कुरा हिंसा–हत्याको होइन, क्रान्तिको हो – विप्लव

ताजा अन्तरवार्ता


सरकारले तपाईंहरूमाथि प्रतिबन्ध लगायो । यो प्रतिबन्धप्रति तपाईंको पार्टीको धारणा के हो ?

हो, हामीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । देशको अर्बौं रुपैयाँ ठग्ने एनसेलमाथि कारबाही गरेपछि यो घोषित प्रतिबन्ध लगाइयो । तर यो बहाना मात्र हो । सारमा प्रतिबन्ध भनेको वर्ग स्वार्थ र वर्ग हितसँग जोडिएको विषय हो । प्रतिबन्धले वर्ग विचार र हितको प्रतिनिधित्व गर्छ । हाम्रो पार्टीले करछली, मानव तस्करी, भ्रष्टाचार, मजदुर निकाला गर्नेहरूलाई कारबाही गर्दा केपी सरकारले हामीमाथि किन प्रतिबन्ध लगाउने ? कम्युनिस्टको सरकार भए त खुसी पो हुनुपथ्र्यो त । तर केपी–प्रचण्डहरू खुसी भएनन्, आक्रोशित भए । तर जनता त खुसी भए नि। यसले सावित र्गयोयो– केपी–प्रचण्ड नेतृत्वको सरकार श्रमिक जनता, देशभक्त र लोकतन्त्रवादीको होइन, यो दलाल, कमिसनखोर, ठग, तस्कर, भ्रष्टाचारीहरूको सरकार रहेछ ।

यो प्रतिबन्ध एक्काईसौं शदीको विचार– राजनीतिक स्वतन्त्रता, नागरिकहरूले पार्टी सञ्चालन गर्न पाउने, जनता र देशको सेवा गर्न पाउने नैसर्गिक अधिकारविरुद्ध छ । साथै, गलतका विरुद्ध विरोध र विद्रोह गर्न पाउने जनताको अधिकारका विरुद्ध छ । यो पुँजीवादी प्रजातन्त्रको कुरा गर्नेका लागि पनि लज्जास्पद कदम हो। यसले राज्यको अराजकतावादी चरित्र मात्र होइन, फाँसीवादी अनुहार पनि उदंग्याउँदै छ ।

अर्को कुरा, केपी सरकार आफ्नै पार्टीका नेताले प्रतिवाद गर्ने स्तरमा असफल भयो । यसले चौतर्फी असफलता र संकटको सामना गरिरहनु परेको छ। राष्ट्रघात, जनघात, भ्रष्टाचार, तस्करी, विभिन्न काण्डहरूमा डुब्न पुगेको छ । यता नेपाल कम्युनिस्ट पार्टी जनताका बीचमा लोकप्रिय र प्रभावी बन्दै गएको छ । हजारौंहजार नेता–कार्यकर्ता र जनता हाम्रो पार्टीवरिपरि गोलबन्द बन्दै गए । सत्ता संघर्षमा दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद स्थापित बन्दै गएको छ । यी सारा घटनाबाट जनताको ध्यान मोड्न प्रतिबन्धको हावा खडा गरिएको छ । यो प्रतिबन्ध वास्तवमा केपी सरकारको असफलता र संकटको अभिव्यक्ति मात्र हो । त्यही भएर हो यो प्रतिबन्धलाई सारा राजनीतिक पार्टी, बुद्धिजीवी, नागरिक समाज, कानुनविद्, मानवधिकारवादी र विभिन्न संघसस्थाले खुलेर विरोध गरेका छन् । केपी सरकार एक्लिएको छ । हाम्रो माग छ– केपी सरकारले यो प्रतिबन्ध फिर्ता लिनुपर्छ ।

चैतभित्रै प्रतिबन्ध फिर्ता नलिए सरकारलाई नै प्रतिबन्ध लगाउने भन्दै वक्तव्य दिनुभयो, सरकारले फिर्ता लिएन, तपाईंहरू प्रतिरोधको कुरा गरिरहनुभएको छ, कस्तो खालको प्रतिरोधको कुरा गर्न खोज्नुभएको हो ?

यो राज्यले हाम्रो पार्टी र मुक्तिकामी जनताविरुद्ध लादेको फाँसीवादी प्रतिबन्धको प्रतिरोध हो । जस्तालाई त्यस्तै जवाफ दिन हाम्रो स्थायी समितिले यो निर्णय गरेको हो । राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ ।

तपाईंहरूलाई वार्तामा बोलाएको तर वार्तामा नआई हिंसात्मक घटनामा संलग्न हुन थालेपछि प्रतिबन्ध लगाउनुपरेको सरकारले बताइरहेको छ, वार्ताप्रति तपाईंहरूको धारणा के हो ?

यो एकदमै झूटो प्रचार हो । पहिलो कुरा, सरकारले हामीलाई आधिकारिक ढंगले वार्तामा बोलाएको होइन, त्यस अर्थमा वार्तामा आएन भन्न मिलेन । दोस्रो– वार्ताबाट त हामी फर्किंदै छौं । जतिबेलासम्म वार्ताबाट जनअधिकार र देशका प्रस्तावहरू पास होलान् भन्ने थियो त्यसबेलासम्म त प्रचण्डहरूसहित हामी वार्तामै थियौं नि । तर जब वार्ताका नाममा जनयुद्धका सारा प्रस्ताव र उपलब्धिलाई खरानी पार्न थालियो, देशलाई पराधीन र जनतालाई अधिकारविहीन बनाउन थालियो तब न हामीले विद्रोह गरेका हौं । आज पनि वार्ताबाट न हामी तर्सिन्छौं न त वार्ताले क्रान्तिले उठाएका विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौं । जहाँसम्म वार्तामा नआएर हिंसामा गएको भन्ने प्रचार छ, यो त पूरै गलत प्रचार हो । हामीले त देश डुबाउने एनसेल, मानव तस्कर, महिलालाई बोक्सीको आरोप लगाउने फटाहा र मजदुरलाई दमन गर्ने मालिकविरुद्ध कारबाही गरेका थियौं । यसमा प्रतिबन्ध लगाउन मिल्छ ?
सोमनाथ पाण्डे नेतृत्वको सरकारी वार्ता टोलीसँग कुन चरणसम्म तपाईंहरूको वार्ता÷संवाद भएको थियो ?

सोमजी र अन्य साथीहरूसँग हाम्रा कमरेडहरूको भेटघाट र अनौपचारिक कुराकानी नभएको होइन तर सरकारले आधिकारिक पहल त गरेन नि ।

वार्ताका लागि तपाईंहरूका एजेन्डा के हुन् ? के मुद्दामा वार्ता गर्ने ? तपाइँहरूका माग के हुन् ?

वार्ताको कुरा नै नभएको स्थितिमा यहाँ हाम्रो विषय के हुन् भनेर चर्चा गर्नुको के अर्थ छ र ? तैपनि छोटोमा भन्दा हामी देशबाट दलाल पुँजीपति वर्गले जसरी आर्थिक, राजनीतिक, सांस्कृतिक, बजार, जमिन, शिक्षा, स्वास्थ्य सारा कब्जा गरेर देशलाई टाट पल्टाउँदै र जनतालाई कंगाल बनाउँदै छ, त्यसको अन्त्य चाहन्छौं । हामी त दलाल पुँजीवादी सत्तालाई मिल्काउन क्रान्तिको मार्गमा छौं नि ।

सरकारको भनाइलाई आधार मान्ने हो भने शीर्ष नेताहरूको समेत हत्या योजना तपाईंहरूले पार्टी बैठकबाटै बनाउनुभयो रे, के भन्नुहुन्छ ?

यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ, यो नै अनौठो लाग्छ। यो प्रस्ट कुरा हो कि राज्यले हाम्रा नेताहरूलाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ ।

खुलेआम हिंसात्मक संघर्षको घोषणा पनि गर्नुभएको छैन, तर हिंसात्मक घटना पनि तपाईंहरूका नाममा भइरहेको छ, खासमा संघर्षको स्वरूप के हो ?

पत्रकार मित्र, कुरा हिंसा–हत्याको होइन, क्रान्तिको हो । हाम्रो देशलाई स्वाधीन बनाउन, देशका श्रमिक जनतालाई राज्यसत्ताको मालिक बनाउन, सबै उत्पीडित, शोषित, दमित श्रमिक वर्ग र जनतालाई मुक्त गर्न दलाल पुँजीवादी सत्तालाई मिल्काउने र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य हो । क्रान्ति त्यस्तो एकीकृत संघर्षको कूल योग हो, जहाँ सबै संघर्षका रूपहरू अनिवार्य हुन्छन् । हामीले जे कारबाही गरेका छौं, प्रस्टै जिम्मा लिएका छौं नि, कहाँ छ भ्रम ?

तपाईंले एउटा अन्तर्वार्ताका क्रममा जनमुक्ति सेना बनेको र त्यो सुदृढीकरणतिर जाँदै गरेको बताउनुभएको थियो, यो कस्तो खालको सेना हो, यसले तत्काल गर्ने के हो ?

सेना भनेको राज्यसत्ता प्राप्तिका लागि संघर्षरत श्रमिक जनतालाई सफल बनाउन लड्ने शक्ति हो । जनमुक्ति सेना भनेको सबै उमेरका नरनारी आफ्नो अधिकार र मुक्तिका लागि भाग लिने सेना हो। प्रचण्डहरू र एमाले—कांग्रेसहरू मिलेर विसर्जन गर्न खोजेपछि हामीले त्यतिबेलै भनेका थियौं जनमुक्ति सेनाको आवश्यकता सकिएको छैन । यो आवश्यक छ, हुनेछ र संगठित गरिनेछ । त्यही भएको हो अरू के हो र ?

वार्ताका लागि तपाईंहरूलाई सरकारका तर्फबाट केही सर्तसहितको प्रस्ताव पनि गएको थियो भनिन्छ, सरकारको तर्फबाट के प्रस्ताव आएको थियो ?

त्यस्ता सर्त र प्रस्तावबारे हामीलाई कुनै जानकारी छैन । तर वार्ता गर्ने भनेपछि प्रस्ताव त पक्कै भइ नै हाल्छन् नि । वार्ता नभएको स्थितिमा कसरी थाहा हुन्छ र ?

अहिले पनि सरकारका प्रतिनिधिहरूसँग, अझ सरकारको नेतृत्व गरिरहेका नेकपाका नेताहरूसँग तपाईं र तपाईंका पार्टीका कतिपय नेताका औपचारिक÷अनौपचारिक छलफल भइरहेकै छ भनिन्छ, वास्तविकता के हो ?

राजनीतिक छलफल आवश्यक र सम्भव भएमा मुद्दाअनुसार जोसँग पनि हुन सक्छ। हामीले छलफललाई सहज बनाएका छौं । यसबारेमा धेरै कुरा गरिहाल्नुपर्ने खास विषय केही छैनन् ।

मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत अन्य समूहसँगको एकता पनि तोडियो क्यारे, खासमा तपाईंहरूको संघर्षको मित्रशक्ति को हुन् ?

एकता प्रक्रिया नै चलेको छैन, कहाँ भाँडिन्छ। उहाँहरूसँग छलफल चलिरहेको छ। विचार—राजनीतिमा मेल खएपछि एकता हुन्छ। तर सयुक्त मोर्चा र कार्यगत एकतामा हामीले काम गरिरहेका छौं। यो खुसीको कुरा हो। मित्रको उल्लेख गर्दा यतिबेला केपी सरकारको राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगी, प्रतिबन्ध र फाँसीवादविरुद्ध जो उत्रिन तयार हुन्छन्, ती सबै मित्रशक्ति हुन्।

एकताका सम्भावना छन् कि छैनन् ? छन् भने केकेका आधारमा एकत वातावरण बन्न सक्छ ?

एकताका सम्भावना छन् तर मैले माथि भनिसकें कि विचार—राजनीति र कार्य्दिशा मिलेपछि एकता हुन्छ।

प्रकाण्डसँगको अन्तरविरोध के हो ? शक्ति पूरै छिन्नभिन्न भइरहेको छ, पार्टी्भित्र अन्तरविरोध चुलिएको सुनिन्छ, वास्तविकता के हो ?

हो, यस्तो प्रचार निरन्तर पत्रिकामा पढ्न पाइन्छ। हामी पनि पत्रिकाबाटै थाहा पाउँछौं। कहिले रमाइलो लाग्छ भने गम्भीर पनि बनाउँछ। सायद हामीलाई विचार, राजनीति र व्यवहार कतैबाट पनि रोक्न र असफल पार्न नसकेपछि संगठनको विषयमा घोच्दा केही निस्किन्छ कि भनेर यसो गरेका होलान् जनताका बैरीले भन्ने लाग्छ। तर उनीहरू आफैं जनतामा उदांगिने र बदनाम हुने बुद्धि हो यो।

हामीले कसरी पार्टीमा दुई लाइन संघर्ष र्गयोयौं, कसरी पार्टी बनायौं, कसरी क्रान्तिको खाका खिचेका छौं र कसरी काम गर्दै छौं हामीलाई थाहा छ । यो कुनै लोभीपापी र स्वार्थीहरूको खेलो होइन, नेपालमा क्रान्ति गर्ने र वैज्ञानिक समाजवाद—साम्यवाद ल्याउन गरिएको विशिष्ट पहल हो । हाम्रो पार्टी एकपछि अर्को उचाइमा विस्तार र सुदृढ हँुदै छ र क्रान्तिले यसलाई सार्थक पार्ने छ । कहिले भने काँचो दाउरामा आगो झोस्ने प्रतिक्रियावादीको चाल हेर्दा ओहो यस्तो पनि हुने रैछ, क्रान्तिलाई सफल पार्ने चुनौती सामान्य छैन भन्ने महसुस हुन्छ । अनि हामी झन् एकताबद्ध बन्छौं ।

तपाईंहरूलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले परिचालन गरिरहेको र संरक्षण गर्न खोजेको आरोप पनि लागेको छ, के भन्नुहुन्छ ?

आफ्नो प्राण भर्न पनि विदेशी गल्ली चाहर्दै हिँड्ने दुई कौडीका कायरहरूले गर्ने प्रचार हो यो । यसलाई पागलहरूले पनि विश्वास गर्दैनन् । वैज्ञानिक समाजवाद—साम्यवादको विचार नै श्रमिक वर्गीय विश्वलाई प्रज्ज्वलित र परिचालित गर्ने जादुको हतियार हो ।

विभिन्न ठाउँमा भएका हिंसाका घटना चन्दाकै लागि भएको भनिन्छ, एनसेलमाथिको आक्रमण पनि त्यही प्रयोजनका लागि थियो भनिन्छ ?

महाकाली, कर्णाली, अरूण बेचेर खाने, त्यसले पनि नपुगी कमसिनखोर, ठग, सुदखोर, तस्कर, डनहरूलाई पालेर बसेका र उनैको स्वार्थमा टुप्पी डुबाउँदै हिँड्ने पाखण्डीहरूले मच्चाएको चीत्कार हो । जहाँसम्म चन्दाको कुरा छ, क्रान्तिले एउटा दिन ल्याउनेछ स्वयं यी भन्नेहरूले पनि खुसीसाथ दिनेछन् । हाम्रै क्रान्तिको बलमा यिनको जीवन पनि बाँच्नेछ ।

कम्युनिस्टहरू श्रममा बढी विश्वास गर्छन्, जनतासँग सियोधागो पनि नलिनु भन्छन्, तर चन्दा उठाउनु नैसर्गिक अधिकारजसरी तपाईंले वक्तव्य नै दिनुभयो, कसरी बुझ्ने यसलाई ?

हो त तपाईंले भनेका कुरा हामीले भनेका छौं । श्रमिक जनताको धागो पनि लिनु हुँदैन र हामीले लिएका पनि छैनौं । हामीले त जनतालाई उल्टो दिने हो र दिई पनि रहेका छौं । सुकुमवासीलाई गाँस, वास, मजदुरलाई कामअनुसारको दाम, महिलालाई पुरुषसमान सम्पत्ति, युवालाई रोजगार, विद्यार्थीलाई निःशुल्क शिक्षा, जनताका लागि सर्वसुलभ स्वास्थ्य दिने भनेर त लडिरहेका छौं । यो त जनताले पनि बुझेका छन् ।

अनि जनताले हाम्रो नेतृत्वमा आफ्नो मुक्तिका लागि ज्यान पनि दिँदै आएका छन्। मैले भनेको त जनताले मुठी उठाएर दिन्छन्, उद्योगीले सहयोग गर्छन्, ठग, तस्कर र भ्रष्टहरूलाई ठोकेर लिनुपर्छ या उनीहरूले जनतबाट लुटेको सम्पत्ति कब्जा गरेर जनतालाई नै दिनुपर्छ । क्रान्ति भनेकै त यही हो । यही त कम्युनिस्ट पार्टीको नैसर्गिक अधिकार हो ।

पार्टीभित्र आर्थिक अराजकता देखिएको, आर्थिक नीति एकद्वार प्रणालीका आधारमा बनाउने भन्नेजस्ता विषय तपाईंका कतिपय डकुमेन्टमा उल्लिखित पाइन्छ, यो केलाई संकेत गर्नुभएको हो ?

धेरै नभनौं तर यो कुरा एकदमै स्पष्ट हो कि क्रान्तिको जटिल प्रक्रियामा रहँदारहँदै पनि हामी नै हौंला आर्थिक विषयलाई संस्थागत प्रणालीमा सञ्चालन गर्ने । हामीसँग पार्टी बनेदेखिको हिसाबकिताब पूरै पारदर्शी छ । हामीले महासचिवदेखि कमान्डर, सदस्यसम्मको आर्थिक जीवन संस्थागत गरेका छौं । अब पूर्णकालीन कार्यकर्तासम्मको मिलाउँछौं । हाम्रो अनुसन्धानमा कम्युनिस्टहरू सकिनु र समाजवाद असफल हुनुको पछाडि अर्थ सम्बन्ध र स्वामित्वमा रहेको समस्या नै प्रमुख हो ।

साम्यवादको सपना देख्नेले आफ्नै जीवन पारदर्शी गर्न नसक्ने, आवश्यकताअनुसारको दाम भन्नेले पार्टीको पैसा कुम्लो पारेर विदेशी बैंकमा लुकाउने, देशै बेचेर कमिसन खाने र उल्टो चर्का कुरा गर्ने, सरकारी जग्गा निल्न बाँकी नराख्ने हुनु नै यसको समस्या हो । हामी कम्युनिस्ट अर्थदृष्टिकोण, कम्युनिस्ट जीवन, अर्थउत्पादन र वितरणबारे कैयन् महत्वपूर्ण निष्कर्षमा पुग्दै छौं । हामी माक्र्सले अनुसन्धान गरेको साम्यवादी अर्थजीवन दिनुपर्छ भन्नेमा लागिपरेका छौं, जो पुँजीवादभित्रको कथित निजी जीवनभन्दा सयौं गुणा श्रेष्ठ र सभ्य हुन्छ । विश्वास छ– हामी साम्यवाद दिन सक्ने छौं ।

२०५२ सालदेखि सुरुआत भएको जनयुद्धपछिको शान्ति प्रक्रियाकै बाँकी काम पूरा हुन सकिरहेको छैन, तपाईंहरूको नयाँ द्वन्द्व के थेग्न सक्छन् जनताले ?

तपाईंले भन्नुभएको सही हो– जनताले द्वन्द्व थेग्न सक्दैनन् । त्यसैले त हामीले ६५—६६ सालदेखि नै भन्दै आएका छौं– पुँजीवादी, दलाल पुँजीवादी, संशोधनवादी, अवसरवादी, विदेशी शक्ति केन्द्रहरूले जनतालाई जनयुद्धका उपलब्धिबाट पछाडि फकाएर जानाजान द्वन्द्व भड्काउँदै छन् ।

जनताले माओवादीलाई साथ दिएपछि दलाल पुँजीवादी सत्ता लाद्न द्वन्द्वतिर लगिँदै छ । जबर्जस्त दलाल पुँजीवाद लाद्नु भनेको द्वन्द्वमा देशलाई ठेल्नु त हो । आखिर भयो त्यस्तै । अब जनताले विशेषतः शोषितपीडित श्रमिक जनताले बुझेका छन्– द्वन्द्वको समाधान क्रान्तिभन्दा अर्को तरिकाले सम्भव छैन। जनताले द्वन्द्व होइन, क्रान्ति गर्नेछन्। हामी क्रान्ति गर्ने छौं । क्रान्ति थेग्ने कुरा होइन जनता स्वयंले गर्ने कुरा हो ।

यसको व्यवस्थापनबारे के सोच्नुभएको छ ?

हेर्नुस्, हामीले एकीकृत जनक्रान्तिको कुरा केवल पार्टीको हितका लागि गरेका छैनौं । आज दलाल पुँजीवादी सत्ताको कारणले कम्युनिस्ट, वामपन्थी, देशभक्त, लोकतन्त्रवादी सबै आक्रान्त छौं । कुनै एक शक्ति एक्लै लडेर यसको पार लाग्दैन । हामी सबै मिलेर देशमा आजसम्म प्राप्त हुन नसकेको वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा गयौं भने सबै जनताको उद्देश्य पूरा हुनेछ । कम्तीमा हाम्रै खुट्टामा उभिएर आफ्नै देशबारेमा सोच्न सक्ने छौं ।

तपाईंहरूले लड्न खोजेको सत्तामा त आफ्नै पूर्वकमरेडहरू पुगेका छन्, के यो प्रतिकूलता लाग्दैन ?

यहाँनेर अलिकति भावनातिर गएर भनौं भने हेर्नुस्, यो हाम्रा लागि प्रतिकूलतासगै अनुकूलता पनि त हो। नेतृत्वले गलत कदम चालेपछि कमरेडहरूको ठूलै संख्या त्यहाँ पुगेको छ । तर यी साथीहरू पनि त हिजैदेखि खराब थिए भन्ने होइन नि । हामी सबै अग्निपथमा हिँडेकै कमरेडहरू त हौं । सबैको ज्यान बमगोलाभित्रै त थियो । हामी हिमालको हिउँमा पुरिँदा, हिउँद—बर्खाका नदीमा बग्दा, दर्जनौं कमरेडहरूलाई एउटै खाल्डोमा दफनाउँदा, मोर्चामा रगत र आँसु पुछ्दै देखेका सपना त एउटै त थिए ।

हामीले मुक्ति र बलिदानभन्दा अरू के देखेका थियौं र ? एकदमै मिल्ने र काँध जोडेर जीवनका धेरै समय लडेका कमरेडहरू पनि त त्यहाँ छन् । के तिनले हामीलाई क्रान्ति गरेबापत समाप्तै पार्ने मात्र सोच्लान् ? उनीहरू त्यहीं बसेर पनि त क्रान्तिलाई सहयोग गर्न सक्छन् । हामीले वैज्ञानिक समाजवाद ल्याउने अठोट गर्दा बिच्किन र चिढिन किन पर्छ र ? क्रान्तिको निर्ममता आफ्नै ठाउँमा छ । हामी सबै चुनौती सामना गर्न तयार भएर त यो मार्गमा डटेका छौं ।

अन्त्यमा थप केही भन्नु छ ?
विषय राख्ने अवसरका लागि तपाईंको पत्रिकालाई धेरै–धेरै धन्यवाद !    अन्नपूर्ण पोस्टबाट

२०७६ वैशाख ३० गते सोमबार प्रकाशित