दुनियाँ बदल्ने जिम्मेवारी

- सुमनसिंह पौडेल


हामीले विश्वको अनिवार्य सत्य अर्थात् वैज्ञानिक समाजवाद साम्यवादसम्मको यात्रा तय गरिसकेका छौँ । वर्गसङ्घर्षको निरपेक्ष प्रक्रियामा सचेततापूर्वक क्रान्तिकारी पहलकदमी लिनु हाम्रो मुख्य काम हो । यसो हुँदा मात्र लिइएको रणनीतिक लक्ष्य चुम्न हामी सफल हुन्छौँ । क्रान्ति कुनै खेल वा रोमान्स होइन, यहाँभित्र धेरै ठूलो जिम्मेवारी रहेको छ । जसले सिङ्गो राष्ट्र र विश्व समुदायमाथि हाबी रहेको दलाल पुँजीवादको जरा पल्टाउने काम गर्छ । क्रान्ति गर्नु भनेको वर्तमान विश्वमा शोषणको साम्राज्य चलाइरहेको दलाल पुँजीवादका सबै संयन्त्र, प्रविधि, सैन्यशक्ति आदि सबै शक्तिलाई परास्त गर्दै त्यसमा श्रमशीलहरूद्वारा नियन्त्रण कायम गर्नु हो र वैज्ञानिक समाजवादी साम्यवादी समाज निर्माण गरेर अगाडि बढ्नु हो । त्यसैले हामीले के बुझ्न आवश्यक छ भने क्रान्तिको प्रक्रिया श्रमशील वर्गद्वारा शोषक वर्गविरुद्ध हतियारबद्ध, सुसङ्गठित स्वरूपमा बल प्रयोगकै विधिमार्फत भीषण हमला गरेर जित्ने र सत्ता लिने प्रक्रिया हो । त्यसो हुँदा यो नेपाली आहान ‘घिउ र भात खाएजस्तो सजिलो’ भने पक्कै छैन ।

यतिबेला संसारमा दलाल पुँजीवाद र विश्वका ९७ प्रतिशत आमजनताबीचको अन्तरविरोधले पैदा गरेको नयाँ र अनिवार्य सम्भावनाका आधारमा विश्वभर क्रान्तिकारी पहल भैरहेका छन् । भाकपा माओवादी निरन्तर सङ्घर्षमा छ । इन्डियन निगम पुँजीवादले निम्त्याएको सामाजिक सङ्कटका कारण पैदा भएको समाजवादी, साम्यवादी सत्ताको सम्भावनालाई सार्थक बनाउन बलिदानीपूर्वक युद्ध लडिरहेको छ । विश्वका अन्य दर्जनौँ देशहरूमा मालेमावादी विचार र दृष्टिकोणका आधारमा निगम पुँजीवादी सङ्कटको हलका निम्ति आन्दोलनका प्रयत्न भैरहेका छन् । उत्तरसाम्राज्यवादी अमेरिकाभित्रै पनि वैज्ञानिक समाजवादी साम्यवादी आन्दोलनको आवश्यकताका विषयमा बहस तीव्र बन्दै गएको छ । युरोपका दर्जनौँ देशमा बहस र आन्दोलनहरू उठिरहेका छन् । विश्वभर उत्पन्न घटनाक्रमहरूले के तथ्यलाई साबित गर्दै लगेको छ भने निगम पुँजीवादी शक्तिकेन्द्रहरूविरुद्ध विश्वभरिका जनता असन्तुष्ट छन्, आन्दोलित हुँदै गइरहेका छन् र यो धु्रवीकरणतर्फ गइरहेको छ ।

जनगणतन्त्र कोरिया (उत्तरकोरिया) र अमेरिकी तनाव, चीन र अमेरिकाबीचको व्यापार युद्ध, भेनेजुएलामा देखिएको हस्तक्षेप र त्यसले पैदा गरेको ध्रुवीकरण, इरानमाथि अमेरिकी सैन्य हस्तक्षेप, मध्यपूर्वी राष्ट्रहरूमा अमेरिकाले लादेको भयानक युद्धले अन्तरविरोध चर्काएको छ र ती अन्तरविरोधहरू प्रस्ट सतहमा आउन पुगेको छ । यी सबै घटनाक्रमहरूले सिङ्गो विश्वलाई नै ध्रुवीकृत गरेको छ । यो ध्रुवीकरण निगम पुँजीवाद (जसको नेतृत्व अमेरिकाले गरेको छ) र त्यसले लादेको शोषण हस्तक्षेपको कट्टर विरोध गरिरहेका अन्य राष्ट्रहरूका बीचमा छ । अमेरिकाले निगम पुँजीवादको नेतृत्व गरेको छ भने चीन, रुस, उत्तरकोरिया, भेनेजुयला र मध्यपूर्वी देशहरू त्यसको विपक्षमा उभिने स्थिति बनेको छ ।

तथापि समस्या कहाँ छ भने विपक्षमा उभिने राष्ट्रहरूमा तात्कालिक सङ्कट थेग्ने, तत्काल प्रतिरोध गर्ने, त्यसको विरोधमा धारणा सार्वजनिक गर्ने मात्र काम भएको पाइएको छ । महाशक्ति भनिएका चीन, रुस, उत्तरकोरिया क्रान्तिकारी पहलमार्फत अहिलेको अवस्थामा आइपुगेका राष्ट्र भए पनि माक्र्सवादको व्याख्या र प्रयोग, विश्व अन्तरविरोधको सही पहिचान र त्यसको माक्र्सवादी दृष्टिकोणबाट समाधान, दलाल पुँजीवादको अन्त्यपछि स्थापना हुने वैज्ञानिक समाजवाद र साम्यवादी दुनियाँको विषय, विश्वभरिका जनताका बीचमा पैदा भएको चरम अभाव र त्यसले माग गरिरहेको विकल्प, विश्वभरिका जनता र राष्ट्रहरूमाथि लादिएको साम्राज्यवादी कर्पोरेट शोषण यस्ता विहङ्गम विषयमा यी ठूला शक्तिशाली राष्ट्रहरूले बहस गर्न भने सकेको पाइन्न ।

त्यसो त पुँजीवादी कोणबाट माक्र्सवाद सर्वसत्तावादी छ, यसमा लोकतान्त्रिक मान्यता छैन भन्ने ढङ्गबाट कयौँ रचनाहरू गरिए । ग्राबिया ए. अल्मान्ड, हन्ना आर्न्ट, फर्नान्डो केभडिन, फिलिप सेलजेनिक, जेकब ताइमन, जोसेफ सुम्पटरलगायतले माक्र्सवादको आलोचना गरे । यसको निरन्तरता फ्रान्सिस फुकुयामाको The end of history and the last man -1992 सम्म दोहोरिरहे । १९५० पछि अफ्रिका र एसियाली मुलुकहरूमा माक्र्सवाद उपनिवेशविरुद्धको सङ्घर्षका रूपमा प्रस्तुत भयो । भियतनाम, अङ्गोला र मोजाम्बिक यसका उदाहरण हुन् । २० औँ शताब्दीतिर आइपुग्दा माक्र्सवादको विश्वव्यापी प्रभाव कमजोर बन्दै गयो । सोभियत सङ्घको विघटन भयो । चीनको समाजवाद पनि पुँजीवादमै गएर टुङ्गियो । अन्ततः समाजवादी सत्ताहरू पुँजीवादमा गएर पतन हुन पुगे । यद्यपि यतिबेला विश्व–परिस्थितिमा ठूलो बदलाव आएको छ । आज पुँजीवादी उत्पादन सम्बन्धको ठाउँमा दलाल निगम पुँजीवाद (जसले पुँजीवादी उत्पादन सम्बन्धलाईसमेत शोषण गरिरहेको छ) हाबी भएर आएको छ । परिवेश कस्तो बन्दै गएको छ भने पर्यावरणीय सङ्कट समाधानका निम्ति पुँजीवादको अन्त्य गरेर दुनियाँलाई नयाँ ठाउँमा लैजाने समाजवाद–साम्यवादमा जान आवश्यक छ भन्ने निष्कर्षमा विश्वभरिका विज्ञ बुद्धिजीवीहरू पुग्दै गएको पाइन्छ । तसर्थ आजको विश्वमा फेरि माक्र्सवादमाथि गहन अध्ययन सुरु भएको छ, यो सुखद छ । यद्यपि माक्र्सवादको कार्यान्वयनको पाटोमा निरन्तर लागिरहेका हामी मालेमावादीहरूले व्यवहारमा परिक्षित भैरहने र निरन्तर लागिरहने कुरा नै मुख्य छ र हुन्छ ।

यसरी हेर्दा के विश्वमा विचार विकासको सन्दर्भमा सङ्कट परेकै हो त ? स्टेफन हकिङले भनेजस्तै समाज विज्ञान मर्दै गएको हो त ? माक्र्सले भनेको जस्तै दुनियाँ बुझेर पनि बदल्ने विचार र पहलबाट विश्व समुदाय बिमुख हुँदै गएकै हो त ? यी गहन प्रश्नहरू अनुत्तरित बनिरहेका छन् । यसको सही जबाफ माक्र्सवादी दृष्टिकोण, यसको प्रयोग र त्यहाँबाट पैदा हुने विधि र विचारको सम्मुख छ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन । यद्यपि विचार विकासको यो खडेरीमा नेपालजस्तो मुलुकबाट विश्वको सङ्कट हल गर्न सकिने विचार र विधिको विकास हुन खोज्नु, यसको परीक्षण हुँदै जानुसँगै यसले उद्घाटित गरेका तथ्यहरू एकपछि अर्को गर्दै पुष्टि हुँदै जानु सुखद छ जो नेपालमा एकीकृत जनक्रान्तिका नाममा परीक्षित भैरहेको छ ।

विश्वमा रहेको करिब ८ अर्ब जनसङ्ख्या तीव्र वृद्धिका क्रममा छ । यो जनसङ्ख्यालाई निकट भविष्यमै बसोबास, खाद्यान्न, पानी, इन्धन पर्यावरणका क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न हुनेछ । जसकारण यो विश्वलाई एउटै राष्ट्रमा बदल्दै शोषणरहित, विभेदरहित राज्यको निर्माण गर्दै विश्वभरिका जनताहरूलाई राख्नुपर्ने आवश्यकता नजिक हुँदै गएको विज्ञहरूको बुझाइ रहन थालेको छ । स्टेफन हकिङले त विश्वव्यापी सरकारको आवश्यकता नै औँल्याए । कार्ल माक्र्सले समाज विकासको विज्ञानमा त्यसका चरणहरू बताउँदै उहाँले पुँजीवादलाई निषेध गर्दै समाजवाद स्थापना हुने र त्यही समाजवाद नै साम्यवादको ढोका भएकाले त्यसपछि दुनियाँ साम्यवादमा प्रवेश गर्नेछ भन्नुभयो । माक्र्सले भन्नुभएका विषयहरू समाज विज्ञानमा एकपछि अर्को गर्दै पुष्टि हुँदै गएका छन् । साँच्चिकै शोषणरहित समाज, जातविहीन, वर्गविहीन, धर्मविहीन, राष्ट्रविहीन अवस्थामा मानिसहरू सुख, सम्पन्न र खुसीले जीवन बिताउने सुन्दर व्यवस्थाको उहाँले कल्पना गर्नुभयो । आजको मितिमा तथ्यहरूले पनि यी कुराहरूलाई पुष्टि गर्दै लगेको छ । यो विश्वको अनीवार्य आवश्यकता बनेको छ ।

आजको विश्वमा विद्यमान पुँजीवादी सङ्कटको एक मात्र हल वैज्ञानिक समाजवाद हुनसक्छ । विश्वका महाशक्ति राष्ट्रहरूसँग रहेको पुँजीवादी उत्पादन सम्बन्ध र त्यसबीचमा पैदा भएको ध्रुवीकरण र विभिन्न स्वरूपका जारी युद्धहरू विश्वको उपयुक्त व्यवस्थापनका विधि हुन सक्दैनन् । त्यसैले त्यहाँ विचार विकासको अभाव भैरहँदा नेपालमा कार्यान्वयनका क्रममा रहेको एकीकृत जनक्रान्ति र यसले व्याख्या गरेका हरेक पक्षहरूको सफलताले विश्वमै नयाँ हलचल पैदा गर्नेछ । विश्वलाई नै यसले विचार समृद्धिका निम्ति बहसमा तान्नेछ । दुनियाँलाई नयाँ ठाउँमा लान नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ । यसरी विश्वमा पैदा भएको विचार विकासको अभाव र चीन, रुसलगायत राष्ट्रहरूमा समाजवादी क्रान्तिमाथि भएको प्रतिक्रान्ति र त्यसले निम्त्याएको वैचारिक सन्नाटाको विश्व आकाशमा नेपालबाट उदाएको क्रान्तिको चम्किलो ताराले विश्वलाई वास्तविक तथ्यहरूको नजिक मात्र लानेछैन, यसले कम्युनिस्ट विश्वदृष्टिकोणका तथ्यहरूलाई थप बलियो बनाउनेछ र विश्वका ९७ प्रतिशत जनतालाई आकर्षित गर्नेछ । हामीले एकीकृत जनक्रान्तिको कार्यदिशा र हाम्रो आन्दोलनलाई त्यो उचाइबाट हेर्न आवश्यक छ ।

विश्वमा पैदा भएको पुँजीवादी सङ्कटको समाधान दिन सक्ने मालेमावादी विचार, दृष्टिकोण, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभव र नेपाली क्रान्तिले सिकाएको पाठको बीचैबीच हुर्किएको एकीकृत जनक्रान्तिलाई अगाडि बढाउने जिम्मेवारी र दायित्व सामन्य छैन । यसलाई कम आँक्नु बुद्धिमानी हुन्न । यो आन्दोलनमा सहभागी हुन पाउने विषयलाई सौभाग्यका रूपमा चित्रण गर्दा गलत हुन्छजस्तो लाग्दैन । यो हाम्रानिम्ति गौरवको विषय हो । विश्व पुँजीवादको दबदबा नेपालमा उल्लेख्य मात्रामा छ । नेपालको राजनीतिक सत्ता नै दलाल पुँजीवादको हातमा अडेको छ । त्यसो हुँदा त्योसँग भएका त्यसका सबै अङ्गप्रत्यङ्ग र संयन्त्रहरूसँग लड्नु अनिवार्य कर्तव्य हो र त्यसबाट कोही भाग्नु हुन्न । त्यसका विरुद्ध जमेर डटेर लड् नुपर्दछ । यतिबेला क्रान्तिको प्रक्रिया चलेको छ । यसमा क्रान्तिकारीहरूले धर्मराउनु हुन्न ।

माक्र्सले एउटा सन्दर्भमा भन्नुभएको छ, ‘ क्रान्तिको विकास बनाएको बाटोबाट हुन्न । यसको विकास यसले खुद बाटो बनाएर अघि बढ्दा मात्र सम्भव छ ।’ क्रान्ति सरल रेखाबाट होइन, यो बक्ररेखा भएर गुज्रन्छ । क्रान्ति कठिन प्रक्रिया हो । यहाँ दमन, जेल, नेल, हत्या सबै पचाएर दुस्मनविरुद्ध हाम्रो वर्गले निरन्तर लडिरहनु पर्दछ । क्रान्ति काँडैकाँडामा टेकेर हिँड्नु पनि हो । क्रान्ति खुकुरीको धारमा हिँड्नु पनि हो । क्रान्ति निर्मम हुन्छ, कठोर हुन्छ । यो प्रक्रिया कठिन अवस्थाबाट गुज्रन्छ किनकि यो दलाल पुँजीवादी संसदीय सत्ता खोसेर श्रमशील जनताले आफ्नो नियन्त्रणमा लिने प्रक्रिया पनि हो । क्रान्तिमा बलिदानलाई सहर्ष स्वीकार गरिन्छ । हरेक क्रान्तिकारीहरू मृत्युलाई जितेर, मृत्युपत्रमा हस्ताक्षर गरेर हिँडिरहेका हुन्छन् । आफैँलाई पड्काउन सक्ने आफ्नै टाउकोमा राँको सल्काउन सक्ने दृढता क्रान्तिकारीसँग हुन्छ । क्रान्तिकारीले विश्वभरका प्रतिक्रियावादीहरूसँग जुध्नुपर्ने हुन्छ । यी सबै विषयहरू बुझेर हो वा नबुझेर ? क्रान्तिकारी रोमान्टिसिजम हो वा अन्य केही ? दृष्टिकोणमा समस्या भएर हो वा अन्य केही ? पार्टीका केही नेता–कार्यकर्तामा एक प्रकारको आत्मसुरक्षावाद देखिन थालेको छ । सम्भवतः यो दुस्मनको दमनले निम्त्याउने सम्भावित कष्ट सम्झिएर डर सिवाय केही होइन । अथवा स्वार्थ सिवाय केही होइन । अथवा आन्दोलनप्रतिको धोका षड्यन्त्र सिवाय केही पनि होइन । यो के हो ? छलफल र समीक्षा आवश्यक भएको छ :

१. दृष्टिकोणमा समस्या

ऐतिहासिक भौतिकवाद समाज विकासका सामान्य नियमहरूको विज्ञान हो । यो समाजलाई भौतिकवादी ढङ्गले हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्नका निम्ति निर्देशित गर्ने मालेमावादी विश्वदृष्टिकोण हो । यही मुख्य दृष्टिकोणबाट बिमुख भयौँ भने हामीले समाजलाई ठीक तरिकाले बुझ्न सक्दैनौँ । सही तरिकाले व्याख्या गर्न सक्दैनौँ र बदल्न सकिन्छ भन्ने कल्पना गर्न सक्दैनौँ । हाम्रो पार्टी छोडेर हिँड्नेहरूमा यही समस्या देखिन्छ । उनीहरू दुनियाँलाई थोरबहुत बुझ्ने स्थितिमा थिए, व्याख्या सही ढङ्गले गर्ने अवस्थामा थिएनन् र बल प्रयोगबाटै दुनियाँ बदल्न सकिन्छ भन्ने मान्यताबाट च्यूत हुँदै बदल्ने कल्पनासम्म गर्ने अवस्थामा खुट्टा कमाउन पुगे । मुख्य दृष्टिकोणप्रति भरोसा, लगाव, दृढ विश्वास चाहिन्छ । यसको स्थानमा के हो के हो ? हुन्छ कि हुन्न ? जस्ता धर्मर धारणा र स्वमान्यता तयार गरेर क्रान्तिबाट भाग्नु आत्मसुरक्षावाद हो । दुनियाँलाइ बुझ्ने, बदल्ने, बदलेको दुनियाँको रक्षा र विकास गर्ने हाम्रो दायित्वलाई दरोसँग बुझ्न नसक्दा विचलनका समस्याहरू आउँछन् ती आइरहेका छन् । यो स्थिति अझ आउनेवाला छ । जनताले सही, इमानदार नेता वर्गसङ्घर्षको कठिन प्रक्रियाबाटै प्राप्त गर्नुपर्छ ।

२. निम्नपुँजीवादी अधैर्य

एकातिर पुँजीवादीहरूसँग सङ्घर्ष गर्नुपर्ने अर्कोतर्फ आफ्नो निजी सम्पत्ति बढाउने चाहना पनि रहने विरोधाभासपूर्ण चरित्र निम्नपुँजीवादसँग रहेको हुन्छ । यसैकारण निम्नपुँजीवादीहरू अधैर्य हुन्छन् । निम्नपुँजीवादी चिन्तन र चरित्र भएकाहरू पुँजीवादसँग सङ्घर्ष गर्नुपर्ने भएकै कारण उनीहरू कम्युनिस्ट पार्टीमा सामेल हुन आइपुग्छन् । व्यक्तिवादी जीवन, सामूहिक अनुशासन पालना गर्न नसक्ने जीवन व्यवहार, मालेमावादी सिद्धान्तलाई सही तरिकाले बुझ्न नसक्ने अवस्था, जनताको चेतना अभिवृद्धि गर्दै क्रान्तिकारी लाइनमा ल्याउनेभन्दा कसरी छिटो नेता बन्न सकिन्छ, कसरी व्यक्तिगत सम्पत्ति जोड्न सकिन्छ भन्ने ध्याउन्नमा हुन्छन् । परिणामतः उग्र वामपन्थी भड्काव वा दक्षिणपन्थी संशोधनवाद अन्ततः आत्मसमर्पणवादमा पुग्छन् र अनेकौँ निहँु बनाएर पार्टीबाट भाग्ने गर्छन् । निम्नपुँजीवादी चिन्तनले ग्रसित मस्तिष्कहरू, पात्रहरू र त्यहाँबाट स्थापित हुँदै गएको प्रवृत्ति खासमा आत्मसुरक्षावाद हो । यही प्रवृत्ति आज सल्बलाइरहेको छ । सम्पत्तिको भोक, लालच र व्यक्तिवादले आत्मसुरक्षाको अवस्थामा पुर्याएकाहरू क्रान्तिका निम्ति घातक हुन्छन् । यसको सही पहिचान गरेर यस्तो प्रवृत्तिलाई सबै समितिहरूमा टाउको उठाउन दिनु हुन्न ।

३. उच्च महत्वाकाङ्क्षा

कुनै खास विषयलाई महत्व दिएर त्यो प्राप्तिको आकाङ्क्षा राख्नु महत्वाकाङ्क्षा हो । मानिसमा महत्वाकाङ्क्षा हुनु जरुरी छ । महत्वाकाङ्क्षा कुनै विशेष खास उद्देश्य प्राप्तिका निम्ति अनिवार्य छ तर उच्च महत्वाकाङ्क्षा हुनु सही होइन । असम्भव भन्ने त केही हुन्न तर सम्भव साबित हुने क्षेत्रहरूमा पनि आकाङ्क्षालाई प्रोत्साहन दिएर तुरुन्त आफूलाई त्यहाँ समाविष्ट गर्नुले मूल उद्देश्यलाई घाटा पुर्याउँछ । जस्तै सङ्गठनमा आफूलाई छिट्टै माथि पु¥याउन खोज्नु, छिट्टै अधिक लाभ लिन खोज्नु उच्च महत्वाकाङ्क्षा हो । यसले सङ्गठनको पुरानो र नयाँ पक्षलाई निषेध गर्छ । पुरानो पक्ष इतिहास हो । यसले इतिहासको सम्मान पनि गर्न सक्दैन र नयाँ पक्ष वर्तमान हो जसलाई उत्साहित पनि गर्न सक्दैन । निम्नपुँजीवादी अधैर्यका कारण पार्टी परित्याग गर्ने, अर्को पार्टी चहार्न पुग्ने, आन्दोलनबाट भाग्नेजस्ता विचलन देखिन पुग्छ । यो प्रवृत्ति आन्दोलनको विरोधी प्रवृत्ति हो । यस्तो प्रवृत्तिको उचित पहिचान गर्दै यसलाई मौलाउन नदिनु आवश्यक छ ।

४. भयवाद

भय भन्नाले डर र वाद भन्नाले विचार भनेर बुझिन्छ । यसको अर्थ भयसम्बन्धी विचार । भयवादले डरसँगको विचार लिएर आएको हुन्छ । जब भयवादको आँखाबाट जीवन र जगत्लाई हेर्न थालिन्छ तब जताततै डर छाउन थाल्छ । यसले माक्र्सवादलाईसमेत भयमय देख्न पुग्छ । युद्ध, चाहे त्यो न्यायका लागि गरिने युद्ध होस् वा अन्यायपूर्ण युद्ध त्यहाँबाट पनि भय प्रवेश गर्दछ । यसरी हेर्दा आत्मसुरक्षावादको अर्को कारण भय अर्थात् डर पनि हो भन्न सकिन्छ । आत्मसुरक्षावाद भनेको आफूलाई सुरक्षित गर्ने विचार हो । जब मानिसमा डर, भय र त्रास पैदा हुन्छ त्यहाँ स्वतः आफ्नो सुरक्षाका बारेमा सोच्ने अवस्था बन्छ । यो अझ व्यक्तिकेन्द्रित आत्मसुरक्षावादका रूपमा अभिव्यक्त हुन पुग्छ । यसले मानिसलाई विचलित गराउँछ । अन्ततः मुख्य दृष्टिकोणबाट विमुख गराउँदै खुट्टा कमाउने अवस्थामा पु¥याउँछ र मान्छे आन्दोलनबाट भाग्न पुग्छ ।

निष्कर्ष

हामी दलाल पुँजीवादी सत्ताविरुद्धको सङ्घर्षमा छौँ । कुनै पनि मूल्य चुकाएर दुस्मनका सबै संयन्त्रमाथि विजय पाउँदै वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हाम्रो मुख्य कार्यभार हो । हाम्रा दुई प्रमुख जिम्मेवारी दुनियाँलाई बुझ्ने र बदल्ने हुन् । साथै त्यसको विकास र रक्षा गर्नेमा पनि हामी सचेत हुनुपर्छ । हामीले सोही विश्वदृष्टिकोणका आधारमा आफूलाई उभ्याउँदै आइरहेका छौँ । यतिबेलाको राष्ट्रिय आवश्यकता पनि यही हो– सानातिना झिनामसिना लालच, लोभमा नफसी राष्ट्र र जनताको अधिकार र मुक्त जीवनका निम्ति सङ्घर्षमा जमेर लाग्नु । हज्जारौँ सहिदहरूको रगतबाट उठेको सपना, आमउत्पीडित जनताको चाहना, सपनाको बीचबाट पैदा भएको हाम्रो आन्दोलन र हामीले लिएको कार्यदिशा नेपालका लागि मात्र होइन, यसले विश्वभरका जनतालाई नयाँ ठाउँमा लैजान मद्दत गर्नेछ । हामीले त्यो जिम्मेवारी उठाइरहेका छौँ । हामीसँग दुनियाँलाई बदल्ने जिम्मेवारी छ । अर्थात् हाम्रो आन्दोलन स्वयम्मा एउटा विशाल जिम्मेवारी हो जसले विश्वमा पैदा भएको विचार सङ्कटको घेरालाई तोडेर दुनियाँलाई वैज्ञानिक समाजवाद साम्यवादका निम्ति अपिल गर्नेछ । अर्कोतर्फ आन्दोलनमा सहभागी केही पात्र आन्दोलन छोडेर हिँडिरहेका छन् । फेरि क्रान्तिको भीषण प्रक्रियामा यो हुँदैन भन्ने होइन । यो स्वाभाविक हुन्छ । मोहन वैद्य किरणले एउटा सन्दर्भमा भन्नुभएको थियो, ‘सङ्घर्षको चरणमा अवसरवादीहरू मुसाझैँ दुला पस्छन् । जबजब क्रान्तिले उचाइ हासिल गर्छ, सहज हुँदै जान्छ, सबैभन्दा अगाडि फेरि तिनै दुला छिरेका मुसाजस्ता अवसरवादीहरू आइपुग्छन् ।’

क्रान्तिको प्रक्रिया सहज छैन । यो घिउ र भात खाएजस्तो सजिलो विषय होइन । यहाँ बलिदान गर्नुपर्छ । बलिदान गौरवको विषय हो । सम्भवतः यतिबेला क्रान्ति छोडेर भागिरहेकाहरूमा क्रान्तिको यो निर्मम प्रक्रियालाई सहन गर्न सक्ने सामथ्र्य रहेन होला । जसकारण खुट्टा कमाउने अवस्था उत्पन्न भयो, धर्मराउने अवस्था आयो । अन्ततः आन्दोलनबाट भाग्नेसम्मको स्थिति बन्यो । यतिबेला क्रान्तिको यो ऐतिहासिक जिम्मेवारीलाई मनन गरेर जनताको बीचमा उठेको विद्रोहको नेतृत्व गर्नुपर्ने पात्रहरूमा देखिएको विचलन सही छैन । यो त इतिहास पनि हो र अर्कोतर्फ आफ्नै जीवन र आत्मामाथिको प्रश्न पनि हो । आगामी दिनहरूमा यसको जबाफ कहाँकहाँ उभिएर दिने हो, त्यो पनि छ । भागेर हुन्न । दरोसँग खुट्टा टेकेर जनताको भरोसा बन्न सबै तयार हुनुपर्छ । हामी दलाल पुँजीवादी सत्तालाई खरानी बनाउँदै वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्छौँ । जनताको जित सुनिश्चित छ ।

२०७६ भदौ २२ गते आइतबार प्रकाशित