नेकपा सेती र महाकाली ब्युरोको संयुक्त बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सेती-महाकाली ब्युरोको संयुक्त बैठक सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा उक्त पार्टीका पोलिटब्युरो सदस्य कमरेड ओमप्रकाश पुन उपस्थित थिए । बैठकले मङ्सिर ८ गते काठमाडौँमा सम्पन्न विशाल प्रदर्शन र जनसभामा सेती-महाकालीको सशक्त उपस्थिति रहेको निष्कर्ष निकाल्दै आगामी सङ्गठन र सङ्घर्षका कार्यक्रमहरू तय गरेको छ । बैठकले पार्टीको सङ्गठन सुदृढीकरण र विस्तार अभियानलाई थप निरन्तरता दिनका लागि विभिन्न कार्यक्रमहरू तय गरेको छ ।
बैठकमा पार्टी केन्द्रको निर्णयबमोजिम मङ्सिर १६ गतेको निर्मला पन्तको बलात्कार र हत्याका विरुद्धको विरोधसभा कञ्चनपुरको सदरमुकाम भीमदत्त नगरमा भव्य र सानदार भएको, मङ्सिर १८ गते पश्चिम कमान्डस्तरीय कम्युनिस्ट विद्यार्थी अभियान कैलालीको लम्कीमा भएको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको, कैलालीमा सामना परिवारको उपस्थितिमा लम्की, टीकापुर, सुख्खड, हसुलिया, बौनिया र मसुरियाका जनसभाहरू भव्य रूपले सम्पन्न भएको निष्कर्ष निकालिएको थियो ।
बैठकले आउँदो पुस ११ गते पर्ने माओ दिवसमा कैलालीको धनगढीमा पार्टीका प्रवक्ता कमरेड प्रकाण्डको प्रमुख आतिथ्यमा केन्द्रीय सामना परिवारको सहभागितासहित सभा गर्ने निर्णय गरेको छ । सामना परिवारको साथमा यही मङ्सिर २७ गते डोटीको जोरायलमा, २९ गते डँडेल्धुराको जोगबुढा र पुस १ गते आलितालमा, ३ गते बझाङको सदरमुकाम चैनपुर र ५ गते बुङलको बिचगडामा, पुस ७ गते बैतडीको सदरमुकाम गोठालापानी, ९ गते दार्चुलाको सदरमुकाम खलङ्गामा, ११ गते कैलालीको धनगढीमा, १३, १४ र १५ गते कञ्चनपुरको कृष्णपुर, शुक्लाफाँटा र बेलौरीमा, १७ गते डोटीको सदरमुकाम सिलगढीमा, १९ गते बाजुराको सदरमुकाम मार्तडीमा, २१ गते अछामको साँफेमा, २२ गते सदरमुकाम मङ्गलसेनमा र २२ गते विनायकमा विशाल जनसभाहरू गर्ने निर्णय पनि बैठकले गरेको छ । ती जनसभाहरूलाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलगायत जनवर्गीय सङ्गठनका केन्द्रीय र पार्टीका ब्युरोस्तरीय नेताहरूले सम्बोधन गर्ने निर्णय भएको छ । साथै बैठकले सेती–महाकालीमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई लिएर सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ भने सरकारले फेरि निर्मला पन्तका हत्यारालाई बचाउने नाममा निर्दोषहरूलाई फसाउने षड्यन्त्र गर्न लागेकोमा त्यसका विरुद्ध पनि सङ्घर्ष गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने निर्णय गरेको छ ।

२०७५ मङ्सिर २६ बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :