छैटौँ पार्टी पुनर्गठन दिवसका अवसरमा विशेष अन्तर्वार्ता

श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न पनि तयार छौँ !

सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा अर्को लुटेरालाई, एउटा ठगको ठाउँमा अर्को ठगलाई, एउटा हत्याराको सट्टा अर्को हत्यारालाई, एउटा दलालको सट्टा अर्को दलाललाई, एउटा चोरका ठाउँमा अर्को डाँकालाई सत्तामा विराजमान गराउन होइन नि । सामन्तवाद गएर जनगणतन्त्र स्थापना गर्ने भनेकोमा दलाल पुँजीवादी गणतन्त्र खडा भएपछि यो गणतन्त्र श्रमिक जनताको रक्षा र समृद्धि गर्ने गणतन्त्र भएन, दलाल पुँजीपति वर्गको रक्षा र समृद्धि गर्ने गणतन्त्र भयो । यो सङ्घीयता उत्पीडित समुदायको सङ्घीयता नभएर दलाल पुँजीपतिहरूको सङ्घीयता भयो । सयौँ वर्षदेखि दबिएका र शोषित भएका श्रमिक जनता त अहिले पनि शोषित, उत्पीडित नै छन् ।

महासचिव कमरेड, नेपाल कम्युनिस्ट पार्टीको छैटौँ पुनर्गठन दिवसको ऐतिहासिक अवसरमा छौँ, कस्तो महसुस गरिरहनुभएको छ ?

सही भन्नुभयो । हामी यसबेला हाम्रो जनप्रिय एवम् गौरवशाली नेपाल कम्युनिस्ट पार्टीको छैटौँ पुनर्गठन दिवसको सुखद अवसरमा जुटेका छौँ । यस ऐतिहासिक क्षणमा सर्वप्रथमतः श्रमिक जनता, आदरणीय सहिद तथा बेपत्ता परिवार, घाइते, बन्दी कमरेडहरू, पार्टीका नेता एवम् कार्यकर्ता, जनसेना, देशभक्त एवम् लोकतन्त्रिक मित्रहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । क्रान्ति, बलिदान, विजय र सफलताका अवसरमा सबैसँग जनप्रिय एवम् गौरवशाली पार्टी पुनर्गठन दिवस उमङ्गका साथ मनाउन चाहन्छु । साथै एकीकृत जनक्रान्तिलाई सफल पारिछोड्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।

पार्टी पुनर्गठन दिवस मनाउँदै हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा यसको के महत्व छ ? प्रस्ट पारिदिनुहुन्छ कि ?

ऐतिहासिक आवश्यकता, पहल र सन्दर्भहरूले राजनीतिक महत्वका दिवसहरूलाई जन्म दिन्छन् । माओवादी जनयुद्धले जनयुद्ध दिवस दियो । आत्मसमर्पणवादी, विसर्जनवादी र पुँजीवादीहरूको हमलामा परेर माओवादी पार्टी लगभग विसर्जन भयो । पुँजीवादी, दलाल पुँजीवादी, विसर्जनवादी, आत्मसमर्पणवादीहरूले क्रान्तिको घाँटी निमोठेको, क्रान्तिकारी कम्युनिस्ट पार्टी समाप्त पारेको, नेपाललाई दलाल पुँजीवादभित्र थुन्न सफल भएको कल्पना गरेका थिए तर हामीले त्यो परिकल्पनालाई कल्पनामै समाप्त पारिदियौँ ।

हामीले माओवादीको खरानीबाट ६ वर्ष अगाडि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गर्यौँ । जनताले आफ्नो मुक्ति, देशको स्वाधीनता र वैज्ञानिक समाजवादी सभ्यताको नेतृत्व गर्ने नेतृत्व, साधन र दस्ता प्राप्त गरे । संयोगले हामीले यसको नेतृत्व गर्ने अवसर प्राप्त गर्यौँ । अहिले यसैको नेतृत्वमा एकीकृत जनक्रान्ति अगाडि बढेको छ । वैज्ञानिक समाजवादी व्यवस्थालाई कसैले पनि रोक्न सक्ने छैनन् । यो वास्तवमै ऐतिहासिक महत्वको क्षण हो ।

केपी वली सरकारले ने.क.पा. माथि प्रतिबन्ध लगाएको वर्तमान अवस्थामा पार्टी पुनर्गठन दिवस कसरी मनाइरहनुभएको छ ?

ठीक भन्नुभयो । यसपटकको पुनर्गठन दिवस क्रान्तिको मोर्चाभित्र, दमन र विद्रोह, प्रतिबन्ध र प्रतिरोध, प्रतिरोध र बलिदान, क्षति र उपलब्धिहरूबीच मनाउँदैछौँ । हामीले यो पार्टी पुनर्गठन गरेर एकीकृत जनक्रान्ति अगाडि बढाएपछि कमरेड कुमार पौडेल, कमरेड नीरकुमार, कमरेड महानसहित एक दर्जन नेता, कार्यकर्ता, कमान्डर र सदस्यहरू सहिद हुनुभएको छ । कमरेड सुदर्शन, कमरेड वीरजङ्गसहित सयौँजना कमरेडहरू जेल–हिरासतमा बन्दी हुनुहुन्छ । दर्जनौँ कमरेडहरू घाइते हुनुहुन्छ । हजारौँलाई मुद्दा लगाइएको छ । यस्तो नयाँ परिवेशमा यो दिवस मनाउँदैछौँ । त्यसैले हाम्रो आठौँ पूर्ण बैठकले विगतमा भन्दा अरू सशक्त प्रकारले मनाउने निर्णय गरेको छ । मङ्सिर ५ गतेदेखि ८ गते (चार दिनसम्म) प्रचारप्रसार, सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट, बन्दी कमरेडहरूसँगको भेटघाट, जनतासँग अन्तरक्रिया, खेलकुद र खुसीयाली साटासाट गर्दै मनाउँदैछौँ । म सबै नागरिकहरूलाई यो उत्सवमा सहभागी बन्न आग्रह गर्दछु ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले निकै महत्वपूर्ण निर्णय लिएको जानकारी प्रेसविज्ञप्तिमा उल्लेख गर्नुभएको छ । वक्तव्यले तरङ्ग पनि ल्यायो । यहाँ पनि केपी सरकार र देशको अवस्थाबारे छोटोमा विश्लेषण राखिदिनुस् न ।

हो, रातो खबरमार्फत नै हामीले ऐतिहासिक बैठकका निर्णयहरू सार्वजनिक गरिसकेका छौँ । फेरि पनि उल्लेख गर्नु पर्दा कम्युनिस्ट नामधारी केपी सरकार बनेपछि देश निरन्तर ओरालोतिर झरिरहेको छ । नागरिकहरू सारा क्षेत्रमा असन्तुष्ट र आक्रोशित बन्दै गएका छन् । देशले एकपछि अर्को सङ्कट भोग्नु परेको छ ।

जस्तो कि राजनीतिक क्षेत्रमा केपी सरकार अकल्पनीय रूपले फासिस्ट, निरङ्कुश, दमनकारी, सर्वसत्तावादी, हत्यारो बन्दै गएको छ । जनता र देशको अधिकारका पक्षमा लड्ने राजनीतिक स्वतन्त्रतालाई हरण गर्दै तस्कर, ठग, भ्रष्ट, दलाल, बलात्कारीहरूको रक्षाका लागि हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपर्न पुगेको छ । जुलुससमेत गर्न नपाउने मूढी, मूर्ख निर्णय गरेको छ । आर्थिक क्षेत्रमा केपीकै मान्छेहरू प्रधानमन्त्री कार्यालयको जग्गा बेचेर खानेमा पुगेका छन् । देशभरि उनका मान्छेहरूकोे लुट चलेको छ । सारा अराजकता, भ्रष्टाचारमा केपीकै मान्छेहरू डुबेका छन् । सांस्कृतिक क्षेत्र त अश्लीलता र छाडा क्रियाकलापले छोपिएको छ । केपीका मान्छे वेश्यालय खोलेर पैसा कमाउने प्रस्ताव गर्दै हिँडेका छन् । युवापिँढी लागूपदार्थको व्यापार र सेवनबाट ध्वस्त हुँदै गएको छ । देशको स्वाधीनतामाथि भारतीय साम्राज्यवादले खुलेआम अतिक्रमण गरेको छ । अमेरिकाले एकपछि अर्को हस्तक्षेप बढाउँदै लगेको छ । खुलेआम तिब्बतका पक्षमा बोलेर होस्, हिन्द–प्रशान्त रणनीति लादेर होस् वा भरखरै आतङ्कवादबारे देशहरूका रिपोर्टमा हाम्रो देश र पार्टीबारे पेस गरेको आपराधिक र झूटो विवरण होस्, अमेरिका नाङ्गो रूपले उत्रिएको छ । युरोपियन युनियनले पनि राजनीतिक, धार्मिक हस्तक्षेप बढाउँदै लगेको छ । तस्कर, ठगलाई कारबाही गर्दा नेपाली सेनालाई प्रयोग गर्न तयार हुने केपी सरकार सिमाना मिचिँदा लुगलुग काँपिरहेको छ । समग्रमा केपी सरकारले मुट्ठीभर दलाल पुँजीपति, भ्रष्ट, तस्करहरूको संरक्षण गरेर देशलाई सङ्कटमा हुल्नेबाहेक केही गरेको छैन ।

तपाईंहरूले देशको स्वाधीनतामाथि खतरा बढ्दै गएको विश्लेषण गरिरहेकै बेला भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई गाभेर नक्सा प्रकाशित ग¥यो । देश नै त्यसका विरुद्ध उत्रियो । केपी सरकारले पनि विरोध ग¥यो । केही सङ्घर्ष पनि गर्नुभयो । अब के होला ? के गर्नुपर्ला ? कसरी सोच्नुभएको छ ?

सही विषय उठाउनुभयो । हामीले लगातार बताउँदै आएका छौँ नेपालको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था भारतका पोष्यपुत्रजस्तै हुन् । उसकै दबाब र तजबीजमा यो सत्ता र व्यवस्था चल्दै आएका छन् । यसको जन्म नै माथिल्लो कर्णाली, अरुण तीन सुम्पिँदै र नक्कली नागरिकता वितरण गर्दै भएको छ । कोसी उच्चबाँध पनि लादिने निश्चितजस्तै छ । यसले क्रमशः आफ्नो कुर्सीस्वार्थ र पदका लागि देशलाई सुम्पिँदै जाने निश्चित छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा गाभ्नु यसको पछिल्लो कदम मात्र हो । भारतीय साम्राज्यवादले हाम्रो भूगोलमाथि गरेको अतिक्रमणलाई अहिले नक्सामा राखेर जाँच मात्र गरेको हो ।

नक्सा बाहिर आएपछि नेपाली जनतामा राष्ट्रप्रेम र स्वाभिमान छचल्कियो । रातारात युवा, विद्यार्थी, बुद्धिजीवी, देशभक्त नागरिक सङ्घर्षमा उत्रिए । हाम्रो पार्टीले एकहप्ते सङ्घर्षका कार्यक्रम सञ्चालन ग¥यो । कार्यक्रमहरू निकै प्रभावकारी भए । विडम्बना, केपी सरकारले हाम्रा विद्यार्थी, युवा, बुद्धिजीवीहरूलाई ज्ञापनपत्र बुझाउन, विरोध प्रदर्शन गर्न, जुलुस लगाउन र सभा गर्न पनि दिएन । सयौँजना साथीहरूलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाएको छ । के यो केपीको दलाल चरित्र होइन ! यसले त केपी सरकारले बाहिर भारतको विरोध गरेको जस्तो गरेर जनताको आक्रोशलाई मत्थर पार्ने र भित्रबाट भारतकै स्वार्थ पूरा गरिदिने दलाली काम गरेको प्रस्ट हुन्छ । यसको हामी कडा रूपमा भत्र्सना गर्दछौँ ।

नेपाल कम्युनिस्ट पार्टीले पनि एक झमट सङ्घर्ष गर्यो तर निरन्तता भएन भन्ने गुनासो छ नि ?

होइन, एक चरणको सङ्घर्षपछि सबैसँग सल्लाह–सुझाव लिँदैछौँ । पार्टी पुनर्गठन दिवसपछि छिट्टै दोस्रो चरणमा जान्छौँ ।

भारतीय साम्राज्यवादी अतिक्रमणविरुद्ध संयुक्त कार्यक्रमको पहल कसरी गरिहनुभएको छ ?

हाम्रो पार्टीले पहिलेदेखि नै देशको स्वाधीनताका पक्षमा सहमत हुनेजति सबै कम्युनिस्ट, देशभक्त, लोकतन्त्रवादी, बुद्धिजीवी मित्रहरूसँग संयुक्त सङ्घर्ष गर्ने नीतिमा जोड दिँदै आएको छ । कतिपय अवस्थामा सफल पनि भइएको छ । अहिले पनि त्यसको राम्रो सम्भावना छ । कमरेड ऋषि कट्टेलले नेतृत्व गर्नुभएको नेकपा, नेकपा (माओवादी केन्द्र), वैैज्ञानिक समाजवादी पार्टी, नेकपा (क्रामा) सहितका पार्टीहरूसँग छलफल गरेर सयुक्त सङ्घर्ष गर्नुपर्छ भन्नेमा छौँ ।

संसद्वादी पार्टीहरूले त कूटनीतिक र राजनीतिक पहलबाट भारतसँगका सीमा समस्या हल गर्नुपर्छ भन्ने मत राखिरहेका छन् । के त्यसरी हल हुने देख्नुहुन्छ ? अथवा कसरी हल हुन्छ भन्ने ठान्नुहुन्छ ?

निश्चय नै राज्यले कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ तर हाम्रो विचारमा भारतीय साम्राज्यवादी अतिक्रमण यत्तिले मात्र हल हुन्छ भन्ने देखिँदैन । यो कुनै अन्जान वा विवादित इलाका, भूगोल भएको भए यस्तो पहलबाट हुनसक्थ्यो तर यो त नेपालको भूमि जानाजान भारतले अतिक्रमण गरेको क्षेत्र हो । नेपाली काङ्ग्रेसका कतिपय नेताहरूले लिपुलेकलाई त्रिदेशीय सिमाना पनि भन्ने गरेका छन् । यो पनि एकदमै गलत, भारतपरस्त एवम् भ्रामक भनाइ हो । लिपुलेक त्रिदेशीय क्षेत्र पनि होइन, प्रस्टतः नेपालको हो । हाम्रा सीमाविद्हरूले यथेष्ट प्रमाणसहित प्रमाणित गरिसकेकाले भारत पनि यो भूभाग नेपालको हो भन्नेमा त सहमत नै होला, उसले त कब्जा गरेको न हो, उसले कब्जाकै रूपमा बुझेको छ ।

कब्जा गर्दाको पनि कस्तो अनौठो तर्क छ हेर्नुस् न, कालापानी, लिपुलेक, लिम्पियाधुरा सामरिक महत्व भएकाले अर्थात चीनलाई परसम्म हेर्न सकिने भएकाले उसलाई चाहियो रे ! हेपाइको पनि सीमा हुन्छ ! भारत र चीनको सीमा हजारौँ किलेमिटरमा छ । चीनले भारतलाई लखेट्दा यहाँबाट भन्दा अन्यत्रबाट लखेटेको थियो अनि यही नेपाली चुच्चोबाट चीनलाई हेर्नुपर्छ ? पुँजीवादी–साम्राज्यवादीको चरित्र जन्मजात हिंश्रक हुन्छ । चीनले सीमा मिच्यो भनेर दिनरात कराउने भारतले हाम्रो सीमा लाजै पचाएर किन मिच्ने ? भारतले अतिक्रमित भूमिबाट आफ्नो सेना फर्काउँदैन भने नेपाली सेनालाई सीमारक्षामा खटाउनुपर्छ । तर केपी सरकारको बुताभित्र यो छैन । हामीले भनेका छौँ नि देशको स्वाधीनताको रक्षाका लागि पनि वैज्ञानिक समाजवाद आवश्यक छ ।

अमेरिकी रणनीतिमा पनि केपी सरकार जिम्मेवार छ भन्ने टिप्पणीप्रति यहाँको धारणा ?

सही टिप्पणी हो । अमेरिकाले केपी–प्रचण्ड, प्रदीप ज्ञावली सायद शेरबहादुर सबैलाई भेटेर बुझेपछि यो रणनीति सार्वजनिक गरेको छ । पहिले प्रशान्त क्षेत्रीय रणनीतिबाट काम गरिरहेको अमेरिकाले पछिल्लो समयमा चीनको प्रभावलाई दक्षिणएसियाबाट कमजोर बनाउन अझै सानो घेरामा जोड दिन हिन्द–प्रशान्त रणनीति ल्याएको छ । यसको उद्देश्य चीनलाई घेर्ने, भारतलाई दबाबमा राख्ने र नेपाललाई सैन्य अखडा बनाउनेसँग सम्बन्धित छ । नेपाली नागरिकहरूले समयमै यसको भन्डाफोर र प्रतिवाद नगर्ने हो भने अमेरिकी अतिक्रमण हुने निश्चित छ । यसप्रति हाम्रो धारणा अमेरिकी नीतिको भन्डाफोर गर्ने र देशमा अमेरिकी अतिक्रमण हुन नदिने छ ।

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मूल्याङ्कन कसरी गर्नुभएको छ ?

चीनका राष्ट्रपति सीको भ्रमण राज्यबीचको मामिला हो । यद्यपि यसको सम्बन्ध राष्ट्रका नागरिकसँग पनि हुन्छ । लामो समयपछि चिनियाँ राष्ट्रपतिको भ्रमण भयो । यो नेपालका लागि खुसीकै कुरा हो । अध्यक्ष माओको समयमा निकै सौहार्दपूर्ण रहेको चीन–नेपाल सम्बन्ध त्यही रूपमा रहोस् र नेपालको स्वाधीनताप्रति चीन सहयोगी बनोस् भन्ने नेपाली जनताको अपेक्षा छ । चीनको नीति र व्यवहार अहिले पनि अहस्तक्षेपकारी एवम् मैत्रीपूर्ण छ भन्नेमा नेपाली नागरिक खुसी छन् ।

के नेपाल विश्वशक्ति राष्ट्रहरूको खेलमैदान बन्न लागेको हो ?

यसका केही सङ्केत देखिन्छन् । अमेरिका र चीनबीचको शक्तिसङ्घर्ष, चीन र भारतबीचको सङ्घर्ष, नेपाली दलाल पुँजीपति वर्गको आत्मसमर्पणवादी चरित्र र विश्वव्यापी देखा परिरहेका बहुध्रुवीय सङ्घर्षका कारण यस्तो अवस्था पैदा भएको छ । तर नेपाली जनताको स्वाधीनताप्रेमी प्रवृत्ति र क्रान्तिकारी कम्युनिस्टहरूको प्रभावका कारण यो सजिलो छैन । हाम्रो पार्टीले निरन्तर यो चुनौतीका बारेमा जनतालाई सूचित गर्दै आएको छ ।

हालै ‘आतङ्कवादबारे देशहरूका रिपोर्टहरू २०१८’ मा अमेरिकी गुप्तचर ब्युरोले नेकपालाई आतङ्कवादी गतिविधि गरेको विवरण उल्लेख गरेको छ । यसबारे पार्टीको धारणा के छ ?

हो, हामीले केही दिनपहिले अमेरिकाको गुप्तचर ब्युरोले निकालेको अत्यन्त भ्रामक, दुर्नियतपूर्ण, झूटो र षड्यन्त्रकारी रिपोर्ट हेर्यौँ । त्यसको प्रतिवाद पनि हामीले गरिसकेका छौँ । फेरि पनि अमेरिकाले जसरी नेपाल राष्ट्र र हाम्रो जनप्रिय पार्टीमाथि जस्तो गम्भीर, खतरनाक र षड्यन्त्रपूर्ण विवरण विश्वजनसमुदायमा सम्प्रेषण गरेको छ, त्यो अत्यन्त निन्दनीय, घृणित, तिरस्कारयोग्य र असैह्य छ । यो नेपालको सार्वभौमिकता, स्वाधीनता र राजनीतिक पार्टीको राजनीतिक स्वतन्त्रतामाथिको अतिक्रमण हो । न हाम्रो देश अमेरिकाले भनेजस्तो अन्तर्राष्ट्रिय आतङ्कवादको अड्डा र प्रवेशद्वार हो, न त हाम्रो पार्टी नै आतङ्कवादमाथि विश्वास राख्ने शक्ति हो । हाम्रो देश स्वतन्त्र एवम् सार्वभौमिक राष्ट्र हुन चाहन्छ भने हाम्रो पार्टी विश्व कम्युनिस्ट आन्दोलनको नेपाली प्रतिनिधि हो । यसले कुनै आतङ्कवादमाथि विश्वास गर्दैन भने कुनै देशको प्रभुत्व र अतिक्रमण पनि सहन गर्दैन । श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न पनि तयार छ ।
वास्तवमा अमेरिका नै विश्वशान्ति, सद्भाव, एकता, स्वाधीनता, स्वतन्त्रता, संमृद्धिको अवरोधक हो । ऊ नै संसारभर चलिरहेका हिंसा, हत्या, युद्ध, आतङ्क र विध्वंसको स्रोत, सञ्चालक र संरक्षक हो । जहिलेसम्म संसारमा अमेरिकाले हैकम कायम राखिराख्नेछ त्यही बेलासम्म विश्वले शान्तिको सास फेर्न पाउनेछैन । त्यसैले विश्व पुँजीवादलाई संसारबाट बिदा दिन आवश्यक छ ।

विश्व भूमण्डलीकरण भैरहेको अवस्थामा तपाईंहरूले क्रान्तिको कुरा गरिरहनुभएको छ, अन्तर्राष्ट्रिय मित्रहरूसँग तपाईंको केकस्तो सम्बन्ध रहेको छ ? अन्तर्राष्ट्रिय सहयोगबिना नेपालमा क्रान्ति सम्भव छ त ?

कुरा ठीकै हो तर एकीकृत जनक्रान्ति नै यो प्रश्नको जबाफ हो । प्रचण्ड–बाबुराम, पहिले एमाले सबैले यही प्रश्नको उत्तर नकारात्मक दिएर पुँजीवाद र दलाल पुँजीवादसामु आत्मसमर्पण गर्न पुगेका हुन् । मोहनविक्रमलगायत कैयौँ मित्रहरू पनि रणनीतिक रूपले क्रान्तिको कुरा गरे पनि कार्यनीतिक रूपले संसदीय व्यवस्थाको घेराभन्दा बाहिर निस्किन नसकेका हुन् । परन्तु हामीले भन्यौँ– हरेक अन्तर्विरोधहरूको समाधान सम्भव छ । हरेक नयाँ विकास र प्रवृत्तिहरूको समाधान सम्भव छ । तर पुरानै तरिकाले होइन । वस्तुको विकास जहाँनेर भएको छ सोहीअनुरूपको साधन र प्रणाली विकास गरेर समाधान गर्नुपर्छ ।

जस्तो कि विश्व भूमण्डलीकृत भएको छ । हामीले उत्तरसाम्राज्यवादी चरित्र भनेका छौँ । यसमा कैयौँ राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राविधिक चरित्रहरू नयाँ विकास भएका छन् । हामीले पनि सोहीअनुरूपको विचार र प्रणाली विकास गर्यौँ भने समाधान गर्न सकिन्छ । हामीले गरेका पनि छौँ ।

आज विश्वमा एक प्रतिशतको हातमा उनान्सय प्रतिशतको बराबर सम्पत्ति थुप्रिन जानु र त्यही कारणले जनता र विश्वपुँजीवादका बीचमा सङ्घर्ष बढनु् नै हाम्रो क्रान्तिका मित्रहरू बढ्नु हो । देख्नु भएन केपीले हामीलाई प्रतिबन्ध लगाएपछि ठूलो जनमत प्रतिबन्धका विरुद्ध देखाप¥यो । जहाँसम्म क्रान्तिलाई अन्तर्राष्ट्रिय सहयोगको कुरा छ त्यो पनि सम्भव हुने कुरा हो । एक हदसम्म त भइरहेको छ भने पनि हुन्छ ।

अलिकति देशतिर फर्कौं, नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धपछि ठूला क्षतिहरू भोगेको भन्ने प्रचार छ । पछिल्लोपटक दाङबाट कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित दुई दर्जन नेता–कार्यकर्ता साथै बाजुराबाट सीसीएम आदर्शसहित सोह्रजनाको गिरफ्तारीपछि यस्तो प्रचार छ । पार्टी जीवनमा वास्तविकता के हो ?

हो, दमन र प्रतिरोध चलिरहँदा पार्टीले सङ्गठनका क्षेत्रमा केही ठूलाखालका क्षतिहरू बेहोरेको छ । यी क्षतिमा प्रायः पार्टीभित्र घुसेका गद्दारहरूको हात छ भने आफ्नै कमजोर कार्यशैलीको समस्या पनि छ । हामीले यी घटनाहरूलाई गम्भीर ढङ्गले समीक्षा गरेका छौँ र रोकथाम गर्ने उपायहरू पनि अगाडि बढाएका छौँ । तर बाहिर भनेजस्तो नेतृत्वलाई क्रान्ति अगाडि बढाउन प्रतिकूल हुने तहमा समस्या आयो भन्ने सत्य होइन । पार्टी एकीकृत जनक्रान्ति हाँक्न सक्षम छ ।

हामीलाई थाहा छ क्रान्ति भनेको सोझो, सपाट, सरल र सजिलै बढ्ने यात्रा होइन । यो अनेकौँ प्राकृतिक र कृत्रिम अवरोधहरूसँग पाइलापाइलामा जुधेर सफल हुन्छ । कम वा बेसी, माथिबाट वा तलबाट, पहिले वा पछि केही त्याग, क्षति र बलिदान नचुकाएर क्रान्तिमा विजय हासिल गर्न सकिँदैन । क्रान्तिका मूल्य भनेका नै त्याग, क्षति र बलिदानहरू हुन् । हामी ती मूल्य चुकाउन तयार भएर नै एकीकृत जनक्रान्तिको यात्रा तय गर्न अगाडि सरेका हौँ । यसो भनेर बलिदानप्रति सचेत र संवेदनशील छैनौँ भन्ने होइन । हामी वास्तवमै गम्भीर छौँ । आउँदा दिनमा यसलाई हल गर्दै गइनेछ ।

समग्रमा देशभरि पार्टीको अवस्था के छ ? जनता र मित्रहरूको बुझाइ कस्तो पाउनुभएको छ ?

एकदमै राम्रो प्रश्न, हामी केन्द्रीय समितिको आठौँ पूर्ण बैठकमा बस्दै गर्दा पार्टीको अवस्था निकै राम्रो ङ्ंगले बढिरहेको पाएका छौँ । पार्टी दिन–प्रतिदिन श्रमिक जनतामाझ विस्तार हुँदै गएको छ । एकीकृत जनक्रान्तिमा आबद्ध हुन आउने जनता निकै बढेका छन् । केपी सरकारले त फागुनमा प्रतिबन्ध लगाएर चैतभित्र नेताहरूलाई समातिसक्ने, सीके राउत बनाउने वा दमन गरेर सक्ने भन्ने घोषणा गरेको थियो तर के भयो तपाईंहरूले पनि बुझ्नुभएकै छ । उसले पछिल्लो समयमा सर्वदलीय सहमति गरेर हामीमाथि दमन गर्ने चाल अगाडि सारेको छ तर यो पनि काम लागेको छैन । जनताले केपीका सबै दम्भ र घमण्डलाई हावामा उडाइदिए । हामीलाई भने जनताले आफ्नो काखमा राखेर आफ्नो सन्तानलाई जसरी संरक्षण गरिरहेका छन् । जनताको काखको माया पाउने सन्तानलाई कसैले पनि हराउन सक्दैन । हामीलाई हराउन केपीले पितापुर्खादेखिका भूतप्रेत जगाएर पनि सक्ने छैनन् ।

केपी सरकारले निःशस्त्र नेता–कार्यकर्तालाई गोली हानेर हत्या गर्दासमेत पार्टीले ठूला कारबाही र प्रतिरोध गरेन । कतिले नसकेर हो भन्ने चर्चा गर्छन् भने कतिले पार्टीले बुद्धि पुर्याएर काम गर्दैछ भन्छन् । वास्तविकता के होला ?

यसमा भ्रमित हुनुपर्ने कुनै कुरा छैन । हामीले क्रान्ति गर्ने हो, केपी सरकारले जस्तो आतङ्कको राज फैलाउने होइन । क्रान्ति भनेको जनताको माग, चाहना र भावनाअनुरूप गर्नुपर्छ । जनताले एनसेललाई कारबाही गर भनेर माग गरे, हामीले गर्यौँ । जनताले भ्रष्ट, तस्कर, ठग, दलाललाई कारबाही गर भनिरहेका छन्, हामीले जनताको भावनाअनुरूप नै सङ्घर्ष गरिरहेका छौँ । केही लुकेर बचिरहेका छन्, तिनको पनि पालो आइहाल्छ । यतिबेला हत्याराहरूलाई कारबाही गर भन्ने आवाज आइरहेको छ । पुलिसका केही मान्छेहरूले बढी गरे प्रतिरोध होस् भन्दैछन्, आवश्यकताअनुसार यो हुँदै जानेछ । जनताले नै माग गरे भने पार्टीले मागअनुसार क्रान्तिलाई माथि उठाउनेछ र अन्ततः दलाल पुँजीवादी सत्तालाई नै परिवर्तन गर्नेछ ।

सरकारले यही मङ्सिर १४ मा ५२ ठाउँका केन्द्र, प्रदेश र स्थानीय तहहरूमा उपनिर्वाचन गर्दैछ । पार्टीले सशक्त बहिष्कार गर्ने भनेको छ । सरकारी नेकपाका कार्यक्रमहरूलाई प्रतिबन्ध पनि भनेको छ । यो कस्तो बहिष्कार हो ?

ठीक भन्नुभयो, हामीले जनयुद्ध र श्रमिक जनतालाई धोकामा धकेलेर लादेका संसदीय चुनावहरूलाई पहिलेदेखि खारेज, बहिष्कार गर्दै आएका छौँ । यसपटक घोषणा गरिएका उपचुनावहरूलाई पनि बहिष्कार गर्ने निर्णय गरेका छौँ । हाम्रो जानकारीमा आएसम्म यो चुनावमा जनताको रुचि र आकर्षण कुनै छैन । जनता कथित जनप्रतिनिधि भन्नेहरूको थिचोमिचो र भ्रष्टाचारबाट वाक्क भएका छन् । पहिलेभन्दा बहिष्कार सशक्त हुन्छ । जहाँसम्म सरकारी वा संशोधनवादी नेकपालाई निषेध गर्ने विषय हो, यो हामीले घोषणा गरेका छौँ । उसले हामीविरुद्ध प्रतिबन्ध सही ठान्छ भने जनता र देशका विरुद्ध अनेकौँ अपराध गर्ने केपी सरकार र उसको पार्टीलाई प्रतिबन्ध किन नगर्ने ? हामी गर्छौं ।

सरकारले त यहाँहरूको वार्तासम्बन्धी धारणालाई ठाडै अस्वीकार गर्यो नि ?

होइन, केपी सरकारले गरेको आत्मसमर्पणकारी वार्तालाई हामीले पूर्णतः अस्वीकार गरेका छौँ । उसले राजनीतिक वार्तालाई अस्वीकार गरेको छ । को सही भोलि प्रस्ट हुँदै जानेछ ।

यतिबेला देशका वामपन्थी, देशभक्त, बुद्धिजीवी, लेखक, साहित्यकारहरूको धारणा कस्तो पाउनुभएको छ ?

हामी निकै उत्साहित छौँ । हाम्रो प्रत्यक्ष भेट र अन्तरक्रिया हुन नपाए पनि सारा देशभक्त, वामपन्थी, बुद्धिजीवी, लेखक, साहित्यकार, कलाकार, पत्रकार, मानवअधिकारवादी, कानुनविद्हरूको आत्मीय सद्भाव पार्टीप्रति पाएका छौँ । उहाँहरू सबैको प्रतिनिधिका रूपमा काम गरिरहेको जस्तो महसुस हुन्छ । उहाँहरूको सद्भाव र मायाप्रति हामी धेरै आभारी छौँ । पार्टीबाट जनता र देशका लागि जे अपेक्षा गर्नुभएको छ, त्यसमा कुनै घात नगर्ने विश्वास दिलाउन चाहन्छौँ ।

क्रान्तिकारी धु्रवीकरणको पाटोमा के भइरहेको छ नि ?

धु्रवीकरणबारे हामीले क्रान्तिकारी शक्तिहरूबाट सकारात्मक धारणा पाएका छौँ । केही पार्टीका पत्र प्राप्त भएका छन् भने केहीसँग छलफल चलिरहेका छन् । धु्रवीकरणबारे हामीले तीन विकल्प अघि सारेका छौँ : एउटै पार्टी बनाउने, संयुक्त मोर्चा बनउने र कार्यगत एकता गर्ने । कार्यगत एकता त भइरहेकै छ । अन्य विषयमा केही मेहनत गर्नुपर्ने छ तर असम्भव छैन ।

दैनिक समस्याका विषयमा जनसङ्घर्ष पुगेन भन्ने पनि गुनासो सुनिन्छ । यसबारे कसरी सोचिरहनुभएको छ ?

होइन, देशमा सबैभन्दा धेरै मुद्दा उठाउने र हरसम्भव जनसङ्घर्ष गर्नेमा हामी नै हौँला । केही बेला त नेपाल वन्द र सङ्घर्षहरू बढी भए भन्ने सुझाव पनि आउँछन् । एनसेल, ठूलो जहाज काण्ड, निर्मला बलात्कार तथा हत्याकाण्ड, ललिता निवासकाण्ड, बूढीगण्डकी, अरुण तीन, माथिल्लो कर्णाली, विराटनगरमा अवैध भारतीय कार्यालय, महँगी, भ्रष्टाचार, कालापानीलगायत सारा विषयमा हाम्रो सङ्घर्ष नै सबैभन्दा धेरै छन् । अहिले पनि मेडिकल कलेजको समस्या, शिक्षा, स्वास्थ्य, महँगी, भ्रष्टाचार, लागूपदार्थ, वेश्यावृत्तिविरुद्ध हाम्रा विद्यार्थी, युवा, बुद्धिजीवी, कलाकारहरूले सङ्घर्ष गरिरहनुभएको छ । यद्यपि सुझावलाई मनन गर्ने कुरा सही छ ।

नयाँ प्रसङ्ग भनौँ, पूर्वसभामुख कृष्णबहादुर महरा र सांसद मोहमद अफ्ताव आलमका विरुद्ध भएको कारबाहीलाई कसरी लिनुभएको छ ?

यो अलि फरक र संवेदनशील विषय छ । महराले निजी जीवनमा गरेका कमजोरी के हुन्, महिलाले नै भनेपछि अरूले धेरै बोल्ने कुरा भएन तर म ठोकेर भन्छु महरा मामिला केवल नैतिक र महिलाको मामिला मात्र भएन । सम्भोगलाई राजनीतिक मामिला बनाएको जस्तो लाग्छ । पुँजीवादी पार्टीहरूभित्र यस्ता सम्बन्ध नहुने कमै होलान् ! राष्ट्रपति सीको भ्रमणको बेलामा नै यसलाई उठाउनु, वलीले अमेरिकी कार्यक्रम एमसीसी रोक्ने महरा नै हो र गल्ती गरेका छन् भन्नु, प्रचण्डले अदालतमा रहेको मुद्दाबारे महराले नै गल्ती गरेका हुन् भनेर ठोकुवा गर्नु, यूएन, युरोपियन युनियनलगायतले वत्तःव्य दिएर कारबाहीको माग गर्नु यसका दृष्टान्त हुन् ।

आलमका विरुद्धको कारबाही एउटा क्रूर घटनामा प्रतिशोधी चाल मिसिएजस्तो लाग्छ । बाँकी त बुझ्दै जान सकिन्छ ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, जनताको सरकार सबै आए । कसका विरुद्ध लड्ने भन्ने प्रश्न पनि उठाइन्छ नि ?

हो, यो प्रचार गरिन्छ । हामीले उल्लिखित परिवर्तन भएका छैनन् भनेर कहाँ भनेका छौँ र ? हामीले भनेको त सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा अर्को लुटेरालाई, एउटा ठगको ठाउँमा अर्को ठगलाई, एउटा हत्याराको सट्टा अर्को हत्यारालाई, एउटा दलालको सट्टा अर्को दलाललाई, एउटा चोरका ठाउँमा अर्को डाँकालाई सत्तामा विराजमान गराउन होइन नि । सामन्तवाद गएर जनगणतन्त्र स्थापना गर्ने भनेकोमा दलाल पुँजीवादी गणतन्त्र खडा भएपछि यो गणतन्त्र श्रमिक जनताको रक्षा र समृद्धि गर्ने गणतन्त्र भएन, दलाल पुँजीपति वर्गको रक्षा र समृद्धि गर्ने गणतन्त्र भयो । यो सङ्घीयता उत्पीडित समुदायको सङ्घीयता नभएर दलाल पुँजीपतिहरूको सङ्घीयता भयो । सयौँ वर्षदेखि दबिएका र शोषित भएका श्रमिक जनता त अहिले पनि शोषित, उत्पीडित नै छन् । धर्मजस्तो जनविरोधी, अन्धविश्वासी, असत्य विषयको चर्चै नगरौँ । धर्म भनेका सबै श्रमिक जनतालाई अन्धो बनाउने र अन्धकारमै थुनिराख्ने मन्त्र हुन् । धर्मको अन्धोराज जहिलेसम्म चल्छ उत्पीडित जनताले जीवनमा उज्यालो कहिल्यै भेट्टाउन पाउने छैनन् ।

पार्टी पुनर्गठन दिवसको सुखद अवसरमा थप केही भन्नुहुन्छ कि ?

हाम्रो पार्टी पुनर्गठन सङ्घर्ष र सचेत पहलको प्रतिफल हो । महान् सफलताका लागि महान् सङ्घर्ष, महान् सङ्घर्षमा महान् त्याग र बलिदानहरू अनिवार्य हुन्छन् ।

२०७६ मंसिर ८ गते आइतबार प्रकाशित