धतुरो रोपेर गुलाबको आस

- अम्बिका पाठक

संविधानमा स्वास्थ्यलाई आधारभूत र मौलिक अधिकार अनिएको छ तर त्यसविरुद्ध व्यवहार भएको छ । सरकारले बजेट खर्च गर्न नसकेर फ्रिज भएको छ । भ्रष्टाचारले आकाश छोएको छ । जहाँ जाऊ स्वास्थ्यमा भ्रष्टाचार, शिक्षामा भ्रष्टाचार, अदालतमा भ्रष्टाचार, मालपोतमा भ्रष्टाचार, वकिलमा भ्रष्टाचार, न्यायाधीशमा भ्रष्टाचार… यस्तो गुनासो बढेको बढ्यै छ । सामान्य मान्छेले आफ्नो जीविकोपर्जन गर्न पनि नसक्ने भैसकेको छ । नेता र कर्मचरीले सेवाप्रदान गर्न बजेट छैन भन्ने, मन्त्रीको धारणा जिम्मेवारीपूर्ण छैन । मूल नै सफा छैन । सिंहदरबारका शासकहरू सबै भ्रष्ट भए सिंहदरबारबाट गाउँगाउँसम्म भ्रष्टाचार छ । जहाँ विकृति त्यहाँ विद्रोह अवश्य हुन्छ । भ्रष्टाचारको टायर चलिरहेछ ।

संयुक्त राष्ट्रसङ्घ मातहतको विश्व स्वास्थ्य सङ्गठनले हरेक लोकतान्त्रिक सरकारले स्वास्थ्य सेवामा जम्मा बजेटको न्यूनतम् १० प्रतिशत बजेट छुट्ट्याउनुपर्ने प्रावधान राखेको छ । जनस्वास्थ्य सङ्गठनले सरकारले स्वास्थ्य सेवामा बजेटको न्यूनतम् १० प्रतिशत जनस्वास्थ्यमा खर्च गर्नुपर्ने मान्यता राखी माग पनि गरेको छ तर सरकारले ४ प्रतिशत मात्र छुट्ट्याएको छ । यसबाट सरकार जनस्वास्थ्यप्रति कति गैरजिमेवार छ भन्ने थाहा हुन्छ । यस्तो अवस्थामा आमजनताको स्वास्थ्य सुरक्षाको अधिकार कसरी कायम हुन्छ ? समृद्धि र कम्युनिस्ट शासन यही हो ? जबसम्म यो देशमा भ्रष्टाचार नियन्त्रण हुँदैन तबसम्म देशको विकास पनि हुन सक्दैन । हँसिया–हथौडाको झन्डा बोकेर म कम्युनिस्ट हुँ भन्न पनि अलिकति लाज लाग्दैन । हुनत यिनलाई नेपाली माटोको के माया ? नेपाली आमालाई बेलाबेलामा बलात्कार गरी नै रहेका छन् । गधालाई गाई बनाएर पुज्छन् झोलेहरू । जनताको घरमा आज सिटामोल छैन । गाँसबास छैन । चारैतिर भ्रष्टाचार झाँगिएको छ । जबसम्म पुरानो पद्धति बदलिँदैन तबसम्म यी दलाल शासकहरू झाङ्गिँदै जान्छन् । जबसम्म यो देशमा दलाल पुँजीवादको अन्त्य हुँदैन तबसम्म यो देशमा शान्ति र समृद्धि हँुदैन । भारतले रोक लगाएका ३७ कम्पनी फार्मेसी गुणस्तरहीन औषधी नेपालमा आइराखेका छन् । त्यसको अनुगमन खै ? त्यो कसले गर्ने ? मान्छेहरू गाउँगाउँबाट उपचारका लागि सहरमा आइपुग्छन् । अस्पताल काल्पनै गर्न नसक्ने महँगो छ । उपचार गर्न नसकेर बीचैमा हिँड्नुपर्ने अवस्था छ । यो दलाल पुँजीवादी शासकहरूको व्यवस्थाले गरिब जनताको ढाड सेकिएको छ । जता गयो शुल्क, जता गयो शुल्क । यो दलाल सरकारदेखि कोही सन्तुष्ट छैनन् । यो सरकार कुहिएको गोबरको थुप्रोजस्तै भएको छ । बिखर्ची हुनुपर्ने अवस्था छ । गत वर्ष उपचार खर्च खोज्न नसकेर शिक्षण अस्पताल महाराजगन्जमा एकजना बिरामी कुरुवाले आत्महत्या गरेका थिए । त्यस्तो अवस्था नागरिकको छ । संविधानमा भने ‘सबै नागरिकलाई प्राथमिक उपचारको हक हुनेछ भनिएको छ । संविधानमा लेखेर, भाषण गरेर मात्रै हुन्छ त ?

स्वास्थ्य मन्त्रालयले गएको वर्ष नै नेपाल आत्मनिर्भर भएका २० थरीका औषधीहरू बाहिरबाट मगाउन नपाउने भन्थ्यो तर चीन, भारत, बेल्जियमबाट आएकै छन् । हरेक वर्ष बच्चा पाउने १ लाख आमामध्ये १ सय ३९ जनाको मृत्यु हुनुमा यस्तो कमसल र महँगो स्वास्थ्य जिम्मेवार छ ।

दूषित हावापानी र खानेकुराको बिगबिगी छ । भारतबाट नेपाल निर्यात गर्ने उद्देस्यले फर्मालिन हालेका माछा र मापदण्डभन्दा बढी विषादी प्रयोग गरेका फलफूल–तरकारी निर्बाध नेपाल भित्रिन्छन् । सरकारले त्यसलाई रोक्न सकेको छैन । चोरी निकासीका औषधी कमिसनको खेलमा गुणस्तरहीन औषधी पसलपसलमा पुगेका छन् । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयको स्वच्छ नेपाल, स्वस्थ नेपालीको नारा पञ्चायती व्यवस्थाको गाउँ फर्क अभियानजस्तै हाँसोलाग्दो भएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रशासन र प्राविधिक क्षेत्रका कर्मचारी, डाक्टरहरूको अवस्था उस्तै दयनीय छ । काम धेरै गर्नुपर्ने, सुविधा बाँच्न पुग्नेसम्म हुँदैन । चरम श्रमशोषण हुन्छ । बोल्यो वा आवाज उठायो भने जागिर जान्छ । रोजगार सुरक्षित छैन । ठेक्का प्रथा छ । आम नागरिकले स्वास्थ्य सेवा नपाउने, श्रमिकले न्यूनतम् सुविधा नपाउने देशलाई समृद्ध देश भन्न सकिन्छ ? के यही हो कम्युनिस्ट व्यवस्था ? म त भन्छु अहिलेको दलाल सरकार तानाशाह र भ्रष्ट सरकार हो । अहिलेको दलाल सरकार भनेकै एउटा रित्तो भाँडो हो । नैतिक विचलन भएको सरकार र राजनीतिक भिकारी दलाल पुँजीवादी व्यवस्था के कम्युनिस्ट हुन सक्छ ?

सांसदहरूकै केही गुनासो हेर्दा स्थिति स्पष्ट हुन्छ । एकजना जनप्रतिनिधिले पाल्पा जिल्ला अस्पतालमा १ वर्ष देखि रुई र सुईसमेत उपलब्ध नभएको दुखेसो गरिन् । गुल्मी जिल्ला अस्पतालमा आकस्मिक बाहन छैन । तर सरकार भने समृद्धिको नारा लगाइरहेको छ । काठमाडौँको सीमा जोडिएका जिल्लामा दरबन्दी भएका मध्ये ५० प्रतिशत पनि कार्यरत छैनन् ।

कुराले विकास हुँदैन पहिला मुहान सफा हुनुपर्छ । अनि सबै सफा हुन्छ । मस्तिष्कको सफ्टवेर बदलौँ । हाम्रो गिदीभित्र ४ वटा स्वास्नी ल्याउने, धन कमाउने, रातभर रक्सी खाने अनि उज्यालो हुँदा प्रहसन देखाउने दुईचारजना झोलेहरूले ताली पड्काउँदैमा समृद्ध नेपाल बन्दैन । यो दलाल सरकारले धनका लागि आफ्ना आमा पनि बेच्छन् होला । भ्रष्टहरूको जालो माथिदेखि तलसम्म छ । साँचो वा मेसिन जस्तो छ उत्पादन पनि त्यस्तै भयो । हामी धतुरो रोपेर गुलाबको आस गरिरहेका छौँ ।

२०७६ वैशाख १९ गते बिहीबार प्रकाशित