परम्परागत चाडपर्व र संस्कृतिको विकल्पको खोजी

राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन
चैतन्य
वरिष्ठ मार्क्सवादी
सौन्दर्यचिन्तक

सांस्कृतिक रूपान्तरण समाजको सापेक्षतामा हुन्छ । यो विशाल पक्ष हो । यसका धेरै आयाम छन् । धर्म र संस्कृतिका कुरा अनन्त छन् । यो शास्त्र हो । यसले कतिकति क्षेत्र ओगट्ने हो, कहाँ जाने हो, सबैले ध्यान दिनुपर्छ नत्र यो हराउने क्षेत्र हो । यहाँ हिन्दु, बौद्ध, इसाईलगायत संस्कृतिका कुरा छन् । साम्राज्यवादी, सामन्तवादी साथै अहिले संशोधनवादी संस्कृति पनि आएको छ । द्वैधवादी संस्कृति पनि आएको छ । द्वैधवादी संस्कृति पनि खतरनाक छ । यसलाई पुँजीवादी संस्कृति भनिन्छ तर यो पनि सबैमा छ । रूपान्तरण हुनुपर्छ सबैले भन्ने तर रूपान्तरण पनि नहुने सांस्कृतिक द्वैधवाद हो । सङ्कटको बेलामा यो आउँछ । यो सङ्कटग्रस्त पुँजीवादको उपज हो ।

कम्युनिस्ट भनिनेहरूमा पनि सांस्कृतिक द्वैधवाद देखापरेको छ । यसका विरुद्ध हामीले सशक्त सङ्घर्ष गर्नु जरुरी छ । हामीले समाजलाई बुझ्ने मात्र होइन, बदल्ने पनि हो ।

त्यसकारण विकल्प के हो त, यो कुरा आएको छ । यसलाई बहसमा लैजानुपर्छ । विगतमा हामीले दसैँँतिहार मनाइयो । धर्म मानेर मात्रै दसैँँतिहार मनाइएको हो भन्ने मलाई लाग्दैन । १५ दिन बिदा दिन्छ । भेटघाट गर्नु छ । गाउँघरमा गएपछि सामाजिक कुरा हुन्छ । थुप्रैथुप्रै कुराहरू हुन्छन् । तिहार पनि मनाउने गरिएको छ । त्यो धर्म मानेर मात्र मनाइएको होइन । प्रमुख त राज्यसत्ता हो । सत्ताले पुरानो संस्कृतिको आडमा स्वार्थसिद्ध गर्ने काम गर्छ र पुरानो तरिकाले दसैँँ मनाउँछ । यही नयाँ सत्ता आउने हो भने सहिद दिवस मनाइन्छ । दसैँँ भनेको कुरूप पक्षमाथिको विजय हो । हामीले पनि देशका लागि बलिदान भएका सहिदको सम्झनामा मनाउने हो । १५ दिनको दसैँँको सट्टामा बरु ७ दिनको सहिद दिवस मनाउँला । कसरी हुन्छ, विकल्प दिन जरुरी हुन्छ ।

परम्परागत संस्कार/संस्कृतिको विकल्प यो हो भनेर हामीले हरेक क्षेत्रमा जानुपर्छ । सांस्कृतिक रूपान्तरणको कुरा गर्दा मुख्य दुईवटा पक्ष छन् : कम्युनिस्टहरूकै रूपान्तरण हो, अरूको आशा राखेर हुँदैन । यो रूपान्तरण दुई किसिमको हुन्छ :

१ एउटा कम्युनिस्टहरूको रूपान्तरण ।

२. अर्को जनताको स्तरसम्मको रूपान्तरण ।

मलाई संस्कृतिमा बल प्रयोग हुनुपर्छजस्तो लाग्दैन । लेनिन र माओले ठाउँठाउँमा यो कुरा गर्नुभएको छ । लेनिनले धर्मबारे यान्त्रिक भौतिकवादी हुनु हुँदैन भन्नुभएको छ । परिस्थितिअनुसार कतै बल प्रयोग पनि गर्नुपर्छ तर आमरूपमा होइन । राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलनलाई पनि व्यवस्थित बनाएर लग्नुपर्छ ।

संस्कार–संस्कृति समाजसापेक्ष हुन्छ
अनिल शर्मा ‘विरही’
परम्परागत संस्कार र संस्कृतिको वैज्ञानिक र व्यावहारिक विकल्प खोज्नुपर्छ । संस्कृतिको कुरा गर्दा चाहे सत्तारूढ होस्, चाहे पिछडिएको होस्, त्यो त्यसै आएको हुँदैन । संस्कृति तत्कालीन समाजको आवश्यकताअनुसार पैदा भएको हुन्छ । समाज विकासका क्रममा जुन वस्तुगत जीवनको विकास हुन्छ, त्यसले नयाँ संस्कृतिको माग गर्दछ । पछौटे चेतना भएका मान्छे पुरानै चेतनामा रहन चाहन्छन्, अग्रगामी विचार भएकाले नयाँ र वैज्ञानिक संस्कृति निर्माण गर्न चाहन्छन् । वस्तुगत आवश्यकताअनुसार नयाँ संस्कृति बनाउन चाहने र पुरानै चाहीराख्नेबीच टक्कर हुन जान्छ । पुरानो संस्कृति भत्काएर नयाँ निर्माण गर्न सुरु गर्दा दुई संस्कृतिबीच टक्कर भएके छ । त्यस्तो ठाउँमा नयाँ संस्कृति अभिव्यक्त भएको छ । यो जीवनवादी र वैज्ञानिक संस्कृति हो ।

यो आवश्यक छ र अनुकरणीय पनि छ ।
पुरानो संस्कृति मान्नेलाई घृणा मात्र गर्नु हुँदैन । हामीले आक्रामक बनेर मात्र हुँदैन । रूपचन्द्र बिस्ट ‘अवसर नपाएर इमानदार बनेका भातेहरू’ भन्थे । त्यस्तो गर्नु भएन । नसकेर सहिदिएको जस्तो पनि गर्नु भएन । आफ्नो विचारमाथि वा कार्यक्रममाथि हमला गर्लान् भनेर अर्को विचार र संस्कृति भएकालाई नबोलाउने होइन । मानौँ, अहिले पुरानो संस्कार र संस्कृति मान्नेहरू बलिया छन् रे । हामी पनि भोलि बलिया भयौँ भने हामीले पनि हमला गरे भयो नि त ! त्यस्तो गर्नु हुँदैन ।

संस्कृतिमा अरूलाई आक्रामक तरिकाले हमला गरेर जाने तरिका हामीले सोच्नु हुँदैन । नयाँ संस्कृतिको कुरा गर्दा पुरानोको विकल्प दिनुपर्छ भन्नु सही हो । तर पुरानो संस्कृति पनि त्यसै बनेको होइन । अहिले जुन आचरण र व्यवहार छन्, ती एकाएक बनेका होइनन् । नयाँ संस्कृति पनि एकाएक बन्दैन र यो घोषणा गरेर मात्र हुने विषय पनि होइन । हामीले गर्दैगर्दै जाँदा यो बिस्तारै सूत्रबद्ध हुँदै जान्छ र निश्चित समयमा यसलाई लिपिबद्ध गर्न सकिन्छ । अहिले नै लेखिहाल्ने, पङ्क्तिबद्ध गराइहाल्ने र थालिहाल्ने कुरा सही हुन सक्दैन । तत्काल त्यसो गर्न लगियो भने प्रत्युत्पादक हुन्छ ।

कम्युनिस्ट आन्दोलनमा संस्कारका रूपमा केही रूढिहरू पनि छन् । जस्तै : जनवादी बिहे भन्ने तर छोरीलाई दाइजो पनि नदिने र अंश पनि नदिने । छोरीलाई दाइजो दिनुपर्छ भनेर कयौँ मान्छेले कम्युनिस्टले गर्ने गरेको जस्तो प्रगतिशील बिहे गर्ने अनि दाइजो पनि नदिने, सम्पत्ति पनि नदिने गरेका छन् । त्यो ठीक होइन । प्रगतिशील विवाह भनेको त जनवादी राज्यसत्ताले माग गरेको प्रणाली हो । यसमा त पहिला केटा र केटीबीच प्रेम हुनुप¥यो । छोरीलाई अंश दिएको हुनुप¥यो । विचारमा समानता हुनुप¥यो । पण्डित बाजे र लमीको सट्टा कम्युनिस्ट पार्टीको एउटा नेता लमी बन्छ । बिहे हुन्छ अनि जनवादी बिहे भनिहाल्ने ! यस्तो हुँदैन । यस्ता थुपै्र रूढिहरू छन् । यस विषयमा अलि लामो छलफल चलाउनुपर्छ ।

जनवादी बिहेको कुरा गर्दा पनि कम्युनिस्टको जीवन त मलामीको यात्रा होइन होला नि ! त्यसकारण बिहे त रमाइलो हुनुप¥यो नि ! प्रगतिशील बिहे पनि रमाइलो हुनुप¥यो । नाच्नुप¥यो । सम्भव छ भने मीठो खानु पनि प¥यो । बाजासाजा हुनुप¥यो । भैँसीले त म्युजिक बजाएपछि बढी दूध दिन्छ भन्ने अनुसन्धान भइरहेको समयमा हामीकोमा एउटा बाजा पनि हुनु नपर्ने । खगेन्द्र सङ्ग्रौलालाई प्रमुख अतिथि राखेर प्रगतिशील बिहे गर्ने अनि घर लगेर सिन्दुर लगाइदिने, यस्तो पनि भइरहेको छ प्रगतिशील भन्ने बिहेप्रणालीमा । यस्तो हुनु हुँदैन । बिहे भन्ने चीज थोरै त रमाइलो पनि हुनुपर्छ ।

उता शोक कार्यक्रमहरू पनि शोक जनाउने किसिमका हुनुप¥यो । मान्छे मर्दा थुप्रै मान्छे रुनुप¥यो । हो, श्रद्धाञ्जली भनेपछि शोकमग्न वातावरण हुनुप¥यो । जस्तै, रातो वा रङ्गीचङ्गी भनेको रमाइलो हो भने सेतो लगाएर कपाल फिँजाएर बस्दा नरमाइलो हुने भयो । किरिया बस्ने चलन त्यसरी पो आएको हो कि ! के हो त शोक मनाउने भनेको ? हामी हाम्रा अग्रजहरूलाई सम्झेर शोक मनाउँछौँ । पछि वर्गसङ्घर्षका क्रममा शासकहरूले आफ्नो अनुकूलमा गरुडपुराणसम्म ल्याइदिए । शोक मनाउन हामीले नयाँ चलन चलाउनुप¥यो ।

जनयुद्धकै क्रममा हामी पनि सहादत प्राप्त गर्ने कमरेडहरूलाई सलाम गरेर हिँड्थ्यौँ । कतिपयलाई झन्डासम्म ओढाउँथ्यौँ । सम्भव भएसम्म ठूलाठूला सभाहरू राखेर विशिष्ट ढङ्गले पनि श्रद्धाञ्जली व्यक्त गथ्र्यौं । त्यसकारण तत्कालीन अवस्थामा जे गर्दाखेरि वातावरण शोकमग्न हुन्छ, त्यही गर्ने हो ।

संस्कार र संस्कृति परिस्थितिसापेक्ष हुन्छ । साझा जीवनले साझा संस्कृति पैदा हुने हो । समग्रमा अन्धविश्वासी–रूढिवादी परम्परा र अवैज्ञानिकताका विरुद्ध वैज्ञानिकताका पक्षमा बहस आरम्भ हुनु राम्रो हो । यसलाई अभियानका रूपमा लैजानुपर्छ ।

पहिला कम्युनिस्टहरू नै रूपान्तरित हुनुपर्छ
अमर गिरी
प्रगतिशील लेखक

२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । पार्टी स्थापना भएको आज धेरै वर्ष बितिसकेका छन् । हामीले निरन्तर सांस्कृतिक रूपान्तरणको कुरा उठाउँदै आएका छौँ । तर यतिलामो समय बितिसक्दा हामी कहाँनेर छौँ भन्ने कुरा मननीय छ । नेपाली समाजको सांस्कृतिक रूपान्तरणको कुरा नेपालको कम्युनिस्ट आन्दोलनसँग जोडिएको छ । कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरण सफल हुँदा नै समाजको रूपान्तरणको काम गर्न सक्छौँ । हामीले नेपालमा सामन्तवादी संस्कृति र त्यसको मात्रै रूपान्तरणको कुरा गरेर यो आन्दोलनलाई ठीक ठाउँमा पु¥याउन सक्दैनौँ । सामन्तवादी–पुँजीवादी संस्कृति, त्यसले नेपालमा पारेको प्रभाव र त्यसको गठजोडबारे पनि व्यापक छलफल गरेर हामी निष्कर्षमा पुग्नुपर्छ । संस्कार र संस्कृतिको रूपान्तरणको कुरा गर्दा हिन्दु धर्मसंस्कृतिमाथि बढी आफूलाई केन्द्रित गर्ने गरेका छौँ । यसैले जकडेकाले यसमा केन्द्रित हुनु ठीकै हो तर यसका साथै समग्र नेपाली संस्कृतिमाथि नै हामी केन्द्रित हुनु जरुरी छ ।

समस्या हिन्दु धर्म र त्यसबाट डोमिनेट भएको संस्कृतिमा मात्र छैन । हामीकहाँ आदिमकालीन प्रकृतिपूजक संस्कृति पनि छ । त्यसका पनि समस्या छन् । संस्कृतिका विभिन्न रूप पनि छन् । जब हामीले समाजको सांस्कृतिक रूपान्तरण तथा वैज्ञानिक र सरल संस्कृतिको कुरा गरिरहेका हुन्छौँ, त्यस बेलामा हामीले नेपालको समग्र संस्कृतिको तस्बिर के हो ? त्यसको पनि मसिनो व्याख्या गर्नुपर्छ र आफ्नो प्रहारको निशाना के हो ? त्यसअनुसारको योजना बनाएर मात्र अगाडि बढ्नुपर्छ ।

संस्कृति र संस्कार रूपान्तरणको सन्दर्भमा दुईवटा कुरा रहन्छन् ः एउटा, यो क्रमिक रूपमा, बिस्तारै रूपान्तरण हुँदै जान्छ । अर्को, यसको रूपान्तरणका लागि हामीले सचेतन प्रयत्न गर्नुपर्छ जसको माध्यमबाट हामी यसको रूपान्तरणको प्रक्रिया अगाडि बढाउँछौँ र आफ्नो उद्देश्यअनुसार हामी यसलाई लिएर जान्छौँ । यहाँ हामीले गर्न खोजेको कुरा हस्तक्षेपकै हो । हो भने हामीले अगाडि सार्नुपर्ने विकल्पहरू केके होलान् । रूपान्तरणको कुरा गरेर मात्रै पनि हुँदैन । नेपाली कम्युनिस्ट आन्दोलन र यससँगै निरन्तर चलिरहेको सांस्कृतिक धरातल र यसको परिणतिलाई अगाडि राखेर हेर्दा कुरा गरेर मात्र सांस्कृतिक रूपान्तरण हुँदैन । हामीले पक्कै पनि त्यसका विरुद्ध ठोस विकल्प लिएर मात्र अगाडि जानुपर्छ । संस्कृतिको विधि बनाएर एकाएक लागू गर्न पनि सकिन्न । सांस्कृतिक रूपान्तरणको जटिलतालाई बुझेर मात्र हस्तक्षेप गर्नुपर्छ किनकि यो धेरै जटिल समस्यासँग जकडिएको छ । आत्मिक पक्ष जोडिएका कयौँ पक्षहरू छन्, तिनलाई हस्तक्षेप होइन, रूपान्तरणको दिशामा गएर परिवर्तन गर्न सक्छौँ । अलिकति छलफल र विमर्शको माध्यमबाट हामीले जन्म, मृत्यु र बिहे संस्कारलाई बदल्न सक्छौँ । मानवजीवनका यी तीनवटा महत्वपूर्ण घटना छन् । यसलाई प्रगतिशील विधिमा बाँधेर अगाडि लैजाने प्रयत्न गर्नुपर्छ ।

कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरण कसरी गर्ने ? यो समस्या सबै कम्युनिस्ट पार्टीमा व्याप्त छ । कतै बढी छ, कतै कम छ । एउटा कम्युनिस्ट पार्टी सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपमा सही ठाउँमा उभिए पनि सर्वहारावादी सांस्कृतिक मान्यता पनि सही ठाउँमा उभिएको हुन्छ भन्न सकिन्न । सिद्धान्त ठीक भएर मात्र हामीले सांस्कृतिक आन्दोलन सही रूपमा अगाडि बढाउन सक्दैनौँ । त्यसैले यो प्रश्नलाई गम्भीर रूपमा लिनुपर्छ । माओले जो निरन्तर सांस्कृतिक क्रान्तिको कुरा गर्नुभएको छ, यसमा त्यो गम्भीर रूपले जोडिएको छ । संसार बदल्न हिँडेको कम्युनिस्ट पार्टी र त्यसका नायकहरूले त्यस्तो विशिष्ट गुण आर्जन गर्नुपर्छ । त्यस्तो गुण भएको नेतृत्वको अभाव छ । जसको अनुहार हेरेर रातमा निदाउन सकिन्छ । सुख र दुःखको बेलामा भरोसा गर्न सकिन्छ । त्यसकारण कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरण आजको ज्यादै महत्वपूर्ण एजेन्डा हो ।

सबै संस्कृतिका राम्रा कुरा ग्रहण गरौँ
डीआर पोखरेल
प्रगतिवादी संस्कृतिकर्मी

संस्कृतिको क्षेत्र फराकिलो छ । प्रायः बहस हिन्दुधर्मप्रति लक्षित भएर हुने गरेको छ । नेपालमा १२३ जाति छन् भनिएको छ । ती सबैका आआफ्ना संस्कृति छन् । राज्यमा प्रभुत्ववादी संस्कृति छ, जहाँ विभिन्न जातजातिका संस्कार र मान्यता छन् । ती प्रभावशाली पनि छन् । अर्को, जनजातिका संस्कार छन् । कसको छोरा, कसकी छोरी भनेर परिचित गराउन पनि ज्यादै जरुरी भएको छ । बिहे संस्कार त धेरै गज्याङमज्याङ नै भएको छ । यसको चर्चा हुनै छोड्यो । अन्तरजातीय बिहे हुन थालिसक्यो । प्रेमविवाहमा रूपान्तरण भइसक्यो ।
हिन्दु संस्कारको सबभन्दा खतरनाक कुरा चूडाकर्म हो । व्रतबन्ध भएपछि यसले सानो भनिएको जातिको घरमा टेक्नै नहुने बनाउँछ । मृत्यु संस्कार पनि डरलाग्दो छ । एकातिर हाम्रो आफन्तको वियोग भएको हुन्छ । पीडा हुन्छ । त्यसैमा झन् कपाल काट्ने, १३ दिनसम्म कष्ट सहेर नाङ्गैमुडुलै बस्नुपर्ने, खाना पनि नराम्रो । यस्तो वातावरण र खानपानले मानिस रोगी हुनसक्छ । यस्तो चलनले हामीलाई झन् पीडित बनाएको छ ।

मान्छेको मृत्युमा सबै शोकमग्न हुन्छन् । संसारका सबै जातिले आआफ्नै तरिकाले शोक मनाउँछन् । हामी आफ्नै तरिकाले मनाउँछौँ । हाम्रो तरिका धेरै रूढिवादी भयो । हिन्दु संस्कार पूरै राम्रो पनि छैन, पूरै नास गर्नुपर्छ भन्ने अवस्था पनि छैन । कतिपय कुरा नास नगरिनहुने पनि छन् । मृत्यु संस्कार १२ वर्षबाट १२ महिना हुँदै १२ दिनमा घट्यो । अब १२ दिनबाट १२ घन्टातिर घटाउनेबारे छलफल गर्नुपर्छ ।

हिन्दु गुरुहरू यसलाई घटाउन सकिन्छ भन्नुहुन्छ । मरेका व्यक्तिका नाममा भएभरको तामझाम गर्नुपर्ने आवश्यकता नभएको पनि पण्डितहरू नै भन्नुहुन्छ । उहाँहरूले त उहाँहरूकै शास्त्रअनुसार पनि यत्रो तामझाम नगरे हुन्छ भन्नुहुन्छ । गर्ने कर्ताको जिम्मामा छाड्नुपर्छ भनेर शास्त्रअनुसार नै भन्नुहुन्छ । राष्ट्रसेवक, समाजसेवक, चिन्तक, दर्शनिक, लेखक, कवि, संन्यासी आदिले किरिया गर्नु पर्दैन भनेर छूट दिएको छ हिन्दुधर्ममा । अशोकजी पनि यहीभित्र पर्नुहुन्छ । तर उहाँका आफन्तले आमाको किरिया गर्नैपर्ने बाध्यता किन थोपर्ने ? कसैको इच्छाप्रति धावा बोल्न कसैलाई छूट छैन । हामी पनि कसैको आस्थामाथि धावा बोल्दैनौँ । हाम्रो आस्थामाथि पनि कसैले धावा नबोलून् । हामी राम्रो भएर अरूलाई देखाउनुपर्छ ।

संस्कृतिबारे व्यापक छलफल गरौँ । यो व्यापक छ । सबैजसोको आआफ्नै संस्कार/संस्कृति छ । किन हिन्दुको मात्रै गर्ने, अरूका बारेमा पनि छलफल गरौँ न ! चिन्तकहरूले संस्कृतिभित्र आत्मिक र भौतिक पक्ष हुन्छ भनेकै छन् । त्यो हिन्दु संस्कारमा मात्र भनेको होइन । जनजातिको संस्कारमा पनि हो । भौतिक संस्कृति, घर, कलम, कापी आदि हो भने यो निर्माण गर्ने चिन्तनचाहिँ आत्मगत संस्कृति हो । संस्कार परम्परागत हुन्छ । जोडिँदै आएको हुन्छ । त्यसमा विज्ञानको हात हुँदैन । मान्यता र आस्थामा जोडिएर आएको हुन्छ । यसकारण संस्कारमा बिस्तारै परिवर्तन गर्नैपर्छ । एउटा अमेरिकीले नेपालमा आएर धोती फेरेर भात खान सक्छ तर हामीलाईजस्तो उसलाई सुहाउँदैन । त्यसले हाम्रो नक्कल मात्र गर्न सक्छ । त्यसकारण संस्कार फेर्न आक्रमण होइन, सिकाउनुपर्छ ।

नेपालको प्रभुत्वशाली संस्कृतिले जनजातिको संस्कृतिलाई माथि उठ्न दिएको छैन । हायूजातिको पनि हाम्रै दसैँँजस्तै चाड हुन्छ । उनीहरूको ९ दिन लामो हुन्छ । हामीले मूर्ति पूजा गरिरहेका छौँ । हायूको मन्दिरमा छत छैन । मूर्ति नहुनु धेरै प्राचीनताको चिन्ह हो । हायूहरू आर्य र अनार्य दुवैका साथी हुन् । हायूहरू प्रकृतिपूजक हुन् । खसको कुनै संस्कृति थिएन । पछि आएर सिकेका हुन् । यी घुमन्ते जाति हुन् ।

पहिला जाति, वर्ग केही थिएन । वर्णाश्रम थिएन । सिन्धुघाँटीको सभ्यतासम्म आएपछि किराँत र द्रविडसँग घुलमिल हुँदा उनीहरूले संस्कृति निर्माण गरेर आए । अंगीरा ऋषिको पालादेखि नै यिनीहरू खसको रक्तमिश्रण भएर आए । खसहरू हूलका हूल अतिक्रमण गर्दै आएका हुन् । यतै आएर जुन जातिलाई जिते, त्यही जातिलाई बिहे गरे । अंगीरा ऋषिले चिन्ता व्यक्त गरे । उनले भने– अब हाम्रो आर्य जाति त ध्वस्त हुने भयो । हाम्रा ठूलाठूला वीरहरू त नारीहरूसित लठारिएर पो हिँड्न थाले । मोजका लागि ठूलाठूला दरबारभित्र पो पस्न थाले । उनले ईशापूर्व १८०० मा यस्तो चिन्ता व्यक्त गरेका थिए । उतिबेलादेखि बिग्रेको खस जाति अहिलेसम्म बिग्रँदै आएको छ । समाजमा अनावश्यक विवाद खडा गरेका छन् । त्यसकारण हामीले समग्र संस्कृतिको अध्ययन गरौँ र तिनको राम्रा पक्षको मात्रै अनुशरण गरौँ ।

हामीले कल्पना गरेको समाजवादी व्यवस्थामा सबैका संस्कारका राम्रा पक्षको रक्षा हुन्छ । सबैले सबैको आस्था र मान्यतालाई स्वीकार गर्ने संस्कार बसाल्नु प्रगतिशील संस्कार हुनसक्छ । लिङ्गे पिङ सबै जातिकाले खेलौँ । पितृ र मातृलाई सम्मान गरौँ । फोटो राखौँ । बा–आमाको सालिक स्थापना गरौँ । यस्तो कुरामा कुन जाति नआउने हुन्छ ? आफ्ना सङ्घर्षशील पुर्खाको योगदानको सबैले संरक्षण गरौँ, स्मरण गरौँ । सबैले यसो गर्दा कसको, कहाँनेर जातित्व गुम्छ र ! सबैसित हातेमालो गर्ने संस्कृति निर्माण गर्नु हाम्रो ध्येय हो । दमाईलाई भित्र पस्न दिएनौँ र हायूसित सँगै बसेर भात खान सकेनौँ भने हामी विकासको बाटोमा अगाडि जान सक्दैनौँ ।
अन्त्यमा, अशोकजीले परम्परागत किरियाकर्म नगरेर जुन नयाँ संस्कृति निर्माणका लागि प्रयास गर्नुभएको छ, यो उदाहरणीय छ । सबैले यो कुराको अनुकरण गर्नुपर्छ । यसरी बहस र छलफल गर्दै जाने हो भने नयाँ र वैकल्पिक संस्कृति निर्माण हुन समय लाग्दैन ।

आन्दोलनबाटै संस्कार र संस्कृति बदलिन्छ
शशिधर भण्डारी
प्रगतिशील लेखक

हिन्दु दर्शन पूर्वीय दर्शन हो । गङ्गा नदीको मैदानमा चार वेद १८ पुराणको विकास भयो । त्यसमध्ये कान्छो गरुडपुराण हो । संस्कृति र संस्कारमा आएका नयाँ विधि र विधानले प्रगतिशील भूमिका खेल्छन् । आर्यहरू जब सिन्धु उपत्यकाबाट तल्लो बाटो लागेर गङ्गा नदीको किनारमा बसेपछि आर्य सभ्यताको विकास भयो ।

वैदिक सभ्यताको विकास कसरी भयो भने अन्नको बीउ फालेपछि सिन्धुको मैदानमा थुप्रै अन्न उब्जनी भइहाल्थ्यो । सबभन्दा पहिला कृषियुग आयो । त्यसपछि पशुपालनको युग आयो । एसियाको विशेषता यस्तो रह्यो । यहाँ पशुपालनको युग आउँदा युरोपेलीहरू जङ्गलमा हिँड्थे । आजभन्दा पहिला पाँच सय वर्षको इतिहास हेर्दा यहाँ कृषि र पशुपालनको युग आयो । एसियाको विशेषता यस्तो रह्यो । यहाँ पशुपालनको युग आउँदा युरोपेलीहरू जङ्गलमै थिए । ५००–७०० वर्षसम्म युरोपको त्यो हालत थियो ।

रूढिग्रस्त कुरा हाम्रो पूर्वीय दर्शनमा मात्रै छैन । पश्चिमा दर्शन हे¥यौँ भने पुनर्जागरण कालभन्दा अगाडि मध्ययुगमा स्वर्ग जाने टिकट बिक्री हुन्थ्यो । पापमोचनपत्र बिक्री हुन्थ्यो । मार्टिन लुथर किङजस्ता मान्छेले त्यसको विरोध गरे । मार्टिन लुथरको सङ्घर्षपछि युरोपमा एउटा लहर आयो । पुरातनवादी संस्कृतिका विरुद्ध सङ्घर्ष नगरीकन परिवर्तन नहुँदो रहेछ भन्ने कुरा युरोपको इतिहासबाट थाहा पाउन सकिन्छ । पूर्वीय दर्शनमा त्यसरी पुनर्जागरणको युग आएन । हामी ह्वाङ होलगायतको सभ्यता पढ्छौँ । त्यसलाई अवशेषका रूपमा मात्र हेर्छौं । गङ्गा नदीको मैदानमा हुर्किएको आर्यको वैदिक सभ्यता निरन्तर बगिरहेको छ । यसमा केही वैज्ञानिक कुराहरू पनि छन् ।

केही धार्मिक व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि यसलाई विकृत बनाउँदै लगे । त्यही दर्शनका कारण महिलालाई दोस्रो दर्जाका रूपमा हेर्ने चलन चल्यो । तर पूर्वीय दर्शनको पूरै अस्वीकार गर्ने भन्दा पनि त्यसका खराबीलाई हटाउने कुरा मुख्य हो । त्यसभित्र पनि विज्ञानसम्मत मन्यता छन् । यसको अध्ययन भइरहेको छ । जस्तो : वरपीपल । यसले मानव स्वास्थ्यका लागि अत्यावश्यक अक्सिजन कति फ्याँक्छ, यसको अध्ययन भइरहेको छ । यो वैज्ञानिक कुरा हो ।

संस्कृति सरल होइन, बक्ररेखाबाट हिँड्छ । युनानको दर्शन विश्वव्यापी दर्शन थियो । त्यही दर्शनबाट अब हजारौँ दर्शन निर्माण भइरहेको छ । गरुडपुराणले त्यतिबेला प्रगतिशील महत्व राख्थ्यो । त्यतिबेलाका महिला र युवाहरूमा प¥यो– गङ्गा नदीको मैदानमा अनाज फल्थ्यो, उत्पादन हुन्थ्यो । त्यतिबेला सेना, पुलिस, राज्यबिनाको समाज थियो । त्यस्तो अवस्थामा समाजलाई कसरी चलाउने र नियन्त्रण गर्ने भन्ने हुँदा गरुडलगायत ऋषिहरूले चिन्तन गरे र नियम बनाए– यो पाप गरे यो फल पाइन्छ । नराम्रो काम गरे नराम्रो फल पाइन्छ भनेर विधानजस्तो बनाए । तर आज त्यो पुराण पुरातन भयो । समाज नयाँ ठाउँमा आइसक्यो । त्यो पुराणलाई आज शासकवर्गले शोषण गर्ने र शासन गर्ने साधन बनाए । त्यसैले अहिले हामी त्यो गरुडपुराणलाई स्वीकार गर्न सक्दैनौँ ।

२०६६ सालमा मेरो बुबा बित्नुभयो । मैले पनि किरिया गरिनँ । यहाँँ पनि त्यस्तै भयो । यस बेला अशोकजीकी आमा बित्नुभयो । अशोकजीले किरिया गर्नुभएन । एकखाले पुरातनपन्थी समाजले उहाँले गरेको विद्रोह स्वीकारेन । त्यो पुरातनलाई बदल्न नचाहने चिन्तन हो । वैदिक परम्पराअनुसार पनि एक भाइले मात्र किरिया गरे पुग्छ । गरुडपुराणका लेखक र पाठक ठूलठूला विद्वान्हरूले किरिया नगरे पनि हुन्छ भनेका छन् भन्ने सुनिएको छ ।

नेपालको कम्युनिस्ट इतिहासमा रामेछाप जिल्लाको पनि विशेष भूमिका छ । कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्माएको जिल्ला हो यो । म प्युठानमा जन्मेको हुँ । प्युठान पनि एउटा ऐतिहासिक जिल्ला नै हो । म प्युठानबाट पछि दाङ बसाइँ सरेँ । मेरा बुबा प्युठानमै हुनुहुन्थ्यो । २०४१ सालमा नै त्यहाँ सहभोज कार्यक्रम चल्यो । त्यतिबेलादेखि नै कम्युनिस्टको प्रभाव परेकाले बाबाको किरिया नगर्दा मलाई त्यति असहज भएन । पहिला केही समयसम्म त दाजुभाइले शव नै उठाउनुभएन । उहाँहरूले कपालसम्म फाल्न आग्रह गर्नुभयो तर मैले मेरो विचार, दर्शन र सिद्धान्तले दिँदैन भनेँ, उहाँहरूले भनेजस्तो गरिनँ । विकल्प के दिने त भन्दा फोटो राखेँ र साँझबिहान माल्र्यापण गरेँ । १३ औँ दिनको दिन कार्यक्रम गरियो । काङ्ग्रेसका मान्छेले समेत राम्रो हो भने ।

मेरो बुझाइ के छ भने संस्कृति भनेको जडमा रहेर छलफल गर्ने विषय होइन । हामीले त पण्डितलाई पनि आसनग्रहण गराएका थियौँ । तिनीहरूले पनि यो ठीक छ बाबु भनेका थिए । बेठीक भयो भन्ने त एकजना पनि निस्किएन । कार्यक्रम भयो । वक्ताहरूले भाषण गरे । सकारात्मक सन्देश गयो ।

नयाँ संस्कार त खासगरी नयाँ पुस्ताले प्रयोग गर्छ । पुरानो संस्कृति छोड्दै जाँदा नयाँ निर्माण हुँदै जान्छ । संस्कार कर्मकाण्डीय हुँदैन । बुद्धले भगवान् छैन, छ भने पूर्वमा छ भनेका थिए । उनलाई अहिले भगवान् मानिएको छ । तिनकै नाममा ठूलठूला मन्दिर, गुम्बा र चैत्य बनेका छन् ।

वामपन्थी आन्दोलन कमजोर भयो भने माक्र्स र एङ्गेल्सहरूलाई पनि पूजा गर्नेतिर जान्छ । यो खतराबाट बचाउनुपर्छ । अहिले उत्तरकोरियामा किम इल सुङलाई पूजा गरिन्छ । बन हरियाली भएको पनि सुङकै कारण मानिन्छ । अहिले चीनमा माओको लाइन छोडियो । चीन उपभोक्तावादी संस्कृतितिर गयो । प्रतिक्रान्ति भयो । नयाँ पुँजीवादको अभ्यास भएको छ । त्यहाँ माओलाई ईश्वरका रूपमा मानिन्छ तर नीति मानिन्न । हामी पनि त्यो दिशातिर जाने खतरा रहन्छ । हाम्रा संस्कार र संस्कृतिलाई हामीले बदल्नु जरुरी छ ।

हिन्दु संस्कारमा पहिला सतीप्रथा थियो । प्रताप मल्लका मात्रै ३३ वटी रानी सती गएका थिए । भारतको इतिहास हेर्दा महिलाहरूलाई पति मर्दा सती जान्नँ भन्ने पत्नीलाई लखेटीलखेटी आगोमा हालेर मारिन्थ्यो । पर्खाल नाघ्दै भागेर अङ्ग्रेजको घरमा गएर ज्यान जोगाएको इतिहास छ । हाम्रो हिन्दु दर्शनमा नरबलिको परम्परा थियो । यो पूर्वीय दर्शनमा भएको कुरा हो । हामीले यो छोड्न जरुरी छ ।

अहिले पहिचानको कुरा आएको छ । यस विषयमा मेरो फरक मत छ । १९९० मा सोभियत युनियनको विघटनपछि जातीय पहिचानको नारा युरोपियनहरूले लिएका हुन् । जातीय मुद्दा वर्गसङ्घर्षलाई तुहाउन ल्याइएको हो । एसियालाई विभाजित गर्न ल्याइएको हो । यो आधुनिक नश्लवादी चिन्तन हो । भारतको एउटा कार्यक्रममा हामी गएका थियौँ । त्यहाँ जातीय पहिचानका बारेमा धेरै छलफल भयो । नेपालबाट माओवादी, एमाले र हामी थियौँ । जातीय नारा हाम्रो नारा होइन भन्नेमा हामी पुगेका थियौँ । वर्गसङ्घर्षलाई धुमिल पार्न आएको नारा हो भन्ने थियो । पहिचानको राजनीति त बिगार्न आएको हो भन्ने शङ्का गरियो । यो उत्तरआधुनिकवादी संस्कृति हो भन्ने मलाई लाग्छ ।

संस्कार/संस्कृतिलाई नउठाउने भन्ने होइन । हाम्रा विभिन्न भाषाभाषी र धर्मसंस्कृति छन् । यो नेपालीको सम्पत्ति हो । यसलाई वैज्ञानिक बनाएर जानुपर्छ । परिमार्जित गरी नयाँ बनाउनुपर्छ । नबदलिने भए सतीप्रथा रहिरहन्थ्यो । किरिया गर्ने समय १३ वर्षबाट १३ दिनमा झ¥यो ।
प्युठानमा अङ्ग्रेजी पढ्न खोज्दा मोहनविक्रमले गाई खाने विद्या लियो भन्थे रे । २०३८ सालमा म र एकजना मगरले सँगै भात खाँदा बहिष्कार गर्नुपर्छ भन्थे । आज समाज यहाँ आयो । समाज बदलिँदै जान्छ तर यसलाई गुणात्मक रूप दिनुपर्छ । हामीजस्ता अभियन्ताको आवश्यकता पर्छ । यताबाट अशोकजीले यसको अगुवाइ गर्नुभएको छ । यो धेरै राम्रो छ । हामी बदलिँदै जाँदा नयाँ संस्कृति पनि निर्माण हुँदै जान्छ । माक्र्सवादी ढङ्गले त्यसलाई बुझ्नुपर्छ । तर संस्कृति निर्माणका लागि हामी पाखण्डी हुनु हँुदैन । सम्झाउँदैबुझाउँदै जानुपर्छ । यसैगरी बौद्धिक बहस जारी राख्नुपर्छ । संस्कार र संस्कृति अवश्य बदलिन्छ । अशोक सुवेदीजीको पहलमा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले यसरी रामेछापसम्म ल्याएर सांस्कृतिक रूपान्तरणमा सचेततापूवर्क बहस आरम्भ गराएको छ, यो अत्यन्त महत्वपूर्ण, सराहनीय र अनुकरणीय काम हो ।

जनमुखी संस्कार निर्माण गरौँ
प्रा. डा. रामप्रसाद दाहाल
शिक्षाविद्

जङ्गे पिलरलाई फालेजस्तै पुराना संस्कार र संस्कृति एकैचोटि फाल्न सकिन्न । भूगोलभित्रको जङ्गे पिलरजस्तो संस्कृति होइन । तर राष्ट्रिय चिन्तनभित्रका पृष्ठभूमिहरू बडो महत्वपूर्ण हुन्छन् । त्यो पृष्ठभूमिबाट संस्कृतिलाई हेरिनुपर्छ । हामीले जनमुखी र वैज्ञानिक संस्कृति आफैँले निर्माण गर्नैपर्छ । यसका लागि शिक्षा, स्वास्थ्य, वातावरण र उद्योगलाई यसमा जोड्नुपर्छ । श्रमलाई सम्मान गर्ने प्रवृत्ति हुनुपर्छ । यसको हामीले नै विकास गर्नुपर्छ । श्रमलाई प्रगतिशील राष्ट्रवादमा ढाल्नुपर्छ ।

हामीले हिन्दु संस्कृतिलगायत अन्यको पनि हेर्दा यहाँ जस्केलो संस्कृति रहेको देखिन्छ । अगाडिबाट जान गाह्रो भएपछि जस्केलोबाट गएर छोरीबुहारीले भित्रको काम गर्छन् नि, त्यस्तै बाहिरबाहिर नयाँ संस्कृति मानेजस्तो गर्ने तर भित्रभित्रै पुरानै संस्कृति बोकिराख्ने । यस्तो जस्केलो संस्कृति छ । त्यसलाई तोड्नुपर्छ । समय लाग्ला तर यो तोडिन्छ ।

यहाँ लिने संस्कृति आएको छ । अहिले मान्छे मर्दा १३ दिन किरिया बस्ने चलन छ । अझै यस्ता खालका कुसंस्कार हामीभित्र छन् । त्यस्ता कुरा समाप्त पार्न सबैले यसको सुरुआत गरौँ । जस्केलो संस्कृति बन्द गर्नेतिर लागौँ । श्रमलाई सम्मान गर्ने संस्कृति नै ल्याउनुपर्छ । सोच्ने तरिकालाई बुँदागत रूपले पहिल्याएर अगाडि बढाऔँ । तीज टुँडिखेलमा मनाउन थालिसके । यो डेढ महिना हुँदै डेढ वर्षसम्म मनाउनुपर्छ भन्न थालिसके । यो प्रवृत्ति घटाउनुपर्छ । लिने संस्कृतिभन्दा दिने संस्कृति उजागर गर्न सकौँ ।

राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन
नारायण शर्मा ‘कमलप्रसाद’
प्रगतिवादी संस्कृतिकर्मी

राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन हुनुपर्छ तर यतिले मात्र पुग्दैन । सचेत रूपमा विकल्प प्रस्तुत गरी प्रयोगसमेत गर्दै गर्नुपर्छ । रूपान्तरण सांस्कृतिक रूपले समेत हुनुपर्छ, हुनुपर्छ भन्ने तर नहुने र पुरानै गर्ने द्वैधवादका विरुद्ध सङ्घर्ष गर्ने भन्ने कुरा महत्वपूर्ण छ तर यत्तिले पनि पुग्दैन । कम्युनिस्ट नेता, स्वयम् कम्युनिस्ट पार्टी पूरै र समर्थक–शुभचिन्तकसम्म पनि रूपान्तरण भएर अर्थात् नयाँ संस्कृति अवलम्बन गरेर उदाहरण र नमुना प्रस्तुत गर्नुपर्छ र यसलाई विस्तार र विकास गर्ने नीति, योजना र कार्यक्रम बनाई लागू गर्नुपर्छ । रूपान्तरण क्रमशः र स्वतः पनि हुन्छ केही । केही छलाङमा, योजनामा र बलप्रयोगमा हुन्छ । क्रमशः र स्वतः हुनेमा मात्र विश्वास गर्नु स्वतस्फूर्ततावाद हो र क्रमशः मात्रै हुन्छ भनेर चूपचाप बस्नु सुधारवाद हो । धार्मिक दृष्टिले मात्र दसैँँ–तिहारजस्ता चाड मनाइएका होइनन् ।

सामाजिक पक्ष, संवेदनात्मक पक्ष, मनोरञ्जनको पक्ष र उत्सव पनि यिनमा सन्निहित भएको कुरा सही छ । दसैँँ कुरूप पक्षमाथिको विजय त हो तर यसको विकल्प सहिद सप्ताह भने अलि नहोला कि ? जनयुद्ध दिवस, गणतन्त्र दिवसजस्ता उत्साह र उमङ्गमय दिवस पो विजय दिवस हुनसक्छ । सांस्कृतिक रूपान्तरणका लागि शिक्षा, सञ्चार र संस्कृतिजस्ता तीन क्षेत्रमा हस्तक्षेप बढाउनुपर्दछ तर राजनीति र अर्थनीतिमा हस्तक्षेप भएन भने पनि त्यो कमजोर हुन्छ । तसर्थ दुवैलाई सँगसँगै लैजानु उपयुक्त र अनिवार्य हुन्छ ।

क्रान्तिकारी संस्कृति राष्ट्रवादी, जनवादी, प्रगतिवादी, वैज्ञानिक, सरल र सरस हुन्छ र हुनुपर्छ र यस्तो नीति निर्णय गरेर नै तय गर्नुपर्छ, जो हामी क्रान्तिकारी भन्ने कम्युनिस्टहरूकै प्रमुख कार्यभार हो । अन्यत्र बाहिरबाट यसप्रकारको वैल्पिक संस्कृतिको अपेक्षा गर्नु गलत र मृगतृष्णा मात्र हुनेछ ।

हामीले नयाँ संस्कृति निर्माण र अवलम्बन गर्ने हो र नयाँ गर्ने नाममा समाजबाट अलग त हुनु हुँदैन तथापि अलग हुनु हुन्न भन्ने नाममा समाजले नबुझ्दासम्म अवलम्बन नगर्ने हुनाले हामीले पनि नयाँ अवलम्बन नगर्ने गर्नु हुँदैन । हामीले नयाँको वैज्ञानिकता, सामाजिकता बुझेर अवलम्बन गर्न छोड्नु हुँदैन ।

कुनै संस्कार–संस्कृति रूपमा फरक भए पनि सारमा फरक नहुनेप्रति सजग हुनुपर्छ । राजा मान्ने संस्कृति त्याग गरे पनि राजाजस्तै शक्तिशाली नेता, प्रशासक, पैसावाल वा सत्तावाललाई मान्ने संस्कार–संस्कृतिको विकास हुने–गर्ने गर्नु हुँदैन, तिनको रूप फरक भए पनि सार एउटै हो । (केही समयअघि काठमाडौँमा नयाँ संस्कारको खोजी गर्दै आयोजना गरिएको गोष्ठीमा व्यक्त विचारको सार ‘परम्परागत संस्कार–संस्कृतिको विकल्पको खोजी’ पुस्तकबाट लिइएको हो– सं.)
२०७५ असोज २७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :