चैत २४ को गौरवगाथा

क. पृष्ठभूमि

सुगौली सन्धिपछि नेपाल अङ्ग्रेजको सुरक्षा छाताभित्र कैद भएको थियो । भारतबाट अङ्ग्रेज पलायन भएपछि भारतले आफुलाई दक्षिणएसियामा अङ्ग्रेजको उत्तराधिकारी ठान्दै आयो । तर दक्षिणएसियाका देशहरू विश्व लहरसँगै स्वतन्त्र हुन चाहन्थे । सन् १९५० मा भारतले ढल्न लागेको निरीह रनणा सरकारलाई दबाब दिएर तथा उनीहरूको सम्पत्ति, सत्ता साझेदारी र शरण दिने प्रलोभनसमेत दिएर कथित ‘शान्ति तथा मैत्री’ सन्धि गरायो । त्यसबेला समाजवादी शिविर शक्तिशाली थियो । उत्तरी छिमेकमा माओ त्सेतुङ नेतृत्वको समाजवादी चीन थियो । जसको प्रभाव र वैचारिक उत्प्रेरणा तीव्र बन्दै गएको थियो । भारतको अपेक्षाविपरीत २०१३ सालमा नेपाल र चीनका बीचमा दौत्य सम्बन्ध कायम भयो । त्यसैगरी २०१६ सालमा ‘नेपालमाथिको हमला भारतमाथिकै हमला हो’ भन्दै नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्न चाहने नेहरूको धारणालाई प्रधानमन्त्री बीपी कोइरालाले ठाडै अस्वीकार गरिदिए । बीपीसँग चिढिएको दिल्लीले महेन्द्रलाई उचाल्दै थियो । राजा महेन्द्रले भारतसमर्थित संसदीय व्यवस्था नै उखेलेर पञ्चायती व्यवस्था लागू गरे ।

२०२६ सालमा नेपालको उत्तरी सिमानामा रहेका भारतीय सैन्य चौकी र जाउलाखेलमा रहेको सैन्य मिसन कार्यालय नेपालले फिर्ता ग¥यो । २०३३ सालमा भारतको दबाबबाट वाक्क भएका बीपी कोइराला ‘इन्दिरा गान्धीको जेलभन्दा नेपालकै जेलमा बस्नु बेस्’ भन्दै स्वदेश फर्किए । २०४५ सालमा राजा वीरेन्द्रले चीनबाट हतियार खरिद गरे । दिल्लीको इच्छाविपरीत राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव अगाडि बढाइरहेका थिए । सङ्क्षिप्तमा भन्दा ‘भारतले नेपाललाई आफ्नो नियन्त्रणभित्र राख्न चाहने तर नेपाल भने बाहिर निस्कन चाहने परस्पर विरोधी रणनीति’ का कारण दिल्ली र काठमाडौँको बीचमा सधैँ तनावपूर्ण सम्बन्ध रहिआएको छ । २०२७ सालमा नाकाबन्दी लगाएको भारतले २०४५ सालमा पुनः नेपालमाथि नाकाबन्दी लगाएको थियो । नाकाबन्दीको अस्त्र प्रयोग गरेर भारतले नेपाल सरकारलाई झुकाउने रणनीति अख्तियार ग¥यो । निरङ्कुश पञ्चायती व्यवस्थाबाट असन्तुष्ट जनमत भारतका विरुद्ध नगएर पञ्चायती व्यवस्थाविरुद्ध उत्रियो । राजनीतिक दलका नेताहरू संयुक्त जनआन्दोलनका पक्षमा ध्रुवीकरण हुन थाले ।

ख. संयुक्त आन्दोलनको प्रयास

भारतीय नेताहरूको पहलमा नेपाली काङ्ग्रेसले एक्लै पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलनको घोषणा गर्ने तयारी ग¥यो । उता नेकपा (माले, नेकपा (मशाल), नेकपा (चौम) लगायत १२ वटा वामपन्थी पार्टीहरूका बीचमा कार्यगत एकता गरी आन्दोलनमा उत्रिने समझदारी भैसकेको थियो । त्यसैबीच वामपन्थी दलहरूलाई एकजुट हुन नदिने साम्राज्यवादी खेल सुरु भयो । नेकपा (माले र नेकपा (चौम) ले पूर्वअडानबाट पछाडि हटेर ७ वटा दक्षिणपन्थी दलहरूको सहाना प्रधानको नेतृत्वमा ‘ वाम’ मोर्चा गठन गरे । त्यसले नेपाली काङ्ग्रेसले घोषणा गरेको एकतर्फी नारामा सहमति जनायो । ‘ वाम’ मोर्चा काङ्ग्रेसको पुच्छर बनेको चर्चा गरियो । ‘संसदीय व्यवस्थाको पुनस्र्थापना’ नेपाली काङ्ग्रेस र ‘वाम’ मोर्चाको अधिकतम कार्यक्रम थियो ।

नेकपा (मसाल), नेकपा (मशाल), सर्वहारावादी श्रमिक सङ्गठन, नेकपा (मालेमा) र नेपाल कम्युनिस्ट लिगले डा. बाबुराम भट्टराईको संयोजकत्वमा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ नामक क्रान्तिकारी वाम गठबन्धन गठन गरेर जनआन्दोलनमा जाने निर्णय गरे । २०४६ साल माघ ५ गते गणेशमान सिंहको निवास ठमेल, चाक्सीबारीमा भएको भेलाले फागुन ७ गतेदेखि जनआन्दोलनमा उत्रने निर्णय काङ्ग्रेसले ग¥यो । २०४६ साल माघ २ गते काठमाडौँ खिचापोखरीस्थित पानोरमा होटेलमा पत्रकारसम्मेलन गरी संयुक्त ‘वाम’ मोर्चा गठन भएको घोषणा गरियो । वाममोर्चाले नेपाली काङ्ग्रेसकै नारा र मितिमा काठमाडौँबाट आन्दोलन घोषणा गरेको थियो । संयुक्त राष्ट्रिय जनआन्दोलनले भने नेपाली काङ्ग्रेस र संयुक्त वाममोर्चाभन्दा केही दिन अगाडि चितवनबाट आन्दोलन सुरु गरेको थियो । नारायणगढबाट सुरु भएको आन्दोलनको पहिलो दिनमै हितमान शाक्य, मोतीरत्न अमात्यलगायत सयौँ कार्यकर्ता गिरफ्तार भएका थिए । क्रान्तिकारी वाम गठबन्धनले पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध नारा दिएको थियो । वाममोर्चा काङ्ग्रेसको ‘संवैधानिक राजतन्त्र’ का पक्षमा र क्रान्तिकारी वाममोर्चा ‘गणतन्त्र’ को पक्षपाती भएका कारण सबै वामपन्थीको एउटै मोर्चा बन्न सकेन ।

 

ग. चैत २४ गते र नेपाल बन्द

नेपाली काङ्ग्रेस र वाममोर्चाको आन्दोलनमा सहभागिता घट्दै गएको थियो । नेपाली काङ्ग्रेस ‘ निर्दलीय’ प्रावधान हटाएमा पञ्चायती व्यवस्थामै समाहित हुने मानसिकता थियो । बीपीपुत्र प्रकाश कोइरालाले आन्दोलन स्थगित गरेर राजासँग वार्ता गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका थिए । त्यो वक्तव्य सुनेर नोना कोइराला बेहोस भएर ढलेको सन्सनीपूर्ण खबर फैलिएको थियो । त्यसैबीच चैत ३ गते प्रलेसले शान्तिवाटिकामा राखेको मौन जुलुसले केही राहत महसुस गरिँदै थियो । त्यसैबीच चैत २४ गते संयुक्त राष्ट्रिय जनआन्दोलनले नेपाल बन्दको घोषणा ग¥यो । त्यो घोषणाले वातावराण तात्दै गएको थियो ।

घ. हुरी चल्नुअघिको सन्नाटा

साँझपख चलेको हावाले वसन्तऋतुको आगमन साबिकभन्दा केही अघि नै हुन लागेको सङ्केत दिइरहेको थियो । काठमाडौँवरपरका पहाडहरू साँझको अँध्यारोमा बिलाउँदै गएका थिए । प्रायः सबै पसलका सटरहरू बन्द भइसकेकाले सडकमा सडक बालबालिका मात्र थिए । तिनलाई भुस्याहा कुकुरहरूले साथ दिइरहेका थिए । दिउँसो कोलाहल मात्र रहने बागबजारका सडक रात छिप्पिँदै जाँदा अपत्यारिलो ढङ्गले सुनसान बनेको थियो । कुकुर हरूका भुकाइ र फाट्टफुट्ट चलेका मोटरसाइकलको आवाजले रातको चकमन्नतालाई किञ्चित खलबल्याउँथ्यो । मानिसहरूलाई त्यस रात अँध्यारोमा के हुन लागिरहेको थियो, त्यसको अत्तोपत्तो थिएन ।

देशभर आन्दोलन उग्र बन्दै गएको थियो । चितवन, हेटौँडा, जनकपुर, पोखरा, भक्तपुरजताततै हत्या र धरपकड बढ्दै गएको थियो । चैत १७ गते पाटनमा गोली चलाइएपछि चैत २० गते त्यसको विरोधमा ‘उपत्यका बन्द’ को घोषणा गरिएको थियो । कीर्तिपुर, पाँगा र नगाउँलाई प्रशासनले ‘लालकिल्ला’ ठान्थ्यो । चैत २७ को गोलीकाण्डपछि चैत १८ गते पाटनलाई ‘मुक्त क्षेत्र’ घोषणा गरिएको थियो । पाटन नगरभित्र ‘अपरिचित र प्रहरी प्रवेशनिषेध’ गरिएको थियो । भूमिगत नेताहरू खुला भाषण गर्न थाले । जनता घरेलु हातहतियारसहित पहरा दिन्थे । पाटनले चैत १८ पछि पूरै देशको नेतृत्व गरेको थियो । चैत १५ गते कीर्तिपुरमा पटकपटक भिडन्त भएको थियो । साँझमा प्रहरीले हेलिकोप्टरले आन्दोलनकारीमाथि गोलाबारी ग¥यो । कयौँ आन्दोलनकारी मारिएका थिए ।्

चैत २१ गतेदेखि कीर्तिपुर र त्यसआसपासका गाउँहरू पनि मुक्त क्षेत्र घोषणा भैसकेका थिए । त्रिभुवन विश्वविद्यालयमा प्रहरी र विद्यार्थी भिडन्तमा दर्जनौँ घाइते भएका थिए । विद्यार्थी नेता कृष्ण सेन ‘ इच्छुक’ लगायत दर्जनौँ गिरफ्तार भएका थिए । चैत २१ गते प्रहरीले वीर अस्पताल र शिक्षण अस्पतालमा हस्तक्षेप गरेपछि भोला रिजाल र मथुराप्रसाद श्रेष्ठको नेतृत्वमा चिकित्सकहरू पनि आन्दोलनमा उत्रिए । सरकारी कर्मचारीहरू पनि सरकारी दबाब अस्वीकार गर्दै आन्दोलनमा उत्रिन थाले । देशबाहिर प्रमुख सहरहरू रगताम्य भैसकेका थिए । हेटौँडा, नारायणघाट, पोखरा, जनकपुरका मूल सडकका पसलका सटरहरू गोलीले प्वालैप्वाल बनेका बीभत्स दृश्य देखिन्थे । मङ्गलबजारमा थुनिएका प्रहरीको उद्धारमा शाहीसेना खटाउने सूचना पाएपछि प्रहरीलाई आन्दोलनकारीले छोडिदिए । प्रहरी जुवा हारेको जुवाडेझैँ लुरुलुरु पैदलै लगनखेलतिर गए ।

चैत २१ गते नै नेपालका बैङ्कहरू डुब्न लागेको, कतिपय शासकहरू भाग्न लागेकोजस्ता हल्ला भए । सरकारले त्यसको खण्डन ग¥यो । तर परिणाम उल्टो आयो । निक्षेपकर्ताहरू बैङ्कतिर दौडन थाले रन टु बैङ्कको अवस्था सिर्जना भयो । २२ गते राति राजा वीरेन्द्रले भूतपूर्व प्रधानमन्त्रीलगायत वरिष्ठ पञ्चहरूको बैठक बोलाएर रायसुझाव लिएका थिए । २३ गते मध्याह्नमा राजाले फेरि अर्को बैठक बोलाए । उक्त बैठकमा २०४५ सालमा मरिचमान सिंहको विरोधमा ल्याउन खोजिएको अविश्वासको प्रस्ताव दरबारले रोकेकाले त्यो प्रक्रिया अगाडि बढाउनुपर्ने र आन्दोलनकारीसँग वार्ता गर्नुपर्ने भन्ने सुझाव धेरैजसोको थियो ।

२३ गते साँझ वाणिज्यमन्त्री शरतसिंह भण्डारी चैत २४ गतेको संयुक्त राष्ट्रिय जनआन्दोलनद्वारा घोषित बन्द असफल पार्नका लागि व्यापारीसँग सल्लाह गर्न नयाँ सडक पुगेका थिए । त्यहाँबाट भण्डारी मन्त्रीमण्डलको बैठकका लागि सिंहदरबार गए । त्यहाँ मन्त्रीहरूबीचमै भनाभन भयो । दरबारमा कस्तो खिचडी पाक्छ, कसैलाई थाहा थिएन । त्यसै रात २१ सदस्यीय निर्देशन समितिको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाइएन । नवराज सुवेदी आपूm प्रधानमन्त्री हुने दाबी गर्दै थिए । तर दरबारले राष्ट्रिय पञ्चायतको अध्यक्ष नै प्रधानमन्त्री हुने परम्परा तोड्दै थियो । २३ चैत राति १०ः४५ को रेडियो नेपालको समाचारले चैत २४ गते बिहान ६ः४५ मा राजाले देशबासीका नाममा सम्बोधन गर्ने समाचार सम्प्रेषण ग¥यो । राजाले केही सुधार र वार्ताको पहल गर्ने अड्कल गरियो ।

ङ. चैत २४ : ऐतिहासिक दिन

२०३५ साल चैत २४ गतेकै दिन भुट्टोलाई फाँसी दिएको विरोधमा विद्यार्थी सडकमा ओर्लिएका थिए । प्रहरी र विद्यार्थी झडपले जनआन्दोलनको रूप धारण गरेपछि राजा वीरेन्द्रले ‘आज’ कै दिन पञ्चायती व्यवस्थालाई दाउमा राख्दै जनमतसङ्ग्रहको घोषणा गर्नुपरेको थियो । त्यही चैत २४ गतेको ऐतिहासिक दिन संयुक्त राष्ट्रिय जनआन्दोलनले नेपाल बन्द घोषणा गरेको थियो । बिहान ६ः४५ को शाही सम्बोधनले मरिचमान श्रेष्ठ मन्त्रीमण्डलको खारेजी, लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा नयाँ मन्त्रीमण्डल, आन्दोलनकारीसँग वार्ता र संविधान सुधार सुझाव आयोग गठन गर्ने मुख्य ४ विषय घोषणा ग¥यो । वाममोर्चा र नेपाली काङ्ग्रेसका नेताहरू छलफलमै थिए । तलका कार्यकर्ताहरू अन्योलग्रस्त थिए । उता काठमाडौँमा शाही सम्बोधनका विरुद्ध विरोध प्रदर्शन भइरहेको थियो । त्यो सूचना पाएका ‘वाम–काङ’ गठबन्धनका कार्यकर्ता पनि पार्टीको आदेश नपर्खी जुलुसतिर मोडिए । संयुक्त राष्ट्रिय जनआन्दोलनका घटकहरूलाई भने शाही घोषणाले कुनै प्रभाव पारेको थिएन । त्यस दिन उसको नेतृत्वमा नेपाल बन्द घोषणा भएकाले व्यस्त र उत्साहित थिए ।

बिहान ७ बजे जैसीदेवलमा सानो जुलुस निस्कियो । राजतन्त्रविरोधी नारा लगाउँदै जुलुस नरदेवीतिर लाग्यो । जुलुस किलागल पुग्दा नरदेवी मन्दीरतिरबाट प्रहरीका बाहन आएका कारण जुलुस भेडासिंतिर मोडियो । तर असन र इन्द्रचोकबाट समेत पछ्याएको प्रहरीको चेपुवामा जुलुस प¥यो । भेडासिंमा पहिलो झडप भयो । तितरबितर भएको जुलुस असनमा जम्मा भएर फेरि अगाडि बढ्यो । त्यो जुलुस भोटाहिटीतिर लाग्यो । तर प्रहरीले अगाडि जान दिएन । उता जैसीदेवलबाट अर्को जुलुस टेकुतिर बढ्यो । त्यतिबेला बिहानको १० बजिसकेको थियो । पाटन र कीर्तिपुरमा पनि काठमाडौँ तातेको, झडप भैरहेको सूचना पुग्यो । त्यसपछि पाटन र कीर्तिपुरबाट जुलुस काडमाडौँ सोझियो । त्यसबेलासम्म कुनै दलका नेताहरू जुलुसमा थिएनन् । संयुक्त राष्ट्रिय जनआन्दोलनका तल्लो समितिका युवा र विद्यार्थी मात्र सहभागी थिए । मध्याह्न १२ बजे मात्र वाममोर्चा र नेपाली काङ्ग्रेसले ललितपुरको नाकबहालमा शाही घोषणाका विरुद्ध भेला बोलाएका थिए । त्यसबाट थाहा हुन्छ– वाम–काङ मोर्चा निक्कै पछाडि परेको थियो । वाम–काङले जुलुस काठमाडौँ नलग्ने सूचना दिएर भीड आक्रोशित भएपछि उनीहरूले निर्णय सच्याउन बाध्य भएको तथ्य ‘जनता जागेका बेला’ कृतिकी जापानी लेखक कियोको ओगुराले समेत बताएकी छिन् । संयुक्त राष्ट्रिय जनआन्दोलनले कीर्तिपुरवासीलाई नयाँबजारमा जम्मा भएर काठमाडौँ जाने सूचना सार्वजनिक गरेको थियो ।

अपराह्न १ बजे जुद्ध वारुणयन्त्रनेर सिट्ठी बज्नासाथ एकाएक मान्छेको हूल अरिङ्गालझैँ इन्द्रचोक, पीपलबोट र नगरपालिका भवनतिरबाट ओइरियो । त्यो भीड नयाँसडक ढाक्दै द्वारतिर बढ्यो । जुलुसले राजाकै विरुद्ध नारा लगाएको थियो । त्यो नारा वाम–काङ मोर्चाको थिएन । जुलुसमा काङ्ग्रेसको पनि झन्डा भने देखिन्थ्यो । अनौठो के भयो भने त्यो विशाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरेन । उल्टै प्रदर्शनकारीसँग हात मिलाएर बाइवाई गरे, हाँसेर बसिरहे । शाही घोषणा, त्यसको विरोध र जनआन्दोलनको विजयको चित्र तथा सूचना प्रहरीले पनि पाएको हुनुपर्छ ।
बिहान ११ः३० मा त्रिचन्द्र क्याम्पस अगाडिबाट २ सयजति कानुन व्यवसायी गिरफ्तार भए । मरिचमानको बर्खास्ती र चन्दको शपथग्रहण भैनसकेको अराजक अवस्थामै कानुन व्यवसायीहरू पक्रिएका थिए ।

अपराह्न ३ बजेतिर काठमाडौँ, ललितपुर र कीर्तिपुरबाट आएको जुलुस सिंहदरबारतिरको पश्चिम भद्रकालीमा भेट भयो । त्यसपछि जुलुस नयाँसडक, इन्द्रचोक, बाङ्गेमुडा, ठमेल हुँदै त्रिदेवी मार्ग भएर राजदरबारतिर मोडियो । जमलबाट अर्को जुलुस पनि त्यहीँ पुग्यो । तर प्रहरीले जुलुसलाई अगाडि बढ्न दिएन । त्यसपछि जुलुस टुँडिखेलतिर मोडियो । खुलामञ्चमा नगरपालिकाले लगाएको ताल्चा फोडेर प्रदर्शनकारीहरू खुलामञ्चतिर पसे । खुलामञ्चको हाते माइकबाट वाम–काङका नेताहरूले राजाप्रति सम्मानका शब्दहरू बोलेपछि ‘मञ्च छोड, पञ्चको दलाल’ भन्दै चिच्याउन थाले । त्यसपछि मान्छेहरू ज¥याकजुरुक उठेर हिँड्न थाले । आक्रोशित भीड वीर अस्पतालतिर मोडियो । कसैले ‘दरबार जाऔँ’ भन्दै हात हल्लायो । रत्नपार्कमा रक्षात्मक अवस्थामा बसेका प्रहरीको घेरा तोड्दै जुलुस तीनधारा पाठशाला पुग्यो । जमलबाट अर्को जुलुस त्यहीँ पुग्यो । त्यहाँ धेरैबेर झडप भयो । आन्दोलनकारीको दबाबमा परेर प्रहरीहरू अन्नपूर्ण होटेलतिर पुगेका बेला जुलुस महेन्द्रको सालिकमा पुग्यो । सालिकमा चढेर एकजना युवकले जुत्ताले महेन्द्रको सालिकमा हान्यो । सालिकको श्रीपेच भाँचियो । दरबारतिरबाट आएको गोलीले त्यो अपरिचित युवक सडकमा ढल्यो । फेरि अर्को युवक सालिकमा चढ्यो । ऊ पनि ढल्यो । दरबारमार्ग रगतले रङ्गियो । अन्नपूर्ण होटेलअगाडि पहिलो पङ्क्तिमा प्रहरी र त्यसपछाडि शाहीसेना तैनाथ थियो । शाहीसेनाको गोलीले दर्जनौँ आन्दोलनकारी मारिए । आक्रोशित भीडले शाही परिवारद्वारा सञ्चालित शेर्पा होटेल तोडफोड ग¥यो । मारिनेमध्ये २१ वर्षीय बुद्धिनाथ खनाल सुन्धाराको एक होटेलका कामदार थिए । अर्को पाटनका सानुकान्छो तामाङ थिए । त्यस दिन राजाकी बहिनी शान्ति र शारदाको घरको छतमा शाहीसेना गोली चलाउन तयार भएर बसेको भयावह चित्र देखिन्थ्यो । दरबारमार्गमा गोली चलेपछि प्रहरीले राजधानीका अधिकांश चोकमा गोली चलाउन थाल्यो । वीर अस्पतालको छतबाट त्यो बीभत्स दृश्य हेरिरहेका गणेशमान सिंहलाई अङ्ग्रेजी भाषाको अखबार ‘मिडिया नेपाल’ की सम्पादक भारती सिलवालले अब के होला ? भनी सोध्दा गणेशमानले ‘ऊ क्रूर शासक निरोको जस्तो व्यवहार गर्दैछ । उसले यस अवस्थालाई यसरी नै नियन्त्रण गर्न सक्छु भन्ने सोचेको छ भने त्यो उसको मुख्र्याइँ मात्रै हो’ भनेका थिए । त्यसबेला कमलाक्षी, भोटाहिटी, बागबजार, कान्तिपथमा भिडन्त र गोली चलिरहेको थियो । कान्तिपथमा एकजना विदेशी पत्रकार पनि मारिए । आन्दोलनकारीले वीरअस्पताल छेउको नगरपञ्चायतको वडा कार्यालय जलाए । त्यसपछि रानीपोखरीको दक्षिणपूर्व किनारामा रहेको वागमती प्रहरी अञ्चल कार्यालयमा आगो लाग्यो । यातना र दमनको पोल खुल्ने भयले प्रहरीले नै आगो लगाएको आशंका पनि गरियो । तर त्यो बिषयमा छानबिन नै नगरी ‘आन्दोलनको कारण’ ठानियो । साँझदेखि काठमाडौँसहित प्रमुख सहरमा कफ्र्इु आदेश गरियो । २५ गते विहानदेखि राजबन्दीहरू रिहा गरिन थालिए ।

च. आन्दोलनको भावनामाथि धोका

शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक भएको र वाम–काङ गठबन्धनका विरुद्ध गणतन्त्रकै दिशामा आन्दोलन गएपछि राजदरबार मात्र होइन, काङ्ग्रेससमेत आफ्नो हातबाट नेतृत्व खुस्किएकोमा चिन्तित थियो । चन्द सरकारको नेतृत्वमा दरबारले वार्ता सुरु ग¥यो । वाममोर्चाकी अध्यक्ष सहाना प्रधानसँग गुनासो गर्नुबाहेक अरू विकल्प थिएन । चैत २५ गते नै काङ्ग्रेसले दरबारसँग वार्ता गरिसकेको र सहमति कायम गरिसकेको थियो । चैत २६ गते दिनभर नेकपा (माले सहित वाममोर्चालाई सहमत गराइयो । चैत २७ गते राति राजदरबार, नेपाली काङ्ग्रेस र वाममोर्चाका बीचमा राजबन्दीको रिहाइ, दलीय व्यवस्थाको बहालीको सर्तमा आन्दोलन स्थगित भएको घोषणा भयो । संयुक्त राष्ट्रिय जनआन्दोलनले त्यसलाई धोकापूर्ण त्रिपक्षीय सम्झौता भन्दै त्यसको विरुद्ध विज्ञप्ति जारी ग¥यो । कफ्र्यु जारी नै थियो । राति नै जनता विजय जुलुसमा निस्किए । काठमाडौँ, चितवनलगायत ठाउँमा बहुदलको घोषणापछि पनि कयौँ नागरिक मारिए । शाही घोषणामा ‘घुमाउरो पाराले बहुदलीय व्यवस्था स्वीकार गरिएको तर पञ्चायती निकाय खारेज नगरिएको अवस्था’ थियो । त्यत्तिमै आन्दोलनको घाँटी निमोठिएको थियो ।

छ. जनता उत्सवमा : बौद्धिक क्षेत्र निराशामा

क्रान्तिकारी मोर्चा मात्र होइन, बौद्धिक जगत् पनि त्रिपक्षीय सम्झौताबाट निराश थियो । देवेन्द्रराज पाण्डेले समाचार सुन्नासाथ गिरिजाप्रसाद कोइरालालाई फोन गरेर भने, ‘म तपाईंहरूबाट ज्यादै निराश भएको छु । तपाईंहरूले जनताको चाहनाहरूको बेवास्ता गरेर सम्झौता गर्नुभयो । यो जनतामाथि विश्वासघात हो ।’

त्यसबेला पाण्डेको आँखामा आँसु टिलपिल भएको थियो । नेकपा (माले का नेता राधाकृष्ण मैनालीलाई दरबारसँगको वार्तामा जाने निर्णय त के सूचनासम्म थिएन । जानीजानी सम्पर्कविच्छेद गरेर मैनाली दरबार पुगेका थिए । पञ्चायती व्यवस्थाभित्र बहुदलीयताका पक्षमा दरबारले वैशाख ३ गतेसम्म कोसिस ग¥यो । २०४७ वैशाख ३ गते बिहान राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत, पञ्चायत नीति तथा जाँचबुझ समिति र ६ वटा जनवर्गीय सङ्गठन विघटनको घोषणा गरे । राजाले गणेशमान सिंहलाई प्रम हुन भने पनि उनी तयार नभएपछि कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारका प्रधानमन्त्री भए ।

ज. सारसङ्क्षेप

पञ्च र नेपाली काङ्ग्रेसको वर्गीय पक्षधरता एउटै थियो । यिनीहरू दुवै सामन्तवादी–साम्राज्यवादी धाराका वाहक थिए । नेकपा (माले वैचारिक रूपमा स्खलित र व्यावहारिक रूपमा अवतरणको संक्रमणमा थियो । सत्तारुढ हुनासाथ काङ्ग्रेस–वाममोर्चाले पञ्चायतभन्दा पनि जनविरोधी–राष्ट्रविरोधी कामहरू गर्न थाले । पञ्चायती कालका उद्योगहरू टाट पल्टाउने, निजीकरण गर्ने र परनिर्भरता बढाउने काममा उनीहरूले पञ्चायतलाई पछाडि पारे । २०४७ चैत २४ गते सरकारको विरुद्ध शान्तिपूर्ण आन्दोलनको दौरानमा देशको राजधानीमै दर्जनौँ नागरिक मारिए । उनीहरू जनविरोधी, निरङ् कुश पनि साबित भए । नेपाली काङ्ग्रेस र राज्यले नै पहिलोपटक जनताका विरुद्ध बन्दुक उठाए । जनताले २०५२ सालमा त्यसको व्यवस्थित प्रतिरोध गरेका थिए । आज फेरि काङ्ग्रेस–एमाले सत्तामा छन् र प्रचण्ड समूह तत्कालीन एमालेको स्थानमा छ । उनीहरूले जनतामाथि शोषण, दमन र राष्ट्रघात जारी गरे भने जनताले व्यवस्थित र उचित समयमा प्रतिरोध गर्नेछन् । चैत २४ को ऐतिहासिक शिक्षा लिने कि इतिहास दोहो¥याउने !

२०७५ चैत २४ गते आईतबार प्रकाशित