अध्यक्ष माओ र उनका अनौठा आनीबानी

सन्दर्भ : १२७ औँ माओ दिवस

- कल्पना पौडेल ‘जिज्ञासु’

माओ त्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुनाम प्रान्तको स्याङतुंग जिल्लाको पहाडी गाउँ साओ चाङचुङमा भएको थियो । उनी चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता हुन् । उनकै नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । उनकै नेतृत्वमा १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापना भएको हो । १९७६ सेप्टेम्बर ९ मा बेइजिङमा उनको निधन भयो । उनले स्थापना कालदेखि मृत्यु नहुन्जेलसम्म चीनको नेतृत्व समाले । माक्र्सवाद लेनिनवादलाई सैनिक रणनीतिसहित नयाँ कार्यदिशा निर्माण गरेर निर्मित उनको सिद्धान्तलाई माओवाद भनिन्छ ।

माओको नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको राजनीतिक, आर्थिक एवम् सांस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिका रूपमा खडा गराउन गतिलो भूमिका निर्वाह गर्न सम्भव भएको हो । प्रतिपक्षी र विरोधीहरु माओका सामाजिक तथा राजनीतिक कार्यक्रमहरू ग्रेट लिप फारवर्ड (Great Leap Forward) र सांस्कृतिक क्रान्तिका कारण गम्भीर अकाल उत्पन्न भएको र चिनियाँ समाज, अर्थव्यवस्था तथा संस्कृतिलाई समेत हानि पुर्याएको आरोप लगाउँछन् तर उनीहरुको त्यो आरोप मात्र हो । उनी चीनमा राजकीय रूपमा महान् क्रान्तिकारी, राजनीतिक रणनीतिकार, सैनिक पुरोधा अनि देशरक्षक मानिन्छन् । उनी कवि, दार्शनिक, दूरदर्शी महान् प्रशासकका रूपमा पनि चिनिन्छन् । माओ संसारका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमा गनिन्छन् । टाइम म्यागाजिन पत्रिकाका अनुसार २० औँ शताब्दीका १०० जना सबभन्दा प्रभावशाली व्यक्तिहरूमा माओ अग्रपङ्क्तिमा पर्छन् ।

जिन्हाई क्रातिको बेला माओले हुनानको स्थानीय रेजिमन्टमा भर्ती भई क्रान्तिकारिहरूका तर्फबाट लडाइमा भाग लिए । जब कुइङ राजवंश सत्ताच्यूत भयो त्यसपछि माओ सेना छोडी पुनः विद्यालय गए । सन् १९१८ मा स्नातक बनेपछि सन् १९१९ को चार मई आन्दोलनका निम्ति आफ्ना शिक्षक–प्राध्यापक याङ च्याङजीसित बेइजिङको यात्रामा गए । प्राध्यापक याङ च्याङजी पेकिङ विश्वविद्यालयमा महत्वपूर्ण पदमा रहेका कारण उनको सिफारिसमा माओले सहायक पुस्तकालयाध्यक्ष पदमा रही काम गरे । माओले अंशकालिक (part-time) छात्रमा पञ्जीकृत भई केही मात्रामा व्याखान र विद्वान्हरूका सेमिनारहरूमा भाग लिए । साङ्घाईमा रहँदा साम्यवादी सिद्धान्तको अध्ययनमा आफूलाई संलग्न गराए । बाबुले लुओ यिक्सिनोसित गराइदिएको विवाहलाई माओले कहिल्यै स्वीकारेनन् । आफू विवाहित भएर पनि उनले प्रोफेसर याङ च्याङकी छोरी तथा आफ्नी सहपाठी याङ काइहुईसित विवाह गरे । अक्टोबर १९३० मा कोमिन्ताङ (KMT) ले याङ काइहुई र छोरा एनिङलाई पक्राउ गर्यो । कोमिन्ताङले दुवैजनालाई बन्दी बनायो । पछि गएर एनिङलाई उनका आफन्तकहाँ पठायो तर उनकी आमा याङ काईहुईलाई भने मारिदियो । त्यस बेला माओ सहकर्मी हि जिझेनसित बस्थे । भाषाकौशलमा कमजोर भएकाले जियाङ सम्प्रदायसित बसे पनि उनले मन्दारिन चिनियाँ भाषा सिक्न सकेनन् । उनले फ्रान्समा अध्ययन गर्ने अवसरलाई पनि अस्वीकार गरे ।

माओकी अर्की पत्नी हे छिछेनको गर्भ बाट सन् १९३६ मा सान्सी प्रान्तको झिदान काउन्टीमा छोरी जियाओजियाओ (लि मिन) को जन्म भएको थियो । माओ की छोरीको बाल्यकालको नाम जियाओजियाओ थियो । माओले कोमिन्ताङ सरकारबाट बचाउन छोरीको नाउँ फेरिदिएर ली मिन राखिदिए । छिछेन सन् १९३७ मा मस्को गइन् । कोमिन्ताङले हानेको बमको छर्रा लागेर घाइते हुँदा पनि क्रान्तिमा सक्रिय थिइन् । पटकपटक बिरामी हुन थालेपछि कम्युनिस्ट पार्टीका अन्य नेताहरूको दबाबमा छोरीलाई साथमा लिएर उपचारार्थ सोभियत सङ्घतर्फ प्रस्थान गरिन् । जियाओजियाओले त्यहीँबाट येनानमा खटिएका बाबु माओलाई एउटा पत्र लेखिन् । पत्र यस्तो थियो–

‘अध्यक्ष माओ, सबैजनाले भन्छन्– तपाईं नै मेरो बुबा हो र म तपाईंकी छोरी हुँ । तर मैले तपाईंलाई कहिल्यै देख्न पाएकी छैन । यद्यपि म सोभियत सङ्घमा थिएँ । यसबारेमा अझै स्पष्ट छैन– के तपाईं मेरा बुबा र म तपाईंकी छोरी भन्ने कुरा साँचो हो ? मलाई छिट्टै जान्न मन छ । यसपछि मात्रै म तपाईंसँग भेट्न आउँछु ।’

माओले जब पत्र हात पारे, बाहिर खाममा परिचित लेखाइ (ह छिछेनको हस्ताक्षर) देखे । पत्र नबुझिने अर्थात् रुसी भाषामा थियो । रुसी अनुवादकको सहयोग लिएर बेहोरा पढे र गललल्ल हाँसे । तत्कालै प्रत्युत्तर लेखे– ‘जियाओजियाओ, म तिम्रो चिठी पाएर साह्रै खुसी भएँ । तिमी मेरै छोरी हौ, आफ्नै छोरी । म तिम्रो साख्खै बुबा हुँ । तिमी १० वर्षसम्म सोभियत सङ्घमा रह्यौ, त्यसैले हाम्रो भेट भएन । अब ठूली भइसक्यौ होला । हुर्किसक्यौ होला पहिलाभन्दा । होइन त ? म आशा गर्छु, तिमी आफ्नो बुबालाई भेट्न तुरुन्तै आउनेछ्यौ । मैले कमरेड ह यिलाई उत्तरपूर्वतिरबाट तिमीलाई ल्याउन भनिसकेको छु । म तिमीलाई स्वागत गर्न आतुर छु ।’ (पत्रस्रोत : जनआस्था)

छोरीको पत्र पाएर असाध्यै खुसी भएका उनले जबाफ तत्कालै टेलिग्राममार्फत पठाउन लगाए । छोरीलाई चिनियाँ भाषा सिकाउन एकजना शिक्षकको व्यवस्था पनि गरिदिए । जियाओजियाओ छिट्टै भाषा सिक्न सफल भइन् । चिनियाँ शैली पनि बुझ्न थालिन् । अब माओ छोरीलाई माध्यमिक स्कुलमा भर्ना गर्ने विचारमा थिए । त्यसै बेला बाल्यकालको नाम जियाओजियाओ फेरेर ली मीन राखिदिएका थिए । लि मिनले पछि बेइजिङ साधारण विश्वविद्यालयसम्बद्ध उच्च माविमा अध्ययन गरिन् र स्नातकपछि सोही विश्वविद्यालयमा रसायनशास्त्र पढिन् । सोही क्रममा बेइजिङ एयरोनटिकल इन्जिनियरिङ इन्स्टिच्युटमा अध्ययनरत छात्र कोङ लिङह्वासँग प्रेम सम्बध कसिँदै गयो । उनीहरू पुरानै परिचित थिए । यो विषय माओले थाहा पाए । माओले छोरीको छनोटमा आपत्ति नजनाएपछि माओ निवासमै सन् १९५९ को अगस्त २० मा लि मिन र कोङ लिङह्वाबीच बिहे भएको थियो । छोरीसँग टाढिनुपर्ने चिन्ताले उनले छोरीज्वाइँका लागि सँगैको घर व्यवस्था गरिदिएका थिए । त्यतिन्जेलसम्म माओ र लि मिनकी आमा ह छिछेनको सम्बन्ध करिबकरिब अन्त्य भइसकेको थियो । माओ कान्छी पत्नी चियाङ चिङसँग बस्न थालेका थिए । चियाङ चिङ सौतेनी छोरी ली मिनलाई मन पराउँदैनथिन् । माओले यो व्यवहार थाहा पाएर अत्यन्तै दुखित हुँदै गहभरि आँसु पारे । अन्त्यमा चियाङ चिङबाट अपहेलित लि मिन र कोङ माओनिवास चोङ नानहाई परिसरबाट बाहिरिए । नयाँ घरमा सरेपछि उनलाई माओलाई भेट्न निकै गाह्रो प¥यो । बाबुलाई भेट्न उनी चोङ नानहाईको ढोकामा लामो समय कुरेर बसेको कुरा माओले धेरैपछि मात्र थाहा पाएका थिए ।

सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । चीन–जापान युद्धपछि चिनियाँ कम्युनिस्ट पार्टीको प्रत्यक्ष नेतृत्व माओका हातमा आयो । माओ त्सेतुङले एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको रणनीति र कार्यनीतिको निक्र्योल गरे । माओले चिनियाँ समाजको वर्गविश्लेषण, ग्रामीण वर्गसङ्घर्षको सिद्धान्त, माक्र्सवाद लेनिनवादलाई सिर्जनात्मक रूपले चिनियाँ क्रान्तिमा प्रयोग र माओवाद निर्माणका सन्दर्भमा युगान्तकारी सफलता हातपारे ।

उनले लालसेनाको निर्माण, छापमार युद्ध, गाउँदेखि सहर घेर्ने दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन गरे । पार्टी, सेना र संयुक्त राजनीतिक मोर्चालाई क्रान्तिकारी तीन जादुमयी हतियार भनी संश्लेषण गरे । सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने निष्कर्षसहित चिनियाँ नयाँ जनवादी– समाजवादी क्रान्तिको नेतृत्व गरे । मजदुर–किसान एकतामा आधारित क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्नुपर्छ र क्रान्तिको चरित्र नयाँखाले पुँजीवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको नाम दिए र चीनमा सन् १९४९ मा माओकै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।

माओले प्रगतिशील भूमिसुधार, सहकारी आन्दोलन, महान् फड्को, जनकम्युन सञ्चालन गर्दै समाजवादी क्रान्ति र समाजवादी निर्माणको कार्यलाई अगाडि बढाएका थिए । माओले तेस्रो विश्वको सिद्धान्त प्रतिपादन गरी विकासोन्मुख मुलुकलाई तेस्रो विश्वको मान्यता स्थापित गरेका थिए ।

सन् १९२१ को जुलाईमा साङ्घाईमा माओलगायत १२ जनाले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना र विकास गरेका थिए । माओ सन् १९४३ देखि चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य थिए । सन् १९४५ देखि उनी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका अध्यक्ष रहे । माओले दीर्घकालीन जनयुद्धको नेतृत्व गर्दै जापानविरोधी गृृहयुद्ध र च्याङकाइसेकविरुद्धको युद्धपछि सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गरे । सन् १९५६ देखि १९७६ सम्म सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गरे ।

माओका अत्यन्तै रोचक स्वभाव अर्थात् जीवनशैली यस्ता थिए जुन ‘माओज् द अन्नोन स्टोरी’ मा जङ च्याङले लेखेको माओको जीवनीका आधारमा आधारित छ ।

उनले माओको स्मरणशक्ति निकै राम्रो भएको लेखेकी छिन् । पढाइ र लेखाइमा उनी निकै सोखिन थिए । उनी सुत्ने कोठाको खाटको आधा भागमा करिब एक फिटको उचाइसम्म किताब हुन्थे, प्रायः चिनियाँ सहित्यका । च्याङका अनुसार उनी आफ्नो भाषण र लेखमा तिनै किताबबाट लिइएका उदाहरण प्रयोग गर्थे । माओ महत्वपूर्ण काम रातको समयमा गर्थे । उनी दिनमा भन्दा रातमा बढी सक्रिय हुन्थे । लगभग पूरै रात काममै व्यस्त हुन्थे र बिहान भएपछि मात्रै सुत्थे । चीनस्थित भारतीय तत्कालीन जुनियर अफिसर नटवर सिंहले विभिन्न अन्तर्वार्तामा माओको यस्तो बानीबारे खुलासा गरेका छन् । उनका अनुसार सन् १९५६ मा चीन गएको भारतीय संसदीय प्रतिनिधिमण्डलसँग माओले मध्यराति १२ बजे मात्रै भेटेका थिए । राति १० बजे भेट्न पुगेको टोलीलाई उनले १२ बजेपछि मात्रै भेट्ने सन्देश दिएका थिए । उनी भेट्न जाने जोकोहीलाई आफ्नै खुसीमा मात्रै भेट्थे ।

माओ चुरोटका अम्मली थिए । नटवरका अनुसार संसदीय प्रतिनिधिमण्डलको उक्त भेटमा माओ एकपछि अर्को चुरोट सल्काइरहेका थिए । जब त्यहाँ उपस्थित भारतीय राजदूत आरके नेहरूले आफ्नो मुखमा चुरोट राखे तब माओले नै चुरोट सल्काइदिएका थिए ।

माओ पढ्नेदेखि योजना बनाउने काम आफ्नै ओछ्यानमा बसेर गर्थे । अझ रोचक पाटो के भने उनी उनी खानासमेत ओछ्यानमै बसेर खान्थे । उनका लागि आफ्नो खाट कतिसम्म प्यारो थियो भने जहाँ जाँदा पनि सँगै लिएरै जान्थे । रेलयात्रामा पनि उनका लागि त्यही खाट पुर्याइएको हुन्थ्यो । आफ्नोबाहेक अरू खाटमा नसुत्ने उनको अनौठो बानी थियो । सन् १९५७ मा मस्को जाँदा पनि उनको खाट जहाजमै राखेर त्यहाँ पुर्याइएको थियो ।

माओका डाक्टरसमेत रहेका जी सीलीले ‘द प्राइभेट लाइफ अफ चियरम्यान माओ’ किताबमा माओका व्यक्तिगत जीवनबारे धेरै लेखेका छन् । लीका अनुसार माओलाई नुहाउनुपर्दा रिस उठ्थ्यो । उनी आफूलाई सफा र स्फूर्त राख्न हरेक दिन तातो तौलियाले शरीर पुछ्थे । माओकी नर्स फ्यु मिङले दारी मिलाइदिने तथा कपाल काटिदिने गर्थिन् ।

माओ प्रायः जुत्ता लगाउँदैनथे, खाली खुट्टा हिँड्थे । लगाउनै परे कपडाको जुत्ता मात्र लगाउँथे । तर औपचारिक कार्यक्रममा छालाकै जुत्ता लगाउनुपर्ने भएकाले सुरक्षा गार्डलाई पहिला उक्त जुत्ता खुकुलो बनाउन लगाउँथे । उनी प्रायः फाटेर सिलाएको लुगा लगाउने गर्थे भने मोजा जहिल्यै प्वाल परेकै लगाएको देखिन्थ्यो ।

माओ घरमा रहँदा नुहाउँदा प्रयोग गर्ने गाउन मात्रै लगाउँथे । यो कुरा पनि लीको पुस्तकमै लेखिएको छ । १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँग आफ्नै निवासमा भएको भेटको प्रसङ्गलाई पनि डा. लीले पुस्तकमा उतारेका छन् । त्यो भेटमा माओले सुट लगाएका थिए । ६५ मिनेटको भेटवार्ता सकिएर निक्सन कोठाबाट बाहिरिनेबित्तिकै माओले उक्त सुट फुकालेर पुरानो बाथ रोब लगाएका थिए ।

तीन दशकभन्दा बढी चीनका मात्र नभएर विश्वकै सर्वहारा वर्गका शक्तिशाली नेता रहेका माओको ९ सेप्टेम्बर १९७६ मा ८२ वर्षको उमेरमा निधन भयो । उनको शवलाई सुरक्षित राखेर एक वर्षपछि माओ स्मारक हलमा सारियो । ८२ वर्षमा मृत्यु भएका माओ अहिले पनि ८२ वर्षकै छन् । भावनात्मक रूपमा चिनियाँ जनताको मात्र नभएर संसारकै क्रान्तिकारीहरुको मनभरि अझैसम्म जीवित छन् अध्यक्ष माओ । माओ त्सेतुङका विचारलाई आत्मसात गरौँ ! माओवाद लागू गरौँ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको दिशामा अगाडि बढाैँ !! सम्पूर्ण श्रमजीवीवर्गमा १२७ औँ माओ दिवसमा क्रान्तिकारी अभिवादन तथा शुभकामना !