नेकपाको अभियानमा हजारौँ जनता सङ्गठित

काठमाडौँ : हालै मात्र सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको नेकपाले देशैभरि व्यापक सङ्गठन विस्तार गरिएको जनाएको छ । उक्त सङ्गठनका एक केन्द्रीय सदस्यले पार्टी योजनाको अपेक्षाअनुरूप नै देशैभरि हजारौँ जनता आफ्नो पार्टी, सङ्गठन र आफ्नो पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनहरूमा आबद्ध भएको जनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको लुम्बिनी ब्युरोमा कार्यरत अभियान टोलीले मात्र हजारौँ मानिसलाई आफ्नो सङ्गठनमा सङ्गठित गरेको छ । उक्त ब्युरोमा रहेको १७ वटा अभियान टोलीले ३ सय १७ वटा सेल निर्माण गरेको छ । नेकपाको सबैभन्दा तल्लो पार्टी एकाइ– पार्टी सेल  हो । उक्त ब्युरोमा मात्र चार सय ७७ वटा विभिन्न जनवर्गीय सङ्गठन गठन गरिएका छन् । यस्तै तीन सय चारवटा जनभेला सम्पन्न गरिएका छन् । ती जनभेलाहरूमा हजारौँ मानिस सहभागी भएका छन् । अभियान टोलीले ६ सय ३९ ठाउँमा भित्तेलेखन गरेको अभियान टोलीका सदस्य सदनले बताए ।
लुम्बिनी ब्युरोमा असोज २५ गते समीक्षा कार्यक्रम आयोजना गरिएको थियो । उक्त समीक्षा कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर ‘विषम’ को उपस्थिति थियो । रूपन्देहीको सैनामैनामा सम्पन्न कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले अध्यक्षता गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विजय पनि उपस्थित थिए । ब्युरोअन्तर्गत रहेका सबै जिल्लाका इन्चार्ज, सेक्रेटरी र त्यस क्षेत्रमा क्रियाशील अभियान टोलीका कमान्डरहरू समीक्षा कार्यक्रममा सहभागी थिए । कार्यक्रममा केन्द्रीय अभियान टोलीका कमान्डरहरू विजय, पूर्णबहादुर सिंह, विजेता र सङ्गमले समीक्षा रिपोर्ट प्रस्तुत गरेका थिए । यस्तै रूपन्देही इन्चार्ज सङ्गम, सेक्रेटरी अमर, कपिलवस्तु इन्चार्ज जुझारु, सेक्रेटरी सुनील, पाल्पा सेक्रेटरी भुवन, गुल्मी इन्चार्ज धीरज, परासी सेक्रेटरी अग्निकुञ्ज, विशेष जिल्ला सेक्रेटरी विश्वास, अर्घाखाँची इन्चार्ज कमल, सेक्रेटरी खिम, नवलपुर इन्चार्ज सुमन, परासी इन्चार्ज शरद र पाल्पा इन्चार्ज सामनाले आआफ्नो क्षेत्रको रिपोर्ट प्रस्तुत गरेका थिए ।

२०७५ असोज ३० गते मंगलबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :