जोसुकैले कहाँ सक्छन् अन्धकारभित्र रातो सूर्योदय नियाल्न !

समय समीक्षा

- अशोक सुवेदी

उल्टो घुमेको इतिहासको रथको पाङ्ग्रा लिकमा ल्याउन निरन्तर विद्रोह, युद्ध र क्रान्तिहरू हुने गरेका छन् । कार्ल माक्र्सको शब्दमा आजसम्मको मानवजातिको इतिहास वर्गसङ्घर्षको इतिहास हो । त्यसैले मानवजातिको मुक्तिको नयाँ इतिहास निर्माण गर्न वर्गसङ्घर्षहरू निरन्तर भइरहनुपर्छ । नयाँनयाँ सङ्घर्षहरू निर्माण गर्दै त्यसैमा हेलिनुपर्छ । नयाँ बाटाहरू निर्माण गर्दा काँडाले घोच्छ । ढुङ्गामा ठक्कर लाग्छ । लडिन्छ । शरीर रक्तमुछेल हुनसक्छ । तर तिनै यात्रीहरूले उद्देश्यपूर्ण यात्रा पार गर्न सक्छन् जो निरन्तर आशावादी भएर कठिन यात्रामा हिँडिरहने आँट, हिम्मत गर्छन् र हिँडिरहन्छन् । झन्डै पौने दुई शताब्दीअघि महान् दार्शनिक कार्ल माक्र्सले यही अवस्थालाई ध्यानमा राख्दै आफ्नो विचार ‘जीवन लक्ष्य’ शीर्षकको कविताका माध्यमद्वारा यसरी अघि सारेका थिए–
कठिनाइहरूदेखि रुने जीवन
मेरा लागि होइन
होइन, मेरो आँधीजस्तो मनलाई
यो स्वीकार्य छैन ।
मलाई त एउटा महान् र उँचो लक्ष्य चाहिन्छ
त्यसका लागि आजीवन सङ्घर्षको अटुट
सिलसिला चाहिन्छ ।

हो, त्यही अटुट सिलसिलाले कार्ल माक्र्सलाई विश्व–सर्वहारावर्गका नेता र विचारक बनायो । सफल बनायो । संसारकै अर्बौं श्रमिक सर्वहारावर्गको आशा र मुक्तिको मार्गदर्शक बनायो । दुई सय वर्ष पुग्न लाग्दा आज झन्झन् कार्ल माक्र्सका विचारहरू उदीयमान सूर्यझैँ प्रिय छन् ।

नेकपाका महासचिवसमेत रहेका माक्र्सवादी स्रष्टा विप्लवले यो साता एउटा कविता लेखे । नयाँ यथार्थ प्रतिबिम्बित गर्ने उनको कविताको शीर्षक छ ‘सूर्योदय नियाल्दै ।’ एकखाले कुखुराहरू भुइँ खोस्रिरहेका छन् र सङ्घर्षको मैदानबाट भाग्दै क्रान्ति असम्भव भन्दै बर्बराउँदै क्रान्तिकारीहरूलाई जेल र नेलको उपहार दिइरहेका छन् । सिङ्गो समाजलाई निराशामा धकेल्दै गरेका कूपमण्डुकहरूका दयापूर्ण क्रियाकलापहरू देखेर आकाशमा फन्को मारिरहेको चिलझैँ देखिने विप्लव टीठ मान्छन् । उनी भन्छन्–
हामी पहाडको टुप्पोबाट पूर्वको सूर्योदय नियालिरहेका छौँ
केही पलमै सुनौला देखिए अग्ला हिमचुचुराहरू
हराभरा देखियो तराईको फाँट
निर्भीक, स्वच्छ र हरियाली छ पहाड
अब कुनै काला धर्साहरू बाँकी छैनन् आँखाअगाडि
छ्याङ्ग खुलेको छ क्षितिज

एउटै समाजका कोही क्रान्ति असम्भव देखेर, क्रान्ति भन्ने शब्द सुन्नासाथ बौलाहा कुकुर पानी देखेर भागेझैँ भाग्ने र कोही त्यही समाजको असमानताका बीच क्रान्ति र विजय अवश्यम्भावी देख्ने अवस्था हो यो । अर्थात् रातारात वर्ग बदलेका र नायकबाट रातारात खलनायक बनेका पूर्वकमान्डरहरूले धरतीबाट असमानता नामेट पार्न आफैँ बल्नुपर्छ भन्ने आदर्श अन्त्य गरेर सपना देख्ने देशभक्त क्रान्तिकारीहरूलाई देशद्रोही भन्दै जेलमा कोचिरहेको समयमा विप्लवले ती व्यभिचारीहरूको सत्ता ढल्दै गरेको र न्यायप्रेमी, क्रान्तिकारीहरूको सत्ता उदाउँदै गरेको प्रस्ट सङ्केत गरेका छन् । सम्पूर्ण देशभक्त र क्रान्तिकारीहरूलाई कम्युनिस्टले निर्माण गर्ने आदर्श समाज साम्यवादको सूयोदय निकट भविष्यमै रहेको र त्यो पहाडको टाकुराबाट देखिइरहेको सन्दर्भ कविताका माध्यमबाट यसरी उल्लेख गरेका छन्–
कस्तो अनौठो, वैभवका अहंकार पाक्ने सिसमहलहरूमा आलस्य छाएको छ
हामी नै हौँ सर्वश्रेष्ठ भनेर दम्भ भर्ने मालिकहरू निम्छरा देखिन्छन्
हरदम संसद्मा रबाफ छाँट्ने नेताहरू रङ हराएका छेपाराजस्ता लाग्छन्
प्रस्ट देखिन्छन् निभ्दै गरेका दरबारहरूका रङ्गीबिरङ्गी बत्तीहरू
कुनै रौनक छैन ग्यालरीहरूमा

एकातिर शासकहरू गद्दीमा, सुखसयलमा, हतियारहरूका बीचमा, रामरौस र धनको चाङमा भएर पनि शोकाइरहेको, डराइरहेको, रोगाइरहेको अवस्था, अर्कातिर क्रान्तिकारीहरू भोक, अभाव, जेल, हिर ासत, जङ्गल र प्रतिबन्धित भएर पनि उदाउँदो सूर्य देखिरहेको अवस्था वर्तमानको तीक्ष्ण यथार्थ हो र नयाँ यथार्थ हो । यो नयाँ यथार्थ एकाएक आफैँ निर्माण भएको होइन । एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा र नयाँ क्रान्तिले निर्माण गरेको हो । उनी भन्छन्–
सूर्योदयसँगै देखिन्छन् यावत् यथार्थहरू
ओहो ! बास नभएका, गाँस नपाएका र दबिएका अनुहारहरूमा यस्तो चमक !
भट्टीमा टाक्सिएर खपेटा परेका मान्छेका आँखामा धपधपाउँदो तेज !
पुरुषभन्दा अघिअघि लम्किरहेका छन् त नारीहरू
के अब समय बदलिएको हो वा बदलिँदैछ ?
एकदमै नयाँ हलचल देखापरिरहेको छ त !

हो, अहिले नयाँ यथार्थ, नयाँ हलचल देखिइरहेको छ समाजमा । सत्ताले किचेकाहरू, दबाएकाहरू, न्याँकिएका र हेपिएकाहरू आततायी सत्तालाई चुनौती दिँदै क्रान्तिको रातो बाटोमा अघि बढिरहेको, उदाउँदो सूर्यको जस्तो अवस्था छ भने नक्कली÷खोटो सिक्कालाई सक्कली भन्दै गोयबल्सका चेला बनेकाहरू दैनिक धर्मराउँदै, खस्किँदै, भयग्रस्त मनोग्रन्थीले पग्लिँदै, खिइँदै र सकिँदै गएको अवस्था छ । मानिस भोलि बिहान हुन्छ, उज्यालो हुन्छ, अन्धकार समाप्त हुन्छ भन्ने आशा र विश्वासले अन्धकार रात बिताउन सहजै तयार हुन्छ र अँध्यारोसँग प्रतिरोध गरिरहन्छ । कालरात्रीका विरुद्ध सङ्घर्ष गरेपछि बिहान नभएको, सूर्योदय नभएको र रात मात्र रहिरहेको इतिहास कहीँ छैन । यही अवस्थालाई दर्साउँदै विप्लव भन्छन्–
हो त अँध्यारोको रजाइँ धेरै चल्ने कहाँ हो र !
कुनै नशामा उर्लिएको जोस कति टिक्छ
कसरी टिक्छ अर्काको श्रममा उम्लिएको उन्माद ?
केही दुर्घटनाहरूको आतङ्कमा विज्ञानको यात्रा रोकिने भइदिएको भए
इतिहासको पाङ्ग्रो आज पनि पाषाण युगमै गुडिरहेको हुन्थ्यो
पृथ्वी जति घुम्छ, समय जति चल्छ, सत्य खुल्दै जान्छ
आउ मित्र तृप्त हुँदासम्म आनन्द लिऊँ र रमाऊँ सत्यको यात्रामा
यो युगको आवाज हो । यो क्रान्तिकारी आशावादको दस्ताबेज हो । घोषणापत्र हो ।

सत्ताको क्रूर चरित्र बदलिएको छैन । हाल झूट्टा मुद्दा लगाएर सरकारले अन्यायपूर्वक जेलमा सडाएका नेकपाका स्थायी समिति सदस्य एवम् जनयुद्धका माक्र्सवादी स्रष्टा हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ठीक दुई दशकअघि पनि अर्को अत्याचारी शासकको जेलमा थिए । उनले त्यतिबेला जेलबसाइको समयमा लेखेको ‘कारावासभित्रका दिनचर्याहरू’ जेल संस्मरणमा लेखेका केही पङ्क्ति आज पनि उत्तिकै सान्दर्भिक छन् । उनले त्यतिबेला जेलको चिसो छिँडीभित्रबाट लेखेका थिए–
‘अन्यायीहरूको देशमा असल मानिसहरूको वस्ने ठाउँ भनेको झ्यालखाना हो ।’

हाम्रो जीवनमा पनि यो पुस्टि भएको छ । यस जेलको हामी बस्ने कोठाका दुईवटा भ्यालहरू पूर्वतिर फर्केका छन् । क्षितिजमा मालिका पर्वतको छेउ पर्दछ । एकाबिहानै सूर्यका लालकिरणहरू बुकीमा छरिन्छन् । म सानो छँदा हाम्रो घरबाट उत्तरमा सामुन्ने देखिने सिस्ने हिमालयमा पल्लोपट्टि के होला भनेर प्रश्न गर्थें । यो जेलबाट देखिने त्यो बुकीपारि कुन ठाउँ छ होला, अहिले पनि त्यस्तै कल्पना गर्दछु ।
पीबी सेलीले एउटा कवितामा भनेका छन्–
ए बतास
अहिले हिउँद छ भन्दैमा
के वसन्त टाढा छ र ?
के हामीलाई पनि अहिले बतासले चार पर्खालभित्र थुन्यो भन्दैमा वसन्त कहिल्यै आउँदैन भन्ने ठानेको छ ? त्यसो भए ऊ प्रगतिविरोधी सरासर छ ।
ए, प्रसङ्ग अन्तै जान थालेछ । म आज काराबासको दिनचर्याका बारेमा लेख्न थालेको छु । आजभोलि विहान ६ बजे जेलको कोठाको ताल्चा खुल्छ । हामी नृत्यकर्मपछि आधा घन्टा शारीरिक व्यायाम गर्दछौँ । शारीरिक व्यायामले एक प्रकारको स्वच्छन्दता र आनन्द प्रदान गर्दछ । त्यसपछि बिहानको समाचार रेडियोमा सुन्ने गर्दछौँ । म पढ्ने र पढाउने काम गर्दछु । साँझ ७ बजे ढोकाको ताला बन्द हुन्छ । समाचार सुनेपछि केही कथा–कहानी सुन्ने र सुनाउने काम हुन्छ । कहिलेकहीँ समसामयिक विषयमा छलफल पनि चल्ने गर्छ । यसरी दुई महिनादेखि यस जेलमा हाम्रो दिनचर्याको सूर्य उदाउने र अस्ताउने गरेको छ ।
२०५६ जेठ ३ गते, बाजुरा जेल

हो, आज पनि कयौँ कमरेडहरू, कयौँ क्रान्तिकारीहरू, देशभक्तहरू झूट्टा मुद्दामा दुस्मनका कालकोठरीहरूमा कैद छन् । तर मूर्ख शासकहरू कुखुराझैँ भुइँ खोस्रेर आफ्नो दिनगन्ती गरिरहेका छन् भने क्रान्तिकारीहरू जेलभित्रैबाट पूर्वबाट निकट भविष्यमै हुने सूर्योदय नियालिरहेका छन् ।

यस्तै उज्यालो सूर्योदय हेर्ने प्रयत्न गर्दागर्दै र रातो सूर्य जन्माउने प्रक्रियामा लामबद्ध हुँदाहुँदै कृष्ण सेन ‘इच्छुक’ ले बलिदानको बाटो रोजे तर कायर शासकहरूसँग कत्ति झुकेनन् । उनले यस्तै कालकोठरी भद्रगोल जेलमा बसेको समयमा जेलबाट दक्षिणतिर देखिने अटल चन्द्रागिरि पर्वतमालालाई क्रान्तिको बिम्बका रूपमा सम्बोधन गर्दै आशावादी सिर्जना गरेका थिए–
हाम्रो कल्पवृक्ष उम्रने यो उर्वर माटोमा
विषवृक्षहरू उम्रिरहेको देखेर
हामी मेलापात गर्ने हाम्रा बनजङ्गलहरूमा
हरिया सर्पहरू लुकिरहेको देखेर
नतर्स मेरा प्रियजनहरू !
हामीले कल्पवृक्ष पनि त रोपिरहेका छौँ
सर्पहरू काला हुन् वा सेता हुन्
सर्पहरू नीला हुन् वा पहेँला हुन्
सर्प नै हुन्
एक न एक दिन ती
विषालु सर्प विषहीन पारिनेछन्
समय आफ्नोअनुकूल पनि हुँदैन
समय आफैँ प्रतिकूल पनि हुँदैन
गतिवान् समयको
चिन्ता नगर मेरा प्रियजनहरू !
सधैँ समयको गतिलाई पक्र
एक न एक दिन
हाम्रा आशाका सुन्दर गुराँसहरू फुल्नेछन् ।

हो सधैँ रातहरू मत्र रहँदैनन्, नयाँ आशाका किरणहरू बोकेर लालिमासहितका सूर्यहरू पनि उदाउँछन् । तिनै सूर्यहरू उदाउने महान् सपना जोकोहीले देख्न सक्तैनन् । त्यसका लागि हृदयभरि क्रान्तिकारी आशावाद बोकेका माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ र विप्लवहरू हुनुहुपर्छ ।
माओले ‘चिङकाङसानमा फेरि चढ्दा’ शीर्षक कविता भनेका थिए–
बादल छुने मेरो पुरानो चाहना थियो
र म फेरि चढेँ चिङकाङसान ।
हाम्रो पुरानो किल्ला हेर्न
आएको छु धेरै टाढाबाट ।
पुरानो दृश्यलाई फेरेछन् नयाँ परिवेशहरूले
जहाँतहीँ कोइली गाइरहेछन्, भँगेरा कराइरहेछन्
कलकलाइरहेछन् खोलानालाहरू
र बाटो पहाड हुँदै आकासिँदैछ
एकपटक हुआयाङ्ची कटेपछि
छैनन् कतै अप्ठ्यारा चुनौतीहरू ।
हुरी र बतास मच्चिरहेछ
जहाँ छन् मान्छेहरू
झन्डा र ब्यानरहरू फहराइरहेछन् ।
चुट्कीमै बित्यो अठ्तीस वर्ष
अब हामी नवौँ आकाशको चन्द्रमा पनि छुन सक्छौँ
सात समुद्र गहिराइको कछुवा पनि समात्न सक्छौँ
विजयको गीत र उल्लास बोकेर फर्केका छौँ हामी ।
असम्भव भन्ने छैन संसारमा केही
उचाइलाई नाप्ने साहस छ भने ।

नयाँ वेग लिएर अघि बढेको आँधीहुरी नै पहाडहरुमा ठोक्किने गर्छ । समुद्रका विशाल छालहरु तरङ्गिँदैतरङ्गिँदै र लहरिँदैलहरिँदै उच्च बन्छन् र फोहोरमैला बढार्छन् । क्रान्तिको डढेलोले सुकेको पत्करको सहारा लिएर सम्पूर्ण झिँजामिजाहरु न्ष्ट पारिदिन्छ । महान् लेनिनका ‘ त्यो एउटा आँधीमय वर्ष’
शीर्षक कविताका केही पङ्क्तिहरुले पनि निकट भविष्यमै हुन लागेको सूर्योदयको सङ्केत गरेका थिए–
त्यो एउटा आँधीमय वर्ष
सारा देशलाई आफ्नो चपेटामा लियो आँधीले
बादल फाट्यो र हामीमाथि बर्सियो तुफान
अनि असिना र चट्याङ
घाउ मुख बाउँदै रह्यो खेत, खलिहान र बस्तीमा
चोटमाथि चोट दिँदै ।
बिजुली चम्किन थाल्यो, खुँखार भएर उठ्यो चम्काइ त्यो
निष्ठुर ताप जल्न थाल्यो, छातीमा प¥यो ढुङ्गाको भार ।
र आगोका झिल्काहरूले झलमल पारिदयो
नक्षत्रहीन अँधेरी रातको शून्यतालाई ।
… … …
ए जुडासका गिरोहहरू !
अरे ओ जनता, तिमीहरू आफ्नो अन्तिम सर्ट खोल
छिटो–छिटो ! खोल !
आफ्नो बचेखुचेको पैसा खर्च गरी रक्सी पिए
जारको सानका लागि माटोमा पुरिएर मर !
पहिलेजस्तै भारी बोक्ने पशु बन !
सधैँका गुलामहरू, रुमालको कुनाले आँसु पुछ
र धर्तीमा टाउको ठोक !
विश्वसनीय सुखी
मृत्युपर्यन्त जारलाई ज्यानभन्दा प्यारा छन् जनता
सबै सहँदै जाऊ, सबै कुरा मान्दै जाऊ पहिलेजस्तै
गोली ! चाबुक ! चोट देऊ !
……..
सताउनु, उफार्नु
चाबुक, फाँसीको तख्ताको नास होस् !
मुक्त मान्छेहरूको लडाइँ, तिमी तुफानजस्तै पागल बन !
फटाहाहरू नष्ट हुनेछौ !
आऊ जरैदेखि उखेलौँ
तानाशाहको शक्तिलाई !
मुक्तिका लागि मृत्यु सम्मानयोग्य छ
जन्जिरमा बाँधिएको जीवन लाजमर्दो हो ।
आऊ गुलामीलाई खत्तम पारौँ
खत्तम पारौँ गुलामीको लाजलाई
हे मुक्ति
तिमी हामीलाई संसार र स्वतन्त्रता देऊ ।।

अब हामीले पनि सम्पूर्ण उत्पीडित र शोषितहरुलाई अन्तिमपटक एकफेर आह्वान गर्नुछ यो गुलामीलाई खतम पार्न र रक्ति सूर्योदयको लाली नियाल्न क्रान्तिमा लामबद्ध बनौँ । पेरिस कम्युनका योद्धा, अन्तर्राष्ट्रिय गीतका सर्जक एवम् क्रान्तिकारी माक्र्सवादी स्रष्टा युजिन पोत्तरले पेरिस कम्युनलाई प्रतिक्रियावादी सत्ताले बर्बरता र क्रूरतापूर्वक ध्वस्त गरेको १५ वर्षपछि क्रान्तिप्रति आफ्नो उद्गार र भावना पोख्दै १८८६ मा लेखेको यो कविताका साथ यो समयसमीक्षा अन्त्य गर्ने अनुमति माग्छु–
दुस्मनहरूले राइफल सोझ्याएर उसको हत्या गरे
मेसिनगन चलाएर उसको हत्या गरे
र उसलाई रातो झन्डासितै
जमिनमा घिसारे, लतारे
र अथुराएका जल्लादहरूको भीडले
आफूलाई निकै सर्वशक्तिमान ठान्यो
तर त्यसले कुनै पात पनि हल्लाउन सकेन
यसकारण कि निकोलस
कम्युन मरेको छैन
जसरी खेतीवालाले बाली उठाएर खेत खाली पार्दछन्
जसरी रूखबाट स्याउहरू भुइँमा झर्दछन्
भर्ससाईको नरसंहार
सयौँ–हजारौँ मान्छेहरूको नरसंहार
सयौँ–हजारौँ मान्छेहरूको बर्बर हत्या गरेर
खोइ त तिनले के लछारपाटो लाए ?
आखिर त्यसले कुनै परिवर्तन त भएन
निकोलस
यसकारण कि कम्युन मरेको छैन
ठीक हो उनीहरूले हत्या गरे बर्लिनको
फ्लोरेनको, डुभलको, मिलिरेको,
फेरीको, रिगौको, टोनी मोलिनको
र भरे धमाधम चिहानहरू
हत्याराहरूले सोचे
हामीले उसको हात नै काटिदियौँ
हामीले उसको रगतको मूल नै बन्द गरिदियौँ
तर यी सब कुराले केही पनि त परिवर्तन भएन
निकोलस,
यसकारण कि कम्युन मरेको छैन
उनीहरूले डाँकाले जस्तै आक्रमण गरे
चुपचाप उनीहरूले अस्पतालको बेडबाट
थुतेर घाइतेहरूको हत्या गरे
बेडको रक्ताम्मे च्यादरबाट बगिरहेको रगत
ढोकामुनि समेत बग्यो
तर यसले खोइ कुनै परिवर्तन ल्याएन
निकोलस,
यसकारण कि कम्युन मरेको छैन
बेचिएका पत्रकारहरूले
बदनाम व्यापारीहरूले
हाम्रो सामूहिक चिहानप्रति
आफ्ना अनेक लाञ्छना, आरोप
र आक्षेपका विष फिँजाए
मेक्सिम डुक्याम्प, डुमासले आफ्नो जाँडरक्सी ओकले
तर त्यसले कुनै हेरफेर ल्याएन
निकोलस,
यसकारण कि कम्युन मरेको छैन
दमोक्लिजको तलबार
उनीहरूका शिरमाथि झुन्डिरहेको छ
भेलिजको शवयात्रामा
उनीहरूलाई चुप बनाइएको थियो
यसकारण कि हामी त्यहाँ पङ्क्तिबद्ध थियौँ
उसलाई सुरक्षा दिन खटिएका असङ्ख्य योद्धाहरू
यसले हरहालतमा यही कुराको प्रमाणित गर्दछ
निलोलस,
यसकारण कि कम्युन मरेको छैन
यी सब चीजले योद्धाहरूलाई यही कुराको प्रमाण दिन्छ
मरियनाको छाला तङ्ग्रिएको छ
उनी युद्धका लागि तयार छिन्
यो अब गगनभेदी स्वरमा नारा घन्काउने बेला हो
कम्युन जिन्दावाद
यसले सबै जुदाजहरूलाई छर्लङ्ग पार्दछ
सब चीज कस्तो छ
छिटै नै उनीहरूलाई थाहा हुनेछ
हरे ! कम्युन त मरेको छैन ।

२०७६ जेठ ५ गते आइतबार प्रकाशित