देशको वर्तमान चित्र

- वीरेन्द्र शाह

देश यतिबेला असाध्यै चुनौतीपूर्ण ढङ्गबाट अगाडि बढिरहेको छ । त्यसको अनुभूति आमनागरिकले गरिरहेका छन् । सरकार र सत्तामा भएकाहरूले जेसुकै कुराको भाषणबाजी गरे पनि आमनागरिकको जीवन कष्टप्रद छ र सहज जीवनयापन गर्न असम्भव भएको छ । देशको वर्तमान चित्र हेर्दा मृत्युशैय्यामा छट्पटाइरहेको आभास भैरहेको छ । चर्को कर, बढ्दो महँगी, सामाजिक असुरक्षा, बेरोजगारी, विभिन्नखाले उत्पीडनहरूले आमनागरिक आक्रान्त छन् । भ्रष्टाचार संस्थागत भएको छ । हरेक सरकारी र जनप्रतिनिधिहरू भएका अड्डाहरूमा त लुटै मच्चिएको छ । बलात्कार, हत्या–हिंसाका घटनाहरू बढ्दो क्रममा छन् र पीडितले न्याय पाउन पनि सहज छैन किनकि जताततै विकृत राजनीति जेलिएको छ । मानवअधिकार हननका घटनाहरू तीव्र रूपमा बढेका छन् जसमा राज्य आफैँ संलग्न छ ।

देशको अर्थतन्त्र धराशयी बनेको छ । देश विदेशी उपभोग्य वस्तु बिक्री गर्ने बजारका रूपमा परिणत भएको छ । देशको शिक्षाक्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना बनेको छ । युवाहरूको बाध्यात्मक विदेश पलायन भनीसाध्यै छैन । देशको राजनीतिको कुरा गर्ने हो भने असाध्यै घिनलाग्दो र जनताको आशा–भरोसा नै उठिसकेको छ । सरकार र सत्तामा भएकाहरूले देशमा लोकतन्त्र र गणतन्त्र आएको कुरा, संविधान बनेको कुरा, शान्ति, स्थिरता र समृद्धिको कुरा गरेर थाक्दैनन् तर जनताको जीवनमा कुनै पनि परिवर्तन आएको छैन । देशको यो वर्तमान चित्र हो ।

विद्यार्थी आन्दोलनका सन्दर्भमा बहस केन्द्रित गर्दा देशको वर्तमान चित्रको सार बुझ्न पनि आवश्यक छ । जस्तोसुकै कठिन र चुनौतीपूर्ण अवस्था आए पनि के हामीले हाम्रो देशलाई बिर्सिन मिल्छ त ? के हामी लाखौँ युवाविद्यार्थीहरूको भविष्य अँध्यारोतिर गएको टुलुटुलु हेरेर बस्न मिल्छ त ? पटक्कै मिल्दैन र त्यसको जबाफ दिन हामी तयार हुनुपर्छ । नयाँ बहस र दिशामा विद्यार्थी आन्दोलन पनि अगाडि बढाउनुपर्छ, निर्विकल्प ।

इतिहासलाई फर्केर हेर्दा संसारका हरेक परिवर्तन र आन्दोलनहरूमा विद्यार्थीहरूको भूमिका अग्रभागमा रहेको छ । नेपालको हकमा पनि सबैखाले सामाजिक रूपान्तरण र परिवर्तनका आन्दोलनहरूमा विद्यार्थीहरूको भूमिका गौरवपूर्ण नै छ । वर्तमान सन्दर्भमा विद्यार्थी आन्दोलनको विश्लेषण गर्दा अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा पनि विद्यार्थी आन्दोलनले नयाँ दिशा पक्रिन नसकेको देखिन्छ र त्यो फेरि समग्र विषय नयाँ दृष्टिकोण, विचार र दर्शनको विकास र उत्पत्तिसँग जोडिन पुग्छ । स्टेफिन हकिङ्सले भन्नुभएजस्तै विज्ञानको विकास जुन गतिमा अगाडि बढ्यो, त्यो गतिमा दर्शनको विकास हुन सकेन जसले गर्दा समाजलाई नेतृत्व प्रदान गर्नसक्ने नयाँ दर्शनको अभावले सामाजिक रूपान्तरण र आन्दोलनका प्रक्रियाहरू बीच बाटोमै अल्मलिएका र अल्झिएका जस्तै छन् । त्यसकै एउटा सानो अंश युवा विद्यार्थी आन्दोलन पनि हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा हेर्दा ठूलाठूला विद्यार्थी आन्दोलनहरू हुन सकेका छैनन् र त्यहाँ दलाल पुँजीवादी व्यवस्थाले आन्दोलनलाई नै विभाजित गरिदिएको छ । सत्ता र सरकारबाट टाढा रहेका केही कम्युनिस्ट विचारधारानिकट क्रान्तिकारी विद्यार्थी सङ्गठन र अन्य प्रतिपक्षी, सुधारवादी धाराहरू निकट विद्यार्थी सङ्गठनहरूका सामान्य गतिविधिहरू मात्रै छन् । समग्र प्रभावमा छैनन् र फेरि त्यो विषय त्यहाँको वर्तमान कम्युनिस्ट आन्दोलनको प्रभावसँग प्रत्यक्ष जोडिने कुरा पनि हो । नेपाली विद्यार्थी आन्दोलनको सन्दर्भ हेर्दा नयाँ गति पक्रिन सकेको देखिन्न र विद्यार्थी आन्दोलन पनि विभिन्न भागमा विभाजित भएको छ । सत्ता र सरकारसँग जोडिएकाहरू नेता, नेतृत्वको गुलामी र सरकारको बचाउमै ठिक्क छन् । संसद्मा प्रतिपक्षी भनिएका दलसँग जोडिएकाहरू आफ्नै रोइलोमा र साङ्गठनिक समस्याको जालोमा बेरिएका छन् । यस्तो जटिल परिवेशमा क्रान्तिकारी आन्दोलन र विद्रोहसँग जोडिएकाहरूले उठाएको विद्यार्थी सङ्घर्षले विद्यार्थीहरूको हक र अधिकारका लागि आन्दोलन जारी रहेको अनुभूति त सबैले गरेका छन् तर त्यतिले मात्रै पुग्छ त ? नेपालका लाखौँ विद्यार्थीहरू नेतृत्व गर्ने प्रश्नको हल भेटिन्छ त ? त्यसका लागि सबै सीमा, समस्या र कमजोरीहरूको समीक्षासहित विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन जरुरी देखिन्छ ।

देशको शिक्षा क्षेत्र विभिन्न समस्याहरूले जकडिएको छ । शिक्षा क्षेत्रमा निजीकरण र व्यापारीकरण व्याप्त छ । राज्य सञ्चालन तहमा रहेकाहरू शिक्षाको दलालीकरण गर्न र कमिसन खानमा लागेका छन् । सरकारी शिक्षा हेर्ने हो भने विद्यालयहरूको अवस्था दयनीय बनेको छ । अभिभावकलाई निजी विद्यालयमा भर्ना गर्न बाध्यात्मक परिस्थिति उत्पन्न गरिएको छ । सरकारी विद्यालयका शिक्षकहरूकै लगानीमा निजी विद्यालयहरू खोलिएका छन् । शिक्षाको गुणस्तर पनि एकदम कमजोर रहेको छ । प्राविधिक तहको उच्च शिक्षा त असम्भव नै छ । आधारभूत तहको शिक्षा हेर्ने हो भने पनि सहजै मजदुर– किसानका छोराछोरीहरूले पढ्न पाउने अवस्था छैन । विद्यार्थीको पढ्ने चाहना हुँदाहुँदै पनि बीचमै पढाइ छोडेर बिदेसिन बाध्य छन् । विश्वविद्यालय क्षेत्र चुर्लुम्म राजनीतिक हस्तक्षेप र भागबन्डामा डुबेको छ । त्यहाँ योग्यता र क्षमताको कदर हुँदैन । शिक्षा क्षेत्रमा भएको भ्रष्टाचार हेर्ने हो भने सीटीईभीटीलाई दोस्रो भन्सारको नाम दिइएको छ । मेडिकल शिक्षामा दलालीकरण र माफियाकरणले हद नाघेको छ । विश्वविद्यालयबाट सम्बन्धन दिनका लागि करोडौँ रकमको चलखेल हुन्छ । राज्यद्वारा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणका लागि छुट्ट्याइएको रकममा चालीस प्रतिशतसम्म भ्रष्टाचार हुन्छ । शिक्षा क्षेत्रको वर्तमान चित्र सारमा यही नै हो ।

शिक्षा क्षेत्रको अवस्था यस्तो दयनीय हुँदा पनि किन विद्यार्थी आन्दोलनले गति लिन सकिरहेको छैन ? यो विषयको गम्भीर्यलाई बुझ्न र हल खोज्न आवश्यक छ । नेपालको घिनलाग्दो फोहोरी सत्ताराजनीति र यसको प्रभावले नयाँ पुस्ताका युवाविद्यार्थीहरूमा राजनीतिप्रति तीव्र वितृष्णा र निराशा जागेको छ । फलस्वरूप अहिले हामी हेर्छौं– क्याम्पस र विश्वविद्यालयहरूमा विद्यार्थी आन्दोलन र सङ्गठनमा सहजै नयाँ पुस्ता जोडिइरहेको छैन । युवा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रूपमा कमजोर पारिएको छ । जति पढे पनि जानुपर्ने विदेश नै हो । नेपालमा केही गर्न सकिन्न र आन्दोलन लाग्नु भनेको जीवन बर्बाद पार्नु मात्रै हो भन्ने बुझाइ निर्माण भएको छ । के आन्दोलनमा नयाँ जीवन खोज्न सकिन्न त ? के आन्दोलनबाट नयाँ पुस्ताका लागि सुनौलो बाटो निर्माण गर्न सकिन्न त ? के अब निराश भएका युवा विद्यार्थीहरूमा आशा जगाउन सकिन्न त ? सकिन्छ अवश्य पनि !

विद्यार्थी आन्दोलनमा यी समस्याहरू हल खोज्दा आगामी दिशाका बारेमा बहस केन्द्रित गर्दा पहिलो कुरा नेपालको विकृत र भ्रष्ट राजनीतिबाट विद्यार्थी नेताहरू बच्न जरुरी छ र लाखौँ विद्यार्थी र आमजनताका अगाडि नयाँ राजनीतिक संस्कार र चरित्र युवा विद्यार्थी नेताहरूले प्रस्तुत गर्न जरुरी छ । राजनीति र आन्दोलनभित्र रहेका सबैखाले गलत प्रवृत्तिहरू र कामहरूको भन्डाफोर गर्न जरुरी छ । विद्यार्थी आन्दोलनमा एउटा नयाँ बहसको सिर्जना गर्दै शैक्षिक मुद्दाहरूमा केन्द्रित आन्दोलनको जबर्जस्त उठान गर्न आवश्यक छ । विद्यार्थी आन्दोलनका नेताहरूले नयाँ खोज र अनुसन्धान प्रक्रियामा जुट्न जरुरी जसले राजनीतिलाई पनि सङ्लो बनाओस् जसबाट सामाजिक सांस्कृतिक र आर्थिक रूपान्तरणको आन्दोलनलाई पनि सहयोग होस् । यी आधारभूत विषयहरूसँगै क्रान्तिकारी विद्यार्थी सङ्गठनहरूको संयुक्त मोर्चा, अन्य प्रतिपक्षी सङ्गठनहरूसँग पनि आवश्यक सहकार्यबाट आन्दोलन अगाडि बढाउन सकिन्छ । शैक्षिक अधिकारका मुद्दाहरूमा नेपालका सडकहरूमा लाखौँ विद्यार्थी उतारेर राज्यलाई माग सम्बोधनका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न सकिन्छ । राज्यले देश, जनता र आमनागरिकको अहितमा गरेका निर्णयहरूका विरुद्ध सबैभन्दा पहिला विद्यार्थीहरू सडकमा ओर्लिनुपर्छ । अर्को विषय अहिलेको परिवेशमा अन्तर्रष्ट्रिय स्तरमा पनि अन्य देश युवा विद्यार्थीहरूसँग पनि छलफल र बहस गर्नुपर्छ र मिल्ने विषयवस्तुहरूमा विभिन्न देशहरूमा पनि संयुक्त विद्यार्थी आन्दोलनको विकास पनि गर्नुपर्छ ।

अन्त्यमा, देश सङ्कटमा छ र देशलाई हाम्रो खाँचो छ । त्यसैले जस्तोसुकै कठिनाइको घडी आए पनि युवा विद्यार्थीहरू निराश हुन मिल्दैन । आफ्नो मनोबल कमजोर बनाउनु हुँदैन र आवश्यक परेको बेला आन्दोलनको नेतृत्व र राजनीतिको जिम्मा लिने तहमा पुग्नुपर्छ । हामीले बिग्रेको र भत्केको कुरा छरपस्ट छोडिदियौँ भने आउँदो पुस्ताको भविष्य झनै अँध्यारोतिर धकेलिनेछ । समाजको सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा हामीले हाम्रो तहबाट योगदान गर्नैपर्छ तब मात्रै सार्थक विद्यार्थी आन्दोलनको अर्थ र महत्व रहन जान्छ ।