धराप बन्दै कोसी बाँध स्थानीयको पीडा कसले सुनिदेला ?

काठमाडौँ : कोसी बाँधको पूर्वी तट फुटेर ठूलो धनजनको क्षति भएको ११ वर्ष पुगेको छ । भदौ २, २०६५ मा उक्त बाँध फुटेको थियो । बाढीका कारण सुनसरीका पश्चिम कुसाहा, श्रीपुर, जब्दी, हरिपुर गा.वि.स. पूर्णतः प्रभावित थिए । लौकही गाविस आंशिक प्रभावित थियो । कुसाहा गाविसमा पर्ने पूर्वी तटको स्पर नं. १२.१० र स्पर नं. १२.९० को बीचमा क्षति हुँदा उक्त बाँध फुटेको हो ।

बाढीबाट ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए । हजारौँ बिघा जमिन बगरमा परिणत भएको थियो र ठूलो धनजनको क्षति भएको थियो ।

कोसी बाढीपीडितको राहतका निम्ति २०६५ पुस २ गते तत्कालीन गृहमन्त्रीसहितको सरकारी टोली र बाढीपीडितका प्रतिनिधिसहितको वार्ताले दिएको सुझावअनुसार पुस २२ गते उपप्रधानमन्त्री स्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी राहत उपलब्ध गराउन एक समिति गठन गरेको थियो ।

जसअनुसार २०६५ फागुन २२ मा नन्दनकुमार दत्तको नेतृत्वमा २० सदस्यीय कोसी पीडित उच्चस्तरीय कार्यदल गठन ग¥यो । तर ११ वर्ष बितिसक्दा पनि पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन् । भारत सरकारले उपलब्ध गराउने भनिएको ८० करोड अझसम्म उपलब्ध गराएको छैन ।

सन् १९५४ मा नेपाली काङ्ग्रेसको सरकारले कोसी सम्झौता गरेको थियो । जसमा राजा त्रिभुवनले लालमोहर लगाएका थिए । कोसी बाँध निर्माण गर्दा ९ लाख क्युसेक घनमिटर क्षमताको बनेको थियो । हाल गिट्टी, बालुवा भरिएर बाँध (जलभण्डार क्षमता) घटेर २ लाखदेखि २ लाख पचास हजार क्युसेक घनमिटरमा सङ्कुचन भएको छ । यो तथ्याङ्क आफैँमा डरलाग्दो छ । बाँधका स्परहरू बाँधका रक्षाकवच हुन् । तर स्परहरू पनि कहिल्यै मर्मत गरिएका छैनन् । त्यसकारण कोसी बाँध, त्यसका स्पर र जलभण्डार क्षेत्र भयानक धराप बनेका छन् ।

कुनै पनि बेला उक्त बाँध भत्कन सक्छ । अहिले आसपासका जनताले ‘कोसीपीडित सरोकार समिति’ गठन गरी त्यसैको नेतृत्वमा सभा, धर्ना, प्रदर्शन गरिरहेका छन् । कोसीपीडितलाई दिने भनिएको क्षतिपूर्ति नै नदिएको र २०६५ सालको बाढीका पीडितलाई पूरा गर्नुपर्ने दायित्व नै पूरा नगरेको भारतले कोसी उच्चबाँधमा आँखा गाडेको छ । स्थानीय जनता भने सङ्घर्षमा उत्रन बाध्य भएका छन् । तर सरकारले बेवास्ता गरिरहेको छ ।

२०७६ भदौ २४ गते मंगलबार प्रकाशित