परम्परागत संस्कार र संस्कृतिको विकल्पको खोजी

दसैँ, तिहारलगायत अध्यात्म, रूढि र धर्मसँग गाँसिएका परम्परावादी रूढ संस्कृतिले नेपाली समाजलाई गाँज्दै आएको छ र यसपालि पनि छोपिसकेको छ । हिन्दुबहुल समाज भएकाले अरू समुदाय, सम्प्रदाय र धर्मका मानिसले अङ्गीकार गर्दै आएका परम्परागत संस्कार, संस्कृति र धर्मले मानिसको चेतनामा पारेको नकारात्मक प्रभावको चर्चा कमै हुने गरेको छ तर सङ्ख्या जे–जति भए पनि ती संस्कार र संस्कृति सत्तासंस्कृति नबनेकाले मात्र त्यसको असर कम देखिएको हो । त्यसको वर्चस्व बढी रहेको क्षेत्रमा त्यसले पार्ने हानिकारक प्रभाव कम छैन ।

जे होस्, सभ्य समाजवादी समाजमा रूढ, परम्परावादी, अन्धविश्वासी पर्व र चाडका नाममा धर्मलाई केन्द्रमा राखेर मनाइने संस्कार र संस्कृतिले पार्ने प्रभाव भनेको नकारात्मक नै हुन्छ र त्यो मानवचेतना र सभ्यतामाथिको प्रहार नै हुन्छ । यसकिसिमका मानवसभ्यताविरोधी संस्कार र संस्कृतिको अन्त्य गर्दै नवीन, मानवताप्रेमी, सभ्य र वैज्ञानिक संस्कृति अवलम्बन गर्नुपर्छ । यतिबेला दलाल सत्ता संस्कृति, राष्ट्रघाती, भ्रष्टाचारी संस्कृति मौलाइरहेको छ । यो खतरनाक संस्कृति हो । कम्युनिस्ट पार्टीको झन्डा ओढेर साम्राज्यवादको सेवा गर्ने यो संस्कृतिसँग लड्नु सामन्तवादी, पुँजीवादी संस्कृतिसँग लड्नुभन्दा जटिल छ तर सम्भव छ ।

मानिस कति सभ्य, सुसंस्कृति र चेतनशील छ भन्ने कुरा उसले अवलम्बन गर्ने जीवनशैली, आनीबानी, रहनसहन, उठबस, सरसङ्गत, चालचलनका रूपमा अभिव्यक्त हुन्छ । मानिस सधैँ प्रगति, उन्नति र विकास चाहन्छ । मानिस स्वतन्त्र र मुक्त हुन चाहन्छ । त्यसैले ऊ आफूमाथि कसैले थिचोमिचो गरेको सहन सक्तैन । अरूबाट उत्पीडित नहोओस् भन्ने चाहने मानिसले अरूमाथि पनि उत्पीडन गर्न मिल्दैन । मिल्दैन भन्ने थाहा हुँदाहुँदै पनि मानिसले बुझपचाएर वा मिचेर यस किसिमको गल्ती गरिरहेको हुन्छ । यही गल्तीका विरुद्ध उत्पीडित वर्गले सङ्घर्ष गर्दै आएको छ र त्यो वर्गसङ्घर्षका रूपमा अभिव्यक्त भइरहेको छ । आर्थिक असमानता, शोषण, राजनीतिक उत्पीडन, सांस्कृतिक विभदेका कारण मानिस मुक्तिको खोजी गरिरहेको छ । सबै किसिमका विभेदहरूको जगमा मानिस र ऊ विभाजित वर्गले बोकेको संस्कृति छ । वर्गविभाजित समाजमा भइरहेका वर्गसङ्घर्षहरूको एउटा महत्वपूर्ण पाटो वर्गसङ्घर्ष–सांस्कृतिक सङ्घर्ष पनि हो । अहिले हामी वर्गसङ्घर्षका कारक राजनीतिक, आर्थिक, सामाजिक, लैङ्गिक, भौगोलिक विभेदका साथै सांस्कृतिक विभेद, असमानता र दलाल सत्तासंस्कृतिको दोहनका विरुद्ध सङ्घर्षरत छौँ । यो सत्तासँगको सङ्घर्ष अर्थात् क्रान्तिको अर्थ यसले आत्मसात गरेको दलाल सत्ता– संस्कृतिका विरुद्धको सङ्घर्ष पनि हो । जबसम्म दलाल सत्ता–संस्कृतिको अन्त्य हुँदैन, तबसम्म वैज्ञानिक समाजवादी संस्कृति निर्माण, रक्षा र विकास मुस्किल हुन्छ ।

लामो समयसम्म सामन्ती राजनीति, संस्कार र संस्कृतिमा हुर्किएको नेपाली समाजमा परम्परागत संस्कृतिको परिवर्तन र नयाँ संस्कृतिको निर्माणका लागि आन्दोलन, विद्रोह, सङ्घर्ष, युद्ध र क्रान्ति आरम्भ भएको त्यति लामो समय भएको छैन । राजनीतिक रूपमा राणाशासक जङ्गबहादुरको क्रूरता र पाशविकताका विरुद्ध लखन थापाले गरेको विद्रोह, राणाकालीन महिलाहिंसा र अन्धविश्वासका विरुद्ध योगमायाले गरेको विद्रोह, राणाशाहीकै क्रूरताका विरुद्ध मकैको खेतीका लेखक कृष्णलाल अधिकारीले गरेको विद्रोहका घटनाहरूबाट आरम्भ भएको सांस्कृतिक–सामाजिक विद्रोह २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना, २००७ सालको राणाशासनविरोधी आन्दोलन, २००९ सालमा प्रलेसको स्थापना, २०२८, २०३६ र २०४६ सालका आन्दोलन र सङ्घर्षहरूले परम्परागत सामन्ती, रुढिवादी, अन्धविश्वासी सत्तासंस्कृतिविरुद्ध केही न केही धावा बोलेका हुन् ।

२०५२ साल फागुन १ गते नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा आरम्भ भएको जनयुद्ध सबैखाले पुरातन र आधुनिकताका नाममा मानवमाथि दोहन गरिरहेका पुँजीवादी–साम्राज्यवादी सत्तासंस्कृतिमाथिको ठूलो विद्रोह हो । जनताको जनवादी र वैज्ञानिक संस्कृति निर्माणका लागि लामबद्ध हुँदा जनयुद्धका क्रममा झन्डै दुई सय क्रान्तिकारी संस्कृतिकर्मीले र दसौँ हजार योद्धाहरूले पुरानो सत्ताको बम र बन्दुकबाट मारिनुपर्यो, हजारौँले बेपत्ता, घाइते र अपाङ्ग हुनुपर्यो । अन्धविश्वास, रुढि र परम्परामा जकडिएको पुरातनको अन्त्य, नवीनताका नाममा उब्जिएका अत्याधुनिक उपभोक्तावादी, असांस्कृतिक ज्यादतीको समाप्ति र तिनकै चिहानमा जनवादी– समाजवादी वैज्ञानिक संस्कृतिको निर्माणका लागि आरम्भ भएको जनयुद्धले जगैबाट आफ्नो उद्देश्य पूर्तिका लागि सचेततापूर्ण र इमानदारीसाथ काम आरम्भ गरेको थियो । जन्मदेखि मृत्युसम्म मानिसले गर्दै आएका र संस्कृतिका रूपमा स्थापित भइसकेका संस्कारहरूमा आमूल परिवर्तनको क्रम सुरु भएको थियो र जनताको जीवनसङ्घर्षसँग गाँसिएका नयाँ संस्कारहरू स्थापित भएर संस्कृतिको स्वरूप लिँदै गएको अवस्था थियो । रूढि, अन्धविश्वासमा आधारित र अमानवीयताको पराकाष्टा प्रदर्शन गर्ने धामीझाँक्री, बोक्सी, छाउपडी, देउकीप्रथाहरू कम हुँदै गएका थिए । रात बस्ने विवाहको अन्त्य, डोले, कुम्लेबिहे प्रथाको अन्त्य, प्रेमविवाह, अन्तरजातीय विवाह, अछूत भनिएका जातिसँग, सहिद परिवार, एकल महिलासँग विवाह गर्ने जनसंस्कृति आरम्भ भइसकेको थियो । मुक्त क्षेत्रमा जूवा, तास, मादमिदराको प्रयोग, बेस्यावृत्तिजस्ता विकृत संस्कृति बन्द हुँदै गएका थिए । महिला बेचबिखन, बालीप्रथा, छुवाछूतजस्ता मानताविरोधी संस्कार र संस्कृति अन्त्य हुँदै जनताको त्याग, बलिदान र शौर्यका दिनहरूलाई पर्वका रूपमा विकास गर्न आरम्भ गरिएको थियो । जात, धर्म, सम्पत्ति, रङ, लिङ्गका आधारमा मानिसले मानिसमाथि शोषण, दमन र विभेद गर्ने प्रथा कमजोर भएर श्रमजीवी वर्गको मानसम्मान गर्ने संस्कार संस्कृतिकै रूपमा उठिरहेको थियो तर जनयुद्धका कमान्डरहरू नै प्रतिक्रान्तिका मतियार भएर भैँसीपूजा गर्न थालेपछि त्याग, शौर्य र बलिदानको जगमा निर्माण भएको त्यो संस्कृतिमाथि प्रतिगमन थोपरियो । जनयुद्धमा आफैँले बन्द गराएको रक्सी र जूवातासमा जनयुद्धका कमान्डरहरू नै लिप्त भएको देखिन थाल्यो । निधारमा राता टीका लगाएर दसैँ मनाउँदै गरेका र परिवारै लिएर जूवातासमा रमाएका बीभत्स दृश्यहरू देखिँदै गए । त्यसपछि फेरि विद्रोह आरम्भ भएको छ प्रतिक्रान्तिका विरुद्ध र त्यसको अगुवाइ एकीकृत जनक्रान्तिको कार्यदिशाले गरिरहेको छ । यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको छ । अब फेरि आरम्भ भएको छ, त्याग, शौर्य र बलिदानमा भविष्य देख्ने उच्च संस्कृति र पतन हुँदै गएको छ सामन्ती र साम्राज्यवादी संस्कृतिमा आफूलाई अब्बल देख्ने प्रवृत्ति । अब परम्परावादी, अन्धविश्वासी रूढ संस्कृतिको विकल्पका रूपमा जनवादी, वैज्ञानिक समाजवादी संस्कृति निर्माण गर्नु आवश्यक छ । सम्पादकीय

२०७६ असोज १५ गते बुधबार प्रकाशित