पेरू र फिलिपिन्सको कम्युनिस्ट आन्दोलन

- राजु कार्की

(क) पेरू : पेरू समुद्रको किनारमा रहेको दक्षिण अमेरिकाको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको मुलुक हो । पेरूका जनताले लामो समयदेखि विदेशी हस्तक्षेपको विरोध र विशाल ग्रामीण इलाकामा विविध रूपका किसान सङ्घर्षहरू गर्दै आइरहेको इतिहास छ ।

पेरूमा सन् १९२८ मा कम्युनिस्ट पार्टीको गठन भयो । बर्सौंसम्म पार्टीको नेतृत्व दक्षिणपन्थी अवसरवादीहरूको कब्जामा रह्यो । साठीको दशकमा रुसी संशोधनवादको विरोधमा कमरेड माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले छेडेको महाविवादको असर पेरूको कम्युनिस्ट पार्टीमा प¥यो । परिणामस्वरूप दक्षिणपन्थी संशोधनवाद र क्रान्तिकारीहरूका बीचमा सैद्धान्तिक सङ्घर्षको तीव्र रूपले विकास भयो । सन् १९६४ बाट नै आयाकुचो क्षेत्रको एउटा समूहले कमरेड गोन्जालोको नेतृत्वमा सबै प्रकारका दक्षिणपन्थी संशोधनवादी र अवसरवादीहरूका विरुद्ध सशक्त सङ्घर्ष चलाएर माक्र्सवाद लेनिनवाद माओविचारधाराका आधारमा पार्टी पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढायो । गाउँबाट सहर घेर्ने रणनीतिका आधारमा दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अग्रसर हुने सिद्धान्तअनुसार पेरू कम्युनिस्ट पार्टी व्यापक रूपमा सैद्धान्तिक, राजनीतिक, सङ्गठनात्मक एवम् प्राविधिक तयारीमा जुट्दै गयो । पेरू कम्युनिस्ट पार्टीले माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्तिको समेत दृढतापूर्वक सैद्धान्तिक, राजनीतिक भण्डाफोर गर्दै सन् १९८० बाट सशस्त्र सङ्घर्षको सुरुआत ग¥यो । रुस, चीनलगायत सम्पूर्ण संशोधनवाद र अवसरवादका विरुद्ध सङ्घर्ष गर्दै पेरूमा सशस्त्र सङ्घर्षको प्रक्रिया अगाडि बढ्यो । पेरू कम्युनिस्ट पार्टीले माओका योगदानहरूलाई माक्र्सवादको विकासको तेस्रो, नयाँ र उच्च चरणका रूपमा मूल्याङ्कन गरी त्यसलाई ‘माओवाद’ पदावलीद्वारा अभिव्यक्त ग¥यो । तेङलाई गद्दार घोषणा ग¥यो ।

पेरू कम्युनिस्ट पार्टीले सुरुमै हामी कुनै बाह्य सहयोगको भरपरेर जनयुद्ध गर्नेछैनौँ । हाम्रो क्रान्ति विश्वसर्वहारा क्रान्तिको अङ्ग हो भन्दै सर्वहारा वर्गको क्रान्तिकारी सिद्धान्तप्रति दृढता व्यक्त गर्दै सुरु गरिएको जनयुद्धमा जनताले देशको ठूलो भूभाग आफ्नो कब्जामा लिए ।

संसारभरका प्रतिक्रियावादीहरू र खासगरी अमेरिकी साम्राज्यवादले पेरूको क्रान्तिलाई सबैभन्दा खतरनाक ठान्यो । त्यसलाई खतम पार्न अनगिन्ती षड्यन्त्र, हस्तक्षेप र अन्तध्र्वंसका क्रियाकलाप चलाइरह्यो । अन्ततः १२ वर्षसम्म तीव्र गतिमा विकास भइरहेको जनयुद्ध, जनयुद्धको प्रमुख नेतृत्व गोन्जालो दुस्मनको कब्जामा परेपछि गम्भीर धक्का खाना पुग्यो ।

मुख्य दुस्मनका विरुद्ध अन्य सहायक वा मध्यवर्ती तप्कासँग आवश्यक तालमेल वा संयुक्त मोर्चा बनाउने प्रश्नलाई पूरै इन्कार गर्नु, अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्ति सन्तुलनका आधारमा रणनीति र कार्यनीतिको समुचित सन्तुलन मिलाउन नसक्नु, फौजी रणनीतिको विकास गर्नतिर भन्दा दीर्घकालीन जनयुद्धलाई यान्त्रिक रूपले मात्रै बुझ्नु, कमरेड स्टालिनबाट वास्तविक अर्थमा शिक्षा लिन नसक्नु, यान्त्रिक र एकाङ्गी सोचाइका कारण नै ६० हजारभन्दा बढी जनताको बलिदान भएर पनि पेरूमा कम्युनिस्ट आन्दोलन कमजोर बन्न पुग्यो ।

(ख) फिलिपिन्स : फिलिपिन्स समुद्रकै किनारमा रहेको विभिन्न टापुहरू भएको एसियाको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुक हो । फिलिपिन्सका जनताले पनि लामो समयदेखि वैदेशिक हस्तक्षेपको विरोध र विशाल ग्रामीण इलाकामा लामो समयदेखि विविध रूपमा किसान सङ्घर्षहरू गर्दै आइरहेको इतिहास छ ।

फिलिपिन्समा १९३९ मा कम्युनिस्ट पार्टीको गठन भयो । बर्सौंसम्म पार्टीको नेतृत्वमा दक्षिणपन्थी अवसरवादीहरूको कब्जा रह्यो । साठीको दशकमा रुसी संशोधनवादको विरोधमा कमरेड माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले छेडेको महाविवादको असर फिलिपिन्सको कम्युनिस्ट पार्टीमा प¥यो । पार्टीभित्र दक्षिणपन्थी संशोधनवाद र क्रान्तिकारीहरूका बीचमा सैद्धान्तिक सङ्घर्षहरू तीव्र रूपमा विकास भयो । कम्युनिस्ट पार्टीभित्रका केही क्रान्तिकारी युवाहरूले पार्टी नेतृत्वको संशोधनवादका विरुद्ध विद्रोह गरे । माक्र्सवाद लेनिनवाद माओ विचारधाराका आधारमा गाउँबाट सहर घेर्ने रणनीतिसहित दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने प्रणसहित अलग कम्युनिस्ट पार्टीको गठन २६ डिसेम्बर १९६८ का दिन कमरेड माओको ७५ औँ जन्मदिवस पारेर गरे । पार्टीले चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई विश्व सर्वहारा क्रान्तिको उच्च रूपमा स्वीकार गरी आफ्नो दस्ताबेजमा नयाँ जनवादी क्रान्तिको सफलतापछि समाजवादी क्रान्तिको चरणमा पटकपटक सांस्कृतिक क्रान्ति गर्नुपर्ने स्पष्ट उल्लेख गरे । पार्टीले माओ विचारधारालाई आजको माक्र्सवादका रूपमा ग्रहण गरी रुसी संशोधनवादका विरुद्ध सङ्घर्षलाई दृढतापूर्वक अगाडि बढायो । साम्राज्यवाद, दक्षिणपन्थी संशोधनवादप्रतिको अपार घृणा र माओ विचारधाराको हतियारको बलमा फिलिपिन्सका क्रान्तिकारी युवाहरूले बिनाआधुनिक हतियार र तालिम छापामार युद्धको प्रक्रिया सुरु गरे । केही वर्षमा नै छापामार युद्धको विकास गरेर हजारौँको सङ्ख्यामा एक शक्तिशाली नयाँ जनसेना (न्यु पिपुल्स आर्मी), राष्ट्रिय जनमोर्चा र आधारइलाकाहरूको विकास ग¥यो । साम्राज्यवादको कठपुतली फासिस्ट मार्कोस शासनका भयानक चुनौतीहरूको सामना गर्दै अगाडि बढेको कम्युनिस्ट पार्टी साम्राज्यवादका लागि ठूलो समस्या बन्न गयो भने संसारभरका कम्युनिस्ट क्रान्तिकारी र उत्पीडित जनसमुदायका लागि ठूलो प्रेरणाको स्रोत बन्यो ।

जनताको बढ्दो क्रान्तिकारी आन्दोलनका क्रममा शासक वर्गमा फुट पर्दै गयो । त्यो अवस्थामा प्रतिक्रियावादीहरूकै विभिन्न गुट मिलेर मार्कोसका विरुद्ध आवाज उठाउने स्थिति पैदा भयो । खासगरी विपक्षी दलको नेता बेनिग्नो एक्विनोको नेतृत्वदायी भूमिका रहेको थियो । अमेरिकी साम्राज्यवादले पनि मार्कोसको बढ्दो बदनामीको विकल्पका रूपमा एक्विनो गठबन्धनलाई स्विकारीसकेको कुरा कम्युनिस्ट पार्टीलाई थाहा थियो ।

चीनमा माओको मृत्युपछि त्यहाँ प्रतिक्रान्ति भयो । फिलिपिन्सको कम्युनिस्ट पार्टीले त्यसको विरोध गरेन । उल्टो ह्वाको फेङलाई समर्थन गर्न पुग्यो । कमरेड माओ र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको गद्दार तेङ गुटबाट व्यापक विरोध हुँदा पनि एक शब्द बोलेन । १९८० को दशकपछि फिलिपिन्स कम्युनिस्ट पार्टीले आफैँले सामाजिक साम्राज्यवाद भनेर भण्डाफोर गर्दै आएको रुसी संशोधनवादलाई समाजवादका रूपमा हेर्न थाल्यो । सहयोगको अपेक्षा गर्दै गोर्बाचोभलाई समर्थन गर्न थाल्यो । तेङ गुटलाई पनि समाजवादी नै देख्दै रह्यो । पार्टी नेतृत्वमा आएको यसप्रकारको गम्भीर सैद्धान्तिक पथ विचलनको परिणाम के भयो भने जनतामा अमेरिकाले बदनाम दलाल फ्याँकेर कम बदनाम एक्विनोलाई ल्याउने षड्यन्त्रमा कम्युनिस्ट पार्टी फस्न पुग्यो । एक्विनोलाई भारी प्रशंसा गर्न थाल्यो । ऊसँग वार्ता र सम्झौताको बाटो अपनाउन थाल्यो । पार्टीको लामो समयदेखि चुनाव बहिष्कारको नीतिलाई गलत बतायो । पार्टीले १९७६ मा आफैँले भनेको सर्वहारावादी क्रान्तिकारीले झैँ होइन, बुर्जुवा प्रजातन्त्रवादीकै व्यवस्थामा चुर्लुम्म डुब्यो । फिलिपिन्सको सशस्त्र सङ्घर्ष कम्युनिस्ट पार्टीमा देखापरेको सैद्धान्तिक भड्कावका कारण गम्भीर अकर्मण्यताको सिकार भयो र विकास अवरुद्ध भयो । हामीले विश्व कम्युनिस्ट आन्दोलनका यसप्रकारका अनुभवहरूबाट पाठ सिक्नुपर्छ ।

२०७५  माघ २९ गते मङ्गलबार प्रकाशित