पत्रकार सङ्गठनले गर्‍यो बृहत् अन्तरक्रिया

 

दाङ : दाङका पत्रकार तथा अधिकारीकर्मीले सरकार मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्दै गएको टिप्पणी गरेका छन् ।  क्रान्तिकारी पत्रकार सङ्गठन केन्द्रीय समितिको आयोजना र दाङ जिल्ला समितिको संयोजनमा दाङको घोराहीमा आयोजित अन्तरक्रियाका वक्ताले अपेक्षाअनुसार संविधानले प्रत्याभूत गरेका अधिकारलाई कार्यान्वयन गर्ने विषय कमजोर देखिएको बताए ।

उनीहरूले पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि निरन्तर आवाज उठाउनुपर्ने र आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको बताए । कार्यक्रममा मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले स्वतन्त्र प्रेसबिना मानवअधिकारको रक्षा हुन नसक्ने बताए । अहिले पनि राज्यका निकाय मानवअधिकारप्रति जिम्मेवार बन्न नसकेको टिप्पणी उनले गरे ।

नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनले समाचार लेखेकै भरमा कुनै पनि पत्रकारमाथि धरपकड गर्ने कार्य बन्द गर्नुपर्नेमा जोड दिए । पत्रकारले समाचार लेखेकै भरमा पक्राउ गर्ने तथा मुद्दा चलाउने कार्य आपत्तिजनक रहेको उनले उल्लेख गरे । अध्यक्ष प्रियासनले प्रेस स्वतन्त्रताविरोधी कानुनहरू संशोधन तथा खारेज गर्न माग गरे ।
नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष प्रताप रेग्मीले सरकार प्रेसप्रति अनुदार रहेको तर अब चाहेर पनि कसैले प्रेस स्वतन्त्रता खोस्न नसक्ने बताए । उनले समाजवाद उन्मुख भन्ने राज्यले प्रेसमाथि दमन गर्ने कुरा विश्वास गर्न नसकिने बताए । तर अहिलेको दुईतिहाइको सरकार भनिए पनि लर्खराइरहेको उनको टिप्पणी थियो ।

अखिल नेपाल शिक्षक सङ्गठन प्रदेश नम्बर ५ का संयोजक नारायण भण्डारीले सरकार फरक विचार राख्नेविरुद्ध दमनमा उत्रिएको भन्दै आलोचना गरे । भण्डारीले शिक्षकहरूको अवस्था दयनीय रहेको र खान पनि नपुग्ने स्थिति रहेको भन्दै गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

पत्रकार नरेन्द्र केसीले अहिले सरकार फरक विचार र आस्था राख्नेप्रति अनुदार बनेको बताए । उनले मानवअधिकार रक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरे ।

राप्ती पोस्ट दैनिकका सम्पादक शरद अधिकारीले प्रेस तथा अभिव्यक्तिलाई अप्ठ्यारो पार्ने कानुनहरू संशोधन गर्नुपर्नेमा जोड दिए । हिजोका दिनमा जटिलताका बीचमा पनि पत्रकारिता गरेको तर अहिलेसम्म खासै परिवर्तन हुन नसकेको गुनासो उनको थियो । 

नेकपाका सचिवालय सदस्य किरण डाँगीले अहिले आफ्नो पार्टीलाई शान्तिपूर्ण कार्यक्रमसमेत गर्न नदिइएको बताए । आफ्नो नेतृत्वलाई धरपकड गरिरहेको भन्दै उनले कुनै कार्यक्रम गर्दा पनि अनावश्यक निगरानी गरिरहेको प्रस्ट पारे । उनले सरकारबाट वार्ताको आह्वान भए पनि केका लागि भन्दै प्रश्न गरे । अहिले शान्तिपूर्ण कार्यक्रम गर्न नदिने तथा अनुमानका भरमा सरकारले दुःख दिने काम गरेको उनले बताए ।

२०७५ असाेज ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :