क्रान्ति र कार्यशैली

- माइला लामा

क्रान्ति आफैँमा एक पूर्ण शब्द हो जुन शब्दको अन्तर्यमा लुकेको महान् परिभाषा हो– आमूल परिवर्तन अर्थात् सम्पूर्ण रूपले जनअधिकार सुनिश्चित गर्नु । यही युगान्तकारी अभियानमा आजसम्म संसारमा लाखौँ क्रान्तिकारी योद्धाहरूले बलिदान गरिसकेका छन् । समाज विज्ञानका यिनै वीर–वीराङ्गनाको बलिदानले भरिएको छ– मानव समाजको इतिहास । त्यही इतिहासको जगमा उभिएका तिनका समकालीन क्रान्तिकारी उत्तराधिकारीहरूको काँधमा भोलिको सुनौलो दुनियाँको अभिभारा जीवित छ । एउटा महान् क्रान्ति उठ्नेछ जसको अग्निज्वालामा भष्म हुनेछन् सबै मानवइतिहास र मूल्यमान्यताका विरुद्ध उभिनेहरू । तिनको चिहानमा एउटा भव्य, शान्त र समृद्ध मानवदुनियाँ खडा हुनेछ ।

नेपालको सन्दर्भमा विडम्बना नै भनौँ, विगत सात दसकयता अघि बढेका हरेक क्रान्ति र आन्दोलनहरू जहाँ नेपाल आमाका होनहार असल र उत्कृष्ट छोराछोरीहरूको त्याग, कष्ट, वीरता र बलिदान भए । प्रायः त्यसका नेतृत्वकै धोकाधडी र जनताका वैरीहरूको सिकार भए अनि क्रान्ति– आन्दोलनहरू सम्झौतामा टुङ्गिए । जसका विरुद्ध क्रान्ति बढे, तिनै कुनै न कुनै रूपमा सत्ताको बागडोर समाल्न पुगे र सहिदका सालिकमा घोडा चढे । करिब सत्तरी वर्षअघि सम्पन्न नेपाली काङ्ग्रेसको नेतृत्वमा सञ्चालित राणविरोधी आन्दोलन सम्झौतामा टुङ्गियो । जनताको रगत चुस्ने तिनै राणाका प्रतिनिधि मोहनशमशेर प्रजातन्त्रको नेतृत्व गर्न पुगे । तीस वर्षसम्म चलेको पञ्चायतविरोधी आन्दोलन २०४६ सालमा सम्पन्न हुँदा सम्झौतामा मात्र टुङ्गिएन, कालान्तरमा क्रान्तिकारीका हत्यारा र विदेशी दलाल सूर्यबहादुर थाापा प्रधानमन्त्री बने र महान् बलिदानको खिल्ली उडाए । पुँजीवादी लुटेराहरूले सन् ९० को दसकमा विश्वमा क्रान्ति सम्भव छैन, समाजवादको अन्त्य भइसक्यो भनेर ढोल पिटिरहेको बेला दुनियाँलाई नै चकित पार्ने गरी अघि बढेको र विजयको सँघारमै पुगेको दसबर्से जनयुद्ध प्रचण्ड–बाबुरामको गद्दारी र आत्मसमर्पणका कारण सम्झौतामा गएर टुङ्गियो । उनीहरूले जनताको महान् बलिदानको अपमान गर्ने, जनयुद्धलाई आतङ्कवादी क्रियाकलाप भन्ने र टाउकाको मूल्य नै तोक्ने काम गरे । आज पनि दमनको कुरूप अनुहार बोकेको कथित प्रजातन्त्रवादी, सहिदको रगतले लतपतिएको आपराधिक हातले सत्ताको बागडोर हाँकिरहेका छन् । अनि लाजै नमानी विश्वको उत्कृष्ट लोकतान्त्रिक व्यवस्थाको दुहाइ दिइरहेका छन् । दलालहरूको त कुरै छाडौँ, जनयुद्धका नायक भनिनेहरू नै गन्धे सत्ताको नालीमा मुन्टो गाडेर विदेशी मालिकहरूको जुठोपुरोमा रमाइरहेका छन् ।

पाखण्डीहरूको लोकतन्त्रले मुलुकलाई नराम्ररी थलापारेको छ । राष्ट्र र जनताको अवस्था झन्पछि झन् खराब बन्दै गइरहेको छ । नेपालको राष्ट्रियता नराम्ररी धरापमा परेको छ । इतिहासविद् र विज्ञहरूको यही भनाइ पर्याप्त छ, ‘विगतमा कहिल्यै पराधीन नभएको र वर्तमानमा स्वाधीन नरहेको मुलुक बनेको छ नेपाल ।’ हाम्रो राष्ट्रियता यति धेरै कमजोर पहिले कहिल्यै थिएन । यस्तो छ नेपालको स्वाधीनताको अवस्था । अर्थतन्त्र चौपट छ । दलाल पुँजीले नराम्ररी जकडिएको छ । भित्रभित्रै खोक्रो बनेको अर्थतन्त्रलाई रेमिट्यान्सको टेको दिएर आर्थिक समृद्धिको डङ्का पिटिँदैछ । विदेशी ऋणको भार बढेको बढ्यै छ । निर्यात नगन्यबराबर छ । व्यापारघाटा बर्सेनि बढिरहेको छ । रोजगारको अभावमा युवाहरूले विश्वबजारमा सोह्रौँ शताब्दीका दासझैँ बेचिनुपरेको छ । भ्रष्टाचारमा टुप्पीसम्मै चुर्लुम्म डुबेको मुलुकको पहिचान बनेको छ । नेपाल एकपछि अर्को जघन्य काण्डैकाण्डको पयार्य बनेको छ । जनताको जीवन अत्यन्त सकसपूर्ण बनेको छ । सत्तरी वर्षअघि करिब सँगसँगैजसो परिवर्तनको घुम्टो ओढेको चीन विश्वको दोस्रो शक्तिराष्ट्र बनिरहँदा तथा भारत संसारमा उदीयमान बनेर उभिँदै गर्दा नेपाल भने झन्पछि झन् दयनीय अवस्थातिर ओरालो लाग्दैछ । त्यसैले यो दुरवस्थाबाट देश र जनतालाई मुक्त गर्न नेपाललाई एउटा निर्णायक क्रान्ति चाहिएको छ, एकीकृत जनक्रान्ति । त्यही जनक्रान्तिले स्थापना गर्ने वैज्ञानिक समाजवादी व्यवस्था नै नेपालीहरूको शान्ति, समृद्धि र स्वाभिमानसहितको व्यवस्था हुनेछ । त्यसैले यो प्रहरमा क्रान्ति जरुरत छ, त्यो अनिवार्य र अपरिहार्य भइसकेको छ ।

एकीकृत जनक्रान्तिभित्र नेपाली जनताको उज्यालो भविष्य र सुनौलो जीवन लुकेको छ भने दलाल, विदेशीका नोकर र जनविारेधीहरूको अन्त्य ! त्यसैले राष्ट्र र जनताका बैरीहरू कुनै हालतमा यो क्रान्तिको हत्या गर्न चाहन्छन् । हाम्रो पार्टीमाथिको राजनीतिक प्रतिबन्ध त्यसैको उपज हो । हिजोका जनयुद्धका गद्दार, लोभीपापीसमेत यो कुकर्ममा टुप्पीदेखिको बल लगाएर लागेका छन् । क्रान्तिको गला रेट्ने जघन्य अपराधमा संलग्न वर्तमान दलाल सत्ता, त्यसको मालिक र नोकरहरू जनक्रान्तिका विरुद्ध कसरी काम गरिरहेका छन् त ? प्रारम्भमा यसबारे सङ्क्षिप्त चर्चा गरौँ ।

साम्राज्यवादी मालिकहरूको उपहार होलीवाइन पिउनेदेखि तलुवा चाट्नसम्म पछि नपर्ने नेपाली अनुहारका अपराधीहरू जनअधिकारसहित सुनौलो राष्ट्रनिर्माणमा लागेका क्रान्तिकारीहरूको हत्या, गिरफ्तारीलगायत कैयौँ षड्यन्त्रकारी तानाबाना बुनिरहेका छन् । कमरेड माओले भन्नुभएझैँ प्रतिक्रियावादीहरू आफ्नो अन्त्य नहुँदासम्म गड्बडी मच्चाइरहन्छन् । क्रान्तिको यस महान् यात्राबाट अत्तालिएका जनताका बैरीहरू पनि त्यहीअनुरूप ‘गड्बडी मच्चाउने’ योजनाका साथ क्रियाशील छन् ।

१. पार्टी महासचिवदेखि केन्द्र र विभिन्न तहका नेता– कार्यकर्ता एवम् जवस–मोर्चाका खासखास नेता–कार्यकर्ता र स्थानविशेषलाई निरन्तर निगरानी राख्न, गिरफ्तार गर्न फासिवादी केपी वली सरकारले सुरक्षा निकाय र राज्यकै उच्च तहबाट प्रत्यक्ष निगरानी र निर्देशन गर्नेगरी दक्ष, विश्वासिला र अनुभवी जनशक्ति परिचालन गर्ने रणनीति अख्तियार गरेको छ ।

२. सरकार सकेम्म उच्च तहको नेतृत्व र कार्यकर्ता केन्द्रित हुने बैठक, तालिमस्थलको निरन्तर खोजीमा छ । जस्तो कि दाङमा भएको असोज ३० को घटनालाई लिन सकिन्छ । राज्य यो अवस्थाको खोजीमा छ कि एकै ठाउँबाट महत्वपूर्ण उपलब्धि हासिल गर्न सकियोस् र पार्टीलाई गम्भीर क्षति पुर्याउन सकियोस् ।

३. सरकारले पार्टी र विभिन्न नेताबारे निरन्तर भ्रामक हल्ला फिँजाउने प्रोपोगान्डाका विधि प्रयोग गरी कार्यकर्ता र जनतामा भ्रम, अविश्वास, निराशा फैलाउने कोसिस गरिरहेको छ ।

४. सरकारले नेता–नेता, नेता–कार्यकर्ता, कार्यकर्ता– कार्यकर्ताबीच सुनियोजित अन्तरविरोध खडा गर्ने, काल्पनिक कथा र घटनाहरू बनाई प्रचार गर्ने र मनोबल गिराउने काममा आफ्नो मातहतका संरचनालाई क्रियाशील बनाइरहेको छ ।

५. सरकारले हत्या गर्ने, गिरफ्तार गर्ने, जेल पठाउने, हिरासतमा राख्ने आदि तरिका प्रयोग गरी थकाउने, गलाउने नीति लिई त्यसबाट पार्टी र जनताको मनोबल गिराउने कार्यलाई तीव्र बनाउँदै लगेको छ ।

६. सरकारले पार्टीको विभिन्न तहमा घुसपैठ गराउने र अन्तरध्वंस गर्ने एवम् कमजोर वैचारिक र आर्थिक स्तर भएकालाई प्रलोभनमा पारी खरिद गर्ने, गोप्य रूपमा जागिरमा लगाउने र एजेन्टका रूपमा प्रयोग गर्ने काम पनि गरिररहेको छ ।

७. सरकार चौतर्फी नाकाबन्दी गरेर हाम्रो पार्टीलाई साँघुरो घेरामा सीमित राख्न चाहन्छ । प्रतिबन्ध त्यसैको उपज हो ।

८. सरकारले खुलेका नेता–कार्यकर्ता, परिवारका सदस्य र कतिपयको हकमा आफन्तसम्मको फोन ट्याप गर्ने, निरन्तर निगरानीमा राख्ने एवम् गिरफ्तार भएकाबाट बरामद फोन पनि निरन्तर अन राख्ने र त्यसलाई एम्बुसका रूपमा प्रयोग गर्ने काम गरिरहेको छ ।

९. सरकारले परिवारका सदस्यहरूलाई धम्क्याउने, दुरुत्साहित गर्ने, सताउने, लोभ–लालचमा पार्ने, खरिद गर्ने र परिवारबाट घेराबन्दी गर्ने कामलाई तीव्र पारेको छ आदि ।

यस्तै अनेकौँ तरिका प्रयोग गरी वर्तमान सामाजिक फासिवादी वली सरकार क्रान्तिमार्फत स्वाधीन राष्ट्र र समृद्ध जनताको सपना बोकेर अघि बढेको नेकपाका विरुद्ध घुँडा धसेर लागिपरेको छ । यो प्रतिक्रियावादी सत्ताको रणनीतिक विशेषता हो ।

हामीले कुनै पनि मूल्यमा क्रान्ति जित्नैपर्छ । सात दसकदेखिको नेपाली क्रान्तिका अधुरा कार्यभार पुरा गर्नैपर्दछ । क्रान्तिबिना नेपाल र नेपालीलाई यो भयङ्कर बर्बादीबाट बचाउन असम्भव छ । माक्र्सले भन्नुभएझैँ दुनियाँ बदल्ने यो महान् अभिभारा हाम्रो काँधमा छ । त्यसले हरेक क्रान्तिकारीले आफ्नो पङ्क्तिको रक्षा गर्दै एवम् दलाल सत्ताको चिहान खन्दै उच्च मनोबल र दृढतापूर्वक अघि बढ्नुको विकल्प छैन । जब हामी उज्यालो दुनियाँ निर्माणको युगान्तकारी यात्रामा छौँ भने हामीसँग अँध्यारोका विरुद्ध सङ्घर्ष, त्यो पनि निर्णायक सङ्घर्षबाहेक कुनै बाटो हुँदैन । हामी सिद्धान्त, विचार, राजनीतिमा दृढ र स्पष्ट भएर पनि त्यसअनुरूपको कार्यशैली अपनाउन कुशल बन्नैपर्दछ । पहलकदमी आफ्नो अनुकूलतामा नलिई सङ्घर्षको मोर्चामा विरोधीलाई परास्त गर्नु असम्भव हुन्छ । कार्यदिशा र कार्यशैलीबीचमा सदैव अन्योन्याश्रित सम्बन्ध रहन्छ । एक अर्थमा क्रान्तिलाई मुटु मान्ने र कार्यशैलीलाई शरीर मान्न सकिन्छ । जसरी मुटुबिना शरीरको अर्थ रहँदैन, त्यसैगरी शरीर स्वस्थ नहुँदा मुटु पनि स्वस्थ हुँदैन । त्यसैले क्रान्तिको विजयका लागि कार्यशैली वैज्ञानिक, कलात्मक र लचकदार हुनैपर्दछ ।

हामीले वली सरकारले हामीविरुद्ध कसरी काम गरिरहेको छ भन्ने विषयमा सङ्क्षिप्त चर्चा ग¥यौँ । अब हामीले अपनाउने कार्यशैली कस्तो हुनुपर्दछ जसले हामीलाई सफल बनाउनेछ भन्ने सन्दर्भमा चर्चा गरौँ । हरेक राजनीतिक कार्यदिशाअनुरूपका कार्यशैली अनिवार्य हुन्छ । कार्यशैलीमा यान्त्रिकता, लापरबाही हुनु भनेको आफ्नो पराजयलाई आफैँले निम्त्याउनु हो । कार्यशैली प्रयोग गर्दा दृढ, अनुशासित, छरितो र सिर्जनशील हुनुपर्दछ जसले क्रान्तिजस्तो ऐतिहासिक कार्यभार सम्पन्न गर्न सकियोस् । त्यसैले काम गर्ने तौरतरिकाबारे केही छलफल गरौँ ।

१. क्रान्तिको सफलताका लागि आफ्नो पङ्क्तिको रक्षा गर्नु एक अहम् सवाल हो । त्यसैले आफ्नो कार्यक्षेत्र र कामको विशेषताअनुसार गोप्य, अर्धगोप्य र खुला कार्यशैलीलाई अत्यन्त इमानदार र कडाइका साथ लागू गर्नुपर्दछ ।

२. गोप्य कार्यशैलीका नाममा आफ्नै सहयोद्धा, कार्यकर्ता र जनतासँग लुकेर हिँड्ने र साहसी बन्ने नाउँमा वस्तुगत अवस्थाको विश्लेषण नगरी लापरबाहीपूर्ण तरिकाले काम गर्ने, यी दुवै शैलीले पार्टी र क्रान्तिलाई घाटा पुर्याउँछ । यसैले काम गर्ने शैलीको प्रयोग गर्दा वैज्ञानिक, साहसी र वस्तुनिष्ठ हुने कुरा धेरै महत्वपूर्ण हुन्छ ।

३. आजको युग सूचना, सञ्चार र प्रविधिको युग हो । यसको सही र सफल प्रयोगबाट क्रान्तिको जित जति नजिक हुन्छ, लापरबाह र गलत प्रयोगबाट त्यत्तिकै भयानक र अनपेक्षित क्षति बेहोर्नुपर्ने हुन्छ । अध्ययनहरूले पनि के पुष्टि गरेको छ भने वर्तमान सरकारले हाम्रोविरुद्ध सञ्चालन गरेको अभियानको सबैभन्दा ठूलो सफलता (८० प्रतिशतभन्दा बढी) यही क्षेत्रबाट प्राप्त गरेको छ । त्यसैले सञ्चार सामग्रीको प्रयोग गर्दा निर्देशनअनुसार मात्रै प्रयोग गर्नुपर्दछ । सम्बन्धित सर्कलमा मात्रै सम्पर्क बनाउनुपर्दछ । तहगत, गोप्य र खुला काम गर्नेबीच अलगअलग सम्पर्क बनाउनुपर्दछ । खुलेको नेता, कार्यकर्ता, परिवारका सदस्य आदिको नामबाट सिमकार्ड प्रयोग नगर्ने आदि तरिका अवलम्बन गरी सूचना सञ्चारमा ‘उच्च सतर्कता शैली’ अपाउनुपर्दछ ।

४. हाम्रो एकीकृत जनक्रान्तिको कार्यदिशाले दुस्मनसँग पनि कुम जोडेर काम गर्नुपर्ने स्थिति सिर्जना गर्छ । यसकारण पार्टीभित्र घुसपैठको सम्भावना जनयुद्धको कार्यदिशामा भन्दा प्रबल रहन्छ । त्यसैले पार्टी केन्द्रीय कार्यालयले निर्देशन गरेझैँ समितिहरू सुदृढ गर्ने, चुस्तदुरुस्त राख्नुपर्दछ । समिति र व्यक्तिहरू उपल्लो तहको प्रत्यक्ष निगरानीमा हुनुपर्दछ । वली सरकारको जोड पार्टीको महत्वपूर्ण निकाय र जनसेनामा घुसपैठ गर्ने रहेको छ । कतिपय अवस्थामा जनसेना, पार्टी, जवसका कमरेडहरू घरबिदा वा अन्य कममा गएको समयमा दुस्मनको धरापमा पर्ने, उनीहरूको सम्पर्कमा रहने र एजेन्टका रूपमा काम गरिरहेको पत्तै नहुने खतरा पनि हुन्छ । यस्तो अवस्थामा बिदाबाट फर्किएपछि अमूक कमरेडको व्यवहारमा शङ्का लागेमा तत्कालैबाट ‘गुप्त निगरानी’ र अनुसन्धान गरिनुपर्दछ । त्यहाँ कुनै पनि मोलाहिजा गर्नु हुँदैन । क्रान्तिको हितमा यस्ता मामिलामा ‘कठोर शैली’ अपनाउनुपर्दछ ।

५.क्रान्तिमा मनोबलको भूमिका धेरै महत्वपूर्ण र निर्णायक हुने गर्दछ । त्यसैले जनता र पार्टी–पङ्क्तिको मनोबल उच्च राख्न र बैरीको मनोबल गिराउन प्रोपोगान्डा सेलहरूमार्फत व्यापक प्रचारप्रसार गरिनुपर्दछ । त्यसैले ‘ प्रोपोगान्डा शैली’ प्रभावकारी ढङ्गले प्रयोगमा ल्याउनुपर्दछ ।

६. विरोधी पक्षले जहिले पनि केन्द्रित अवस्थामा घेराबन्दी र हमला गर्ने मौका खोजिरहेको हुन्छ । यसर्थ बैठक, भेला, प्रशिक्षण, तालिमहरूको आयोजना गर्दा त्यसको स्थान, समय, सहभागी हुने नेताको जानकारी पूर्ण रूपले गोप्य राख्नुपर्दछ । विडम्बना ! दस वर्षभन्दा लामो शान्तिकाल र त्यसको प्रभावले गोपनीयता कायम राख्ने मामिलामा हाम्रो आदत नराम्ररी बिग्रिएको छ । हामी कतिपय संसदीय कार्यशैलीका सिकार पनि भएका छौँ । आफूसँग मन मिल्ने र विशेष सम्बन्ध भएकासँग ‘कसैलाई नभन्नू है, फलानो ठाउँतिर जमघटमा जान लागेको, ढिस्कानो दाइ वा सर आउने कुरा छ, तपाईंलाई मात्र भनेको नि’ भन्दै फोन वा भेटघाटमा कुरा गर्ने गम्भीर कमजोरी छ हामीसँग । यो एकदमै ‘आत्मघाती शैली’ हो । यसैले केन्द्रीकरणको संवेदनशील योजनाको समय हामी भावनामा बग्नु हुँदैन । के हामी आफ्नै हातबाट आफ्नो र आफ्नै कमरेडहरूको हत्या चाहन्छौँ !? अहँ, कदापि चाहँदैनौँ । यसैले ‘लुज टकको शैली’ लाई प्रतिबन्धै लगाउनुपर्छ । यसलाई कडा आत्मअनुशासनको विषय बनाउनुपर्दछ ।

७. बैठक, भेला, प्रशिक्षणको समय कथम्कदाचित विरोधीको घेरामा परियो भने उपलब्ध सबै तरिकाको प्रयोग गर्ने र नेतृत्वलाई सुरक्षित स्थानतर्फ लैजानुपर्दछ । त्यसपछि मात्र साथमा रहेका राजनीतिक दस्ताबेज, सर्कुलर, योजनासँग सम्बन्धित महत्वपूर्ण नोटहरू नष्ट गर्नुपर्दछ । यस्तो समय बलिदानका बीचबाट पनि नेतृत्वको रक्षा गर्नुपर्ने हुनसक्छ । यस अवस्थामा ‘शीघ्र निर्णय शैली’ प्रयोग गर्नुपर्दछ । जहाँ अत्तालिनु र हडबड गर्नु आफ्नै पराजय हुन जान्छ ।

८. आफूले प्रयोग गर्ने साधन, सेल्टर, बाटो आदिमा थोरै मात्र पनि दुस्मनको निगरानी छ भन्ने आशङ्का लाग्नेबित्तिकै परिवर्तन गर्नुपर्दछ । यसो गर्दा ‘छिटाछिटो कार्यशैली’ को प्रयोग गर्नुपर्दछ । ‘आ, एक दिन त हो, एक छिन त हो, एक रात त हो, एकपटकलाई त हो’ भनेर अल्छी गर्नु, अनुत्तरदायी बन्नु भनेको अनपेक्षित क्षति र विपत्ति निम्त्याउनु हो । सहरमा विशेषतः ‘शीघ्रतामा सोच्ने र काम गर्ने शैली’ अपनाउनुपर्दछ किनकि गाउँमा जस्तो सहरी भूगोल आफ्नो अनुकूलतामा हुँदैन ।

९. आफूले प्रयोग गर्ने साधन, सेल्टर, बाटो आवश्यकताअनुसार विश्वस्त कमरेड वा सम्बन्धितलाई मात्रै जानकारी गराउनुपर्दछ । यो मामिलामा ‘अनुदार शैली’ नै उपयुक्त हुन्छ । यस्ता विषयमा साथीले चित्त दुःखाउँछ कि भनेर उदार हुनु भनेको आफ्ना लागि आफैँले खाल्डो खन्नु हो ।

१०. कोही पनि कमरेड गिरफ्तार भएको जानकारी पाउनासाथ तत्काल सम्बन्धित ठाउँमा खबर गर्नुपर्दछ । उनको मातहत वा जानकारीमा रहेको सेल्टर, भण्डारण गरिएको सामग्री आदि तत्काल हटाउनु बुद्धिमानी हुन्छ । ‘ऊ त इमानदार छ वा मन मिल्ने कमरेड हो’ भनेर आलटाल गर्ने शैलीले अनिवार्य क्षति हुने खतरा हुन्छ ।

हामीलाई थाहा छ, क्रान्ति जतिजति अघि बढ्दै जान्छ उतिउति सरकारी दमन पनि तीव्र बन्दै जाने गर्दछ । यस्तो बेलामा कार्यशैलीमा विकास र परिमार्जन पनि अनिवार्य बन्दै जान्छ । काम गर्ने सबै तरिकाहरू सबै ठाउँमा एकनासले प्रयोगमा आउँदैनन् । जस्तो कि आधार क्षेत्रमा प्रयोग गरिने शैली र दुस्मनको प्रभाव क्षेत्रमा प्रयोग गरिने शैलीमा अन्तर हुन्छ । सहर र गाउँमा काम गर्ने कतिपय तरिकामा एकरूपता भए पनि कतिपय शैली मेल खाँदैनन् । हामीले सधैँ के हेक्का राख्नुपर्दछ भने कार्यशैलीका पनि आम र विशिष्ट पक्ष हुन्छन् । यसकारण यान्त्रिकताबाट बच्नुपर्दछ । यसर्थ प्रयोग गरिने कार्यशैलीहरू विजय र सफलताका लागि हुनुपर्दछ, न कि आत्मरति लिन !
नख्खु कारागार, नयाँ ब्लक