ललितपुर, बागलुङलगायत ठाउँठाउँका एनसेल टावरमा शक्तिशाली बम विस्फोट

काठमाडौँ : सरकारलाई ७२ अर्बभन्दा बढी कर नतिर्ने निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलको टावरमा शुक्रबार साँझ ठाउँठाउँमा विस्फोट गराइएको समाचार प्राप्त भएको छ ।
काठमाडौँ उपत्यकाको ललितपुर, बागलुङलगायत विभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा साँझ परिचय नखुलेको शक्तिले बम विस्फोट गराउँदा कतिपय ठाउँमा टावरहरू ध्वस्त भएका छन् ।

ललतिपुरको भैँसेपाटीस्थित एनसेल टावरमा साँझ शक्तिशाली बम विस्फोट भएको खबर प्राप्त भएको छ । टावरलाई लक्षित गरी गराइएको विस्फोटमा टावर ध्वस्त भए पनि अन्य केकति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भइसकेको छैन । एनसेलले नेपाल सरकारलाई लाभकर नतिरेको भन्दै जनस्तरबाटै विरोध भइरहेको समयमा विस्फोट गराइएको हो ।

यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका ७ मूलपानी, गल्कोट नगरपालिका ८ काँडेबास र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेका एनसेलका टावरमा पनि विस्फोट गराइएको समाचार प्राप्त भएको छ । विस्फोटपछि भएको आगलागीबाट टावरमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

टावरमा कुन शक्तिले विस्फोट गराएको हो भन्ने विषयमा कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताएका छन् । टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।

सर्वोच्च अदालतले केही दिनअघि एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी देखिएकाले कर तिराउन सरकारका नाममा आदेश जारी गरेको थियो तर सरकारले कुनै वास्ता गरको छैन । एनसेलले नेपाल सरकारलाई कर छली गरेकाले तत्काल कर भुक्तानी गराउन माग गर्दै जनस्तरबाटै आन्दोलन भइरहेको छ । जनताको उक्त मागको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीले पनि विगतदेखि सङ्घर्ष गर्दै आएको छ ।

२०७५ फागुन १० गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :