दलाल सत्ता झन्झन् सङ्कटमा

नेपाल र नेपालीमाथि अन्यायपूर्ण शोषण, दमन, भ्रष्टाचार, राष्ट्रघात लादिरहेको सरकार र यो व्यवस्थाका विरुद्ध जनचेतना जगाउँदै नेकपाले भ्रष्टहरूमाथि जनकारबाही आरम्भ गरेपछि केपी वलीको सरकार मात्र होइन, यो व्यवस्थासमेत धर्मराएको छ । आफूलाई कम्युनिस्ट पनि भनाउँदै र श्रमिक सर्वहारा जनतामाथि अत्यधिक कर, महँगी, भ्रष्टाचार, अन्याय थोपर्दै राष्ट्रघातमा समेत रेकर्ड तोड्न लागेपछि सरकारविरुद्ध चौतर्फी आलोचना र आक्रमण पनि सुरु भएको छ । सरकारी पार्टीमै दर्जनौँ गुटउपगुट बनेर सरकारी गतिविधिका विरुद्ध आलोचना बढिरहेको छ । प्रतिपक्षी भनिएको काङ्ग्रेससमेत यो सरकारसँग सहमत देखिँदैन । केपी वली सरकारका हर्कतहरू देखेर हुँदाहुँदा प्रतिगामी शक्तिहरूसमेत खित्का छोडेर हाँसिरहेका छन् र सल्बलाउन थालेका छन् । यता नेपाल नामको रोम जलिरहेको छ, उता वली नामका निरो बाँसुरी बजाइरहेका छन् । निरोहरू बाँसुरी बजाइरहेकै समयमा रोम जलिसक्न सक्छ । त्यसैले देश र जनताका पक्षमा चिन्तित हुनेहरू नेकपाले सञ्चालन गरिरहेको एकीकृत जनक्रान्तिमा गोलबद्ध भएर लाग्नुपर्छ । यो दलाल व्यवस्था त पतनशील छ नै, मुलुककै भविष्यसमेत सङ्कटमा पर्न नदिन क्रान्तिकारीहरू जुर्मुराउनुपर्छ । यो देशको माया क्रान्तिकारीहरुलाई छ र जनतालाई छ । दलालहरु त लेन्डुपपथमा लागिसकेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाउँको सामाजिक दलाल पुँजीपति वर्गले सञ्चालन गरेको फासिवादी सरकार र यो सत्तामा चरम सङ्कट आएका लक्षणहरू देखिएका छन् । नेकपाले सञ्चालन गरेको एकीकृत जनक्रान्तिका कारण यो सत्ता धराशयी बन्दै गएको हो । नेकपालाई राजनीतिक शक्तिसमेत अस्वीकार गर्दै केपी वली–पुष्पकमल दाहालको सरकारले आपराधिक समूह भनेर प्रतिबन्ध लगाएको ६ महिनामै सरकारी प्रतिबन्ध निष्काम भएको छ भने सत्ताभित्रैका शक्तिहरूबीच पनि चरम छट्पटाहट सुरु भएको छ । केपी प्रशासनका गृहमन्त्री रामबहादुर थापाले हालै सुरक्षा निकायको बैठक बसाली नेकपाका विरुद्ध जनपद प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालन गर्ने निर्णय गरेपछि बाहिर जति दम्भ प्रदर्शन गरे पनि केपी सरकार र यो दलाल पुँजीवादी सत्ताभित्रभित्रै चरम सङ्कटमा पर्दै गएको प्रमाणित भएको छ ।

नेकपाले यतिबेलासम्म सरकारी सुरक्षा निकायविरुद्ध आक्रमण नगर्ने धारणा सार्वजनिक गर्दै आएको छ । सरकारीतर्फबाट भने निःशस्त्र हिँडिरहेका नेकपाका कार्यकर्ताहरूलाई गिरफ्तार गरेर चरम यातना दिँदै हत्या गर्ने गरेको छ । सरकारले नेकपाका एक हजारभन्दा बढी नेता–कार्यकर्तालाई गिरफ्तार गरी हिरासत र जेलमा कैद गरिसकेको छ । अन्य नेता र कार्यकर्ताहरूलाई पनि कडा निगरानी गरी विभिन्न नामका अपरेसन सञ्चालन गरिरहेको छ । पार्टीमाथि प्रतिबन्ध नै लगाएर ६ महिनासम्म सर्च अभियान सञ्चालन गरी निर्ममतापूर्वक गिरफ्तारी, दमन, हिरासत, जेल र हत्या गर्दा पनि दैनिक गतिविधिहरू बढिरहेका छन् । फेरि देशभरि एनसेलका टावरहरु ध्वस्त भएका छन् । सरकारी पार्टीका नेता–कार्यकर्ता र गुप्तचर निकायहरू गिरफ्तार गरिएका नेकपाका नेता–कार्यकर्तालाई आत्मसमर्पण गराउने निकृष्ट धन्दामा लाग्दा पनि केही सीप नचलेपछि सशस्त्र प्रहरी परिचालन गर्ने हर्कतमा पुगेका छन् तर यो कदम पनि उनीहरूका लागि आत्मघाती नै साबित हुने पक्कापक्की नै छ ।

जनयुद्ध घोषित रूपमै शस्त्रसहित आरम्भ गरिएको थियो । तत्कालीन सरकारको सुरक्षा निकाय जनपद प्रहरी पराजित भएपछि माओवादी जनयुद्ध दबाउनकै लागि सरकारले सेना र प्रहरी मिसाएर सशस्त्र प्रहरी बल गठन गरेको थियो । त्यो बलको पनि पराजयपछि सरकारले माओवादी दबाउन भन्दै शाहीसेना प्रयोग गरेको थियो । आखिरमा जनयुद्धमा ती सबै शक्तिको पराजय भयो र राजतन्त्र नै समाप्त भयो ।

यतिबेलासम्म नेकपाले सर्वहारा तथा श्रमिक वर्गलाई आधार बनाएर दलाल, भ्रष्ट, नोकरशाही, राष्ट्रघातीहरूका विरुद्ध सङ्घर्ष केन्द्रित गरेको छ । राष्ट्रका दलालहरू, सत्ताका दलालहरू आफ्नो सुरक्षाका लागि राज्यका सुरक्षा एकाइहरूको दुरुपयोग गरिरहेका छन् र एकपछि अर्को गर्दै सुरक्षा निकायहरूलाई जनताका विरुद्ध, देशका विरुद्ध दुरुपयोग गरिरहेका छन् । एकीकृत जनक्रान्ति श्रमिक नेपाली जनताको मुक्तिका लागि हो । त्यसैले कुनै पनि निकायका श्रमिक, श्रमजीवी नेपाली यो आन्दोलनमा लामबद्ध भएका छन् । श्रमिक जनताको अपार सहभागिता र समर्थनकै कारण यो सरकार नेकपाबाट तर्सिएको देखिन्छ । नेकपाविरुद्ध सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय सत्ता सङ्कटको पछिल्लो उदाहरण हो । सम्पादकीय

२०७६ साउन २३ गते बिहीबार प्रकाशित