प्रहरी खानतलासीबीच जनयुद्ध दिवस


तेह्रथुम : जिल्लाको छथर गाउँपालिका आङ्दिङमा नेपाल कम्युनिस्ट पार्टीले २४ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाइएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का टोली प्रमुख आधार प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता तेह्रथुम इन्चार्ज कमलाले गरेकी थिइन् ।

कार्यक्रम जारी रहेकै समयमा प्रहरीले सामना परिवारका कलाकारहरूको झोला खानतलासी गरेर कपडासमेत छरपस्ट पारी निकृष्ट व्यवहार देखाएको छ । ‘शान्तिपूर्ण कार्यक्रममा आएर त्रासपूर्ण क्रियाकलाप किन देखाउनुहुन्छ’ भनी सोध्दा माथिको आदेश भन्दै सइ पर्शुराम गिरीले जबाफ दिएको जानकारी कार्यक्रममा अतिथि रहेका कोसी ब्युरो सदस्य डीबी सिलवालले रातो खबरलाई दिए ।

जनयुद्ध दिवस कार्यक्रमको सञ्चालन तेह्रथुमकी सचिव मनुले गरेकी छिन् । आन्दिङ गाउँको सरस्वती माविको प्राङ्गणमा भएको कार्यक्रममा पार्टीका कोसी ब्युरो सदस्यहरू आकाश र अभियान टोलीका सदस्य तथा सोलु इन्चार्ज त्रिलोचनले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको बीचबीचमा सामना परिवारका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रमुख अतिथि आधारले ‘जनयुद्धको बलबाट सामन्ती राजतन्त्रको अन्त्य भएको हो । अब एकीकृत जनक्रान्तिले जनताको परिवर्तनको बाधक दलाल पुँजीवादी संसदीय व्यवस्थाको जरा उखेलेर फाल्ने र वैज्ञानिक समाजवादी सत्ता स्थापना गरिछाड्ने बताएका छन् । सोही क्रममा आधारले भने, ‘प्रचण्डले विजयको नजिक पुगेको जनयुद्धलाई विसर्जन गरी जनतालाई गम्भीर धोका दिएर भागे ।’

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :