नेकपाको कार्यक्रममाथि प्रहरी हस्तक्षेप, इन्चार्जलाई प्रहरीको हातबाट कार्यकर्ताले खोसे


रोल्पा : नेपाल कम्युनिस्ट पार्टीले रोल्पा जिल्लामा आयोजना गरेको जनसभामा प्रहरीले हस्तक्षेप गरेको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत शनिबार ऊर्जामन्त्री वर्षमान पुनको छिमेकी गाउँ माडीचौरमा आयोजना गरिएको जनसभामाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

सांस्कृतिक कार्यक्रमसहित जनसभा सुरु भएको केही समयमै प्रहरीले हस्तक्षेप गरेर बिथोल्न खोजेको नेकपा रोल्पाले जनाएको छ ।
मन्त्री पुनको आदेशमा आफ्नो कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको नेकपाले आरोप लगाएको छ । कार्यक्रम स्थलमा पुगेका प्रहरीले माथिको आदेश भन्दै कार्यक्रम बिथोलेको थियो ।

प्रहरीले नेकपाका रोल्पा नगरपालिका इन्चार्ज टीकाराम नेपाली र टेकराज पुनलाई गिरफ्तार गरेको थियो । तर, कार्यकर्ताहरुले दुबै नेतालाई प्रहरीको हातबाट खोसेका थिए । उनीहरुले नछोडे जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने चेतावनी दिएका थिए ।

प्रहरीले कार्यक्रममा प्रयोग गरिएको झण्डा, ब्यानर च्यात्न खोजेपछि केही समय तनावपूर्ण स्थिति सिर्जना भएको थियो । नेकपा कार्यकर्ता र कार्यक्रमका सहभागीहरुले सरकार र प्रहरीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

२०७५ पुस १ गते अाइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :