तेस्रो विश्वयुद्धको नयाँ रूप : युद्धको निरन्तरतामा भेनेजुएलामाथि अमेरिकी फौजी आक्रमणको सम्भावना साम्राज्यवादी उत्पीडनका विरुद्ध मोर्चाबन्दी

- धर्मेन्द्र बास्तोला

 गताङ्कबाट क्रमशः
अमेरिकाले विश्वका सबै देशहरूमाथि कुनै न कुनै प्रकारको डन्डा चलाउँदै उनहरूमाथि हेप्ने, धम्क्याउने र कठपुतली बनाउने गर्दै आएको छ । ती देशहरूको सामान्यतया राजनीतिक र वैचारिक मनोविज्ञान साम्राज्यवादविरुद्धको प्रतिरोध हुने गरेको देखिन्छ । उनीहरूमाथि आर्थिक नाकाबन्दी थोपर्ने, हतियार खरिद गर्न बाध्य पार्ने, चर्को ब्याजमा ऋण लिन बाध्य पार्ने, आणविक कार्यक्रमहरूमाथि नाकाबन्दी लगाउने, प्रविधि विकासमा रोक लागउने र तेस्रो विश्वका शासकहरूमाथि समेत हस्तक्षेप गर्ने काम गर्दै आएको छ । यसको सिकार भारत पनि बनेको छ । भारत र कतार यी सबै देशहरूमा मूलतः एकआपसको सम्बन्ध स्थपित गर्ने कुरामा भेनेजुएलासँगको सम्बन्ध समान प्रकारको वैचारिक धरातल र समान स्वार्थअनुसार बनेको स्पष्ट हुन्छ । कतार र साउदी अरेबियाले मडुरोलाई त्यतिबेला समर्थन गरेका थिए जतिबेला संयुक्त राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलले २०१७–१८ मा मानवअधिकारसम्बन्धी मुद्दा भेनेजुएलामाथि उठाइएको थियो । वासिङ्टनले साउदी, कतारजस्ता इस्लामिक देशहरूलाई मानवअधिकार उल्लङ्घन गर्ने देश मान्दछ । यी देशहरूले भेनेजुएलामाथि उसको सार्वभौम सत्ता सुरक्षित हुनुपर्छ भन्दै अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए ।

त्यस्तै पश्चिमा शक्तिराष्ट्रहरू खासगरी अमेरिका र उसका साझेदार देशसँगको सम्बन्धमा सामूहिक रूपमा अनुभूति गर्नुपर्ने लघुताभास उनीहरूमाथि बारम्बार लगाइने नाकाबन्दी हुने गरेको छ । यी देशहरूले अमेरिकाबाट समान प्रकारको दबाब, अपहेलना र नाकाबन्दीको मार खेप्नुपरेको छ, यो आर्थिक युद्धका रूपमा देखापरे पनि मूलतः एक्काईसौँ शताब्दीको विश्वयुद्ध हो । मडुरो र एर्दगान अमेरिकाविरुद्ध मूलतः आर्थिक नाकाबन्दीको कारण पैदा भएको विरोधी भावनाका कारण एक ठाउँमा भएका हुन् । टर्कीले स्पष्टसँग भनेको थियो, यसप्रकारका अवस्थामा हामी भेनेजुएलाको साथमा रहनेछौँ । कारकसमा व्यापारीहरूको फोरममा अमेरिकाले भेनेजुएलामाथि थोपरेको आर्थिक नाकाबन्दीका विरुद्ध बोल्दै एर्दगानले भनेका थिए, ‘हामी यसप्रकारका कदमहरूलाई स्वीकार गर्दैनौँ जसले विश्व व्यापारका नियमहरूको उल्लङ्घन गर्छ । व्यापारिक रोकावट र नाकाबन्दीहरू गलत छन् ।’ यही क्रममा भेनेजुएलाको केन्द्रीय बैङ्कले सन् २०१८ मा कथित अन्तर्राष्ट्रिय नाकाबन्दीको निरन्तरताका कारण स्विट्जरल्यान्डबाट आफ्नो सुन टर्कीमा सारेको थियो ।

अमेरिकी चेतावनीका बाबजुद भारतले इरान र सिरियासँग राजनीतिक र आर्थिक सम्बन्ध बनाएको छ र भेनेजुएलाप्रति पनि त्यही प्रकारको नीति बनाएको छ । मोदी सरकारले स्पष्ट गरिसकेको छ– अमेरिकी नाकाबन्दी र कारबाहीको चेतावनी हुँदाहुँदै पनि भारतले भेनेजुएलासँगको व्यापारलाई निरन्तरता दिनेछ । २०१७ मै भेनेजुएलाका अधिकारीहरूले भेनेजुएलाले भारतमा बैङ्कखाता खोल्ने र त्यो खाताबाट तेलको पैसा अमेरिकी डलरलाई विस्थापित गर्दै भारतीय रूपैयाँमा भुक्तानी लिने बताएका थिए । त्यस्तैगरी कतारले पनि भेनेजुएलासँगको सम्बन्धलाई आफ्नो आवश्यकतामा बढाइरहेको छ । तेल उत्पादनमा लगानी, व्यापारमा लगानी, बजार व्यवस्थापनका लागि आपसी समझदारीका लागि उसलाई पनि भेनेजुएलासँगको सम्बन्ध एउटा अवसर बनेको छ । कतारले पनि साउदी अरेबियाबाट नाकाबन्दी खप्नुपरेको थियो ।
जतिबेला पश्चिम गोलाद्र्धका शासकहरूबाट मडुरोमाथि अति दबाब परेको थियो, त्यो समयमा रुस र चीनको समर्थन भेनेजुएलालाई प्राप्त भयो जसले यहाँको अर्थतन्त्रलाई सञ्चालन गर्नका लागि आर्थिक सहयोग पु¥यायो र भेनेजुएलाको डुब्दो अर्थतन्त्र उत्रन मद्दत ग¥यो । चीनले ऋणका रूपमा भेनेजुएलालाई ७० अर्ब डलर दिने भयो जुन २००८ देखि विभिन्न चरण गरी उपलब्ध गराइँदै आइएको छ । यसको भुक्तानी भेनेजुएलाले तेल दिएर गर्नुपर्ने छ । विगत २००६ देखि रुससँग भेनेजुएलाले आर्थिक सहायता प्राप्त गर्नुका साथै ऋणका अतिरिक्त हतियार खरिद गर्ने सम्झौतासमेत गरेको थियो जसको मूल्य करिब ११ अर्ब डलरबराबरको थियो ।

अहिले विश्वका धेरै मानिसहरूको गहिरो चासोको विषय चीन र रुसको व्यवहार के होला भन्नेमा रहेको छ, भेनेजुएलाका सहयोगीहरू हुन् । तर अभूतपूर्व वैधानिकताको सङ्कट खेपिरहेको कराकसले विश्वभरिमा सहयोगीको कसरी बढीभन्दा बढी साथ लिन सक्ला भन्नेमा देखिन्छ । मडुरोले राजनीतिक, आर्थिक, व्यापारिक र वैचारिक क्षेत्रमा विश्वलाई गोलबन्द गर्न खोजेको देखिन्छ । यद्यपि अमेरिकाले यिनै क्षेत्रमा कराकसलाई एक्ल्याउन खोजेको छ ।

अमेरिकी साम्राज्यवादको दबदबामुनि रहेको भेनेजुएलाको विश्व व्यापार, राजनीतिक, व्यापारिक र मनोवैज्ञानिक सम्बन्ध अमेरिकाभन्दा बाहिर विकास भएको देख्नु अमेरिकालाई मन पर्ने पक्ष होइन र यो उसको घाँटीमा अड्किएको कबाफको हड्डी भएको छ र यसको अपरेसन गर्न र हड्डी दूर गर्न सैनिक हस्तक्षेपसम्म गर्न तयार छ । अमेरिकी युद्धमन्त्री जोन बोल्टनले भनी पनि सकेका छन्, सबै सम्भावनाहरू टेबलमा छन् ।

मडुरोलाई एक्ल्याउने अमेरिकी प्रयत्न

सन् १९९० को पछिल्लो चरणदेखि २००० सम्ममा ल्याटिन अमेरिकामा वामपन्थीहरूको सरकार बन्ने पिङ्क टाइड ‘पीत ज्वार’ एउटा तरङ्गका रूपमा नै चल्यो । यो उभार सन् १९९८ मा ह्युगो चाभेज निर्वाचित हुनुले चाभेज र उनका उत्तराधिकारी मडुरोका लागि उपयुक्त वातावरण तयार ग¥यो । तर यो पीत ज्वार ल्याटिन अमेरिकामा त्यतिबेला झर्न थाल्यो जब मडुरोको सरकारका कामकारबाहीप्रतिको आशङ्का र अविश्वास गर्ने दक्षिणपन्थी राजनीतिक दलहरूले ल्याटिन अमेरिकी देशहरूमा विजय हासिल गरे ।

अर्जेन्टिनामा सन् २०१५ को चुनावमा चाभेज र मडुरोका समर्थक वामपन्थी राष्ट्रपति क्रिस्टिना फर्नान्डेज द कृच्नर पराजित भए । उनको ठाउमा मध्यपन्थी– दक्षिणपन्थी म्यक्री निर्वाचित भए । कृच्नरको नीतिका विरुद्ध म्यक्रीले भेनेजुएला र मडुरोको सरकारप्रति कठोर नीति अपनाए । उनले मडुरोलाई राष्ट्रपतिका रूपमा नमानेर उनका विरोधी पार्टीका नेतालाई राष्ट्रपति मान्ने नीति बनाए । ब्राजिलमा पनि २०१६ को निर्वाचनमा वामपन्थी नेता डिल्मा रोउसेफ पराजित हुँदै मध्यपन्थी– दक्षिणपन्थी मिसेल टिमर नेतृत्वमा आए । उनको नीति भेनेजुएलासँगको सम्बन्ध राम्रो बनाउने रहेन । र २०१८ को चुनावमा ब्राजिलमा घोर दक्षिणपन्थी विरोधी पार्टीका नेता जइर बोसोनारोले राष्ट्रपतीय चुनावमा विजय हासिल गरे । उनले पनि मडुरोप्रति कडा नीति अपनाउने सङ्केत देखाएका छन् । उनको चुनावी अभियानमा आफ्ना समर्थकहरूलाई यहाँसम्म भन्न पुगेका थिए– भेनेजुएलाविरुद्ध सैनिक कारबाही गर्नसमेत ब्राजिल तयार हुनेछ । उनले वक्तव्य प्रकाशित गरेरै भने– भेनेजुएलाका कानुनी अधिकार प्राप्त राष्ट्रपति ग्वाइडो नै हुन् । मडुरो अवैधानिक भैसकेका छन् ।

भेनेजुएलाको सम्बन्ध भएको अर्को देश इक्वेडोर थियो । सन् २००७ को चुनावमा वामपन्थी नेता राफाएल कोर्रेआ राष्ट्रपति निर्वाचित भएका थिए । तर उनले लेनिन मोरेनोलाई सत्ता हस्तान्तरण गरेपछि भेनेजुएलाप्रति इक्वेडोरको नीतिमा नाटकीय परिवर्तन आयो । दुई देशहरूबीचका नेताहरूबीच आक्रामक टिप्पणीहरू गर्नुले सम्बन्धमा चिसो आएको छ । यसमा भेनेजुएलाका सञ्चारमन्त्रीले मोरेनोका विरुद्ध कडा टिप्पणी गरेका थिए जसको परिणाम इक्वेडोरले भेनेजुएलाको राजदूतलाई क्विन्टोमा निष्कासन गरे र भेनेजुएलाको अधिकारीहरूले इक्वेडोरका कार्यवाहकलाई कारकसमा अमान्य बताए । यसरी इक्वेडोरले पनि लिमा ग्रुपको बाटो समात्यो र ग्वाइडोलाई वैधानिक राष्ट्रपतिको मान्यता दियो । अरू कतिपय देशहरूको सन्दर्भमा पनि यस्तै भएको छ । मडुरोले राष्ट्रपतिको शपथ गरेपछि पेरू र पाराग्वेले भेनेजुएलासँगको कूटनीतिक सम्बन्धविच्छेद गरे र आफ्ना कूटनीतिक अधिकारीहरूलाई फिर्ता बोलाए । यसरी मडुरोको सरकारलाई अपदस्थ गर्नका लागि भेनेजुएलालाई एक्ल्याउन अमेरिकाले आफ्ना सबै अस्त्रहरू प्रयोग ग¥यो । कूटनीतिक, राजनीतिक, आर्थिक, नैतिक र भौतिक अस्त्रहरूको प्रयोग गरी मडुरोलाई एक्ल्याउने प्रयत्न गर्दै आयो ।

सहयोगी बढाउने भेनेजुएलाको प्रयत्न

ल्याटिन अमेरिकी देशहरूका केही यी देशहरूले भेनेजुएलासँगको सम्बन्धविच्छेद गरे पनि त्यस क्षेत्रका क्युबा, बोलिभिया, एल साल्भाडोर र निकारागुवाले मडुरोलाई समर्थन गरे । त्यसमा मेक्सिकोमा ‘वामपन्थी’ आन्द्रे म्यान्युअल लोपेज ओब्राडोर गत वर्ष निर्वाचित भएका राष्ट्रपति हुन् । उनले पहिलेको सरकारले मडुरोका विरुद्ध जसरी कडा व्यवहार गर्ने नीति बनाएको थियो । त्यसमा परिवर्तन गर्दै मडुरोको सरकारलाई समर्थन गर्ने नीति बनाए र ग्वाइडोको स्वघोषित अन्त्यरिम राष्ट्रपतिका विरुद्ध मडुरोको समर्थन गरे । लोपेज ओब्राडोरले २०१८ डिसेम्बर १ को आफ्नो राष्ट्रपति शपथग्रहण समारोहमा मडुरोलाई आमन्त्रण पनि गरेका थिए । लोपेज निर्वाचित हुनुभन्दा पहिलेको राष्ट्रपतिकालमा मेक्सीको लिमा ग्रुपमा रहेको थियो तर लोपेज राष्ट्रपति भैसकेपछि लिमा समूहमा हस्ताक्षर गरेको देश भए पनि मडुरोलाई सत्ता हस्तान्तरण गर्नका लागि गरेको आह्वानमा हस्ताक्षर नगर्ने एउटा मात्र देश रह्यो । म्यानुअल लोपेज ओब्राडोर ‘वामपन्थी’ वा ‘समाजवादी’ भएकै कारण अमेरिकाका लागि सहिसक्नु भएको छैन । मेक्सिकोका जनताको अर्थतन्त्र, जनजीवन ध्वंस गर्न मेक्सिको सीमा क्षेत्रमा पर्खाल लगाउने र त्यसको लागत पनि मेक्सिकोले तिर्नुपर्ने ब्वाँसेतर्क अमेरिकाले गर्दै आएको छ । त्यस्तै गरी ल्याटिन अमेरिकी देश उरुग्वेले पनि मेक्सिकोकै पक्ष लियो र विरोधी नेता ख्वाइदोलाई विधिवत् राष्ट्रपति मान्न अस्वीकार ग¥यो । यसरी भेनेजुएलाले गरेको प्रयत्नलाई पश्चिमा बुद्धिजीवीहरू, पत्रकार र विश्लेषकहरूको विश्लेषण रहेको छ यी देशहरूमा मडुरोका केही समान अवधारणाहरू छन् । पहिलो, यी देशका धेरैजसो नेताहरू मडुरोको जस्तै व्यक्तिगत सम्बन्धका आधारमा कूटनीतिक सम्बन्धलाई स्थान दिन्छन् जसमा नेतानेताबीचको सम्बन्धलाई प्राथमिकता दिइन्छ । यो प्रक्रिया वास्तवमा संस्थागत सम्बन्ध बनाएरभन्दा व्यक्तिव्यक्ति गर्दा जुनसुकै सहमतिमा पुग्न सजिलो र सहज हुन्छ । दोस्रो, मडुरोका अत्यधिक सहयोगीहरूको भेनेजुएलासँग आर्थिक स्वार्थ लुकेको छ । तेस्रो, यी देशहरूले राजनीतिक र वैचारिक रूपमा भेनेजुएलासँग सम्बन्ध राख्छन् जसमा आदेशात्मक रुझान, क्षेत्रीय रूपमा अलग्गिएको अनुभूति र कडा रूपमा थोपरिएको नाकाबन्दीप्रति अपहेलित भएको साझा अनुभूति गर्छन् ।
भेनेजुएलाले अमेरिकी हस्तक्षेपका विरुद्ध विकसित र विकासोन्मुख देशहरूसँग सहकार्य गर्ने र संयुक्त मोर्चा निर्माण गर्ने विधि अपनाएको छ । यसप्रकारको सम्बन्ध साम्राज्यवादी उत्पीडनको कारण पैदा हुने राजनीतिक अस्थिरता, नेतृत्वको भूमिका र व्यक्तिगत पहलकदमीअनुसार कूटनीतिक सम्बन्ध विस्तार गरेको देखिन्छ । यसप्रकारको सम्बन्धमा आधारित कूटनीति मडुरो र तमाम देशहरूका बीचमा जसरी हुने गरेको छ त्यसले आपसमा समझदारी बनाएको देखिन्छ र त्यसले व्यापारिक, राजनीतिक, प्राविधिक सम्बन्ध बनाउनका लागि पनि स्थलगत काम गरेको देखिन्छ । कतिपय देशहरूका लागि भेनेजुएलाको राजनीति र प्रचुर प्राकृतिक स्रोतहरूमाथिको यथेष्ट उपयोग गर्न गरिने सम्झौताका लागि मडुरो सही प्रयोगकर्ता भएको मान्छन् । मडुरोसँगको नजिकको सम्बन्धले भेनेजुएलामा पाइला राख्न मद्दत गर्ने सबैले महसुस गर्छन् जसले भेनेजुएलामा करोडौँ डलर लगानी गरी व्यवसाय गर्न बाटो खोल्नेछ । टर्कीका राष्ट्रपति रेसप ताइप एर्दगान र मडुरोबीचको व्यक्तिगत सम्बन्ध यसको उदाहरण मानिन्छ । मडुरोले एर्दगानलाई आफ्नो सहयोगी र नयाँ बहुध्रुवीय विश्वको नेता भएको टिप्पणी गरेका थिए जहाँ एर्दगानले ‘आफ्नो साथीले केही देशहरूबाट म्यनिपुलेटिभ आक्रमणहरू र आर्थिक हत्याद्वारा देशको ध्वंस गर्दैछन्’ भनेका थिए । सन् २०१७ देखि १९ सम्म भेनेजुएलाको राष्ट्रपतिले टर्की ४ पटकसम्म यात्रा गरेका छन् र टर्कीले एकपटक यात्रा गरेको छ । यो सम्बन्धका कारण टर्कीले भेनेजुएलामा अत्यधिक फाइदाजनक कदम राख्न पुगेको छ । व्यापार, वित्तीय, ऊर्जा, पर्यटन र हवाई यातायातसम्बन्धी दुईपक्षीय समझदारी अद्वितीय स्तरमा पुगेका छन् । अहिलेको राजनीतिक सङ्कटबाट विश्वयुद्धका रूपमा चलेको अमेरिकी प्रताडनाको भुमरीमा परेका मडुरोका पक्षमा एर्दगान उत्साहपूर्ण तरिकाले उभिएका छन् ।

बेलारुसका एलेक्जेन्डर लुकासेन्को पनि मडुरोजस्तै व्यक्तिगत कूटनीतिक सम्बन्ध बनाउने नेता हुन् । बेलारुस आर्थिक र राजनीतिक दृष्टिकोणले विकसित भए पनि राजनीतिक चरित्रका दृष्टिले तेस्रो विश्वजस्तै मुलुक हो । विभिन्न सहमति र आर्थिक साझेदारीको विकासद्वारा बेलारुस र भेनेजुएलाले रणनीतिक साझेदारी विकास गरिसकेका छन् । उनीहरूले सैनिक सम्बन्ध अझ बलियो बनाउने उपाय खोजिरहेका छन् । मडुरोले २०१७ मा बेलारुसको औपचारिक भ्रमण गरेका थिए । अहिले लुकासेन्कोले ग्वाइडोका विरुद्ध मडुरोलाई समर्थन गरेका छन् ।
इजिप्टका राष्ट्रपति अबदेल फताह एल–सीसी पनि गैरअमेरिकी राष्ट्रपति हुन् जसले भेनेजुएलासँग व्यक्ति–व्यक्तिबीचको सम्बन्ध बनाउन चाहन्छन् । सीसी ती पहिला नेताहरूमध्येका हुन् जसले भेनेजुएलाको निर्वाचनमा मडुरो राष्ट्रपति भएकोमा बधाई दिएका थिए र मडुरोको हत्या प्रयासको निन्दा गरेका थिए । यो हत्या प्रयास त्यतिबेला भएको थियो जतिबेला मडुरोले सैनिक परेडमा सम्बोधन गर्दै थिए र विस्फोटकले भरिएको ड्रोन राष्ट्रपतितिर आकाशमा उडाइएको थियो । सीसीले अहिलेको अन्योलका बारेमा बोलेका छैनन् तर गत मे महिनामा भएको चुनावमा मडुरोले पुनः विजय हासिल गरेकोमा बधाई दिएका थिए ।

मडुरोले अजरबैजानका राष्ट्रपति इल्हाम अलिभेभसँग पनि राम्रो सम्बन्ध बनाएका थिए । भेनेजुएलाले बाकुमा सन् २०१८ मा मात्र दूतावास खोलेको थियो । कूटनीतिक पहलकदमीको अझ महत्वपूर्ण पक्ष के हो भने ल्याटिन अमेरिकी देशहरूमा बाकुमा दूतावास खोल्ने पहिलो देश भेनेजुएला नै भएको छ । भेटमा दुवै नेताहरूले पर्यटन, संस्कृति, कृषि, वित्तीय क्षेत्र र ऊर्जामा सहकार्य गर्ने कुरामा सहमत भएका थिए ।

सैन्य कारबाहीको सम्भावना

लेनिनले भन्नुभएको थियो, ‘साम्राज्यवाद भनेको युद्ध हो । आज २१ औँ शताब्दीको नयाँ प्रकारको विश्वयुद्ध चलिरहेको छ र यो समग्र युद्धमा विश्वभरका जनताले कुनै न कुनै रूपमा युद्धको मार खेपिरहनुपरेको छ । कहीँ आर्थिक उत्पीडनको त कहीँ सैन्य कारबाहीको । यो स्थिति इराक, लिबिया, सिरिया हुँदै अब भेनेजुएलातिर सर्ने खतरा बढेको छ । यहीबीच रुसको निजी सुरक्षा ठेकेदारहरू भेनेजुएला गरेको २५ जनवरीमा प्रकाशित द गार्डियन पत्रिकाले जनाएको छ । यो पत्रिकाले जनाएको छ– रुसी सेना सिरिया र युक्रेनबाहेक अफ्रिकामा पनि प्रवेश गरिसकेको छ । भेनेजुएलामा रुसी सेनाको प्रवेश ल्याटिन अमेरिकामा पहिलो हुनेछ । यसैबीच रुसले भेनेजुएलामा टीयू– १६० नामको आणविक बमवर्षक दुईवटा विमान भेनेजुएला पठाइसकेको पनि यो पत्रिकाले जनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी यूएसएको मुखपत्र रिभोल्युसनका अनुसार अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका विरुद्ध सबै सम्भावनाहरू टेबलमा रहेको बताएका छन् ।

यसैबीच भेनेजुएलामाथिको अमेरिकी व्यवहार बेठीक भएको अमेरिकी सेनेटर र आगामी राष्ट्रपति उम्मेदवार बेर्ने स्यान्डर्स (Sen. Bernie Sanders) ले कडा प्रतिक्रिया दिएका छन् । उनी अमेरिकी सिनेटमा भएका ‘वामपन्थी’ ‘समाजवादी’ मानिन्छन् । उनले २४ जनवरीमा भेनेजुएलामा विकास भएको घटनाप्रति प्रतिक्रिया दिँदै भनेका थिए, ‘संयुक्त राज्य अमेरिकाले कानुनको शासन, निष्पक्ष चुनाव र भेनेजुएली जनताको आत्मनिर्णयको अधिकारको समर्थन गर्नुपर्छ । हामीले हतियारविहीन प्रदर्शनकारीमाथि भएको हिंसात्मक घटनाहरू र विरोधीमाथिको नृशंस दमनको भत्र्सना गर्नुपर्छ । फेरि पनि हामीले विगतबाट शिक्षा लिनुपर्छ र हामी रेजिम चेन्जको धन्दामा लाग्नु हुँदैन, न त तख्तापलटकै धन्दामा जस्तो हामीबाट चिली, ग्वाटेमाला, ब्राजिल र डोमिनिकन रिपब्लिकमा भएको थियो । संयुक्त राज्य अमेरिकाले ल्याटिन अमेरिकी देशहरूमा गलत तरिकाले हस्तक्षेप गरेका विगतको लामो इतिहास छ । हामी पुनः त्यही बाटोमा जानु हुँदैन ।’
बेर्ने स्ट्यान्र्डको यो टिप्पणीप्रति रुष्ट बनेका वासिङ्टन पोस्ट दैनिकका सहायक सम्पादक ज्याक्सन डिहेलले ‘कमजोर सूचनामा आधारित वामपन्थीहरूले भेनेजुएलाको राजनीतिक सङ्कट ल्याटिन अमेरिकी देशहरूमा संयुक्त राज्य अमेरिकी हस्तक्षेपको परिणाम हो भन्ने धारणालाई गति दिइरहेका छन्’ भन्दै प्रहार गरे । उक्त सम्पादकीयमा उजागर गरिएको छ, ‘राष्ट्रपति ट्रम्पले कराकसले आर्थिक अवस्था र राजनीतिक व्यवस्था ध्वस्त गर्दागर्दै पनि भेनेजुएलामाथि सम्पूर्ण स्तरको मुटभेटाई पन्छाउँदै आएका छन् ।’ सहसम्पादक ज्याक्सनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको नेतृत्वबिना समस्या समाधान गर्न नसक्ने बानी परेका ल्याटिन अमेरिकी राष्ट्रहरू र उनीहरूको अहस्तक्षेपकारी नीतिको विरोध गर्ने परम्पराको कारण, उनीहरू चाभेज र उनका उत्तराधिकारी मडुरोको चुनौती सामना गर्नबाट पन्छिए । केही चाभेजले आफ्ना सहयोगीहरूलाई खुला (शब्दमा जोड मेरो रूपमा वितरण गर्ने पेट्रोलबाट आउने डलरको तीव्र अपेक्षामा बोलिभियनवादको समर्थन गरेका छन् ।’ त्यहाँ जिकिर गरिएको छ, भेनेजुएलाको ३ करोड २० लाख जनसङ्ख्यामध्ये ३० लाख जनता, करिब १० प्रतिशत देश छाडेर शरणार्थीका रूपमा कोलम्बिया, ब्राजिल, पेरू, इक्वेडोर, चिली र पानामा पसेका छन् । यस विषयमा समाधान गर्न २०१७ को अगस्तमा ११ ल्याटिन अमेरिकी देशहरू र क्यानाडासहित भएर लिमा ग्रुप गठन गरेका थिए जसले भेनेजुएलामा प्रजातन्त्र बहाली गर्नका लागि भेनेजुएलामाथि दबाब दिँदै आएका थिए । उक्त सम्पादकीयमा भनिएको छ, ‘ट्रम्प प्रशासनले लिमा ग्रुपलाई प्रोत्साहित ग¥यो तर आफैँ सहभागी भएन ।’ यसबाट प्रस्ट हुन्छ अमेरिकाले अहिले आर्थिक नाकाबन्दी, राजनीतिक प्रचार, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्ताव पेस गर्नेदेखि सैनिक हस्तक्षेपको विभीषिका तयार गर्नेछन् र स्थिति परिआयो भने सैनिक कारबाही गर्नेछन् । भेनेजुएलाका राष्ट्रपनि मडुरोको कोलम्बोमार्फत हत्याको प्रयास गर्नु र ड्रोन आक्रमण गर्नेसम्म लैजानु, भेनेजुएलाको सेनाका अधिकारीहरूलाई गुप्त रूपमा खुसामद गर्नु र आवश्यक पर्ने रकम दिन वचनबद्ध हुनु भेनेजुएलामाथि गरिने सैनिक कारबाहीका सङ्केत हुन् । अझ राष्ट्रपति मडुरोले नै अमेरिकाले सैनिक आक्रमण गरेमा ‘भेनेजुएलालाई अर्को भियतनाम हुन नदिने’ कुरा सार्वजनिक रूपमा बोल्नुले भेनेजुएला युद्धको भुमरीमा परेको सङ्केत गर्छ ।

भेनेजुएलामा अब के हाला ?

यो प्रश्नको जबाफमा यार्डियन पत्रिकाले चारवटा सम्भावित परिणाम आउने बताएको छ । मडुरो सत्तामा रहिरहलान् ? सत्ता पक्ष र विपक्षका बीचको यो कटाक्ष के युद्धमा गएर पटाक्षेप होला ? युद्धको चापमा परेको राष्ट्र भेनेजुएला अहिले दोबाटोमा उभिएको छ । गाडियनले विश्लेषण गरेको छ, मडुरोलाई देशको सेनाको समर्थन छ, ख्वाइदोलाई जनताको र विदेशीहरूको समर्थन छ ।

ती सम्भावनाको चर्चा गर्दै पश्चिमा विश्लेषकहरूको निष्कर्षलाई पत्रिकाले अगाडि सारेको छ, पहिलो सम्भावना वा परिणाम मडुरो सत्तामा रहिरहन सक्छन् किनकि विगतमा पनि त्यस्तै भएको हो र अहिले पनि त्यो हुनसक्छ । तर त्यो सत्ता कति लामो समयसम्म टिक्ने होला ? सन् २०१४ को जनप्रदर्शनपछि मडुरोको सरकारले राजनीतिककर्मी ग्वाइडोलगायत नेताहरूलाई निसाना बनाएको थियो । विपक्षी नेता लियोपोल्दो लपे (Leopoldo López) गिरफ्तार मात्र गरिएनन् बरु चुनावमा उठ्नसमेत प्रतिबन्ध लगाइयो र ५ वर्षदेखि अहिलेसम्म उनी हाउस एरेस्ट अवस्थामा छन् । यसप्रकारको राजनीतिक प्रक्रियाले सत्ता केही समय टिक्नेछ तर पुनः विद्रोह अनिवार्य हुनेछ । यसबीच ट्रम्पले मडुरोका विरुद्ध आर्थिक नाकाबन्दीलाई अझ कडा पार्न सक्छन् । मडुरोले सेनाका ब्रासहरूलाई आर्थिक अनियमितता गर्न र फाइदाजनक देशको तेल कम्पनी पीडीभीएसएमाथि आर्थिक प्रतिबन्ध लागउँदा त्यो मडुरोको सत्ता कमजोर हुने र विपक्षीहरू सरकारमा आउने सम्भावना रहन सक्नेछ । अमेरिकी र पश्चिमा साम्राज्यवादीहरूका लागि त्यो समस्याको समाधान हुनेछ ।

उनीहरू दोस्रो समाधान कुनै नयाँ जनप्रतिनिधिबाट भेनेजुएलाको सरकारलाई विस्थापित गर्नु अर्को समाधान हुनसक्ने बताउँछन् । त्यसैगरी यो सरकारले तागतको प्रयोग गरी सत्तामा बसिरहने हो भने ‘रेजिम चेन्ज’ समाधानको तेस्रो विधि हुनसक्ने उनीहरू बताउँछन् । यी कुनै पनि विधिले काम गरेनन् भने युद्ध गर्ने चौथो विधि बताउँछन् ।

अहिलेकै अवस्थामा हेर्दा भेनेजुएलाका अगाडि ठूला चुनौतीहरू खडा भएका छन् । पहिलो चुनौती छिमेकीहरूको घेराबन्दी भएको अवस्थामा बाहिरी देशहरूको समर्थनलाई आफ्नो सरकारको रक्षा गर्ने स्तरसम्म कसरी लैजाने भन्ने हो । दोस्रो चुनौती भेनेजुएलाको आर्थिक क्षेत्र जसरी पूर्ण धराशायीको किनारमा पुगेको छ त्यसलाई कसरी बचाउने भन्ने हो । तेस्रो चुनौती अमेरिकी साम्राज्यवादी हस्तक्षेप र आर्थिक एवम् राजनीतिक युद्ध सैन्ययुद्धमा फेरियो भने त्यसको प्रतिरोध कसरी गर्ने भन्ने हो ।

यी विषयहरूमा वास्तविक कम्युनिस्टहरूले कस्तो प्रकारको रणनीति अपनाउने, साम्राज्यवादका विरुद्ध कसरी सङ्घर्ष गर्ने र आआफ्नो देशका शत्रुलाई कसरी परास्त गर्ने भन्ने विषयमा गम्भीर छलफल गर्नु आवश्यक छ । यसबारेमा अन्य लेखहरूमा छलफल गरिनेछ ।
सन्दर्भ सामग्रीहरू
ग्लोबल रिसर्च डट सीए
टाइम्स अफ इन्डिया
वासिङ्टन पोस्ट
न्युयोर्क टाइम्स
गर्डियन विक्ली
विभिन्न व्यक्तिहरूका लेख र विवेचनाहरू

२०७५ चैत २२ गते शुक्रबार प्रकाशित