दुई दार्शनिक शिविरबीच गोलाबारी

- हेमन्तप्रकाश ओली ‘सुदर्शन’

‘धर्म उत्पीडित प्राणीको सुस्केरा हो । हृदयहीन संसारको हृदय हो । त्यसरी नै यो आत्मविहीन विश्वको आत्म हो । यो जनताका लागि अफिम नै हो ।

‘धर्मको उन्मूलन गर्नुको अर्थ जनताको भ्रमपूर्ण खुसीको सट्टा उनीहरूको वास्तविक खुसीको माग गर्नु हो । अस्तित्ववान् राज्य मामलासँग सम्बन्धित भ्रमहरू परित्याग गर्ने माग गर्नु भनेको भ्रमहरूको आवश्यकता पर्ने राज्यकै परित्याग गर्नु हो ।’

—माक्र्स, हेगेलको कानुन दर्शनको आलोचनामा योगदान, १८४४, दार्शनिक रचनाहरू : माक्र्सदेखि माओसम्म, नेपाली अनुवादक—सुदर्शन, प्रथम संस्करण—२०७३, पृ. ३४ ।

‘इसाई धर्म र मजदुरहरूको समाजवाद दुवैले बन्धन र दुःखबाट मुक्ति पाइन्छ भनेर उपदेश दिन्छन् : इसाई धर्मले यो मुक्ति मृत्युपछि स्वर्गमा पाइन्छ भन्दछ भने समाजवादले यही पृथ्वीमा समाजको रूपान्तरणद्वारा पाइन्छ भन्दछ ।’

–एङ्गेल्स, प्रारम्भिक इसाई धर्मको इतिहास, १८९४, अङ्ग्रेजी संस्करण, ग्रन्थ २७, पृ.४७७ ।

‘धार्मिक रूढिवाद (दार्शनिक आदर्शवाद) का ज्ञानशास्त्रीय जराहरू रहेका छन् । यो आधारहीन छैन । निःसन्देह रूपमा यो फलहीन फूल हो तर एउटा यस्तो फलहीन फूल जुन जीवन्त, उर्वर, वास्तविक, शक्तिशाली, सर्वशक्तिमान, वस्तुगत, निरपेक्ष ज्ञानबाट जन्मछ ।’

— लेनिन, द्वन्द्ववादको प्रश्नबारे, १९१५, दार्शनिक रचनाहरू : माक्र्सदेखि माओसम्म, पृ. ११२, अनुवादक– सुदर्शन ।

‘आदर्शवादले विश्वलाई एउटा ‘निरपेक्ष विचार’ एउटा ‘विश्वव्यापी आत्म’ र ‘चेतना’ का रूपमा हेर्दछ भने यसको विपरीत दार्शनिक भौतिकवादले यो विश्व स्वाभाविक रूपमा भौतिक छ भन्ने मान्दछ ।’

—स्टालिन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, १९३८ उही, पृ. १५३ ।

‘प्राकृतिक शक्तिको अधीनस्थ हुन बाध्य हुनु तथा साधारण खालका साधनको मात्र प्रयोग गर्न समर्थ हुनुले मानिसले आफ्ना वरिपरिका परिघटनाहरूको विश्लेषण गर्न सकेनन् र उनीहरू आत्मको सहारा लिन बाध्य भए । यही नै धर्म र आदर्शवादको उद्गम हो ।’

–माओ, द्वन्द्वात्मक भौतिकवाद, १९३८, उही, पृ. १५३ ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पाँचौँ पुनस्र्थापना दिवसका अवसरमा २०७५ साल मङ्सिर ८ गते ४० हजार जनताको उपस्थितिमा एउटा बृहत् जनप्रदर्शन र विशाल जनसभा सम्पन्न गरेको थियो । त्यसको एक सातापछि मङ्सिर १५–१७ सम्म काठमाडौँको एउटा तारे होटेलमा युनिभर्सल पिस फेडरेसन नेपाल प्रमुख आयोजक र ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकार’ सहआयोजक रहेको ‘ एसिया प्यासिफिक शिखर सम्मेलन’ भएको थियो । दोस्रो कार्यक्रम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ को सामाजिक दलाल पुँजीवादबाट अझै तल झरेर इसाई धर्ममा पतनको पराकाष्ठा थियो भने पहिलो भौतिकवादको रक्षा, प्रयोग र विकासको परिणामका रूपमा एक झलक थियो । अर्काे शब्दमा दोस्रोको पतन र पहिलोको स्थापना थियो । पहिलो कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य तथा उत्पीडित जनताका प्रतिनिधि प्रकाण्ड थिए भने दोस्रो कार्यक्रमको प्रमुख अतिथि दक्षिणकोरियामा अमेरिकाली कारिन्दाका रूपमा कुख्यात युनिफिकेसन चर्चकी प्रमुख हकजा हानमुन थिइन् । श्रीमती मुनले के.पी. वली र माधव नेपाललाई शुक्राणुसमेत घोलिएको ‘ होली वाइन’ (पवित्र जाँड) खुवाइन् । त्यसैगरी उनले वलीलाई क्रिस्चियन हुन योग्य बनेकोमा १ लाख डलरको पुरस्कार दिइन् । यसबाट प्रचण्ड, नारायणकाजी र बादलहरू पनि ‘पवित्र’ र दीक्षित भएका छन् । प्रचण्ड पतनको दिशामा झर्दै गर्दा ‘खप्परे योग परेर दशा बिग्रेको’ ले ‘त्यसबाट मुक्ति पाउन भैँसीपूजा गर्नुपर्ने वा फलामको औँठी लगाउनु पर्ने’ ज्योतिषको सल्लाहअनुसार त्यसको पालन गरेका थिए । यही विचलनका कारणले नै इसाईवादी एमालेमा एनेकपा (माके लाई विलिन गराएको प्रमाणित भएको छ । त्यसकारण कथित डबल नेकपा मालेमावादी होइन, बरु इसाईवादी तथा साम्राज्यवादको दलाल भएको छ ।

नेपालमा आज दुई दार्शनिक शिविर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र अधिभूतवादी आदर्शवादबीच गोलाबारी सुरु भएको छ । भौतिकवादमाथि धावा बोल्न साम्राज्यावादीहरूले भौतिकवादको दोसल्ला ओढेका आफ्ना इसाई नोकरहरूलाई अघि सारेका छन् । हाम्रो अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी महासचिव क. विप्लवको नेतृत्वमा अधिभूतवादी आदर्शवादका विरुद्ध लड्न मैदानमा उत्रिएको छ ।

माथि हामीले धर्मसम्बन्धी माक्र्सवाद के हो भन्ने कुरा माक्र्स, एङगेल्स, लेनिन, स्टालिन र माओका उद्धरण उद्घृत गरेर स्पष्ट गर्न खोजेको छौँ । माक्र्सले तरुण हेगेलवादबाट समेत मुक्त भएपछि आदर्शवादको आधारका रूपमा रहेको धर्मबारे स्पष्ट पार्नुभएको थियो । उहाँ के निष्कर्षमा पुग्नुभएको छ भने उत्पीडित र सहाराविहीन मानिसको सुस्केराका रूपमा पैदा भएको धर्म जनताका लागि अफिम नै हो । अफिमको नसाले तत्काल आनन्द दिए पनि केही समयपछि यो प्राणघातक बन्दछ । धर्मले यही काम गर्दछ । त्यसकारण यसको उन्मूलन आवश्यक बन्न जान्छ । यसो गर्नुको अर्थ जनताको भ्रमपूर्ण खुसीको विकल्पमा वास्तविक खुसी प्राप्त गर्ने प्रक्रियामा अघि बढ्नु हो । भ्रमहरूबाट मुक्त हुनका लागि भ्रमहरूको आवश्यकता पर्ने राज्यको अन्त्य गरेर भ्रममुक्त जनसत्ता स्थापना गर्नुपर्दछ । यो कुरा कति मार्मिक छ भने आज नेपालका कम्युनिस्ट खास्टो ओढेका केपी र प्रचण्डलाई आफ्नो मक्किएको राज्यसत्ता टिकाउन भ्रमको आवश्यकता परेको छ । त्यसैले उनीहरू हिन्दु धर्मभन्दा शक्तिशाली रहेको इसाई धर्मको सहारा लिन बाध्य भएका छन् । ईश्वरले ती मुठीभरलाई मात्र आशीर्वाद प्रदान गर्छन् जससँग अकूत धनदौलत छ ।

एङ्गेल्सको उद्धरणले केपी र प्रचण्डको यसरी झ्याँको झारेको छ, उनीहरूको इसाई धर्मनिर्देशित ‘समाजवाद’ ले भन्दछ, नेपाली जनताको मुक्ति यो जुनीमा सम्भव छैन । मृत्युपछिको स्वर्गमा मात्र सम्भव छ । विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबाट निर्देशित भई पुरानो सत्ता परिवर्तन गरेर मात्र हुन्छ भन्दछ । जनताको वैज्ञानिक समाजवाद एकीकृत जनक्रान्तिद्वारा ईश्वरको राज्यसत्ता ढालेर प्राप्त हुन्छ ।

लेनिनले हामीलाई के सिकाउनुभएको छ भने धार्मिक रूढिवाद फलहीन फूल भए पनि यसका जराहरू जनताको अज्ञानता र गरिबीमाथि गाडिएकाले ‘जीवन्त, उर्वर, वास्तविक, शक्तिशाली, सर्वशक्तिमान, वस्तुगत र निरपेक्ष’ छन् । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी ज्ञानको प्रकाशमा मात्र जनताले उखेल्न सक्दछन् । त्यसकारण ज्ञानको महत्व नबुझ्ने विल्हेल्म वेटलिङलाई माक्र्सले भन्नुभएको थियो, ‘अज्ञानताले कहीँ पनि क्रान्ति भएको छैन ।’

स्टालिनले हामीलाई के सिकाउनुभएको छ भने चेतना, आत्म र मन ज्ञानका स्रोत होइनन्, बरु भौतिक पदार्थ नै ज्ञानको जननी हो । अथवा यसो पनि भन्न सकिन्छ चेतना, आत्म र मन पदार्थकै उच्चतम् विकासका परिणाम हुन् । केपी वली, प्रचण्ड र बाबुराम भट्टराई चेतना, आत्म र मनलाई पदार्थभन्दा जेठो ठान्ने भएकाले नै इसाई धर्मका पक्षपाती भएका छन् ।

माओले हामीलाई के सिकाउनुभएको छ भने प्राकृतिक र सामाजिक परिघटनाहरूको विश्लेषण गर्ने साधन र स्रोतको अभावले गर्दा आदिमानव आत्मको सहारा लिन पुगेका थिए । उनीहरूको गरिबी, दुःख र अज्ञानताबाट धर्मको जन्म भयो । यही धर्मको जगमा आदर्शवादी दर्शनको विकास भयो ।

गरिबी, दुःख र अज्ञानताबाट पैदा भएको यो अफिमतुल्य फलहीन फूलका जरा उखेल्न कुनै पनि मालेमावादीले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी ज्ञानको विकास गर्नैपर्छ । भ्रमको आवश्यकता पर्ने राज्यसत्ता ढाल्नुपर्दछ । त्यसकारण कार्ल माक्र्सले भन्नुभएको छ, ‘मजदुर हरूसँग सफलताको एउटा तत्व छ, त्यो हो सङ्ख्या । परन्तु सङ्ख्या तब निर्णायक हुन्छ, जब जनसाधारण सङ्गठनमा आबद्ध हुन्छन् र ज्ञानले उनीहरूको नेतृत्व गर्दछ ।’

—अन्तर्राष्ट्रिय मजदुर सङ्घको उद्घाटन घोषणा, १८६४, माऐ सङ्कलित रचना, खण्ड २, भाग २, हिन्दी संस्करण, पृ. १७ ।

नेपालमा भौतिकवादको बोलवाला भएपछि दलाल पुँजीवादीहरूलाई मात्र होइन, साम्राज्यवादीहरूलाई पनि निद्रा लागेको छैन । त्यसैले नेपालमा भारतबाट हिन्दुवादीहरू र बुद्धवादीहरू, अमेरिका र युरोपबाट इसाईहरूले हमला गरिरहेका छन् । इसाईहरू मिसन चर्च नेपाल, सहयोगी हातहरू, मिलिजुली नेपालीजस्ता नाममा समेत गैरसरकारी संस्थाद्वारा गरिब र अज्ञानी बस्तीमा पुगिरहेका छन् । काठमाडाँै उपत्यकावरिपरिका चेपाङ र तामाङ बस्तीहरूमा उनीहरू पुगिरहेका छन् । त्यसैगरी रामदेवको पतञ्जली, ब्रह्मकुमारी, ओम शान्तिजस्ता धार्मिक संस्थाद्वारा भारतले व्यापार र गुप्तचारी चलाइरहेको छ । भारतको त नेपालका विभिन्न धार्मिक मन्दिरहरूमा पुजारी नै रहेका छन् जस्तो पशुपतिनाथ र मुक्तिनाथमा हामी देख्न सक्छौँ । काठमाडौँ र काठमाडौँका विभिन्न थुम्काहरू, पोखरा र पोखराका विभिन्न थुम्काहरूमा बुद्ध गुम्बाहरू रणनीतिक हिसाबले बनाइएका छन् । यसैगरी मुस्लिम मस्जिदहरू पनि यहाँ रहेका छन् । चर्च, मन्दिर, गुम्बा र मस्जिदहरू बनाइएकोमा हाम्रो आपत्ति होइन, बरु धर्मको बहानामा नेपाली जनतालाई बेबकुफ बनाउने, चेलीहरूको इज्जत लुट्ने, देशको आन्तरिक मामलामा खलल पु¥याउन गुप्तचरी गर्ने, आफ्नै विशेषताको समाजवादी व्यवस्था भएको चीनका विरुद्धको गतिविधिको केन्द्र नेपाललाई बनाउने कुकार्यको भण्डाफोर गर्नु हाम्रो दायित्व हो । इसुको नाम जप्न लगाएर बिरामीलाई विज्ञानले तयार पारेको औषधि दिई सन्चो गराउनु भ्रम मात्र होइन, आपराधिक कार्य हो । गरिब बस्तीमा चर्च खडा गर्दै जनतालाई कोकाकोला र पेप्सीकोला दिएर इसाई समर्थक बनाउनु गरिब तथा अज्ञानी जनताप्रति साम्राज्यवादीहरूको माया–ममता हाृेइन, बरु देश लुट्ने प्रपञ्च हो । गुप्तचरी गर्नु कुनै धर्म होइन, बरु ठूलो पापी र अपराधी काम हो । गरिब नेपाली जनतालाई पैसा दिएर अथवा कुनै पनि भौतिक लोभ देखाएर धार्मिक अन्धविश्वासी बनाउनु ठूलो पापी र आपराधिक कार्य हो । यो देशको प्रधानमन्त्री नै एक लाख डलरमा क्रिस्चियन बनेपछि सर्वसाधारणको के हालत होला, सहजै बुझ्न सकिन्छ ।

जनताको हकमा कुनै पनि धर्म मान्ने वा नमान्ने व्यक्तिको स्वतन्त्रताको कुरा हो । धर्म राज्यबाट अलग हुनुपर्दछ । तर अमेरिका र युरोपेली देशहरूले धर्मलाई राज्यदर्शन बनाएका छन् । धर्म नमान्ने पनि अधिकार र स्वतन्त्रताको कुरा हो । कम्युनिस्टहरू धर्म मान्दैनन् किनभने उनीहरू भौतिकवादी हुन् । भौतिकवाद भनेको वैज्ञानिक दर्शन हो । विज्ञानले अन्धविश्वासलाई मान्दैन । धर्म भनेको परम्परागत, सांस्कृतिक र अलौकिक अन्धविश्वास हो । कम्युनिस्ट पार्टीका लागि धर्म कुनै निजी मामला होइन । त्यसकारण लेनिन भन्नुहुन्छ :

‘समाजवादी सर्वहारावर्गको पार्टीमा धर्म कुनै निजी मामला होइन । हाम्रो पार्टी भनेको श्रमिक वर्गको मुक्तिका खातिर वर्गसचेत र अग्रगामी सेनानीहरूको सङ्घ हो । यस्तो संस्था धार्मिक विश्वासका रूपमा वर्गसचेतनाको अभाव, अज्ञानता र रूढिवादप्रति न त तटस्थ रहन्छ, न रहनुपर्दछ । हामी शुद्ध रूपमा विचारधारात्मक तथा केवल विचारधारात्मक अस्त्रसहित, केवल समाचारपत्र र भाषणको माध्यमले लड्दै पूर्ण रूपमा चर्चको विस्थापन गर्ने माग गर्दछौँ । …अनि हाम्रा लागि विचारधारात्मक सङ्घर्ष निजी मामला होइन, बरु समग्र पार्टी र समग्र सर्वहारा वर्गको मामला हो ।’

—लेनिन, समाजवाद र धर्म, १९०५, अंग्रेजी संस्करण ग्रन्थ १०, पृ.८५–८६ ।

केपी वली र प्रचण्डको पार्टी कम्युनिस्ट पार्टी वा भौतिकवादी होइन किनभने उनीहरू लेनिनको यो सिद्धान्तबाट च्यूत भएका छन् । माथि गरिएको विश्लेषणले पनि यसको पुष्टि भइसकेको छ । यही कारणले गर्दा शोषित– उत्पीडित नेपाली जनताप्रति उनीहरूले गद्दारी गरिसकेका छन् । धर्मनिरपेक्षताका नाममा उनीहरूले इसाई साम्राज्यवादको ढोका खोलिदिएका छन् ।

जनताले यो अपराधको उचित सजाय एक दिन दिनेछन् । नेताहरूलाई कथित ‘पवित्र जाँड’ चाखेर नेपाललाई साम्राज्यवादको क्रीडास्थल बनाउने कुनै अधिकार छैन ।

गौतम बुद्ध मानव दुःख र पीडाको अन्त्य गर्न राजमहल त्यागेर ज्ञानको खोजीमा हिँडेका मानिस हुन् । उनको वाणी थियो, ‘धर्मको शरणमा जान्छु, सङ्घको शरणमा जान्छु, बुद्धको शरणमा जान्छु ।’ धर्मको अर्थ गरिब– दुःखीहरूको कल्याण र मुक्तिको कुरा हो । उनी समाज र सङ्घलाई मान्दथे, व्यक्तिको निर्णयलाई मान्दैनथे भन्ने कुरा प्रस्तुत वाणीबाट बुझिन्छ । बुद्धको शरणमा जानु भनेको ज्ञान प्राप्त गर्नु र त्यसको प्रकाशमा हिँड्नु हो । उनी वास्तवमा बहुजन हितायका पक्षमा थिए । मुठीभर शोषकहरूका पक्षमा थिएनन् । बुद्ध मूर्तिपूजाका विरोधी थिए । एउटा भौतिकवादी दार्शनिकलाई आज भगवान्का रूपमा पूजा गरिँदैछ । हिनयानी बुद्धवादी होऊन् वा बज्रयानी, उनीहरू सबैले गौतम बुद्धको सिद्धान्तविपरीत व्यवहार गरिरहेका छन् । जिसस क्राइस्टको बलिदान आज भेनेजुयलाको सार्वभौमसत्तामाथि आक्रमण गर्ने थिएन । डोनाल्ड ट्रम्पले प्रधानमन्त्री हुँदा दुईवटा बाइबल (एउटा आमाले दिएको र अर्काे राज्यले दिएको शिरमा राखेर शपथ खानुको अर्थ के सिरियामा ५ लाखभन्दा बढी मानिसहरूको ज्यान जाने गरी आक्रमण गर्नु हो ? के मेक्सिकोको सिमानामा पर्खाल लगाउनु र अमेरिकामा रहेका आप्रवासीहरूलाई देश निकाला गर्नु हो ? त्यसकारण डोनाल्ड ट्रम्प जिसस क्राइस्टका अनुयायी होइनन्, बरु जुडासका अनुयायी हुन् जसले क्राइस्टको हत्या गरेको थियो । हिन्दुहरूको पवित्र ग्रन्थ गीताले जबजब पृथ्वीमा अन्याय हुन्छ तब–तब न्यायका लागि भगवान् श्रीकृष्ण आउने कबुल गरेको थियो । हिन्दुहरूको बाहुल्य क्षेत्र भारत र नेपालमा अन्याय नै अन्याय भएको छ । भारतले दिनदहाडै नेपालको सीमा मिचेको छ, निर्मला पन्तजस्ता बालिकाहरू बलात्कृत भएका छन् र निर्ममतापूर्वक हत्या गरिएका छन् । सुन तस्करी भएको छ । राज्यकोषबाट सरकारका मन्त्री र कर्मचारीहरूले भ्रष्टचार गरिरहेका छन् र ठूलो जहाज खरिद गर्दा ६ अर्ब लुटेका छन् । एनसेलजस्तो सञ्चार निगमले ७२ अर्बभन्दा बढी कर छली गर्दछ । यस्तो अन्याय र अत्याचार भइरहेको बेला श्रीकृष्णजी कुनचाहिँ धुनमा बाँसुरी बजाउँदै हुनुहुन्छ होला ? कतै १६ सय गोपिनीकै धोती लुकाएर उनीहरूकै चीरहरण त गरिरहनुभएको छैन ? मोहम्मदको कुरानले पनि सत्य, न्याय र धर्मकै कुरा गर्दछ । इराकमा सद्दाम हुसेनलाई अमेरिकाले झुन्ड्याएर मार्दा र लेबनानमा कर्णल गद्दाफीको हत्या गर्दा उनी मक्कामदिनामा के हेरेर बसेका थिए ? सद्दाम हुसेन र गद्दाफीले अमेरिकाको के बिगारिदिएका थिए र ? ओसामा बिन लादेनले त अमेरिकाको जुम्ल्याहा घर भत्काइदिए रे मानौँ । वास्तवमा हरेक धर्मले न्यायको हत्या गरेको छ भने अन्यायको रक्षा गरेको छ । त्यसकारण पुँजीवादी साम्राज्यवादले जिसस क्राइस्ट, गौतम बुद्ध, हजरत मोहम्मद, हिन्दुहरूका ब्रह्मा, विष्णु, महेश्वर, महाकाली र महालक्ष्मी सबैलाई माल बनाएका छन् र त्यसबाट नाफा सोहोरिरहेका छन् ।

विश्वइतिहासमा पुँजीपतिहरूले सामन्तवादलाई पल्टाएर पुँजीवाद ल्याउन भौतिकवादको समर्थन र अध्यात्मवादको विरोध गरेका थिए । श्रमजीवी तथा उत्पीडित वर्गलाई साथ लिन उनीहरू यसो गर्न बाध्य भएका थिए । जब पुँजीवादले साम्राज्यवादमा पाइला टेक्यो तब यसले प्रगतिशील भूमिका परित्याग गर्यो र मजदुर तथा किसानका विरुद्ध उभियो । पुँजीवादी साम्राज्यवादले विश्वका सामन्तहरूसँग मितेरी गाँस्न पुगेको थियो । आजको उत्तरसाम्राज्यवादी पुँजीवाद (निगम पुँजीवाद) एकातिर विज्ञानको सहारा लिन बाध्य भएको छ भने अर्कोतिर पुँजीमा अति एकाधिकारवादी निजी स्वामित्व कायम राख्न धर्मको सहारा लिएको छ । दार्शनिक रूपमा यो द्वैतवाद हो । त्यसकारण आज पुँजीवादीहरू पनि द्वैतवादी भएका छन् । त्यसैगरी कम्युनिस्ट नामधारी पुँजीवादीहरू पनि द्वैतवादी भएका छन् । यसले अन्ततः बहुलवादमै पु¥याउँछ । नेपालमा केपी वली र प्रचण्ड कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेर द्वैतवादी दलदलमा पुगेका छन् । उनीहरूले एकातिर चुनावमा भोट पाउन कम्युनिस्ट भएको स्वाङ गर्नुपरेको छ भने अर्काेतिर पुँजीवादीहरूलाई खुसी पार्न धर्मको सहारा लिनुपरेको छ । कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन साम्राज्यवादीहरू र तिनका दलालहरूले गद्दार हरूलाई प्रयोग गर्दै आएका छन् । उनीहरूले यहाँ पनि बाँकी राखेनन् ।

नेपालमा स्पष्ट दुई दार्शनिक शिविर खडा भएका छन् : संशोधनवादीहरू सामाजिक दलाल पुँजीवादी भएर प्रतिक्रियावादमा पतन भएका छन् । अब हामीले तिनलाई काङ्ग्रेसबाट भिन्न भँडुवा विकासवादी भन्नै परेन । ती सीधै अधिभूतवादी आदर्शवादका पृष्ठपोषक बनेका छन् । अर्को शब्दमा उनीहरूलाई अध्यात्मवादी पनि भन्न सकिन्छ । आदर्शवादकै एउटा शाखा बहुलवादी पनि भन्न सकिन्छ । अर्काेतिर नेपाल कम्युनिस्ट पार्टीले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रतिनिधित्व गर्दछ । यसलाई अर्काे शब्दमा अद्वैतवाद पनि भनिन्छ । अब यी दुई शिविरका बीच युद्धको घोषणा भएको छ । भौतिकवादी दर्शनशास्त्रले श्रमजीवी तथा उत्पीडित वर्गमा आफ्ना लागि गोलाबारुद भेट्टाउनेछ भने अध्यात्मवादी आदर्शवादीले साम्राज्यवादी पुँजीवादमा आफ्ना लागि गोलाबारुद भेट्टाउनेछ । हामी अर्बाैँ जनताको भौतिक मात्र होइन, बौद्धिक तागत पनि लगाउनेछौँ भने उनीहरूले केही हजार अति एकाधिकारवादी पुँजीवादीहरूको भौतिक र बौद्धिक तागत लगाउनेछन् । भ्रममा आधारित बौद्धिक तथा भौतिक सत्ता तथ्यमा आधारित दर्शनको उज्यालोमा ‘कुनै बिहान नष्ट हुनेछ र उज्यालो रहिरहनेछ ।’

२०७६ साउन २० गते सोमबार प्रकाशित