग्रवादी देख्ने
मुलुकमा कम्युनिस्ट नामधारीहरूको दुर्गन्धित र बदनाम शासन छ । कम्युनिस्टको मुखुन्डो लगाएर उनीहरू कम्युनिस्टमाथि नै दमन गरिरहेका छन् । यस्तो अवस्थामा माक्र्सवादी स्रष्टाहरू उद्वेलित छन् । नेकपाका महासचिवसमेत रहेका स्रष्टा विप्लवले वर्तमान अवस्थाको सूक्ष्म चित्रण गर्दै लेखेका गीतका हरफ हुन् यी । कम्युनिस्टको झन्डा र ब्यानरमा कम्युनिस्टहरूमाथि नै शोषण, दमन र व्यभिचार गर्ने कदमका विरुद्ध उनी अघि लेख्छन् :
शान्तिपूर्ण सभा पनि गर्न नपाउने
जनताका आवाजहरू, बोल्न नपाउने
विदेशीको पाउमा तेल लगाउने
योद्धाहरूको पाउमा नेल लगाउने
देश कङ्गाल भयो । भ्रष्टाचार बढ्यो । राष्ट्रघात भयो । दलालहरूले जनतामाथि शासन लादिरहेका छन् भनेर देश र जनताको मुक्तिका लागि क्रान्ति अघि बढाइरहेको पार्टी नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित यतिबेला करिब तीन सय नेता–कार्यकर्ता कम्युनिस्ट नाउँको सरकारको नेल, हतकडी बोकेर जेल र हिरासतमा छन् । मुलुकमा लोकतन्त्र, सङ्घीयता, गणतन्त्र आयो भनिएको छ तर यही व्यवस्थाको संविधानमा लेखिएअनुसार आफ्ना माग र असहमति राखेर सभा, जुलुससम्म गर्न दिइएको छैन । घरमा सुतिरहेका मानिसलाई अपहरण गरिएको छ । बिरामी आमाका लागि औषधी किन्न औषधी पसलमा गएको छोरालाई हिरासतमा पुर्याइएको छ । एनसेलले राज्यलाई कर तिर्नुपर्छ भनेर माग गर्ने पार्टीका नेता र कार्यकर्तालाई जेलमा सडाइएको छ । यस्तो अवस्थामा स्रष्टा विप्लवका गीतका यी पङ्क्तिहरू सरकारी ज्यादतीविरुद्ध ब्रह्मास्त्रजस्ता लाग्छन् : 
सर्वहारा भन्दै, अर्बपति बन्दै
कम्युनिस्ट हो भन्दै, पुँजीवादी बन्दै
सुविधाको कुरा मात्रै कागजमा लेख्ने
करमाथि कर थपी जनतालाई सेक्ने
यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त
यो त साह्रै बेइज्जत भो, यो त सारै सरम भो
लाज र सरम त इमानदार र जिम्मेवारहरूलाई मात्र हुन्छ । बेइमान र बुझपचाहाहरूलाई के लाज, के सरम ? देश बचाऊ भनेर आन्दोलन गर्नेलाई देशद्रोही करार गर्दै जेल पठाउने सरकार र व्यवस्थाले सबै लाज, सरम र इमान पोलिपकाई खाइसकेको छ । यस्तो अवस्थामा जिम्मेवार स्रष्टाहरू बोल्नुपर्छ । आन्दोलित बन्नुपर्छ ।

स्रष्टाहरू अत्यन्त संवेदनशील हुन्छन् । संवेदनशील मात्र होइन, उनीहरू न्यायका पक्षपाती पनि हुन्छन् र त्यसका लागि विद्रोही पनि हुन्छन् । न्यायका पक्षमा लेखेकै र बोलेकै कारण संसारकै न्याय प्राप्तिका आन्दोलनहरूमा सयौँ–हजारौँ संस्कृतिकर्मी– स्रष्टाले दासताको होइन, बलिदानको बाटो रोजेका छन् । नेपाली आन्दोलन, विद्रोह र युद्धहरूमा पनि सयौँ स्रष्टाले विद्रोह र बलिदानको बाटो रोजेका छन् ।

वर्तमानमा मुलुकमा राजनीतिक–सांस्कृतिक प्रतिक्रान्ति भएको छ । अर्थिक प्रतिक्रान्ति भएको छ । जनताको टाउकोमाथि दलालहरूले शासन गरिरहेका छन् । प्रतिक्रान्तिकारीहरूका त कुरै छोडिदिऊँ, हिजोसम्म पनि आफूलाई क्रान्तिका पक्षपाती हौँ भनेर चिनाउन खोज्ने कयौँ स्रष्टाहरू यतिबेला प्रतिक्रान्तिकारी सत्ताको पक्षपोषणमा भजन गाइरहेका छन् । सामान्य सडक सङ्घर्षबाहेक जोखिमपूर्ण आन्दोलन र युद्धहरूमा सरिक नभएका त्यस किसिमका स्रष्टाहरू आफूलाई सत्ताको भाट भनाउँदा यतिबेला गौरवबोध गरिरहेका छन् र एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको बेला त्यसका विरुद्ध चूँसम्म नबोलेर वा उल्टै समर्थन गरेर रोम जल्दा बाँसुरी बजाएर मक्ख भइरहेको राजा निरोझैँ सत्ताको ताबेदारी गर्नमै मस्त र व्यस्त देखिन्छन् । यसो भनेर सबै स्रष्टाहरूमा विद्रोही चेतनाको अन्त्य भइसक्यो भन्न खाजेको होइन । माक्र्सवादी स्रष्टाहरूको एउटा सुन्दर ताँती राजनीतिक र सांस्कृतिक प्रतिगमनका विरुद्ध लेखनीदेखि सशरीर प्रतिरोधकर्ममा होमिइरहेकै छ ।

यतिबेला सत्ताले क्रान्तिका आवाजमाथि प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्धित मौसमलाई चुनौती दिँदै प्रगतिवादी स्रष्टा÷संस्कृतिकर्मी डा. रामप्रसाद ज्ञवालीले सत्तालाई बलियो चुनौती दिएका छन् :
‘क्रान्तिकारीहरूलाई छेक्नू, थुन्नू, दबाउनू !
बिल्ला आतङ्कको टाँस्नू, सकेको यातना दिनू !
नकरा जनता नाथे ! तँ बोलेको बढी भयो !’
प्रतिबन्ध लगाएर नीरोज्यू सुकला भयो !

यतिबेला यो सत्तालाई दलाल सत्ताको संज्ञा दिँदै र हिजो सँगै जनयुद्ध लडेका तर आज आफ्नो वर्गलाई छोडेर दलाल पुँजीपति वर्गमा पतीत भएका नेताहरूलाई दलाल तथा गद्दार घोषणा गर्दै क्रान्ति सम्पन्न गर्न बल प्रयोगको सिद्धान्त लागू गर्न कस्सिएको शक्ति नेकपालाई प्रतिबन्धित घोषणा गरिएको समयमा डा. ज्ञवालीको कविताले उचाइ र गहिराइबाटै प्रत्याक्रमण गरेको छ । देश क्रमशः जर्जर र सङ्कटग्रस्त बनिरहेको छ तर यतिबेला शासकहरू भने कथित दुई तिहाइको फुइँ लगाएर जनता र क्रान्तिकारी चेतनामाथि प्रतिबन्ध लगाउन उद्यत रहेको यथार्थलाई कवि ज्ञवालीका कविताका यी शक्तिशाली हरफहरूले बज्रमुक्का प्रहार गरेका छन् ः
‘मेरो विरुद्धमा लाग्ने समात्, कोच् जेलमा सबै !
कवि होस् वा कलाकार मुद्दा हाल् ती नछोड् कुनै !’
भनेर प्रहरीलाई सत्ताधारी खुसी भयो !
कविलाई थुनाएर नीरोज्यू सुकला भयो !

आज कवि, कलाकार, पत्रकार, राजनीतिकर्मी, मजदुर, किसान, महिला, युवा गरी करिब तीन सयजना यो सत्ताको जेल र हिरासतमा कैद छन् । लुटिएको देश र अन्यायमा परेको श्रमिक वर्गलाई मुक्त गर्ने नारासहित क्रान्तिमार्गमा लागेका उनीहरूलाई आतङ्ककारी र अपराधीजस्तो व्यवहार गरिएको छ भने अधिकांशलाई राज्यविप्लवको मुद्दा लगाइएको छ । एउटा कविले कविता लेख्दा, एउटा पत्रकारले समाचार लेख्दा, एउटी महिला, एउटा युवा वा एउटा मजदुरले आफ्नो मुक्तिका पक्षमा भित्तामा नारा लेख्दा राज्यविप्लव देख्ने यो सरकार, सत्ता र व्यवस्था कति कमजोर रहेछ भन्ने बुझ्न कुनै गाह्रो छैन । कवि ज्ञवाली भन्छन् : 
‘तँ जाबो गर्न के सक्छस् लेखेर कविता बता !
लेखिस् यो कविता तैँले ! जनताका भनिस् व्यथा !
नचिच्च्या कवि ए खाते ! तेरो फुर्ती बढी भयो !’
सिङ्गै बँदेल खाएर नीरोज्यू सुकला भयो !

सत्य बोल्ने र विद्रोहका पक्षमा वातावरण बनाउने भनेर प्लेटोले नै कविलाई देशनिकाला गर्नुपर्ने प्रस्ताव राखेका थिए रे । यी प्लेटोका उत्तराधिकारी र निरोका सन्तानहरूले पनि स्रष्टा र सर्जकहरूलाई लेख्न, बोल्न र हिँड्न प्रतिबन्ध लगाएका छन् । राणाशासकहरूलाई मकैमा लाग्ने वा मकैरूपी जनता खाने रातो र कालो टाउके कीराको सङ्ज्ञा दिएर बेलायती कुकुरको नामले सम्बोधन गरेको आरोपमा यस्तै प्रतिबन्धित जेल जीवन बाँचिरहेका सुब्बा कृष्णलालले झन्डै एक सय वर्षअघि विसं १९८० मा जेलबाटै उद्घोष गरेका थिए : 
संसारमा कीर्ति छ धेर ठूलो
कीर्तिबिना बन्दछ जीव लूलो ।।
संसार छोडे पनि हेर क्वै दिन् ।
आउनेछ यौटा जनतन्त्रको दिन ।।

कृष्णलालले जनतन्त्रको दिन आउनेछ तर निरन्तर सङ्घर्षमा लागिरहनुपर्छ भनेको ८० वर्षपछि शाहीसत्ता र त्यसका रक्षक बनेका शेरबहादुर देउवाहरूले स्रष्टा कृष्ण सेन ‘इच्छुक’ लाई महेन्द्र पुलिस क्लबभित्र कुटीकुटी हत्या गरे/गराएका थिए । इच्छुकले मारिनुअघि उद्घोष गरेका थिए : 
लामो अँध्यारो रातपछि
झलमलाउने उज्यालो प्रभातजस्तै
आजको कालो अँध्यारो चिरेर
हाम्रो आस्थाको साम्यवाद
एक न एक दिन जरुर झुल्कनेछ
हाम्रो निष्ठाको बीजबाट
एक न एक दिन जरुर
नयाँ जीवनको नवाङ्कुर फुट्नेछ
र एक न एक दिन जरुर
हाम्रो सुखद र ऐश्वर्यपूर्ण भविष्यको
सुन्दर सयपत्री फुल्नेछ
साँचो अर्थमा जबसम्म
मानिस–मानिस बन्न सक्नेछैन
साँचो अर्थमा जबसम्म
जीवन–जीवन बन्न सक्नेछैन
र साँचो अर्थमा जबसम्म
आजको यो कुरूप धर्ती
मानव जातिको सुन्दर बस्तीमा बदलिन सक्नेछैन
तबसम्म जारी रहनेछ
सुन्दर संसार निर्माण गर्ने हाम्रो सङ्कल्पको यात्रा
तबसम्म जारी रहनेछ
साझा संसार निर्माण गर्ने हाम्रो सङ्घर्षको यात्रा
र एक न एक दिन जरुर
हाम्रो विश्वासको सभ्य संसार
हाम्रो गुलाफी विपनामा फेरिनेछ
र यो एक्काईसौँ शदी हाम्रो मुक्तिको महान् शदी हुनेछ
र यो तेस्रो सहस्राब्दी
हाम्रो विजयको महान् सहस्राब्दी हुनेछ ।

इच्छुकले यो सहश्राब्दी श्रमिकको मुक्तिको सहश्राब्दी हुने उद्घोष गरेर बलिदानको बाटो रोजेको पनि दुई दशकको सँघारमा पुग्न लागेको छ । त्यही यात्रामा लामबद्ध कतिपयहरू यतिबेला सत्तामा छन् र विद्रोहीहरूमाथि प्रतिबन्ध लगाइरहेका छन् । यो अवस्थालाई चित्रण गर्दै डा. ज्ञवाली कवितामा लेख्छन् : 
‘मै हुँ राज्य तथा न्याय ! न्यायाधीश सबै म हुँ !
धर्मशास्त्र, प्रजातन्त्र, संविधान सबै म हुँ !
चुप्प लाग् जनता पाखे ! आज्ञा सम्राटको छ यो !’
तानाशाही चलाएर नीरोज्यू सुकला भयो !
अहङ्कार र उन्माद नीरोज्यूका निकै चले !
अत्याचार झुटा मुद्दा भ्रष्टाचार निकै बढे !
नीरोको सुकलायात्रा प्रजालाई असह्य भो !
सुताएछन् सदानिम्ति– नीरोज्यू सुकला भयो !

सडकबाट निरोज्यूहरूको प्रतिगामी चेतनाका विरुद्ध सिर्जनाको हुँकारले प्रतिरोध गर्ने स्रष्टाहरूको जमात बढिरहेको छ । यतिबेला राज्य विप्लवको झूट्टा मुद्दा खेपिरहेका रसुवाली कविले आफू गिरफ्तार हुनुअघि लेखेको कविताको एउटा अंश यस्तो छ : 
हाँगाहरूमा वसन्त पलाउन लागेको बखत
म उक्लेको छु तिम्रो गाउँ खुर्कोट
कसैले हल्लाउन नसक्ने
एक थान लालसलाम बोकेर
शोकलाई शक्तिमा बदलिरहेका साथीहरू
भिमान जङ्गलमा हराएका योद्धाहरू
सूर्यको तातो बोकेर हिँडेका राता मान्छेहरू
एक्काईसौँ शताब्दीका आजादी गीतहरू
यो मृत्युलाई पनि लतारी हिँड्ने सहिदको गाउँ
यतै कतै खोजिरहेछु आँधी हिँड्ने बाटो
ओ प्रिय मान्छे !
ओ प्यारो कमरेड
ओ ऋषि देवकोटा ‘आजाद’
सम्बोधनका कुनै बान्कीहरू छैनन् मसँग
श्रद्धाञ्जलीका कुनै भाकाहरू छैनन् मसँग…

मुक्तिको सपना देखाउने हिजोका नायकहरूले रातारात खलनायक बनेर सहिदको सपनामाथि तुसारापात गर्दै देश, जनता र वर्गलाई धोका दिएपछि कविचेतना हिजो निरङ्कुश राणाशासनदेखि पञ्चायतकालीन र जनयुद्धकालीन सहिदहरूको चिहानको भग्नावशेष खोतल्न सहिदबस्तीहरूमा पुगिरहेको छ । हिजो नेताहरूले देश र जनतामाथि घात गरेपछि अब जनतालाई स्रष्टाले सम्बोधन गर्नुपरेको छ– अब सहिदहरूको रगतको अपमान हुनेछैन । अब सहिद र बेपत्ता योद्धाहरूको बलिदानको हत्या हुनेछैन । क्रान्तिको निरन्तर यात्रा जारी छ । यही अवस्थालाई चित्रण गर्दै अर्का सशक्त प्रतिरोधी कवि बीपी विद्रोही कविताबाटै धावा बोल्छन् : 
हाम्रो शासन अलि पारि छ आमा त्यसैले
त्यसैले खोला तर्ने क्रम जारी छ आमा
आजकल किन दुब्लाइस् छोरा भनेर नसोध्नू
पिठ्यूँमा परिवर्तनको ठूलो भारी छ आमा
भ्रष्ट र दलालहरूले यो देश निल्न लागिसके
जसै यो देशलाई बचाउने जिम्मेवारी छ आमा
सजिलो त कहाँ छ र म हिँडेको गन्तव्य नि
बाटोभरि चिथोर्ने काँडाहरूको घारी छ आमा

संसार जित्ने यात्रा जतिसुकै कठिन भए पनि योद्धाहरू त्यही यात्रामा लम्किरहेकै छन् । योद्धाहरूको विश्वासिलो यात्राकै कारण त शासकहरू डराएका र गलेका छन् नि ! नत्र किन लगाउँथे एउटा भरियामाथि, एउटी घाँसेमाथि, एउटा लेखकमाथि प्रतिबन्ध । जब शासकहरू लगलग काँप्न थाल्छन् विद्रोहदेखि तब उनीहरू जे देखे पनि डराउँछन् पागल कुकुर पानीदेखि डराएझँै । एउटा कविताको हरफलाई पनि बन्दुक देख्छन् । एउटा घाँस काट्ने हँसियालाई पनि पनि आफ्नो मृत्युको कारक देख्छन् । त्यसैले उनीहरू त्यसमाथि प्रतिबन्ध लगाउँछन् । कवि कल्पना पौडेल ‘जिज्ञासु’ क्रान्तिप्रतिको आफ्नो प्रतिबद्धता यसरी व्यक्त गर्छिन् : 
तिमी आफ्नो लक्ष्यमा पुग्न चाहन्छौ भने
निरन्तर हिँड्दै जाऊ
चाहे बाटोभरि धारिला तरबारहरू नै
किन बिछ्याइएका नहोऊन्
घाउको कुनै परबाह नगरी
दृढ विश्वासका साथ
लामो यात्रामा हिँडिराख
यस्तो सुन्दर संसारको
कल्पना गर
जहाँ कुनै जातीय भेदभाव नहोस्
वर्गरहित व्यवस्था होस्
योग्यताअनुसारको काम
अनि कामअनुसारको दाम
यात्रा जतिसुकै कठिन भए पनि
यिनै सपना बोकेर
गर्दै अगाडि बढ्दै जाऊ गन्तव्यमा
क्रान्तिप्रतिको निरन्तर र अगाध आस्थाबाट मात्र लक्ष्यमा पुग्न सकिन्छ, सुन्दर समाज, साम्यवादमा पुग्न सकिन्छ । त्यसका लागि बाटामा आइपर्ने जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार हुनुपर्छ भन्ने जिज्ञासुको सिर्जनात्मक विचार देखिन्छ । वर्गसङ्घर्षको बाटोबाट समानतामूलक समाज निर्माण गर्ने महान् उद्देश्य सफल पार्न बाटामा आइपर्ने सानातिना बाधाव्यवधानहरूको सामना गर्न क्रान्तिकारीहरू प्छि हट्नु हुँदैन भन्ने सन्देश क्रान्तिकारी आशावादी सन्देश हो । यसलाई योद्धाहरूलाई लक्ष्यसम्म पुग्न मद्दत गर्छ । कवि विष्णु अद्वितीय भन्छन् : 
गला निमोठिन्छ
आवाज बन्द गर्न
आँखा फुटाइन्छ
नजर बन्द गर्न
मस्तिष्क चिथोरिन्छ
विचार बन्द गर्न
तर यिनीहरू यो पनि बुझ्दछन्–
एक गला निमोठे
अर्को तीखो आवाज बुलन्द हुन्छ
एक आँखा फुटाए
अर्को घातक नजर देखा पर्छ
एक मस्तिष्क चिथोरे
अर्को धारिलो विचार जन्मन्छ
हो, विचारमाथिको प्रतिबन्ध शासकहरूकै लागि प्रत्युत्पादक बन्दैछ र बनिरहेको छ । हिजो हेलाहोचो गरिएकाहरू आज फेरि क्रान्तिमा लामबद्ध बनिरहेका छन् । किनकि कवि आरपी तिम्सिनाले भनेझैँ आज सिङ्गो समाज आमूल परिवर्तनको बाटोमा, एकीकृत जनक्रान्तिको बाटोमा निरन्तर अघि बढिरहेको छ । कवि तिम्सिनाको कविताका केही हरफ : 
यी सबै अपमानका घाउ पखाल्न
थाकेका मनहरूलाई सञ्जीवनी दिने
पूर्व क्षितिजमा रातो हुँकार दिँदै
विद्रोहको विगुल बज्यो
दासताका जञ्जिर च्यात्दै
सारा निमुखाहरू एकजुट भए
मैले पनि धाराको पानी
अघाउन्जेल पिउन
स्वाभिमान जीवन जिउन
मन्दिरको देवता बेरिएको खोल उतार्न
हाम्रै हस्तीहाडले बनेका
सनातनी महलहरूमा
विद्रोहको मशाल झोस्न र
मेरै पौरखबाट बनेको
घन बजार्न कम्मर कसेको
म उही क्या !
रूप र चोला फेरेको
उहिले मलाई भकुर्ने साहूको
घर रातामान्छेसँगै ‘सेबोटेज’ गरेको
उहिलेको धनबिनाको धने कामी
उही क्या ! म धने अर्थात् कमरेड विद्रोही !

यसरी आज प्रतिबन्धका विरुद्ध समग्र समाज प्रतिरोधमा जुटिरहेको छ, जुर्मुराइरहेको छ । केही पात्रहरू ‘समाजवाद आयो’ भन्दै अलमस्त पुरानो सत्ताको दुरुपयोग गरिरहेका छन्, आफ्नै लागि चिहान खनिरहेका छन् । यतिबेला विद्रोही चेतनाहरू भने आमूल परिवर्तनका लागि हावा, हुरी र वेग बनेर दुष्ट सत्ताको प्रतिबन्धको प्रतिरोध गरिरहेका छन् । प्रतिरोधी चेतना मरेको छैन, दावानल बनेर भर्भराइरहेको छ । प्रतिक्रियावादी सत्तामा सवार शासकहरूमा पागलपन बढिरहेको समयमा स्रष्टाहरूको सिर्जनात्मक प्रतिरोध बर्सिरहनु सुखद अवस्था हो ।

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित