जनयुद्ध, एकीकृत जनक्रान्ति र युवा

- सञ्जीव

राजनीतिक क्रान्ति याने कि राजनीतिक परिवर्तन वर्गीय समाजमा निरन्तर चलिरहने प्रक्रिया हो । जबसम्म समाजमा वर्गहरू रहन्छन्, तबसम्म यो प्रक्रिया निरन्तर विकसित र अझ सशक्त रूपमा अगाडि बढिरहन्छ । नेपालमा राजनीतिक क्रान्तिको सुरुआत जहाँनियाँ राणाशासनको विरुद्धमा १९९३ मा प्रजापरिषद्को नाममा राजनीतिक पार्टीको स्थापनायता भएको पाइन्छ । करिब डेढदशकपछि अर्थात् २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी र २००७ सालमा नेपाली कांग्रेस पार्टी तत्कालीन राणा शासनको विरुद्ध जनतालाई राजनीतिक क्रान्तिको अपीलसँगै स्थापना गरिए । ती राजनीतिक पार्टीहरूको स्थापनायता उनीहरूले जहाँनियाँ राणा शासन, तीन दशक लामो समय सत्ता सञ्चालन गरेको एकदलीय पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रान्तिका लागि थुप्रै जनसङ्घर्ष, जनआन्दोलन तथा सशस्त्र सङ्घर्षहरू सञ्चालन गरे । जसको दौरान थुप्रै नेता, कार्यकर्ता र जनताले चरम यातनासहितको लामो बन्दीगृहको जीवनयापन, घाइते तथा अङ्गभङ्ग र सर्वस्वहरण तथा मृत्युदण्डजस्ता बलिदानीपूर्ण कीर्तिमान खडा गरे तर ती जनआन्दोलन, जनसङ्घर्ष र सशस्त्र सङ्घर्षहरू राजनीतिक क्रान्तिको तहमा विकसित हुन सकेनन्, बरु ती केवल सम्झौता र धोकामा सीमित हुन पुगे । २०४६ को जनआन्दोलनद्वारा बहुदलीय व्यवस्थाको आगमनपश्चात् नेपाली कांग्रेस र एमाले पार्टीहरूद्वारा देशमा राजतन्त्रात्मक संसदीय व्यवस्थाको अभ्यास गरे । त्यसले निजीकरण, राष्ट्रघात, जनघात तथा भ्रष्टाचार र कांग्रेसीकरणलाई राष्ट्रव्यापी बढाउन थाल्यो । राष्ट्रव्यापी सिर्जना भएको जनअसन्तोषको पृष्ठभूमिमा २०५२ फागुन १ गते नेकपा (माओवादी )को सचेत पहल र नेतृत्वमा राजतन्त्रात्मक संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने घोषित लक्ष्यसहित सशस्त्र दीर्घकालीन जनयुद्धको आरम्भ गरियो ।

नेपालको राजनीतिक क्रान्तिका दौरान लामो समयदेखि धोका, गद्दारी र सम्झौताबाट निराश भएका नेपाली जनतामा नयाँ आशाको रक्तसञ्चार गर्दै छोटो समयमै जनयुद्धले आम श्रमजीवी जनताको सहभागितामा अभूतपूर्व विकास गर्न पुग्यो । हजारौँ नौजवान युवाहरूको अग्रभागीय भूमिका र लाखौँ जनताको सहयोग र समर्थनसहित एक दशक लामो जनयुद्धले देशभित्र मात्र होइन, एउटा सीमासम्म अन्तरराष्ट्रिय श्रमिक जनसमुदायलाई पनि आशा र विश्वास दिलाएको थियो । तर, दुःखान्त पक्ष यो रह्यो कि विजयको सन्निकट पुगेको जनयुद्धले पनि अन्ततः नेपाली राजनीतिक आन्दोलनको पुरानै नकारात्मक विरासतको पुनरावृत्त गर्न पुग्यो । हजारौँ सहिद, घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाहरूको त्याग, तपस्या र बलिदानको जगमा आफ्नै जनसेना, जनसत्ता र अपार जनसमर्थनसहित पुरानो राज्यसत्तामाथि करिब करिब विजय हासिल गर्न थालेको जनयुद्धले अन्ततः राजनीतिक सहमति र सम्झौताका नाममा जनयुद्धको अन्त्यसँगै भीषण र डरलाग्दो प्रतिक्रान्ति झेल्न पुग्यो । पार्टी सङ्गठन रूपमा माओवादी देखिए पनि सारमा राजनीतिक र वैचारिक स्खलन यति डरलाग्दो गरी देखापर्यो कि हिजो जसलाई प्रतिगामी र यथास्थितिवादी भनेर दुत्कारिन्थ्यो, उनीहरूलाई समेत माथ गर्ने तहमा विकसित हुन पुग्यो । कठिनाइ र चुनौतीका हजारौँ अवरोधहरू पार गर्दै त्याग, तपस्या र बलिदानले प्राप्त भएका र स्थापित गरिएका जनसत्ता, जनमुक्ति सेनासहितका अवयवहरू हुँर्दाहेर्दै खरानीमा परिणत गरिए । माओवादी पार्टीभित्रका थुप्रै इमानदार नेता तथा कार्यकर्ताहरू, नेपालका सच्चा लोकतन्त्रवादी एवम् प्रगतिशील राजनीतिक पार्टीहरू, राष्ट्रको स्वाधीनता एवम् शान्ति र समृद्धि चाहने व्यापारी, बुद्धिजीवी, कर्मचारी, नागरिक समाज तथा आम जनसमुदायका बिचमा नेपालमा चर्चित उखान जति जोगी आए नि कानै चिरेकाको चरितार्थ व्यवहारतः सावित हुन पुग्यो । यस प्रकारको राजनीतिक घटनाक्रमले नेपाली समाजको चौतर्फी क्षेत्रमा डरलाग्दो निराशालाई व्यक्त गरयो । चारैतिर हावा चलाइयो कि अब नेपालमा राजनीतिक क्रान्ति सम्भव छैन । विगतमा जनयुद्धको नेतृत्व गरेका नेतागणहरूको यस प्रकारको हल्लासँगै प्रतिगामी र यथास्थितिवादी पार्टीहरू बल्ल माओवादीहरूले कुरा बुझेको, देशलाई एक दशक अँध्यारो अध्यायतिर धकेलेको, जनताको रगतसँग खेलवाड गरेको आदि तर्कसहित हाम्रो पार्टीका विरुद्ध भीषण राजनीतिक र वैचारिक हमला केन्द्रित गर्न पुगे । एकातिर यस प्रकारको हमला र अर्कोतिर सिङ्गै देश निराशाको बादलले छेकिरहेको अवस्थामा राजनीतिक र वैचारिक रूपले प्रतिगामी तथा यथास्थितिवादीहरूको प्रतिवाद र भण्डाफोर गर्दै जनयुद्धका एक ऊर्जावान युवा नेता तथा जनताका प्रिय नेता कमरेड विप्लवको नेतृत्वमा नेपालमा समाजवादी क्रान्ति आवश्यक र सम्भव छ भन्ने निष्कर्षसहित क्रान्तिकारी पार्टी पुनर्गठनको प्रक्रिया अगाडि बढाइयो । यसले नेपालका श्रमिक वर्ग तथा राष्ट्रको स्वाधीनता एवम् शान्ति र समृद्धि चाहने नेपाली जनतामा नयाँ उत्साह र आशाको रक्तसञ्चार ग¥यो । पार्टी पुनर्गठनयता निरन्तर दलाल संसदीय राज्यसत्ताद्वारा थोपरिएको राष्ट्रघात, जनघात, भ्रष्टाचार, महङ्गी करछली र गुण्डागर्दीका विरुद्ध विभिन्न सङ्घर्षका कार्यक्रमहरूसहित अगाडि बढिरहेको नेपाल कम्युनिस्ट पार्टी आज आम श्रमिक नेपाली जनताको आशा र भरोसाको केन्द्र बनेको छ भने सामाजिक दलाल पुँजीपति वर्गको लागि आँखाको कसिङ्गर बनेको छ । फलतः उनीहरूले आफ्ना विदेशी मालिकहरूको निर्देशनमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाउँदै सिङ्गो जनमुक्ति आन्दोलनलाई सखाप पार्ने दिवासपनासहित आफ्ना सम्पूर्ण षड्यन्त्रहरू केन्द्रित गर्न पुगेका छन् ।

२०५२ देखि २०६२/०६३ सम्म चलेको दीर्घकालीन जनयुद्ध नेपालको राजनीतिक आन्दोलन र मुख्यतः नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । प्रतिकूल विश्व परिवेश, संशोधनवादी कम्युनिस्टहरूको दबदबा तथा क्रान्तिकारी कन्युनिस्टहरूको अत्यन्त कमजोर आत्मगत अवस्थाका बिच जनयुद्धको आरम्भ गरी निरन्तरता दिनु सामान्य विषय अवश्य थिएन । तत्कालीन पार्टीमा कायम गरिएको सुदृढ एकता, नेता–कार्यकर्ताहरूमा विद्यमान पार्टी र क्रान्तिप्रतिको समर्पणभाव तथा जनताको सक्रिय सहयोग र समर्थनका कारण प्रतिक्रियावादी राज्यव्यवस्थाको भीषण र नरसंहारकारी दमन अभियानका बाबजुत नेपाली जनयुद्धले एकपछि अर्को विजय अभियान चुम्न सफल भइरहेको थियो । उक्त नेपाली जनयुद्धमा क्रान्तिकारी युवा वर्गको भूमिका अहम् र निर्णायक रहेको थियो । पार्टीका विभिन्न तहको नेतृत्व, हजारौँ जनमुक्ति सेना, देशव्यापी निर्माण गरिएका सांस्कृतिक परिवारहरू, जनसत्ता, सूचना सञ्चार तथा सप्लाई, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा र सहकारीजस्ता विभागीय क्षेत्रहरूमा युवाहरूको भूमिका निर्णायक रहेको थियो । जनयुद्धको अन्त्यसँगै क्रान्तिका विरुद्ध थोपरिएको प्रतिक्रान्तिका कारण जनयुद्धमा सहभागी हजारौँ युवाहरू आज विश्वका विभिन्न देशहरूमा कठोर भौतिक कठिनाइसहित जीवनयापन गरिरहेका छन् । जनमुक्ति सेनामा रही वर्षौं युद्ध लडेका हजारौँ युवाहरू अनमिनद्वारा अयोग्य घोषणा गरिए । पार्टी, जनसत्ता, सांस्कृतिक परिवार तथा विभिन्न विभागहरूमा कार्यरत हजारौँ नेता कार्यकर्ताहरू जनयुद्धको अन्त्यसँगै बेवारिसे बन्न वाध्य भए । उनीहरूका लाऊँ लाऊँ र खाऊँ खाऊँको जीवन अर्थात् केही गर्न सक्ने उमेर अवस्था जनयुद्धमा बित्यो । त्यसमा पनि कैयौँ कार्यकर्ता घाइते–अपाङ्ग छन्, जसको आजपर्यन्त निकै दुःखदायी जीवनयापन चलिरहेको छ । तत्कालीन पार्टी अध्यक्ष प्रचण्डद्वारा जनयुद्धको सफलतापछि भेट्रान प्रदान गरिने घोषणा र तत्कालीन शिक्षा नीतिप्रति फैलाइएको अनास्थाका कारण हजारौँ युवायुवतीले बुर्जुवा शिक्षाको बहिष्कारका नाममा आधारभूत शिक्षा पनि हासिल गर्न सकेनन् । निकै उदेकलाग्दो र हास्यास्पद कुरा त अझ यो रह्यो कि शान्तिप्रक्रियालगत्तै पार्टीको विद्यमान शिक्षा नीतिसम्बन्धीको परिभाषा मात्र फेरिएन, बरु प्रतिगामी र यथास्थितिवादीभन्दा पर पुगेर शिक्षाको महत्वबारे चर्चा गरियो । उच्चशिक्षा हासिल नगरेका कार्यकर्ताहरू नेतृत्वका सहयोगीबाट हटाइनुका साथै, पार्टीका निकै मूल्यवान् कार्यकर्ताहरू पार्टीभित्रै अयोग्य घोषित गरिए । यसले कार्यकर्ता पङ्क्तिमा राजनीति, नेतृत्व र समग्र पार्टी कार्यक्रमप्रति अविश्वास, घृणा र क्रोध उत्पन्न गर्यो । यिनै सकारात्मक र नकारात्मक पक्ष आज एकीकृत जनक्रान्तिको कार्यदिशा प्रयोगको सन्दर्भमा महत्वपूर्ण शिक्षा सावित भएका छन् ।

एक दशकअघि जनयुद्धका कारण विश्वमा निकै चर्चित मुलुक आज प्रतिक्रान्तिको दलदलमा फसेको छ । संसदीय पार्टीहरूद्वारा घोषणा गरिएको शान्ति र समृद्धि आकासको फल बनेको छ । देश साम्राज्यवादी मुलुकको फौजी परेड खेल्ने रणनीतिक अडामा परिणत हुँदैछ । राष्ट्रघात बढेर गएको छ । देशका सीमा रेखाहरू दिनदहाडै मिचिएका छन् । राष्ट्रिय उद्योगहरू धरासायी भएका छन् । भ्रष्टाचारले चौतर्फी संस्थागत रूप लिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाइरहेको निजीकरण र माफियाकरणका कारण जनताको पहुँचभन्दा निकै महङ्गो भएको छ । बेरोजगारीको समस्या यति बढेर गएको छ कि झन्डै एक करोड युवाहरू रोजीरोटीको सिलसिलामा विदेशिन बाध्य छन् । विश्वमा भएका मुलुकहरूमध्ये थोरै मुलुकहरू मात्र त्यस्तो होला, जहाँ श्रमिक नेपालीहरू नपुगेको होस् । सन् २०१८ को तथ्याङ्कअनुसार ५८.८ प्रतिशत घरधुरीको आम्दानीको स्रोत वैदेशिक रोजगारीमार्फत हुने गरेको छ, जसबाट साढे सात खरब राष्ट्रलाई रेमिटयान्स प्राप्त भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सरदर दैनिक १८०० देखि २२०० जना युवाहरू विदेशिने गरेका छन् । उक्त सङ्ख्या वार्षिक सालाखाला ६४८००० देखि ७९२००० हुन जान्छ । विदेशमा दैनिक सरदर ७ जना युवाहरूको दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुन्छ । जुन वार्षिक सालाखाला २५२० जना हुन आउँछ । वेदेशिक रोजगारीमा रहेका नेपाली युवा महिलाहरूको अवस्था त झन् यति दुर्दशापूर्ण छ कि जसको चर्चा गरिसाध्य छैन । हत्या हिंसा, बलात्कार तथा बेचबिखन सामान्य बनेको छ । यसले के देखाउँछ भने आजको विश्वबजारमा भूगोल र जनसङ्ख्याको दृष्टिले नेपाल श्रमिक मजदुर उत्पादन गर्ने मुलुकको पहिलो सूचीमा आउँछ । आज नेपाली युवाहरूको अवस्था यस्तो रहेको छ कि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरूमा मानसिक या भौतिक श्रमका निम्ति जान पाउँदा आफूलाई ठूलो भाग्यशाली ठान्ने गरिन्छ । जब कि विश्वका कैयौँ मुलुकहरूका नागरिकहरूले वैदेशिक रोजगारीमा जानु ठूलो बेइज्जत ठान्दछन् । देशका यी समस्याहरू आगामी दिनमा अझ वृद्धि हुँदै जाने कुरा निश्चित छ । यस प्रकारको भयावह राष्ट्रिय परिस्थितिले आमरूपमा निम्न प्रश्नहरू उत्पन्न गरेको छ ।

के हामी नेपालीहरूको नियति सधैँ यस्तै रहला त ? के हाम्रो मुलुक सधैँ पराधीन रहिरहन्छ त ? के हाम्रो देशले शान्ति र समृद्धि कहिल्यै प्राप्त गर्न सक्दैन त ? के हाम्रो देशले विज्ञान प्रविधिको विकाससहित दुनियाँका शक्तिशाली कहलिएका मुलुकहरूसँग प्रतिस्प्रधा गर्न सक्दैन त ? के हाम्रो मुलुकमा विकासका पूर्वाधार अर्थात् कच्चा पदार्थ नभएर यो अवस्था पैदा भएको हो ? वास्तविकता के हो भने हाम्रो मुलुक स्वतन्त्र र सार्वभौम बन्न सम्भव छ । हाम्रो मुलुकले वास्तविक शान्ति र समृद्धि हासिल गर्नुका साथै, विज्ञान प्रविधिको विकाससहित दुनियाँका विकसित मुलुकहरूसँग प्रतिस्पर्धा गर्न सम्भव छ र हामीले सक्नुपर्दछ । हामीसँग विकासका पुर्वाधार र पर्याप्त कच्चा पदार्थहरू पनि छन् । तर ती कच्चा पदार्थहरू छिमेकी मुलुक भारतसँग गरिएका विभिन्न असमान सन्धि–सम्झौताका कारण हाम्रो पहुँचमा मात्र सीमित छैनन् । हामीले हाम्रा स्रोत साधनको उत्खनन् गर्दा भारतीयहरूको स्वीकृति लिनुपर्ने बाध्यता छ ।

राष्ट्रको स्वाधीनता तथा शान्ति र समृद्धिका लागि पहिलो र मुख्य आधार भनेको देशको लागि अनुकूल राजनीतिक प्रणाली स्थापना गर्नु हो भने दोस्रो आधार भनेको सम्पूर्ण रूपले राष्ट्र र जनताप्रति समर्पित नेतृत्व निर्माण गर्नु हो, जसले राष्ट्र र जनतालाई धोका नदेओस् । यी दुई आधार अर्थात् प्रणाली र संयन्त्रलाई वैज्ञानिक ढङ्गले जोड्न सकियो भने हामीले दुनियाँमा चामत्कारिक विकास गर्न कसैले रोक्न सक्नेछैन । वर्तमान नेपालमा चलिरहेको संसदीय शासन प्रणाली विश्वमा असफल सावित भइसकेको छ । यो व्यवस्थाले केवल पुँजीपति वर्गको रक्षा र विकास मात्र गर्दछ भने आम श्रमिक वर्गप्रति असहिष्णु रहँदै आएको छ, जसको कारण धनी र गरिबको खाडल विश्वव्यापी रूपमा बढेर गएको छ । विभिन्न सर्वेक्षणअनुसार हाल विश्वका ८ जना धनीहरूको सम्पत्ति र ३ अरब ५० करोड मानिसको सम्पत्ति बराबर रहेको छ । यसका साथै शिक्षा, स्वास्थ्य र बेरोजगारीको समस्या विकराल बन्दै गइरहेको छ । आज नेपालमा कम्युनिस्टको नाममा चलिरहेको दलाल संसदीय व्यवस्थाअन्तरगत जे–जति समस्याहरू देखापरिरहेका छन् । त्यसका पछाडि संसदीय शासन व्यवस्थाकै समस्या अन्तर्निहित छ । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको स्थापना गर्ने अभियानमा अब ढिलाई गर्नु मूर्खता सावित हुनेछ । स्वाधीन राष्ट्र, जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सञ्चार तथा सूचनाको ग्यारेन्टी गर्ने वैज्ञानिक समाजवादी राज्यव्यवस्था आजको अपरिहार्य आवश्यकता हो । त्यसका लागि हामीसँग रहेको जल, जमिन, जङ्गल, जडीबुटी, जलस्रोत र युवा जनशक्तिको सही परिचालन आवश्यक छ । स्रोत साधनका दृष्टिले विश्वकै सम्पन्नशाली भएर पनि आज जुन अभाव र गरिबीको अवस्थामा हामी ज्युन बाध्य छौँ, त्यसको मूल कारण हाम्रो विद्यमान संसदीय शासन प्रणाली रहेको छ । दोस्रो आधार भनेको राष्ट्र र जनताप्रति समर्पित राजनीतिक नेतृत्वको निर्माण र स्थापना गर्नु हो । २००६/००७ सालदेखि हालसम्म हामीले जे– जति बलिदानसहितको सङ्घर्ष गर्यौँ, अन्ततः ती सबै सम्झौतामा सीमित हुन पुगेका छन् । बिडम्वना यो रहेको छ कि इतिहासदेखि वर्तमानसम्म जनताको तहबाट सङ्घर्षमा ठुल्ठुला वीरता र बलिदानका गौरवगाथाले भरिएका छन भने राजनीतिक नेतृत्वको तहबाट केवल सम्झौता, धोका र गद्दारीका कारण जनताले मुक्ति पाउन सकेका छैनन् । हाम्रो आफ्नै नेपाली कम्युनिस्ट आन्दोलनको अनुभवको कोणबाट मात्र होइन कि अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनको कैयाँै सकारात्मक र नकारात्मक अनुभव एवम् शिक्षाहरूको कोणबाट पनि राज्यसत्ता याने कि राजनीतिक प्रणाली र नेतृत्वलाई वैज्ञानिक र व्यवस्थित रूपमा जोड्न सक्नुपर्दछ । राजनीतिक प्रणाली र नेतृत्वलाई जोड्न सक्दा वैज्ञानिक समाजवादी राज्यसत्ता सफलतापूर्वक अगाडि बढ्नेछ ।

दासयुगदेखि आधुनिक पुँजीवादी युगसम्म चलेका कैयौँ बलिदानीपूर्ण सङ्घर्ष तथा युद्धहरू, सिङ्गो धर्ती आकास कम्पायमान गर्ने समाजवादी क्रान्तिहरू युवावर्गको सक्रिय सहभागीमा सम्पन्न भएका छन् । सर्वहारावर्गका महान् गुरुहरू माक्र्स, लेनिन, माओ तथा हो चि मिन्ह, किम इल सुड, अर्नेस्टो चेलगायतका विश्वविख्यात व्यक्तिहरूको विचार निर्माण र विकास पनि युवा अवस्थामा नै भएको पाइन्छ । त्यस्तै फासिवादका नायक हिटलर, मुसोलिनी तथा इदिअमिनहरूले पनि युवावस्थामा नै आफ्नो विचार निर्माण गरेका थिए । भन्नुको तात्पर्य युवा उमेर समूह नै त्यस्तो उमेर समूह हो, जहाँ भौतिक तथा मानसिक खटन पटनका साथै विचार निर्माण र खोज अध्ययन अनुसन्धानलाई सक्रियतापूर्वक अगाडि बढाउन शारीरिक रूपले पनि सम्भव रहन्छ । आज नेपालका क्रान्तिकारी युवाहरूको काँधमा विशेष र ऐतिहासिक महत्वको जिम्मेवारी आएको छ । त्यो हो एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशामार्फत नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नु । यो नेपाल राष्ट्र र जनताको लागि एउटा अनिवार्य आवश्यता बनेको छ । त्यसका लागि अर्थात् क्रान्तिको सञ्चालन र वैज्ञानिक समाजवाद स्थापनाका लागि आवश्यक पर्ने सर्तहरू भनेको वैज्ञानिक विचार, कार्यदिशा र सङ्गठन हुन् । हामीसँग सर्वहारावर्गको अपराजेय विचार मालेमावाद छ । जो सर्वहारा श्रमिक वर्गको मुक्तिको दर्शन हो । समाजमा वर्ग रहेसम्म यो विचार र दर्शनले उत्पीडित श्रमिक वर्गको मुक्तिको लागि निरन्तर दिशा निर्देशन गरिरहन्छ । अन्य विज्ञानमा झैँ यो विज्ञानले पनि विकासको माग गर्ने भएकोले नेपाल कम्युनिस्ट पार्टीले यो विचार र दर्शनको क्षेत्रमा विकास गर्ने प्रयत्न गरेको छ । यो नेपालका उत्पीडित श्रमिक वर्गको लागि खुसी र गौरवको विषय हो ।

विचार र दर्शनपछि क्रान्तिको लागि आवश्यक पर्ने दोस्रो सर्त भनेको कार्यदिशा हो । सन् ७० को दशकयता अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कार्यदिशाका बारेमा ठुलठुला बहसहरू हुने गरेका छन् । त्यसभन्दा अगाडि सम्पन्न गरिएका अल्पकालीन विद्रोह र दीर्घकालीन जनयुद्धको कार्यदिशाबाट दुनियाँमा सञ्चालन गरिएका पछिल्ला श्रमिक वर्गीय क्रान्तिहरू कतै पनि सफल हुन सकेका छैनन् । इतिहासका यी तथ्यपरक घटनाक्रम तथा विश्वव्यापी रूपमा राजनीतिक, आर्थिक, सामरिक, विज्ञान–प्रविधि तथा सूचना सञ्चारमा भएको प्रगति र विकासका कारण राजनीतिक कार्यदिशाको विकास अपरिहार्य हुन गएको छ । विज्ञानको सोही नियमलाई आत्मसात गर्दै नेपाली विशेषतामा एकीकृत जनक्रान्तिको नवीनतम कार्यदिशा प्रतिपादन भएको छ । क्रान्तिका लागि तेस्रो सर्त भनेको सङ्गठन हो । विचार, दर्शन र कार्यदिशाको निर्माण गरिसकेपछि त्यसलाई प्रयोगको तहमा पु¥याउने साधन भनेको सङ्गठन हो, जसअन्तरगत क्रान्तिका तीन साधनहरूको निर्माण तथा आवश्यकताअनुसार विभिन्न जनसङ्गठनहरूको निर्माण र परिचालन गर्न सकिन्छ । त्यसमा मुख्यतः पार्टी सङ्गठन प्रधान हुने गर्दछ । जो सर्वहारावर्गको अग्रदस्ताका रूपमा रहेको हुन्छ । त्यसले आफ्नो मातहतमा रहने गरी सरकार र सेना निर्माण गर्दछ । यी महत्वपूर्ण र आधारभूत सर्तहरूको जगमा नेपालमा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको अभियान सञ्चालन भइरहेको छ । आज नेपालमा क्रियाशील युवा सङ्गठन नेपाल त्यस्तो सङ्गठन हो, जसले आम मुक्तिकामी युवाहरूको प्रतिनिधित्व र अगुवाई गर्नुका साथै, कम्युनिस्ट पार्टीको सहायक सङ्गठनको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यो ऐतिहासिक अवसरमा क्रान्तिकारी युवाहरूले विश्व ऐतिहासिक महत्वको सङ्घर्ष तथा युद्धहरूमा प्राप्त भएको दिग्विजयका गौरवगाथालाई आत्मसात गर्नुपर्दछ । नेपालमा वैज्ञानिक समाजवाद स्थापनाका लागि नयाँ खोज अनुसन्धानसहित प्रयोग हुन गइरहेको वैज्ञानिक विचार र नवीनतम कार्यदिशाको कार्यान्वयनमा आफ्नो भूमिकालाई निर्णायक बनाउनुपर्दछ । यही नै आजको युवा सङ्गठन नेपालको प्रमुख कार्यभार बन्न गएको छ ।

२०७६ मंसिर १ गते आइतबार प्रकाशित