नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण

इतिहास लेखनको माक्र्सवादी पहलकदमी

- अनिल शर्मा ‘विरही’


ऐतिहासीक भौतिकवाद भन्छ– इतिहासका निर्माता जनता हुन् तर नेपालमा इतिहास लेखनको प्रक्रिया ऐतिहासीक भौतिकवादी दृष्टिले लेख्ने प्रक्रिया त परै जाओस्, सामन्ती राष्ट्रवादको दृष्टिले समेत निकै कमजोर छ । इतिहास लेखनको आधार र स्रोत विदेशी अध्येता र स्रोत–सन्दर्भलाई बनाइएको छ । जसले पश्चिमी चस्माले नेपाललाई हेरेका छन् र उनीहरूको स्वार्थ तथा मनोविज्ञानले कलम जोत्ने गरेका छन् । वर्गीय पक्षधरता र नेपाली विशिष्टतामा टेकेर नेपाली समाजको इतिहास लेखनको प्रक्रिया थाल्न अति आवश्यक छ जसले आम सामाजिक चेतना उठाउन सक्नेछ ।

पश्चगमन र शोषण–उत्पीडनका जराहरू सामाजिक चेतनामा हुर्किरहेका हुन्छन् । त्यसैले ऐतिहासिक भौतिकवादी दृष्टिले इतिहास लेखनकार्य नयाँ इतिहास लेखन कार्यको प्रक्रियामा सहभागी हुनु पनि हो । त्यसप्रकारको महत्वपूर्ण कार्यमा ‘नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण’ नामक कृति अग्रभागमा उभिइरहेको छ र त्यसका लेखक हुन्– पोखरा निवासी रामराज रेग्मी । नेपालको मौलिक इतिहास लेखनको सन्दर्भमा लेखकको धारणा छ, ‘विभिन्न मुलुकहरूले यस्तै अनुसन्धानका आधारमा आफ्नै प्राचीन इतिहासको निर्माण गरेका छन् । नेपाल यस मामिलामा अपवाद बनेको छ । यद्यपि ढिलै भए पनि नेपालका मानवशास्त्री र इतिहासकारहरूले नेपालको प्राग्इतिहासबारे खोजी गर्न थालेका छन् र धेरै तथ्यहरू जानकारीमा आइसकेका पनि छन् । टुक्राटुक्री तथा आंशिक रूपमा भए पनि नेपालबारे अनुसन्धानात्मक कृतिहरू प्रकाशित भइरहेका छन् । यति हुँदाहुँदै पनि नेपालको इतिहास लेखनकार्य अपूरो र एकाङ्गी देखिन्छ ।’ (पृष्ठ १२)

विदेशी लेखक र शोधकर्ताका सिर्जनाहरू अवश्य पनि महत्वपूर्ण छन् तर तिनका आफ्नै स्वार्थ र विशिष्टताहरू रहन्छन् । त्यसैले वास्तविक इतिहास लेखनका लागि आफ्नै आँखा र मन आवश्यक छ । त्यस क्षेत्रमा कामहरू सुरु भएका छन् । तर ती छरिएका र अंशअंशमा भएका छन् । वर्गीय पक्षधरता त झनै कमजोर छ । यो खडेरीयाममा रेग्मीको प्रयास लेखककै शब्दमा ‘अपूरो र एकाङ्गीपन’ तोड्न प्रयासरत छ । त्यसकारण पनि कृतिको आफ्नै महत्व छ ।

इतिहासका अवशेषहरू चाडपर्व, व्यक्ति तथा वतनका नाम, अस्थिपञ्जर, काठे तथा ढुङ्गे हतियार, लेख्य तथा श्रुतिसाहित्य तथा संस्कृतिमा यत्रतत्र छरिएर रहेका हुन्छन् । त्यसलाई खोज्ने परिश्रम र बुझ्ने चेतना आवश्यक छ । जस्तै ‘सिमरा’ पदावली ‘सिमरा’ थारू भाषाको सिमल वृक्षबोधकबाट बनेको हुनाले वीरगन्जनजिकको सिमराबजार कुनै बेला थारू समुदायको बस्ती थियो भन्ने बुझिन्छ । तर आज यहाँ थारू समुदाय छैनन् । ती कहाँ गए ? किन विस्थापित वा पलायन भए ? त्यसको खोजी इतिहासको विषय बन्न सक्छ । लेखक रेग्मीले सितिखष्टी पर्व, अखण्ड धुन, घण्टाकर्ण पर्वको अन्त्यमा लुकेको/लुकाएको ऐतिहासिक भौतिकवादी दृष्टिकोणलाई उजागर गरेका छन् । त्यसरी इतिहास लेखनमा रेग्मी नयाँ शैलीमा प्रकट भएका छन् । मौलिक खोजीको खडेरीमा लेखनमा कैयौँ सीमाहरू पनि देखिन्छन् । जस्तै जुम्लाको काठे मुसल र ओखलमा धान कुट्ने अझसम्म कायम काठे युग ढुङ्गे युगको प्रसङ्ग छ । तर त्यो युग राजधानी काठमाडौँनजिकै सिन्धुलीको हरिहरपुरगढी र सिन्धुलीगढीबीचको ठूलो पाङ्ग्रेगाउँमा अझै कायमै छ । ढुङ्गेयुगको अवशेष खोज्न कर्णाली जानु पर्दैन । सायद मौलिक सन्दर्भमा सामग्रीको अभाव झेलिरहेका छन् लेखकहरू पनि ।

नेपालका शक्तिपीठ र पुराणलेखनमा नारी जातिको महिमा देखिन्छ तर व्यवहारमा उपभोग्य वस्तुसरह विभेद र उत्पीडन छ । पुराण तथा धार्मिक ग्रन्थका आधारमा सामन्ती व्यवस्था र त्यसका सौन्दर्यकर्ताहरू नेपालको सामन्ती समाज महिला तथा नारीप्रति उदार रहेको दाबी गर्छन् तर वास्तविकता के हो भने अधिकांश शक्तिपीठहरू नारीबोधक हुनु र पुराणमा नारीमहिमा हुनुले नेपाल कुनै बेला मात्रृसत्तात्मक थियो भन्ने कुरा पुष्टि हुन्छ । त्यसले सामन्ती युग नारीप्रति उदार थियो भन्ने पुष्टि गर्दैन । यस सम्बन्धमा रेग्मी भन्छन्, ‘नेपाली समाजमा महिलामाथि शोषण–दमन हुँदै आए पनि कुनै प्रसङ्गमा महिलालाई सम्मान गरिनु मात्रृसत्ताको अवशेष हो । बाहुन, क्षेत्री र मगर समाजमा रजस्वला हुनुभन्दा पहिलेका कुमारी कन्याहरूलाई पुज्ने चलन छ । राई जातिमा छोरी जन्मँदा हर्षबढाइँ गर्ने प्रचलन छ । थारू र लेप्चा जातिमा महिला पुरोहित हुन्छन् । मातृऔँसीका दिन आमाको मुख हेर्ने चलन छ ।’ (पृष्ठ ४०)

यसरी लेखकले नेपाली इतिहास लेखन परम्पराको अधिभूतवादी, आदर्शवादी धाराका विरुद्ध माक्र्सवादी धारको जग हालेका छन् । नारी जातिका सन्दर्भमा मात्र होइन, लेखक रेग्मीले अन्य सन्दर्भमा पनि ऐतिहासिक भौतिकवादी धाराको पैरवी गरेका छन् ।

इतिहास शून्यमा निर्माण हुँदैन । त्यसका ऐतिहासिक कडीहरू सधैँ अविच्छिन्न रहन्छन् । नारी उत्पीडनका सन्दर्भमा जसरी लेखकले राजा मानदेवको समयमा नारी उत्पीडन कमजोर रहेको अथवा नारीहरू धेरै हदसम्म स्वतन्त्र रहेको र त्यसप्रकारको उत्पीडनबाट नारीहरू असन्तुष्ट रहेको बताएका छन् । त्यसैगरी सामन्तवादको उदय (किसानलाई काममा जोतेर खाने परजीवी वर्ग कसरी भयो ? त्यसका ऐतिहासिक कारणहरू केके थिए भन्ने सन्दर्भमा पनि लेखकले विस्तृत व्याख्या गरेका छन् । त्यस सम्बन्धमा लेखक भन्छन्, ‘भूमि नै उत्पादनको साधन भएकाले यो सामाजिक तथा राजनीतिक हैसियत निर्माण गर्ने आधार बन्यो । ग्रहिताले सत्तालाई सदैव साथ दिऊन् र सहयोग गरून् भन्ने उद्देश्य त्यसप्रकारको अनुदानमा अन्तर्निहित थियो । तर भूमिदान व्यवस्थाले सामन्तवादलाई जन्म दियो । अनुदान भूमिमा रहेका किसाने आफ्नो उत्पादनको एक हिस्सा भूमिपतिलाई बुझाउने हुँदा किसान र राज्यबीच श्रम नगरी अर्काको कमाइबाट जीविका गर्ने मध्यवर्ती परजीवी सामन्त वर्गको उदय भयो ।’ (पृष्ठ १०२)

यसरी लेखकले इतिहासका कडीहरू जोडेर समाज विकासका नियमहरूलाई आदर्शवादी रोगबाट बचाएका छन् । आजका भूमिपतिहरूले पूर्वजन्ममा लेखेर आएको भोग गरेका होइनन्, गरिबहरू श्रम नगरेर अथवा पूर्वजन्ममा गरिब लेखेर आएकाले गरिब भएका होइनन् भन्ने पुष्टि हुन्छ । सत्ताले निर्माण गरेका धनी र गरिब सत्ताकै माध्यमले बदल्न सकिन्छ । लेखकले श्रमिक वर्गलाई त्यसप्रकारको चेतना दिने प्रयास गरेका छन् ।

नेपालमा सामन्ती शासकहरूको चर्को शोषण–उत्पीडन थियो र त्यसका विरुद्ध जनताले प्रतिरोध गर्दै आएका छन् । घण्टाकर्णनामक नेवार समुदायका विद्रोहीले राजाका विरुद्ध बोलेपछि उनको हत्या गरियो र उनको विद्रूपीकरण गर्दै राक्षसका रूपमा चित्रण गर्दै ‘घण्टाकर्ण पर्व’ मनाउन थालियो । यो नेवार समुदायमा मात्र प्रचलित छ । घण्टाकर्ण कुनै समयका काठमाडौँका कामी बुढा (रुकुम), दशरथ चेपाङ–सन्तबहादुर चेपाङ (चितवन), ऋषि देवकोटा ‘आजाद’ (सिन्धुली), रामवृक्ष यादव (धनुषा) आदिजस्तै क्रान्तिकारी थिए । तर लेख्य इतिहासको अभाव र सत्तादमनको कारण दबाइयो । श्रमिक वर्गलाई आफ्ना प्राचीन नायकबाट प्रेरणा लिनबाट समेत वञ्चित गरियो । लेखकले घण्टाकर्णको प्रसङ्ग (पृष्ठ १४१) उठाएर इतिहासको नयाँ गारेटो कोरेका छन् । उनले शाह, राणा र पञ्चायतीकालका किसान सङ्घर्ष तथा जनयुद्धका वास्तविक तथ्यहरूसमेत उजागर गरेका छन् ।

माक्र्सवादले आर्थिक प्रश्नलाई समाजको आधारभूत प्रश्न मान्दछ । प्राचीनकालदेखि सुगौली सन्धिसम्म नेपाल आर्थिक रूपमा विश्वका मध्यम स्तरमा पर्दथ्यो । लिच्छवि र मल्लकालमा त ‘नेपालमण्डल’ तिब्बत र भारतका कैयौँ राज्यभन्दा सबल थियो । कपास खेती, खानी उद्योग, कुटीर उद्योग र व्यापारलाई आधुनिकीकरण गर्नुपर्नेमा सुगौली सन्धिपछिका शासकहरूले नेपाली अर्थतन्त्रको घाँटी निमोठेर हत्या गरे । २०४६ सालपछि त्यसलाई अझ तीव्रता दिइयो । विखण्डितकालको अर्थतन्त्रका विषयमा लेखक भन्छन्, ‘प्रायः गरी सबैजसो राज्यमा कपासको खेती गरिन्थ्यो र त्यसबाट विभिन्न प्रकारका सुती कपडा तयार पारिन्थ्यो । तनहुँका डुम्रिखर्क, दुरा जाति, तनहुँका मगरहरू, मल्ल राज्यका ज्यापु र उदासहरू सुती कपडा बुन्ने काममा निपुण थिए ।’ (पृष्ठ १७८)

खानी र व्यापारका क्षेत्रमा पनि सुगौली सन्धिअघिसम्म नेपाल आत्मनिर्भर थियो तर सुगौली सन्धिपछि नेपाली श्रम र कच्चा पदार्थ निर्यात गर्ने र तयारी सामान आयात गर्न थालियो । नेपाललाई साम्राज्यवादको निर्बाध बजार बनाइयो । दलाल पुँजी भित्रियो र दलाल पुँजीपतिहरूको सत्ता कायम भयो । नेपाली समाजको आर्थिक, राजनीतिक र सांस्कृतिक सङ्कटका जराहरू त्यहीँ गाडिएका छन् । त्यसकारण अर्थराजनीतिका दृष्टिले समाजको विश्लेषण गरिएको छ ।

कृतिले वर्तमानका अनेकौँ प्रश्नहरूको माक्र्सवादी कोणबाट जबाफ दिएको छ । नेपालको एकीकरण (भौतिक र सांस्कृतिक) प्रक्रिया पनि बहसमा छ । पृथ्वीनारायण शाहको एकीकरण अभियानका भौतिक कारण र आत्मगत कारण केके थिए ? लेखकले वस्तुपरक व्याख्या गरेका छन् । रेग्मी भन्छन्, ‘युद्धका बेला बलियो शत्रुका सामु कि लडेर सद्धिने कि आत्मसमर्पण गर्नेभन्दा अरू विकल्प तीसँग थिएन र जनताको संरक्षण गर्न सक्दैनथे । यसले गर्दा इलाकीय सामन्तवादको चरणमा जनताहरू सानासाना राज्यहरूको अस्तित्वप्रति आस्थावान् हुन सकेनन् । उनले विभिन्न राज्यका अन्तर्विरोधहरूलाई उपयोग गरे । उनले लमजुङलाई गरुड, गोरखालाई सर्प र कान्तिपुरलाई भ्यागुतोको उपनाम दिँदै…….पृथ्वीनारायण शाहले पाण्डे र बस्नेतबीच वैवाहिक सम्बन्ध लगाएर आन्तरिक एकतालाई सुदृढ गराए ।’ (पृष्ठ १९६, १९८ र १९९)

पृथ्वीनारायण शाह र नेपाल एकीकरणको बहसमा लेखक जातीय वा राजनीतिक प्रभावमा नपरी ऐतिहासिक भौतिकवादी लेखकका रूपमा उभिएका छन् ।

राणा शासनको अन्तरकथा, उनीहरूको रक्तमुच्छेल अनुहार र कार्लमाक्र्सको शब्दमा ‘अङ्ग्रेजका कुकुर’ ले देशलाई कसरी रसातलमा पुर्याए ? अङ्ग्रेजको उत्तराधिकारी भारतीय शासक गुटमा कसरी अङ्ग्रेजकै नश्ल र रगत कायम थियो ? कृतिमा प्रभावकारी प्रस्तुति गरिएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवादको ज्यादती राम्ररी उजागर गरिएको छ र २०१७ सालपछि २०४६ सालसम्म र ज्ञानेन्द्र शाहीको राजतन्त्र कति क्रूर र राष्ट्रघाती थियो ? र जनयुद्धका सबल र दुर्बल पक्षहरूको पनि नयाँ शैली र सोचाइका साथ व्याख्या छ । भाषा, कतिपय तथ्याङ्क र घटनाक्रमहरूमा सीमाहरू पनि देखिन्छन् । यद्यपि सौन्दर्यात्मक, ज्ञानात्मक र विचारधारात्मक साहित्यबाट गरिने यी तीनवटै अपेक्षामा कृतिले सन्तोषजनक स्थान ओगटेको छ ।

५ सय ४९ पृष्ठ रहेको कृतिमा आठौँ अध्यायमा कृतिलाई कालक्रमअनुसार विभाजित गरेर प्रस्तुत गरिएको छ । ऐतिहासिक कालक्रमको विन्यासमा केही नयाँपन महसुस हुन्छ । कागज दृष्टिमैत्री र टङ्कन तथा आन्तरिक ढाँचा सुन्दर छ । आजको बजारअनुसार ६ सय ७५ सामान्य मूल्य भए पनि नेपाली पाठकलाई असजिलो लाग्नु भने स्वाभाविक हुनसक्छ । लेखक रेग्मी रामराजलाई माक्र्सवादी साहित्यमा गर्नुभएको योगदान र सेवाप्रति थप सुन्दर कृतिहरूको अपेक्षासहित साधुवाद !

२०७६ भदौ २७ गते शुक्रबार प्रकाशित