बंगलादेशमाथि नेपालको शानदार जित, सेमिफाइनलमा प्रवेश

बंगलादेश : आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएको हो ।

अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो ।

खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई सुरुवाति अग्रता दिलाए । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सकेनन् ।

दोस्रो हाफमा पनि नेपालले दबाव बनाइराक्यो । ५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो ।

६० मिनेटको खेल सकिएपछि नेपालले खेलाडी परिर्वतन र्गयो । ६२औं मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट मैदानमा प्रवेश गरे भने कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ ।

घरेलु टोलीको पोष्टमा एकपछि अर्को आक्रमण गरेको नेपाल निर्धा्रित ९० मिनेटको अन्तिम मिनेटमा सफल भयो । स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

जितसँगै समूह एमा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६(६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको ४ गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोल अन्तरका समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।

पाकिस्तान उपविजेता बन्यो भने घरेलु टोली बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।
२०७५ भदौ २३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :