पार्टी कार्यालय र दास क्यापिटल

सुपर मार्केट होझैँ लाग्ने
पार्टी कार्यालयको एउटा कुनामा
आदिवासी आमाझैँ मायालु
तर जीर्णजीर्ण भैसकेको
एउटा किताब बसेको छ फोहोर भएर
पुँजी भाग १ देखि ३
लेखक : माक्र्स–एङ्गेल्स
यो त्यही पुस्तक हो
लेनिनले अक्टोबर क्रान्तिको समयमा
बोकी–बोकी हल्लाएथे संसार
बास्टिटाको शासन ध्वस्त पार्न
हवना गल्लीभरि
चे र फिडेल पनि
यो किताबलाई मन्त्रझैँ घोकिरहन्थे
सांस्कृतिक क्रान्तिको युगीन आगो दन्कनुभन्दा पहिले चीनभरि
माओको सिरानीमै थियोे यो किताब
चारुले पढे : नक्सलबाड जन्मियो
गान्जालो जन्मे : माओवाद जन्मियो
यही किताबका हरफहरूबाट
यो सानो हिमाली मुलुकलाई
विद्रोहीहरूको देश बनाउन
भएथ्यो यै किताब अग्निवाण
जब विद्रोह उत्तरआधुनिक वस्त्र लगाएर
छि¥यो दरबारहरूमा
यो किताब पुगेकै हो सङ्ग्रहालय
पार्टी कार्यालय आइपुगेपछि
एकजना कमरेडले
सत्र पेजको एक छेउ च्यात्नुभो
र घाउको सानो छिद्र टाल्नुभो
बुद्धिजीवी फाँटका कमरेडले
३४५ औँ पेज फोटोकपी गर्नुभो र
श्रेष्ठ टेलरिङले सिलाएको कोटभित्र राख्नुभो
विद्यार्थी साथीले त रातो गाता नै ध्वार्र पार्नुभो
उहाँ भन्दै हुनुहुन्थ्यो–
यो गाता त बाघचाल खेल्न खुब काम लाग्ने रहेछ कमरेडहरू
सांस्कृतिक फाँटमा आइपुगेपछि
‘पुँजी’ पुग्यो भट्टीको कुनामा
तेस्रो कोटिका एक गजलकारले भने–
यार, यही किताबको नाम बेचेर धानिएको थियो नि इज्जत
मैले सेरका सेर हालेको थिएँ
अरे ! अरे ! बा ! बा ! हुन्थे महफिलहरू
सुर्ती च्यापेर एक गायकले गाए–
अमर खोला बाढी आयो ढाकिल्यायो मूलघाट दोभान
हाँसी–खेली बितिजान्छ दुईदिने छोटो जीवन
किताबबाट स्टोरी झिक्ने भन्दै एउटा जुँगेले
माक्र्सको फोटो खिच्यो स्यामसुङ नेस्टबाट
किताब टेकेर हिँड्न थाल्यो हूल
त्यहीँ बसिरहेको पिउनले भने
किताब कुल्चनु हुन्न, पाप लाग्छ
त्यसपछि थन्कियो किताब
खोपाको पनि खोपामा
आज त्यस भेगमा
गुमनाम छ यो किताबको चर्चा र
अर्को भेगमा
भइरहेको छ यही किताबको
असली प्रयोग ।

२०७५ असोज २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :