छैटौँ पार्टी पुनर्गठन दिवस र आदर्शको मूल्य

- सुमनसिंह पौडेल


हामी आज हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको छैटौँ पुनर्गठन दिवस भव्य रूपमा मनाइरहेका छौँ । राष्ट्रघात, जनघात र अत्याचारले चरम रूप लिइरहँदा त्यसका विरुद्ध सङ्घर्ष गरेर जनतालाई मुक्त गर्ने पार्टीको पुनर्गठन भएको दिन आज मङ्सिर ८ गते ऐतिहासिक दिन हो । किनभने यही दिन दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्ने उद्घोषसहित जनतालाई नेतृत्व प्रदान गर्नसक्ने पार्टीको पुनर्गठन भएको हो । त्यस्तै यही दिन राष्ट्र र जनताका पक्षमा बलिदान दिएर लड्न तयार जनमुक्ति सेनाको स्थापना भएको थियो । जनयुद्धप्रति गद्दारी गरेर पुँजीवादको गुलाम गर्न पुगेका गद्दार प्रचण्डहरूविरुद्ध सङ्घर्ष गर्दै निरन्तर क्रान्तिको झन्डा उठाएर विभिन्न अकर्मण्यताका विरुद्ध जुझ्दै आउने क्रममा २०७१ मङ्सिर ८ गते जनताहरूको भरोसा महासचिव विप्लवको नेतृत्वमा पार्टीको पुनर्गठन भएको थियो ।

हामीले पार्टी निर्माण भएयताका छ वर्षहरूलाई समीक्षा गर्ने हो भने हामी दलाल सत्ताका विरुद्ध सङ्घर्ष गर्नसक्ने जनताको भरपर्दाे शक्तिका रूपमा स्थापित भैसकेका छौँ । त्यस्तै यो राष्ट्रलाई नयाँ उचाइमा उठाउन, जनताको जीवनलाई समृद्ध गर्नसक्ने क्षमतासहित अबको विकल्पका रूपमा अगाडि आइसकेका छौँ । आलोचकहरूले विभिन्न कुनाबाट मनोगत आलोचना गरेर एकीकृत जनक्रान्तिको कार्यदिशामा अकर्मण्यता रहेको भनेर टिप्पणी गरिरहे पनि हाम्रो कार्यदिशाले व्याख्या गरेअनुसार कार्यदिशाको मागअनुसार पार्टी सफल हुँदै गएको छ ।

हामीलाई राज्यले कार्यदिशाको मूल पक्षबाट अन्यत्र धकेल्न प्रयत्न गरिरहेको छ । प्रतिबन्ध, हत्या, गिरफ्तारी सबै यसैका प्रतिफल हुन् । यद्यपि हामी अझ सशक्त, प्रतिबद्ध बनेर क्रान्तिका कामहरूलाई अगाडि बढाइरहेका छौँ । हाम्रो नेतृत्व र सिङ्गो पार्टीपङ्क्ति अविचल प्रतिबद्ध बनेर सङ्घर्षमा जुटिरहेको छ । हामी सबै हिसाबले सफलतातिर गैरहेका छौँ । जनताहरू हाम्रो पार्टीलाई साथ दिने स्थानमा आइपुगेका छन् । हामी जित्छौँ, जनताको जित अवश्य हुनेछ । दलालहरूको खुनी सत्ता सदासदाका लागि खरानी बन्नेछ । पार्टी पुनर्गठनयता १० भन्दा बढी होनहार योद्धा कमरेडहरूको सहादत भैसकेको छ । हजारौँ जेल र हिरासतमा हुनुहुन्छ । हाम्रो सिङ्गो पार्टीपङ्क्ति सङ्घर्षमा छ । हामीले बलिदानीको मूल्यलाई अझ उचाइमा उठाउनुपर्ने छ । हाम्रो आक्रामकतालाई अझै तिखार्नुपर्ने छ । हाम्रो आदर्शलाई हामी जहाँजहाँ भए पनि उचो बनाइराख्नुपर्ने छ ।

आदर्श रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, पदार्थ वा सिद्धान्त अथवा कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना हो । आदर्श सबै हिसाबले अग्लो शिखर हो जसलाई दुनियाँले धेरै परबाट देख्न सक्छ । नेपाल कम्युनिस्ट पार्टिका महासचिब कमरेड विप्लवसँग स्थापित आदर्श लाखौँ उत्पीडित जनताले धेरै पर दूरदराजबाट पनि हेरिरहेका छन् । यो आदर्श भनेको वैज्ञानिक समाजवाद– साम्यवादको आदर्श हो । यो आदर्श वर्गविहीन, धर्मविहीन, जातविहीन सबै नागरिकहरूलाई समान र बराबर बनाउने सुन्दर सभ्यताको आदर्श हो । यो आदर्शले व्यक्तिवाद, म वाद, मेरोवाद, आफन्तवाद, निजीवादहरूको मूल दलाल पुँजीवादको शोषण र विभेदमैत्री क्रियाकलापहरू विरुद्ध सधैँभरि अर्थात् कहिल्यै ननिदाई, कहिल्यै नडगमगाई सङ्घर्ष गरिरहेको हुन्छ । गरिबहरूको वर्गविरोधीहरूसँग अँगालो हाल्न पुगेका धेरै नामधारी कम्युनिस्ट दलालहरू र कम्युनिस्टहरूलाई सिध्याउन सकिन्छ वा सिध्याइयो भनेर खुसी भएका पुँजीपतिहरूको लूटको स्वर्गमा नायक बनेर खडा भएको विप्लव आदर्शले उनीहरूलाई हरसेकेन्ड चुनौती दिइरहेको हुन्छ । त्यसैले हाम्रो आदर्श आमउत्पीडित श्रमशील गरिबहरूका निम्ति आस्था, भरोसा र विश्वासको केन्द्र हो । हामी त्यही आदर्शका इँटहरू हौँ । हामीले कहिल्यै हाम्रो आदर्शलाई गल्न र ढल्न दिनु हुंदैन ।

सामाजिक फासिवादी सरकारको जनविरोधी क्रियाकलापका कारण आमजनता आजित छन् । जनताहरूमा यस्तो परेको छ– अब कुनै शक्ति आइदेओस् र आफ्ना सारा दुःखहरू हरण गरिदेओस् । जनताको जीवनलाई नजिकबाट हेर्यो भने यति धेरै दर्दनाक छ, त्यो कथन गरेर साध्य नै छैन । किसान, मजदुर, गरिब, सुकुमबासी, दलित, मधेसी, महिला, जनजाति सबैको स्थिति भयावह छ । जनताहरू खान, लाउन र बस्न सक्ने अवस्थामा छैनन् । यति धेरै समस्या छ सायद यी समस्याहरू यो दलालहरूको सरकारलाई थाहा छैन । सबैतिरबाट हेर्दा तमाम समस्याहरूले क्रान्तिको खोजी गरेका छन् । त्यसैले यतिबेला क्रान्तिको रातो रङले सबै घर र मनहरूलाई छोएको छ । झुपडीहरू मात्र होइनन्, दलाल पुँजीवादी सत्ताको दास र गुलाम बनेका आधुनिक श्रमजीवी, मध्यमवर्गीय तप्का र देशलाई माया गर्ने देशभक्तहरूको मुठी दरो भएर कसिएको छ । तपाईंहामीले परिस्थितिलाई क्रान्तिको चस्माले हे¥यौँ भने उत्पीडकहरूको सिसमहलविरुद्ध उत्पीडितहरूको बस्तीमा विद्रोहको आगो सल्किसकेको छ । यो आगो भायनक विस्फोटतर्फ बढेको स्पष्ट अनुभूति गर्न सकिन्छ ।

हेर्दाहेर्दै साम्राज्यवादी भारतले हाम्रो प्यारो मुलुकलाई निल्नै लागेको छ । फासिवादी सरकार भित्रभित्रै देश बेचेर स्वाभिमानी नागरिकहरूको अपमान गर्दै भारतीयहरूको जीहजुरी गरिरहेको छ । कति विडम्बना छ ! देश लुटिइरहने, सरकार चुप बस्ने । नागरिकहरू सडकमा निस्कँदा उल्टै सरकार नागरिकहरूलाई गिरफ्तार गर्ने । यतिसम्म लाचार र फोहोरी सत्ताको अनुभूति गरिरहेका नेपाली जनताहरूलाई के परिरहेको होला यतिबेला । एनसेलले अर्बौं करछली गरेको छ तर त्यसबाट कर लिनुको सट्टा उल्टै उसलाई सम्मानित गरेर करमिनाहा गरिन्छ र कर तिर्नुपर्छ भन्ने नागरिकहरूमाथि दमन गर्न पुग्छ सरकार । यो देशका हामी नागरिकहरूमाथि केही घिनलाग्दा फोहोरी, लोभीपापीहरूको अत्याचार कहिलेसम्म हुने हो । कहिलेसम्म सहनुपर्ने हो । प्रश्नहरू हज्जाराैँ छन् । हाम्रो देशलाई फेरि अर्को सिरिया, अफगानिस्तान बनाउने खेल भैरहेको छ । इन्डो–प्यासिफिक रणनीतिमार्फत अमेरिकी सेना नेपालमा ल्याएर नेपाललाई युद्धमैदान बनाउने प्रयत्न भैरहेको छ । नेपालका प्राकृतिक स्रोतसाधनहरूमाथि लूट मच्चाउने र आफ्ना आपराधिक स्वार्थहरू पूरा गर्ने दाउपेचमा रहेको आतङ्कवादी राष्ट्र अमेरिका, अर्को लुटेरा मुलुक भारत र उनीहरूका दलालहरू यो उद्देश्यमा लागिरहेका छन । नेपाली लेन्डुपहरू, राष्ट्रघातीहरू यसका मतियार बनिरहेका छन् । कहिलेसम्म यी तमाम अपराधहरू जनताले सहन सक्छन् ? अब त्यो सम्भव छैन । अब विस्फोट हुनेवाला छ । नेपाली धर्तीमा विद्रोह भर्भराएर उठ्नेछ ।

सामाजिक फासिवादी सत्ताका तमाम जनविरोधी हर्कत र राष्ट्रघातविरुद्ध सङ्घर्ष गर्ने ऊर्जा हामीलाई हाम्रो आदर्शले नै प्रदान गर्नेछ । हामीलाई बलिदान गर्नसक्ने उच्च मनोबल यही आदर्शले नै प्रदान गर्नेछ । दुनियाँलाई एउटै गतिमा हिँडाउने मनोविज्ञान पनि यही आदर्शले नै प्रदान गर्नेछ । यतिबेला हाम्रो आदर्शलाई हामीले दृढतापूर्वक बचाउनु नै हामीले क्रान्तिका अधुरा कामहरूलाई अगाडि बढाउनसक्नु हुनेछ ।

माओवादी आन्दोलनको खरानीबाट उठेको नेपाली कम्युनिस्ट आन्दोलनको सपना धेरै चुनौतीहरूको सामना गरेर हुर्किएको छ । कमरेड पुष्पलालदेखि आज विप्लवसम्म आइपुग्दा यसले नेपाली जनताको आमकम्युनिस्ट, कम्युनिज्म अर्थात समतामूलक समाज निर्माणका लागि गरिएका सबै आन्दोलन, बलिदानीको क्रान्तिकारी कडीलाई जोडेको छ । यहाँसम्म आइपुग्नुले स्पष्ट सङ्केत गरेको छ– यसले दलाल संसदीय सत्ताको अन्त्य अनिवार्य गर्नेछ र यो नै दलाल संसदीय व्यवस्थाको विकल्प हो । यही नै क्रान्तिको मूलधार हो । जनताको अवश्य जित हुनेछ । वैज्ञानिक समाजवाद– साम्यवाद स्थापित भैछाड्नेछ ।

आदर्शका लागि हिँडेका क्रान्तिकारीहरूका लागि जेल, नेल, हतकडी, दुःखकष्ट अनिवार्य विषय हुन् । यी सबै कुराको सामना गर्न हामी तयार हुनैपर्छ । यी हाम्रा गौरव हुन् । देशैभरिका कारागारमा रहेका क्रान्तिकारिहरू त्यहीँबाट गर्जिरहनु पर्दछ । पेरूमा कमरेड गोन्जालो दशकौँदेखि साम्राज्यावादी दलालहरूको बन्धक बनेर गर्जिरहनुभएको छ । उहाँको आदर्श विश्वभरिका श्रमजीवी गरिबहरूका निम्ति ऊर्जा हो भने दलाल पुँजीवादीहरूको विश्वशिविरका निम्ति धेरै ठूलो चट्टानी टक्कर हो ।

जेल क्रान्तिकारिहरूका निम्ति विश्वविद्यालय हो । त्यहीँबाट उहाँहरूले क्रान्तिका निम्ति हाम्रो आदर्शलाई अझ उचो, स्पातिलो बनाएर चम्काइरहनुपर्छ । त्यसो हुंदा मात्र जनताप्रति न्याय हुनेछ । अनेकौँ षड्यन्त्रहरू हुन सक्छन् । जेलभित्रै पनि बाहिरबाट दूषित र फोहोरी हावाहरू पु¥याउन केही काला बिरालाहरू लाग्न सक्छन् । यसप्रति सचेत बनेर जेल मोर्चाका अन्तिम समयसम्म सतिसाल बनेर उभिरहनुपर्छ । आमसहिद परिवारको यही छ अपेक्षा, यही छ सन्देश । उहाहरू भन्नुहुन्छ– हाम्रा परिवार गुमे हामी सहन्छौँ तर तपाईंहरूले दलालहरूका अगाडि घुँडा टेकेको सहन सक्दैनौँ । यसले के कुरा स्पस्ट गरेको छ भने दसौँ हजार सहिदहरूको सपना पूरा गर्ने दायित्व हाम्रो काँधमा छ । हामीले उठाएको क्रान्तिको झन्डालाई दरोसँग समाउन जरुरी छ ।

२०७६ मंसिर १२ गते बिहीबार प्रकाशित