टुक्रिएको मुटु

कविता

- दीपा

सुन्दर सपनाका लक्ष्यहरू
यथार्थमा चिनारी दिन
अदम्य साहसका साथ
दृढसङ्कल्प गरेका मनहरू
अचानक तिखा वाणरूपी शब्दहरूले
हृदयको क्यानभासमा चोट पु¥याउँछ
एक्कासि वियोगका वचनहरू
सुनिरहन बाध्य भएँ
वास्तविकता हो वा असत्य
यथार्थको धरातलमा सत्य खोज्न
लोचनको दीप निभाएर
निद्राबाट ब्युँझिएर
तरङ्गित नसानसामा
स्थिरता ल्याउन
असाधारण क्षणलाई संयमतामा
बदल्ने आँट गरेँ
मुटु दुख्ने कल्पनालाई
अन्तरहृदयबाट टाढा फ्याँक्न खोजेँ
सुन्दर र प्रज्वलित संसारमा पुग्नु छ भने
वास्तविकता मेरै पक्षमा हुन्छ भन्दै
यथार्थलाई पक्रन खोजेँ
यथार्थ यथार्थ नै हुँदोरहेछ
किन त्यो असत्य हुन्थ्यो र ?
जीवन लुछिएको कुरा
सत्य सत्य नै रहेछ
ढाँटेर के ढाँटिन्थ्यो र
केवल
अब मसँग पीडाले दनदनी बलेको छाती मात्र बाँकी छ
धैर्यको बाँध फुट्न लागेको आक्रोशित मुटु छ ।
लोचनको सगर उर्लिएर बेगवान् बनेको नदी छ
ज्वालामुखी विस्फोटन हुन लागेको भयङ्कर पहाड छ
त्यसैले
गहिरिएर मनलाई समाल्दैछु
वर्गवैरीहरूका विरुद्ध
पापी–राक्षसहरूका विरुद्ध
असल विचारलाई अँगाल्दैछु
तन दुरुस्त बनाउँदैछु
शोक र आक्रोशलाई शक्तिमा बदल्दै
कसिला मुठीहरू उठाउँदै
भावनालाई पत्थर बनाएर
राइफल बोकी एसल्टमा जाँदैछु
मृत्युको पर्वाह छैन मलाई
मात्र बदलाको भाव उर्लिरहेछ
त्यसैले
अब मलाई समाल्न लालचका शब्द नबोल
मलाई सुन्दरताका बिल्ला भिराउने कुचेष्टा नगर
भूतकालमा नै मृत्यु भइसकेका छन् ।
सङ्गीनले रोपेका छातीहरूमा
ब्यान्डेजले बाँधेर घाउ छोप्ने चेष्टा नगर
खबरदार ! तिम्रा अपराधका आडम्बर किन ?
तिमीले तिम्रो जीवन खन्यौ र
आफैँ खाल्डोभित्र प¥यौ ।
अब तिम्रो अन्त्यपछि नयाँ बिहान उदाउनेछ ।
टुक्रिएका मुटुहरू एकजुट गर्दै
अधुरा सपनाहरू पूरा हुनेछन् ।

(दोरम्बा हत्याकाण्डमा बलिदान गर्ने सहिद कमरेड रक्तिमकी जीवनसँगिनी कवि दीपाले हत्याकाण्डलगत्तै यो कविता लेखेकी हुन् ।)

२०७६ असोज ३ गते शुक्रबार प्रकाशित