पूर्वको चम्कीलो तारा कमरेड प्रशान्त

- सुमनसिंह पौडेल


दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ जारी एकीकृत जनक्रान्तिको बलिदानीपूर्ण प्रक्रियामा हामीले होनहार प्रिय योद्धा कमरेडहरूलाई गुमाउन पुगेका छौँ । कमरेड कुमार, राजु, निरन्तर, प्रज्वल, दीपेन्द्र, रामकुमार, राजेश, महान, सनराइजलगायत कमरेडहरूको गौरवपूर्ण बलिदान हुँदै आउने क्रममा गत असार २५ गते हामीले एक होनहार क्रान्तिकारी, जनताका प्रिय पात्र, जनमुक्ति आन्दोलनमा एउटा आशाका रूपमा उदाइरहेका निरकुमार राईलाई गुमाउन पुग्यौँ । कमरेड निरकुमार राई अर्थात् कमरेड प्रशान्तले जेठ १४ गते भोजपुर टेम्केमयुममा हत्या गरिएका कमरेड तीर्थराज घिमिरे ‘राजु’ को हत्यामा संलग्नमध्ये मुख्य आपराधिक प्रहरीको प्रतिरोध गर्ने क्रममा असार २५ गते भोजपुर सदरमुकाममै सहादत प्राप्त गर्नुभयो । प्रिय कमरेडहरूको गौरवपूर्ण बलिदानीले जनताको विजयलाई सुनिश्चित गरिसकेको छ । आन्दोलनलाई थप प्रतिबद्ध बनाएको छ । बलिदानको संस्कृतिलाई पुनस्र्थापित गरेको छ । त्यसैले हजारौँ युवाहरू बलिदान गर्न तत्पर छौँ छौँ । कमरेडहरूको रगतले रङ्गिएको रातो झन्डा अन्तिमसम्म समाइरहनेछौँ ।

हाम्रो पार्टी सुरक्षाकर्मीहरूसँग लडाइँ लड्न चाहँदैन । साँचो कुरा यही नै हो । किनकि हाम्रो पार्टीले स्पष्ट रूपमा भनेको छ– जनताका दुस्मन सुरक्षाकर्मीहरू होइनन् । जनताको दुस्मन दलाल पुँजीवादी संसदीय व्यवस्था हो र आज यसको नेतृत्व केपी–प्रचण्ड समूहले गरिरहेको छ । यही कुरा बारम्बार पार्टीले भन्दै आएको छ । तर यही सुरक्षाकर्मीविरुद्धको सङ्घर्ष नहुनुको सदासयता र जिम्मेवारीबोधको फाइदा उठाएर एकपछि अर्को गर्दै केही प्रहरी नामका आपराधिक गिरोहले हाम्रा नेता–कार्यकर्ताको हत्या गर्ने, गिरफ्तारी गर्ने गर्न थालेपछि प्रहरीमध्येका पनि आपराधिक कार्यशैली भएकाहरूको प्रतिरोध गरेरै अगाडि बढ्नु हाम्रो बाध्यता थियो । असार २५ गतेको बिहान मनसुन सक्रिय भएको समयमा भोजपुरमा त्यही भएको थियो अर्थात् प्रतिरोध । त्यसैले त्यहाँ प्रहरीतर्फका एकजनाको पनि मृत्यु हुन पुग्यो ।

निरकुमार राई ‘प्रशान्त’ ले प्रहरीसँग मुठभेट नगर्न र त्यहाँ उत्पन्न हुनसक्ने सम्भावित दुर्घटनाबाट सबैलाई बचाउन आफ्नातर्फबाट सम्भव भएसम्मको प्रयत्न गर्नुभएको थियो । घटनापछि सार्वजनिक भएका तथ्यहरूले यही कुरा बताएका छन् । तर जल्लादी दिमाग लिएर आफ्नै वर्ग, आफ्नै दाजुभाइ, आफ्नै छिमेकी र आफ्नै देशमाथि आक्रमण गर्न पागल भएर हिँडिरहेका प्रहरी नामका केी पात्रहरुले त्यो कुरा बुझ्न सकेनन् । सबै त होइन, केही औँलामा गन्न सकिने प्रहरीहरू छन् जो झोलामा पेस्तोल बोकेर दलालहरूका हनुमान भएर उनीहरूकै भाषामा भन्ने हो भने विप्लवका मान्छे खोज्न हिँड्ने गरेका छन् । उनीहरूले मुलुकका विषयमा, जनताका विषयमा र आफ्नै भविष्यका विषयमा थोरै पनि सोच्न सकिरहेका छैनन् । यो स्थिति हेर्दा दुःख लाग्छ । किन सोच्दैनन् आफू र आफ्नो परिवारको भविष्यका बारेमा ? किन सोच्दैनन् देशको बर्बादीका बारेमा ? किन देख्न सक्दैनन् सपना यो मुलुक र हामी जनताको सुखका बारेमा ? प्रहरीहरू यति निकृष्ट, यति तुच्छ किन बन्नुप¥यो ? केका लागि ? कसका लागि ? अब प्रहरीहरूले गम्भीर भएर सोच्न जरुरी छ । सुरक्षाकर्मीहरूले पनि एकपटक यो देशको बर्बादीको कारक दलाल पुँजीवादी संसदीय सत्ताविरुद्ध उठ्न जरुरी छ । राष्ट्र र जनताका पक्षमा लड्ने मानसिकता बनाउन जरुरी छ । धेरै देशमा यस्तो भएको छ जहाँ त्यो देशका सुरक्षाकर्मीहरू जनसङ्घर्षमा सहभागी भएर सत्ताविरुद्ध लडेका छन् र जनताको सत्ता स्थापना भएको छ ।

मृत्यु भैसकेका सञ्जीवका विषयमा धेरै भन्नु छैन किनकि सञ्जीव हाम्रै दाजुभाइ थिए । उनी वर्गीय हिसाबले पनि हाम्रो आफ्नै वर्गका थिए । तर सञ्जीव प्रवृत्तिका विषयमा टिप्पणी गर्दा सञ्जीव स्वयम् आफ्नै वर्गका विरोधी भएर निस्किए । त्यसैले उनी जनताको आन्दोलन दबाउन कस्सिएरै लागे । तीर्थको हत्यामा समेत उनी अग्रपङ्क्तिमा थिए । सञ्जीव खै के चाहन्थे ? निरकुमार कमरेडको हत्या गर्न पागलझैँ घुमिरहेको सञ्जीवको टोलीलाई उनीहरूको हाकिमको अगाडि काम देखाउनु थियो होला सायद । हाकिमको अगाडि तनक्क तन्किएर भन्न मन थियो होला– मैले निरकुमारको हत्या गरेँ अथवा गिरफ्तार गरेँ भनेर । एउटा इमानदार, देशभक्त, क्रान्तिकारीको हत्या गरेर तक्मा थाप्नु थियो होला सायद । के प्रहरीको यो कुरा सही हो ? सही थियो त ? यो सही थिएन । सही यसकारण थिएन– निरकुमार कुनै अपराधी थिएनन् ।

निरकुमार तिनै सञ्जीवहरूको जीवनलाई समृद्ध गर्न आफ्नो जीवन बलिदान गर्ने सङ्कल्प लिएर आन्दोलनमा सहभागी भएका थिए । फेरि पनि सत्य के हो भने निरकुमारको रगत तिनै सञ्जीवहरूका सन्तानको भविष्यका लागि बगेको छ ।

तर दुःखको विषय, केही मुठीभर दलालहरूको स्वार्थका निम्ति सञ्जीवले ज्यान गुमाउनुप¥यो । आगामी दिनमा सञ्जीवपथमा लाग्नेहरूले गम्भीर बन्नैपर्छ । प्रहरीभित्रका सञ्जीवहरूले आफ्नो वर्गविरोधी केही दलालहरूको स्वार्थका लागि ज्यान नगुमाऊन् भन्ने कामना गर्न चाहन्छु । ज्यान गुमाउनै परे पनि राष्ट्र र जनताको मुक्ति र अधिकार प्राप्तिका निम्ति होस् ।

भोजपुर, सङ्खुवासभा, सोलुखुम्बुलगायत जिल्लाहरूमा राज्य दमन तीव्र बन्दै गएको थियो । हेलिकोप्टरमार्फत सर्चका नाममा जनतालाई आतङ्कित पार्ने काम भैरहेको थियो । राज्यले नेकपाका नेता–कार्यकर्ताहरूको हत्या र गिरफ्तारीलाई तीव्र बनाउँदै लगेको थियो । यस्तो बेलामा कमरेड निरकुमारलाई प्रहरीले घेर्न पुगे । निरकुमार कमरेडको रगतमा देश र जनताको अधिकार र मुक्तिका निम्ति आफूले निर्वाह गर्नुपर्ने भूमिका र कर्तव्य एकाएक ठिङ्ग भएर उभियो ।

आत्मसमर्पण गर्न लगाइयो । उहाँले आत्मसमर्पण गर्न अस्वीकार गर्नुभयो, बरु आफूले पनि मृत्युको सामना गर्नुभयो । सायद नेपाली जनताको मुक्तिकामी लडाइँमा निरकुमार कमरेडको इतिहास सधैँंभरि सगरमाथाझैँ अग्लो रहनेछ किनकि निरकुमार कमरेडले जुन शौर्य र जुन पराक्रम प्रदर्शन गर्नुभएको छ त्यो एकीकृत जनक्रान्तिको प्रक्रियामा मात्र होइन, अधिकार र मुक्तिका निम्ति लडिने सबै लडाइँमा स्मरण गरिनेछ, निरकुमारपथलाई पछ्याइनेछ, युगयुगसम्म कमरेड निरकुमारलाई सम्झना गरिनेछ ।

हाम्रो पार्टीले स्थापनाकालदेखि नै स्पष्ट रूपमा भन्दै आएको कुरा के हो भने हामी सुरक्षाकर्मीहरूविरुद्ध सङ्घर्ष गर्दैनौँ । तर यसको मतलब के होइन भने हामी प्रतीरोध गर्दैनौँ । दलाल पंँजीवादी संसदीय सत्ताले आफ्नो लुटको साम्राज्य बचाउन जबजब आफ्ना प्रहरीहरू प्रयोग गर्छ र प्रहरीहरू जनदमनमा उत्रन पुग्छन्, त्यतिबेला आफ्नाअगाडि अवरोधका रूपमा आइलागेका काँडेतार पन्छाएर अगाडि बढ्नु आन्दोलनका निम्ति अनिवार्य भएर आउँछ । प्रतिरोधी युद्ध अनिवार्य भएर आउँछ । यसमा केही भ्रम छैन । जनसघर्षका विरुद्ध राज्यसत्ताले आफ्नो बुताले भ्याएसम्म दमन गरेर अगाडि आउँछ, जनता पनि दमनअनुसारकै प्रतिरोध गरेर अगाडि बढ्छन् । त्यसैले यो संवेदनशीलतालाई सबै सुरक्षाकर्मीहरूले बुझ्नुपर्छ र जनताविरुद्ध दमन थोपर्न अगाडि बढ्नु हँुदैन । यद्यपि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सुरक्षाकर्मीविरुद्ध लक्षित छैन भन्ने विषय आमसुरक्षाकर्मी र नागरिकहरूका बीचमा स्थापित भइसकेको छ । त्यसैले यस विषयमा कहीँकतै भ्रम रहेको पाइन्न । यो विषय बुझेकाहरू हाम्रो आन्दोलनलाई आवश्यक रहेको ठान्दै विभिन्न कोणबाट सहयोग गरी नै रहेका छन् । त्यसरी सहयोग गर्नेहरूमा प्रहरीहरू पनि छन्, कर्मचारीहरू पनि छन् र सरकारभित्रकै धेरै पात्रहरू छन् । त्यसैले यतिबेला दलाल पुँजीवादी संसदीय सत्ताविरुद्ध जारी एकीकृत जनक्रान्तिको प्रक्रियाप्रति आममा साझा धारणा बन्न थालेको छ– यो आन्दोलन आवश्यक छ । हरेक ढङ्गले क्रान्तिलाई सबै क्षेत्रबाट सहयोग भैरहेको छ ।

तर सत्ताको उन्मादमा पागल भएका सत्ताधारी हिटलरका चेलाहरू जनताको बीचबाट उठेको आन्दोलन र यसको उच्च प्रभावलाई दबाउन न्वारानदेखिकै बल लगाएर अगाडि आएका छन् । जनताको बीचबाट उठेको आन्दोलनले आफ्नो सत्ता खरानी हुने ठानेपछि तिल्मिलाएका केपी–प्रचण्डहरू जसरी पनि आन्दोलनलाई परास्त गर्ने दाउपेचमा लागेका छन् । हो, तिनै सत्ताधारी गिरोहहरूकै निर्देशनमा, योजनामा तिनीहरूकै विभिन्न कालो धन्दा चलाउन भूमिका निर्वाह गरिरहेका, उनीहरूकै जुठो खाएर सत्ताको आडमा लुटको दानापानी खाएर मात्तिएका, घुमुवाका नाममा बजारमा हप्ता असुली गर्नेहरु भने नेकपालाई खत्तम गर्छांै भनेर लागिरहेका छन् । पात्रहरूको अनुहार र सम्पूर्ण विवरण प्राप्त गर्न अहिलेको सूचनाप्रविधिको दुनियाँमा त्यति गाह्रो भने छैन । जसको सूची जनताका बीचमा, पार्टीसँग जतिबेला पनि सुरक्षित नै छ ।
हिजो पञ्चायतले मण्डलेहरू तयार ग¥र्या र पञ्चायातको बफादारी गर्ने प्रहरीहरूलाई बेस्सरी प्रयोग ग¥र्या । पञ्चायती व्यवस्था ढल्यो । सत्ताको मातले उम्लिएको पञ्चायत र उसको जुठो खाएर जनताको सङ्घर्षलाई दबाउन तम्सिएका प्रहरीहरू अन्ततः जनता उठेपछि व्यवस्था खारेज हुन्छ भन्ने चेत पाउने अवस्थामा पुगे । पञ्चायात ढलेपछि त्यसबेला आन्दोलन दबाउन सक्रियहरूमाथि भएका कारबाहीहरूबाट पनि केही सिक्नुपर्छ यतिबेला जनताविरुद्ध परिचालित प्रहरीहरूले । त्यस्तै जनयुद्धलाई दबाउन लाग्नेहरूको हालत पनि त्यति राम्रो भएन । प्रचण्डहरूले क्रान्तिप्रति गद्दारी गरेर तिनै जनविरोधी दलालहरूसँग घाँटी जोड्न पुगे । अन्यथा जनयुद्ध दबाउन लाग्नेहरूको हालत आजको दिनमा निक्कै भयावह हुने थियो । त्यसैले जनसङ्घर्ष दबाउन प्रहरीले भूमिका निर्वाह गर्नु कुनै हिसाबले पनि सही छैन । यतिबेला नेकपाले सञ्चालन गरेको आन्दोलन यो देश र हामी आमजनताको भाग्य र भविष्यलाई सुरक्षित गर्ने आन्दोलन भएकाले सुरक्षाकर्मीहरूले पनि यो आन्दोनलाई आफ्नै आन्दोलन ठान्न जरुरी छ । यो दलाल पुँजीवादका विरुद्ध गरिने सङ्घर्ष अर्थात् एकीकृत जनक्रान्तिका विरुद्ध लाग्नु भनेको आफ्नैविरुद्ध लाग्नु हो, परिवारविरुद्ध लाग्नु हो, देशविरुद्ध लाग्नु हो ।

निरकुमार राई ‘प्रशान्त’ जनयुद्धमा कुशलतापुर्वक लड्नुभएका एक कुशल कमान्डर हुनुहुन्थ्यो । उहाँ जनमुक्ति सेनाबाट निस्कँदा बटालियन भाइस कमान्डरको भूमिकामा हुनुहुन्थ्यो । उहाँले धेरै मोर्चाहरू लड्नुभएको थियो । आज पनि उहाँलाई जनयुद्धकालीन कमान्डर र सदस्यहरूले प्रेमपूर्वक स्मरण गर्छन् । उहाँ कुशल कमान्डरसँगै एक कुशल सङ्गठक पनि हुनुहुन्थ्यो । पार्टीमा चलेको लाइन सङ्घषमा क्रान्तिकारी लाइनमा उभिँदै आउने क्रममा उहाँ नेपाल कम्युनिस्ट पार्टी भोजपुर जिल्ला समितिमा रहेर लामो समयसम्म काम गर्नुभएको थियो । त्यसपछि एक वर्ष अगाडिदेखि उहाँ ओखलढुङ्गाको पार्टी जिल्ला सेक्रेटरीका रूपमा सक्रियतापूर्वक कार्यरत हुनुहुन्थ्यो । लगनशील, मेहनती, मिलनसार, पार्टीको कामप्रति प्रतिबद्ध, अनुशासित र जनप्रिय नेता हुनुहुन्थ्यो कमरेड निर कुमार राई । कमरेड निरकुमारका बुबा र दुई दाजुहरू हुनुहुन्छ । उहाँ परिवारको कान्छो छोरा हो । उहाँकी बहिनी कमरेड लक्ष्मी राई ‘योजना’ ले २०६० सालमा भोजपुरको बोयामा सहादत प्राप्त गर्नुभएको थियो । उहाँकी श्रीमती र एक छोरा भोजपुर सदरमुकाममै विगत ४ वर्षदेखि बस्दै आउनुभएको छ । जनताको मुक्तिका निम्ति सङ्घर्ष गर्ने क्रममा कमरेड निर कुमारसहित उहाँको परिवारबाट दुईजनाले बलिदान गर्नुभएको छ ।

नेपालमा सदिऔँदेखि जारी अन्याय, अत्याचार, लुट शोषण र विभेदको अन्त्य गरेर यो देशलाई समृद्ध गर्नु छ । यसका निम्ति दलालहरूको शिविरमा हमला अनिवार्य छ । आज नेपाली जनतालाई दासजस्तो बनाइएको छ । जनताले एक छाक खान पाएका छैनन्, एक आङ राम्रो लाउन पाएका छैनन् । उपचार र शिक्षा पाएका छैनन् । सुरक्षा छैन । आमजनताको जीवन अस्तव्यस्त छ । ८० लाखभन्दा बढी युवाहरूले परदेशमा रुँदै पसिना बगाउनु परेको छ । आफ्नो परिवार सम्झिएर छट्पटिनु परेको छ । नेपालका प्राकृतिक स्रोतहरू कौडीको भाउमा बेचेर मोज गरिरहेका संसद्वादीहरूलाई हाई सुख छ यो देशमा । उनीहरूका परिवार र नातागोतालाई आएको छ गणतन्त्र । संसद्वादीहरूको संसारमा छाएको छ सुख । त्यसैले विद्रोहको ज्वाला दन्किँदैछ । प्रतिरोधको आगो फैलँदैछ । आक्रोशका आवाजहरूले कम्पायमान हुँदैछ दुनियाँ । जनता जाग्दैछन् जित्नलाई । यहाँ बलिदानलाई स्वीकार गरेरै अगाडि बढ्नु नै छ । त्यसैले रोएर बाँचेका जनताका आँखामा आएको आँसुले पिरोल्ने निरकुमारहरूका छाती, सुन्दर सपना देखेर जीवन बलिदान गर्ने हजारौँ सहिदहरू सम्झेर जुरुक्क हुने निरकुमारहरूको मन, दलाल, तस्कर र माफियाहरूले यो देशलाई चारतिरबाट लुछिरहँदा सहन नसकेर प्रतिरोधमा उत्रने निरकुमार हरूको सचेतना, आक्रोश र साँच्चिकै दुनियाँभरका स्पार्टाकसहरूलाई सिकाउन सक्ने कमरेड निर कुमारको वीरता र पराक्रम महान् छ ।

२०७६ साउन ३० गते बिहीबार प्रकाशित