वैज्ञानिक समाजवाद अनिवार्य र अपरिहार्य : पुन

     

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीको आयोजनामा सोमबार बहुनिया बजारमा विशाल जनसभा सम्पन्न भएको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको निरन्तरतास्वरूप आयोजित सभामा हजारौँ जनसमुदायको सहभागिता थियो । कार्यक्रमअघि निस्किएको जुलुसले बजार परिक्रमा गरेको थियो ।

जनसभालाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए । पुनले यो दलाल संसदीय पुँजीवादी व्यवस्था पूर्ण रूपले असफल भैसकेकाले अब नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य र अपरिहार्य भैसकेको बताए । सामना सांस्कृतिक परिवारको विशेष प्रस्तुतिसहित सम्पन्न भएको सभामा पश्चिमेली पन्चेबाजा र स्थानीय कलाकारद्वारा सल्यानी टप्पा र मगर नाच पनि प्रस्तुत गरेका थिए । युवा विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, व्यापारी, अन्य पार्टीका समर्थक र शुभचिन्तकसहितको ठूलो उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता कैलाली जिल्ला पार्टी सचिवालय सदस्य रक्तिमले, सञ्चालन अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष बबरजङ्ग सिंहले र स्वागत मन्तव्य पञ्चराम महताराले राख्नुभएको थियो ।

कार्यक्रममा सरकारी नेकपा, काङ्ग्रेस, फोरमलगायत विभिन्न पार्टीबाट रामचन्द्र कुँवर, हेमराज स्वाँर, दीपक बुढा, कमल ओली, खडक सिँजापति, अहिमता सिँजापती, अमृता गिरी, सुशीला ढुङ्गाना, माया विक, गजेन्द्र बोहरा, सरस्वती शाही, हस्त रेग्मी, विवश बम, नृप टमटा, जगराम चौधरी, लिखराम चौधरी, तेजराम चौधरी, हरि चौधरी, गोकर्ण जैसी, ललित विक, प्रेम रोकाया, रवि विक, सुरेश चौधरी, कृष्ण ओझा, श्यामकली साउद र लक्ष्मी सुनारसहित २७ जना नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरे । पार्टीमा ध्रुवीकृत हुनेहरूलाई प्रमुख अतिथि पुनले माला र अबिर लगाई स्वागत गरेका थिए ।

२०७५ मङ्सिर २५ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :