उनीहरूले जलाएर फालेका र मैले धोएर राखेका सपनाहरू

- अम्बिका चन्द ओली

मलाई नै हेरीहेरी उदाउने यी दिन र अस्ताउने रातहरू आजभोलि कसरी आउँछन् र कसरी जान्छन्, म पत्तोसम्म पाउँदिनँ । बितेका दिनमा उनीसगँका ती प्रेमिल पलहरू मेरै लागि हुन् भनेर आँगनवरिपरि खुसीको बहाना गरेर अगाडि नाच्न खोज्छन् । अहँ मनले ती दिनले ल्याएका खुसी मेरा लागि थिए भनेर म अहिले पत्याउन सक्ने अवस्थामा छैन । कारण मेरो उनी मसँग छैनन् । मेरो जीवनका लागि भनेर नै आएको खुसी भए पनि म आजभोलि ती खुसीका धर्साहरू अरूहरूका हुन्जस्तो मानिरहेकी छु किनकि ती खुसी मेरा हुँदा हुन् त आज फेरि ती खुसीहरू म एक्लिएको मौका छोपी बहार बनेर किन आउँदा हुन् ! खुसीले पनि आजभोलि म एक्लिएको मौका छोपी मलाई नै खुसी बनाउने निहुँमा एकहोरो गिज्याइरहेको अनुभूति हुन्छ ।

मैले पनि देख्ने अनगिन्ती सपनाहरू छन् । अरूहरूका जस्ता ठूला मेरा सपना केही छैनन् । श्रीसम्पत्ति जोड्ने, आलिसान बङ्गला बनाउने, शक्ति र सत्ताको मह हात थापेर चाट्ने, उनलाई सत्ताको कुर्सीमा बसाउने र आफू रबाफ देखाउने यस्ता कुनै सपना छैनन् । धनदौलतले दराज भर्ने, विदेशी कम्पनीमा सेयर हाल्ने, कमिसनबाट राज्यको सम्पत्ति दोहन गर्न लाभको पदमा पुग्ने, आफन्तजनहरूलाई अवसरहरू प्रदान गर्ने, शक्ति र सत्ताको आडमा देशको सम्पत्ति अपचलन गर्ने यस्ता कुनै सपना मसँग छैनन् । रात निदाउँदा पनि आँखा खोलेर देख्ने मेरा सपना त पाषाण युगको अवशेष यो खुनी राजको अन्त्य गरी सर्वहाराको संसार बसाउने र बसाएको हेर्ने सपना हुन् । मलाई सपना देख्न वर्गीय मुक्तिको सपना देख्दादेख्दै जीवन अर्पण गर्नेहरूले प्रेरित गरेका सपना हुन् । यस्तै निजी सपना झोपामा राखेर सामूहिक सपना देख्ने जिउँदा सहिद मेरो उनीले देख्ने गरेका सपना हुन् । त्यसैले सपना मैले देखे पनि मेरा सपना निजी होइनन्, सामूहिक जीवनका सपना हुन् । हामीले उहिले पनि आफू अनिँदो बसेर वर्गमुक्तिको सपना देखेका थियौँ । आज पनि तिनै सपनाहरू फेरि दुई ओछ्यान बनेर न उता निदाउन दिन्छन्, न यता निदाउन दिन्छन् ।

हामीलाई अर्थात् हामीजस्ताहरूका लागि यो समयमा अपुग केही थिएन । चाहेको भए असम्भव धेरै कुरा थिएन । तर अपुग थियो त केवल उहिलेदेखि आफूले सपना बनाएर बोकेको वर्गमुक्तिको सपना जसले अहिलेसम्म हामीलाई छोड्न मानिरहेको छैन । अरू केही छैन यो रित्तो जीवनमा, बस् तिनै सपनाहरूलाई यो रित्तो जीवनमा काखी च्यापेर चिनेको तर नचिनेजस्तै भएको सहरको वरिपरि म आफूलाई आजभोलि फेरि आउने सपनाहरूको रक्षा गर्ने सामथ्र्य सञ्चय गरिरहेकी छु । आजभोलि म एक्लो हुनु वा उनी एक्लो हुनुका कारण धेरै छैनन् । देख्नेहरू मान्दा हुन् आस्था र विचारको खेतीले हाम्रो निजी जीवनलाई सबै पुगिजाँदो हो । आस्था र विचारको खेती गर्नेहरूको त बाटो फरक भएको छ । हामी उनीहरूको जस्तै खेतीमा लागेका छैनौँ, बरु हामी हाम्रो आस्थालाई बचाउनका लागि अनेक पीडा र कठिनाइहरूसित लडिरहेका छौँ । त्यही पीडा सहन नसकेर कैयाैँले आफ्नो औकात देखाइसकेका छन् जुन कुरा दुनियाँको अगाडि छर्लङ्ग छ दिनको घामजस्तै । आस्थालाई बचाउन लाग्नेहरू आज कृष्ण सेनको सपना जलेको आँगनमा पूरा गर्ने प्रतिबद्धता गरिरहेका छन् । त्यस्तै लस्करहरूको यात्रीमध्येका मेरा उनी पनि एक यात्री भएर लागिरहेका छन् । म त केवल यी सबै कुराहरूको साक्षीका रूपमा उभिएकी छु ।

तिमीले हिँड्न सिकाएको यो राजमार्गमा मैले धेरैलाई भेटाउनु छैन । बस् तिमीले आफ्नो मानेका र मैले ठानेकाहरूलाई हामीले यो यात्रामा भेटाउनु छ । केही नाफाघाटाको जीवनको समीक्षा पनि मैले गर्नु छैन । म सधैँ यही विश्वास दिलाउँछु । तिमी यो यात्राको यात्री बन, म साक्षी बनिदिउँला । तिमीले हिँड्ने बाटोमा आउने हजार बाधाहरू पन्छाउँला र यो यात्रामा तिमीसँगै यात्राको भागीदार बनूँला । अरू त यो अनिश्चित जीवनको कठिन यात्रामा योभन्दा ठूलो के आँट गरूँ । यस्तैयस्तै धेरै सपनाहरूलाई एकोहोरो रूपमा यिनै सपनाहरू कुल्चिने यो निर्दयी सहरको एक किनारमा मनले नमान्दानमान्दै पनि फेरि एकपटक परिस्थितिसँग सङ्घर्ष गर्ने कसम गरेकी छु । लाग्थ्यो, यो समय पनि मेरा लागि हुँदो हो त म आफू आज यो घमण्डी सहरसँग अरूहरूको तुलना गरेर आफूलाई पनि बाँच्नका लागि र हाम्रा सपना पूरा गर्नका लागि यही कठीन राजमार्गको पदयात्रामा सामेल हुन बाध्य हुने थिइनँ । उनीहरूले जलाएर फालेका, हामीले धोएर राखेका ती दिनका ती सपनाहरू म यो सहरको एक किनारमा भए पनि प्रिय सपनाहरूको रक्षा गर्ने प्रतिबद्धता पूरा गर्न लागिपरेकी छु । आफ्नो सपनाप्रतिको लक्ष्यबाट विचलित नहुन र आफ्नो वर्गको विश्वासको इमानदार पात्र बन्नका लागि त्यो परीक्षा दिन सफल हुनेछौ भन्ने तिमीप्रति पनि विश्वस्त बनेकी छु । भौतिक रूपमा तिमीबाट केही दूरीमा रहेकी भए पनि अनिश्चितकालीन समयका लागि नितान्त निजी चाहनाहरूलाई तिलाञ्जली दिनु परे पनि आखिरी पूरा गर्नुपर्ने प्रतिबद्धता र जगाउनुपर्ने आशाहरू त हाम्रा समान छन् । तिनै प्रतिबद्धता पूरा गर्ने कोसिस गर्दा त्यही परिस्थितिको एक भाग हाम्रो भागमा परेको हो । तर कुनै दिन कसो नजितिएला । रात अस्ताउँछ, दिन उदाउँछ । यही आशा र विश्वासको लयमा आजभोलिको दैनिकी बिताइरहेकी छु । तिमी कहिल्यै पनि चिन्तित नबनू । आस्थाको पथबाट विचलित नुहुनू, बरु जीवन ढलोस्, शरीर सहिदहरूसँगै सुतोस् तर आस्था कहिल्यै नढलोस् ।

ती दिनहरू यस्ता थिएनन् तर आजभोलिका दिन यस्ता छन् । रात निदाउँदा पनि जागा बस्ने यी आँखाका परेलीहरू बलपूर्वक बन्द गरेर निदाएको बहाना गर्दा पनि मेरो यो क्यानभासमा तिम्रो बिम्ब बन्छ । दुस्मनको कालकोठरीभित्र तिमीलाई भेट्न जाँदा तिमीले गरेका राजनीतिक प्रतिबद्धता, कैयौँ भावनाका कुराहरू, तिमीलाई हुने कैयौँ असैह्य पीडाहरू अनि तिमीले इसारामा गरेका प्रेमस्पर्शहरू घरको खाली भित्तामा टाँसिएका ती तिम्रा केही थान तस्बिरहरू जति बेला पनि मेरो मानसपटलमा नाचिरहन्छ । अझ यसो भनौँ म भावनामा त कैयौँपटक आफैँ बगेर डुब्ने अवस्थामा पुगेकी छु अनि सोच्न थाल्छु जति बेला म तिमीबाट छुट्टिएर आएकी हुन्छु । तिमी हिँडिरहेको, बोलिरहेको, बसिरहेको, हाँसिरहेको आकृति मेरो स्मृतिपटलमा एकोहोरो रूपमा नाचिरहेको हुन्छ । बेसौममा झर्ने असिनाजस्तो विगतको स्मृति पल यसरी बर्सिन्छ र मलाई सताउँछ, पोल्छ अनि तड्पाउँछ । यस्तो लाग्छ सगरमाथाको चुचुरोमै पुगेर दुनियाँले सुन्ने गरी तिम्रो नाम लिएर चिच्याऊँ र तिमीसँगै त्यतै कतै हराऊँ तर तिम्रा सहयोद्धाहरूले धर्तीमा पोखेको आलो रगत अनि तिम्रो माया, प्रेरणा र प्रतिबद्धताले कहिल्यै त्यस्तो सोच्न अनुमति दिँदैन अनि आफूलाई आफैँ समालेर परिचितजस्तै लाग्ने अपरिचित सहरमा मुस्कुराउँछु । साँच्चै मजाले मुस्कुराउँछु । म जता जान्छु त्यतैतिर दृष्टि बनाएर हेर्ने भित्तामा तिमीसितका अनेकौँ यात्राका ती स्मरणहरू यात्राको बिम्ब बनेर घुमिरहेका हुन्छन् । बाहिर कोलाहलमा एक्लिएपछि जब थकित आधा शरीर लिएर एक बन्द कोठामा पस्छु अनि ती बन्द कोठाका भित्ताहरूमा मुस्कुराएको तिम्रो एक थान तस्बिरले काउकुती लगाउँछ । मलाई हेरेर तिमीलाई पर्खिरहेको टेबुल र कुर्सी अनि दराजमा सजाइएका माक्र्सदेखि माओसम्मका राजनीतिक, सैद्धान्तिक, दार्शनिक पुस्तकहरूले तिम्रो उपस्थिति खोजिरहेका हुन्छन् । अनि त मेरो अगाडि केही अपुगजस्तै मानिन्छ । अनि तिमीले त्यस्तै एक दशकपहिले भनेको कुरा सम्झन्छु, ‘तिम्रो अपूर्णता प्लस मेरो अपूर्णताबरावर सम्पूर्णता हुनेछ ।’ यस्तै ओछ्यानको खाली भाग, अर्को छेउमा पर्खिरहेका तिम्रा कपडा । मलाई हरेक साँझ–बिहान स्मृतिहरूको वर्षा गराइरहन्छन् । सायद तिम्रै अभाव महसुस गरेर नै होला हरेक रात तिम्रो सिरानी पनि मजस्तै जागा बसेको हुन्छ । कोल्टो फर्किन्छु, निश्चिन्त र विन्दास पारामा खाटको साम्राज्य ढाकेर सुतिरहेकी छोरीको अनुहार पढ्छु । उसको उनुहारमा परेका रेखाहरूमा तिमी र मेरो जीवनका साझा सपना र तिनै सपनाका प्रतिबिम्ब देख्छु । अनि पटकपटक उसको बालमस्तिष्कको रटान सम्झन्छु, मेरो एउटा ओठ मामुजस्तो, अर्को बाबाजस्तो । मेरो निधार बाबाजस्तो, आँखा मामुजस्तो । कान र चिउँडो बाबाजस्तो, कपाल मामुजस्तो… ।

आखिर जीवन एउटा कठिनाइहरूको, सपनाहरूको, भोगाइहरूको योग न हो । हामी बाँचिरहेको जीवन जस्तो कष्टकर भए पनि हाम्रा सपनाहरू त निकै सुन्दर, सुभाषी र मगमगाउँदा छन् । हामी मरे पनि सपनाहरू मर्दैनन् भने त्यही त सार्थक जीवन हो । आफैँले जीवनको परिभाषा गर्छु । यो जीवनमा आइपर्ने अनेकौँ कठिनाइहरूको सामना गरेर सपनाहरूको रक्षा गर्ने प्रतिबद्धता गर्छु ।

मेरा बाबा भन्ने गर्नुहुन्थ्यो– हेर छोरी, मान्छेले जीवन भाँडा माझ्नेको पनि पढ्नुपर्दछ । भाँडा माझ्न लगाउनेको पनि हेर्नुपर्दछ । जीवन दुःखीहरूको पनि हेर्नुपर्दछ, सुखीहरूको हेर्नुपर्दछ । जीवन हुनेखानेको पनि हेर्नुपर्दछ र हुँदा खानेको पनि हेर्नुपर्दछ । शिक्षा सबैबाट लिनुपर्दछ । निर्णय आफैँले गर्नुपर्दछ । जीवन आफ्नै तरिकाले जिउनुपर्दछ । त्यो समयमा बाबाको कुरा मैले जसरी बुझ्नु थियो, त्यसरी नै बुझेँ तर मेरा बाबाले जीवनमा अनेकौँ कालखण्डहरू बेहोरेर सँगालेको अुनभव मलाई पढाउँदै हुनुहुन्छ भन्ने महसुस मैले कहिल्यै गरिनँ । उहाँले नै मार्गनिर्देशन गरेजस्तै गरी यो अन्धकार रातभित्र जूनकीरीको उज्यालो खोज्ने प्रयत्न गरिरहन्छु । अनि त मुक्तिको सपना बोकेर जीवनको बाजी लगाउने महान् मान्छेहरूलाई सम्झन्छु । अनि बेपत्ता योद्धाहरूका आफन्तहरूलाई सम्झन्छु । सिउँदो पुछिएका, सुहाग लुटिएका, टुहुरा बनेका, विधुर बनेका, काख रित्तिएकाहरूलाई सम्झन्छु । अनि मेरो मनले आफैँलाई प्रश्न सोध्छ– आज हजाराैँ मान्छेहरू कठिन जीवन बाँचिरहेका छन् तर उनीहरूले सपना मारिरहेका छैनन् र त आज कोही उनीहरूका सपनाको रक्षा गर्नका लागि अग्रसर बनिरहेको छ । त्यसैले म एउटा कसैकी श्रीमती, छोरी, बुहारी र आमा मात्र होइन, म त यस्तै जीवनहरूको एउटा सारथी पनि हुँ ।

मलाई यी सबैसबै थाहा हुँदाहुँदै पनि कहिलेकहीँ केही कुराले मन बहकिने गर्दछ । तिम्रो अभाव महसुस हुन्छ । तिमी कहिलेकही भन्ने गथ्र्यौ– तिमीलाई हेर्दाहेर्दै यी जोडी आँखा बिसाउन पाऊँ । मेरो ढुकढुकी अन्तिमपटक तिम्रै काखमा धड्किदै बन्द होस्, बरु गुलाबको हाँगा पहिले सुकोस् तर फूल पहिले नझरोस् । मलाई जे भए पनि होस् तर तिमीलाई केही नहोस् किनकि मेरो जीवनमा सबैभन्दा प्रिय लाग्ने छोरीको भविष्यको उज्यालो बाटोमा बादल नलागोस् । छोरीसहित हाम्रो परिवार अनि मेरो सम्पूर्ण अभिभारा पूरा गर्ने जिम्मा तिम्रो काँधमा आउनेछ । प्रिय मुटु तर मलाई थाहा छैन तिमीले आँखा बिसाउँदा म देख्न पाउँछु कि पाउँदिनँ । तिम्रो धड्कन रोकिँदा म महसुस गर्न पाउँछु कि पाउँदिन । कुमार पौडेल, तीर्थ घिमिरे, निरकुमार राई, महान् र प्रज्वल शाहीहरूका जीवनसँगिनीहरूले जस्तै तिमीले अन्तिम सास फेर्दा तिम्रो छातीमा हात राख्न पाउँदिनँ कि ? सपना देख्दै जीवन त्यागेकाहरूका परिवारको जस्तै तिम्रो धड्कन रोकिने बेला कतै म पानी पनि दिन पाउँदिन कि ?यो अनिश्चयको जीवनयात्रामा…।

भनिन्छ, न्याय मर्न सक्छ तर सत्य कहिल्यै पनि मर्दैन । तिमी हिँडेको बाटो लाखौँ जीवनहरूका करोडौँ सपनाहरूको बाटो हो । हजाराैँ सहिदहरूको बलिदानले सिँचित र रक्तरञ्जित बाटो हो । तिमीले बोकेको झोला, किताब र झन्डामा पनि तिनै सहिदहरूका रगतका टाटाहरू छन् । तिम्रो प्रतीक्षा गरीगरी तिमी आउने दोबाटो कुरेर तिम्रै सम्झनामा हराउने मेरा यी आँखाहरूबाट जसरी कहिल्यै पनि तिम्रो स्मृति तस्बिर हट्दैन, त्यसरी नै तिम्रो आस्था, विचार र सपना पनि कहिल्यै मर्दैन । तिमीले पाउ राखेको माटो त मेरा लागि प्रिय लाग्छ । तिम्रा सपनाहरू त मेरा लागि निकै प्रिय छन् । फूलमा पात उनिएजस्तै सँगै उनिएका हाम्रा चाहना र सपनाहरू र कालो रातको चिहानमा बिहान फुलाउने तिम्रो उद्देश्य मलाई सबैभन्दा महान् लाग्छ । अन्त्यमा मलाई तिम्रै शब्दमा भन्न मन लाग्यो ….
धर्तीमा पसिना नबगाईकन
न आकाशमा चिलगाडी उड्छ
न धर्तीमा रेलगाडी गुड्छ
मेरो साम्यवादप्रति यस्तै आस्था बनेको छ
मेरो माक्र्सवादप्रति यस्तै विश्वास बनेको छ ।
मेरो उद्देश्य परिवार र यो समाजलाई
भोकबाट मुक्ति दिनु हो
अभावको जीवनबाट पुरोपुग्दो बनाउनु हो
अन्यायका साङ्लाहरूलाई चुँडाल्दै
न्यायको स्थापना गर्नु हो ।
यस्तै
म थुनिएको सहरमा
तिमी ठूलो पर्खालभित्र छौ
म सानो पर्खालभित्र छु ।
हामी एक दिन अवश्य भेट हुनेछौँ
हाम्रो अभीष्ट र मिलनलाई
धनान्दका पर्खालहरूले
कहिल्यै छेक्न सक्ने छैनन् ।
हाम्रो आस्थाको साम्यवाद जरुर उदाउनेछ ।

२०७६ असोज ५ गते आइतबार प्रकाशित