कस्मिरमा हिन्दु अतिवादी हस्तक्षेप

- अनिल शर्मा ‘विरही’


श्रीनगर विमानस्थलमा सीताराम यचुरी र डी राजा पक्राउ
लकफ्र्युकै बीचमा झडप/चीन, टर्की र साउदी पाकिस्तानका पक्षमा

भाजपा सरकारले संविधानको धारा ३७० खारेज गर्नुभन्दा केही दिनअघिदेखि जम्मु–कस्मिरमा रहस्यमय घटनाहरू देखिन्थे । भारत सरकारले अन्य प्रयोजनका लागि आतङ्कवादी हमलाको सूचना आएको हुनाले नागरिकलाई मानसरोवर यात्रा नगर्न र बाटोमा भए उक्त क्षेत्र छिटो छोड्न सूचना जारी गर्यो । त्यसअघि नै भारतीय सेनाका सुरक्षा सल्लाहकार अजित डावल जम्मु–कस्मिर भ्रमण गरेर फर्किसकेका थिए । उता अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इजरायलले आफ्ना नागरिकलाई कस्मिर यात्रा नगर्न सूचना जारी गरिसकेका थिए । ती देशका गुप्तचर निकायलाई घटनाको पूर्वजानकारी भैसकेको अनुमान छ । त्यसलगत्तै भारतले कस्मिरमा १० हजार सेना थप गर्यो । अघिल्लो सोमबार भारतीय संविधानको धारा ३७० खारेज गरेर जम्मु–कस्मिर र लद्दाखलाई केन्द्र शासित प्रदेश घोषणा गर्यो ।

भारतको निर्णयप्रति पाकिस्तानले कडा आपत्ति जनाएको छ । उसले पाकिस्तानको आकाश हुँदै युरोप जाने हवाईमार्ग बन्द गरिदिएकाले भारतले अर्को बाटो (झन्डै १२ मिनेट लामो बाटो) प्रयोग गर्न थालेको छ । पाकिस्तानले द्विपक्षीय व्यापार स्थगन गरेको छ । उच्चायुक्तलाई फिर्ता बोलाएको छ भने सन् १९७६ देखि चल्दै आएको ‘सम्झौता एक्सप्रेस’ रेलसेवा बन्द गरिएको छ । दिल्लीदेखि पाकिस्तानको लाहोरसम्म चल्ने उक्त सेवालाई तत्कालीन भारतीय प्रम इन्दिरा गान्धी र पाकिस्तानी समकक्षी जुल्फिकर अली भुट्टोले आपसी सम्बन्ध सुधार्ने उद्देश्यले सुरु गरेका थिए ।

पाकिस्तानीहरू आक्रोशित भएका छन् भने भारतका हिन्दु अतिवादी र व्यापारी वर्ग खुसी देखिन्छन् । नागरिकहरूको खुसीलाई, नेपोलियनले फ्रेन्च नागरिकलाई, नाजीले इटालियनहरू र जापानले आआफ्नो समयमा आफ्ना नागरिकलाई खुसी पारेका थिए । तर त्यसको परिणाम कत्ति विनासकारी र क्षणिक भयो, इतिहास साक्षी छ । भारतमा त मुस्लिम, दलित, कम्युनिस्ट र राष्ट्रिय काङ्ग्रेसजस्ता उदारवादीहरूको समेत मुख थुनिएको छ र आलोचनाको स्वरलाई ‘बौद्धिक आतङ्कवाद’ भन्दै दमन गरिएको छ । तसर्थ भाजपाको खुसीलाई ‘चिहानको अट्टाहास’ भन्नेहरूको पनि कमी छैन ।

अफगानिस्तान युद्ध अमेरिकालाई ‘निल्नु न ओकल्नु’ भएको र पाकिस्तानको सहयोगबिना तालिवानसँग वार्ता गर्नसमेत गाह्रो भएकाले ट्रम्प प्रशासन पाकिस्तानप्रति नरम बन्यो र परम्परागत सम्बन्ध नवीकरण गर्न चाह्यो । त्यही अवसरमा इमरानले ट्रम्पलाई कस्मिर समस्याको मध्यस्थता गरिदिन आग्रह गरे । अमेरिका–भारत व्यापारमा अमेरिकाले व्यापारघाटा कम गर्न भारतीय निर्यातमा भन्सारदर वृद्धि गरेपछि भारतले पनि अमेरिकी आयातमा अवरोध गर्दा आपसी सम्बन्ध बिग्रिएको छ । त्यसकारण परिस्थिति झन् प्रतिकूल हुनसक्ने आँकलन गरेर भारतले आकस्मिक कदम चालेको हुनसक्छ । यथापि भारत सरकारको निर्णयलाई कैयौँले आगोसँगको खेल भनेका छन् । भाजपाका नेताहरूले पाकिस्तान नियन्त्रित कस्मिर फिर्ता लिन युद्ध गर्ने धम्की दिएका कारण पनि परिस्थिति उत्तेजक भएको छ ।

पाकिस्तान नियन्त्रित कस्मिर हुँदै बग्ने हिमनदीबाट भारत नियन्त्रित जम्मु– कस्मिरमा जलविद्युत् आयोजनाहरू सञ्चालित छन् । पाकिस्तानले दीर्घकालमा नदीको दिशा परिवर्तन गरेमा समस्या अझै चर्किनेछ । कफ्र्यु हट्नासाथ कस्मिरको सदनले स्वतन्त्र घोषणा गर्यो भने जम्मु–कस्मिरमा संवैधानिक सङ्कट पैदा हुनसक्छ । भारतका उदारवादीहरूले भारतीय संविधानको धारा ३७० लाई भारत र कास्मिरबीच साँघु भनेका छन् । साँघु भाँचियो भने के हुन्छ ? भारतमा कस्मिरीहरू अपहेलित छन् । उनीहरू दिल्लीको फोहोर उठाउने कामभन्दा माथिको रोजगारका लागि अयोग्य ठानिन्छन् । पाकिस्ताका राष्ट्रपिता जिन्नाले ‘मुस्लिम–दलित–भाइभाइ’ नारा दिएर सीमान्तकृतलाई आश्वस्त पारेका थिए । भारतमा भने त्यसको ठीक उल्टो भएको छ ।

भाजपाले हिन्दु व्यापारीलाई कस्मिरमा निर्याण गरेर र मुस्लिमहरूको विस्थापन तीव्र पारेर जातीय सफाया गर्ने विचार र सङ्केत देखिइसकेको छ । जनसङ्ख्या नै बदल्नु जेनेभा घोषणापत्रविरुद्ध युद्ध अपराध हो । सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घ, सुरक्षा परिषद्ले सङ्कल्प नम्बर १७ पारित गर्दै जम्मु र कस्मिरमा जनमत सङ्ग्रह गराउने निर्णय गरेको थियो । सुरुमा त्यसलाई स्वीकार गरेको भारतले जनमत आफ्नो विपक्षमा जाने देखेपछि वैधानिक र शान्तिपूर्ण बाटो परित्याग गर्दै आएको थियो । भारतमा अहिले कस्मिरीहरूले बहादुर शाह जफरको बाटो (आत्मसमर्पणको बाटो रोज्ने कि टिपु सुल्तानको बाटो (बलिदानको बाटो रोज्ने भन्ने बहस चलिरहेको छ । कफ्र्यु लागिरहेको र नेताहरु घरमै नजरवन्द भएको नेतृत्वविहीन अवस्थामा पनि श्रीनगरमा सेना र देशभक्तहरूबीच ढुङ्गा हानाहान भएको छ । शुक्रबार आआफ्ना कार्यकर्ता भेट्न गएका वामपन्थी नेता सीताराम यचुरी र राष्ट्रिय काङ्ग्रेसका नेता डी राजालाई पक्राउ गरेर दिल्ली फर्काइएको छ । जम्मु–कस्मिरका बन्दीहरूलाई वायुयानमा आग्रा (उत्तरप्रदेश) लगिएको छ । नेताहरू कस्मिरका गभर्नर सत्यपाल मलिकलाई पत्राचार गरेर गएका र रोक्नुपर्ने वैधानिक कारण नभएकै अवस्थामा सरकारले नागरिक अधिकार बन्द गर्न खोजेको विपक्षीको आरोप छ । काङ्ग्रेस नेता गुलाम नावी आजादलाई बिहीबार नै अकारण गिरफ्तार गरिएको थियो । सन् १९४६ मा भारत र पाकिस्तान स्वतन्त्र हुँदा जम्मु–कस्मिर स्वतन्त्र नै थियो । भारतका लागि ब्रिटेनका अन्तिम गभर्नरलाई माउन्टबेटनसँग श्रीनगरमा कस्मिरका राजा हरि सिंहले कस्मिरलाई पनि स्वतन्त्रता दिन माग गरे । तर गभर्नरले त्यसो गर्न मानेनन् । हरिसिंहले माउन्टबेटनलाई कस्मिरको स्वतन्त्रताका पक्षमा लडिरहने बताएका थिए । …….माउन्टबेटनले श्रीनगर यात्रामा कस्मिरलाई स्वतन्त्र घोषणा गर्न नमानेपछि २ महिनापछि हरिसिंहले फेरि पत्राचार गरे । अङ्ग्रेजको सहमतिबेगर स्वतन्त्रता वैधानिक हुँदैनथ्यो । मस्लिमबहुल, जनमत र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का आधारमा पाकिस्तानले दाबी गरेको छ भने भारतले कस्मिरी अन्तिम राजा हरिसिंहलाई अघि सार्छ । भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री करण सिंहका पिता हरिसिंहले कस्मिर पाकिस्तानतिर जाने सम्भावना देखेको, स्वतन्त्र घोषणा गर्न नसकेको र भारतको दबाब भइरहेको बेला विशेष अधिकारसहित कस्मिरलाई भारतमा विलय गर्ने निर्णय गरे । त्यो निर्णय जनमतको विपक्षमा थियो । भारत र पाकिस्तानको हस्तक्षेपपछि जातीय समस्या देखापर्यो । त्यसपूर्व हिन्दु राजा र मुस्लिम जनता भएको शान्तिपूर्ण स्वतन्त्र देश कस्मिर विश्वमा चिनिन्थ्यो । जातीय समस्या बाहिरबाट थोपरिएको हो । कस्मिरका बहुमत जनता स्वतन्त्र देश नै चाहन्छन् । मुस्लिमबहुल हुनुले पाकिस्तानप्रति सहानुभुति भए पनि बहुमत जनता भारत र पाकिस्तान दुवैमा विलीन हुन चाहँदैनन् ।

कस्मिरको ५५ प्रतिशत भूगोल र ७० प्रतिशत जनसङ्ख्या भारततिर, ४५ प्रतिशत जनसङ्ख्या र झन्डै ३० प्रतिशत भूगोल पाकिस्तान र १५ प्रतिशत भूगोल चीनमा पर्दछ । चीन नियन्त्रित अक्साइची र सक्स्गाम क्षेत्र हो । आजाद जम्मु–कास्मिर (पाकिस्तान नियन्त्रित) को सदरमुकाम मुजफ्फराबाद हो भने भारत नियन्त्रित कस्मिरको हिउँद अथवा शीतकालीन जम्मु र गर्मीमा श्रीनगर उपत्यका हो । १ लाख १ हजार ३ सय ८७ वर्गकिमि भूगोल र १ करोड १५ लाख जनसङ्ख्या भारतको नियन्त्रणमा छ । त्यहाँ ६८ प्रतिशत मुस्लिम र २८ प्रतिशत हिन्दु छन् । २६ अक्टोबर १९४७ मा आजको जम्मु–कास्मिर बन्न गयो । १३ हजार २ सय ९७ वर्गकिमि भूगोल र ४५ लाख जनसङ्ख्या पाकिस्तान नियन्त्रित कस्मिरमा पर्दछ । चीन नियन्त्रित भूभाग निर्जन छ । अक्साई चीन अर्थात् गज (सेतो ढुङ्गे मरुभूमि उपत्यका) ले भारत– पाकिस्तान–अफगानस्तान हुँदै टर्कीसम्म प्राचीन रेसम मार्ग छिचोल्थ्यो । आजको नयाँ रेसममार्ग भारतको विरोध हुँदाहँदै चीनले त्यहाँबाट निर्माण गर्दैछ । त्यसैले विवादित उक्त क्षेत्र चीनको युरोपको बजार प्रवेश गर्ने स्थलमार्ग पनि हो । चीनको ५ हजार १ सय ८० वर्गकिमिमा नियन्त्रण छ । अरुणाञ्चलसहित त्यही भूभागको विवादका कारण सन् १९६२ मा भारत–चीन युद्ध भएको थियो जुन युद्धमा भारतको लज्जास्पद पराजय भएको थियो । भनिन्छ त्यही पीडाले नेहरूको मृत्यु भयो ।

सन् १८४६ मा अङ्ग्रेजले पन्जाबसँग भएको युद्धको खर्च उठाउन डोगराका गुलाब सिंहलाई ७५ लाख नानक (पन्जाबी मुद्रा) मा बेचेका थिए जसलाई अमृतसर सन्धि भनिन्छ । हरिसिंह उनै गुलाब सिंहका वंशज हुन् । हरिसिंहले कस्मिरलाई भारतमा विलय गराएका हुन् तर राजा एक्लैले कुनै पनि देश बेच्न पाउँदैन । त्यो वैधानिक हुँदैन । हरिसिंहको निर्णय वैधानिक हुन्थ्यो भने आजको कस्मिरको सदन र मुख्यमन्त्रीले स्वतन्त्रता घोषणा गर्न किन नपाउने त ? भारतसँग त्यसको जबाफ छैन ।

कस्मिर मुद्दालाई लिएर भारत र पाकिस्तानबीच सन् १९४६, १९६५ र १९९८ गरी तीनपटक युद्ध भैसकेको छ भने आक्रमण–प्रत्याक्रमण अनगिन्ती हुँदै आएका छन् । भारत–पाकिस्तान नियन्त्रण रेखालाई नै अन्तर्राष्ट्रिय सिमाना मान्ने अटलबिहारी बाजपेयी र मनमोहन सिंहको प्रयास असफल भएको थियो । कस्मिरको विषयले भारत पूरै विभाजित भएको छ । कस्मिरका सबै दल स्वतन्त्र कस्मिरका पक्षमा जाने देखिन्छ भने कस्मिरबाहिर भने प्रभुत्ववादी सोचाइको वर्चस्व देखिन्छ । श्रीनगरकी भाजपाकी नेत्री हिमा भाटले ‘त्यो धारालाई छोड्यो भने यसले कस्मिरीहरूलाई फेरि बन्दुक उठाउन बाध्य पार्छ । तपाईंलाई थाहा छ म पनि कस्मिरी हुँ’ भनेकी छिन् । कस्मिरका पूर्वमुख्यमन्त्रीहरू उमर अब्दुल्ला र महब्बा मुफ्ती भाजपाको कदमविरुद्ध उभिइसकेका छन् । तर भारत–पाकिस्तान दुवै कस्मिरीको स्वतन्त्रता होइन, त्यहाँ आफ्नै रोटी सेकिरहेका छन् ।

२०७६ साउन ३२ गते शनिबार प्रकाशित