दलाल पुँजीवादी सत्ता असफल भइसकेको छ – विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

 

१) रातो खबरमा महासचिव कमरेडलाई स्वागत छ ।

रातो खबरलाई धेरैधेरै धन्यवाद !

२) गत मङ्सिर ८ गते पार्टीको आयोजनामा भव्य एवम् सानदार जनप्रदर्शन र जनसभा भयो । वर्तमान राज्यले भीषण दमन गर्दागर्दै पनि यसरी ठूलो सङ्ख्यामा जनताको सहभागिता हुनुको कारण के होला ?

यसको पहिलो कारण त हाम्रो पार्टीका नेता, कार्यकर्ता, सदस्य कमरेडहरूले जनता र देशका पक्षमा अथक रूपमा गरिरहनुभएको इमानदारीपूर्ण मेहनत हो । दोस्रो कारण आमजनता वर्तमान दलाल पुँजीवादी सत्तासँग सहमत छैनन् भन्ने हो । तेस्रो कारण कम्युनिस्ट भनिने सामाजिक दलाल पूँजीवादी सरकारले जनता र देशको हितमा काम गरिरहेको छैन र जनता यससँग पनि खुसी छैनन् भन्ने हो । चौथो, जनता हाम्रो पार्टीले अगाडि सारेको दलाल पुँजीवादी सत्ताको सट्टा वैज्ञानिक समाजवादी राज्यसत्ता र एकीकृत जनक्रान्तिसँग सहमति राख्छन् भन्ने हो । यी यस्ता कारणहरू हुन् जसले पार्टी पुनर्गठन दिवस भव्य रूपले सम्पन्न भयो ।

३) दुईतिहाइ बहुमतको सरकार बन्दा पनि यो राज्यले जनताका पक्षमा कुनै काम गर्न नसक्ने मात्र होइन, दिनदिनै बदनाम भैराखेको छ । यसलाई कसरी हेरिराख्नुभएको छ ?

ठीक भन्नुभयो । संसद्मा कुन पार्टीले कति सिट जित्यो, बहुमत कसको भयो, कस्तो बहुमत भयो भन्नेद्वारा जनता र देशका पक्षमा काम हुने–नहुने फैसला हुँदैन । यो कुन वर्गको सत्ता हो र यसले कसको हित र सेवामा काम गर्छ भन्ने कुरा मुख्य हुन्छ । सत्ताले जहिले पनि आफूभन्दा माथि वर्गस्वार्थलाई राखेको हुन्छ । नेपालमा श्रमिक वर्गीय सत्ता वैज्ञानिक समाजवाद नभएपछि यसले जनता र देशको हितमा काम गर्ने त कल्पनै भएन । यो प्रगतिशील पुँजीपति वर्गको सत्ता पनि नभएपछि पुँजीवादी सत्ताले जति सुधारको काम पनि जनताका पक्षमा गर्न नसक्ने भयो । यो दलाल पुँजीपति वर्गको सत्ता हुनुका कारण यसले साम्राज्यवादी शक्तिहरूको स्वार्थअनुकूल काम गर्नुपर्छ भने नेपालमा उनीहरूका जुठोपुरो चाट्ने दलालहरूको हितमा काम गर्नुपर्छ । त्यसको परिणाम यस्तै हुन्छ ।

४) पुनस्र्थापित संसदीय व्यवस्था फेरि विफल भएको अवस्थामा पार्टीले के सोचिरहेको छ ?

दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन गर्नु र त्यसको ठाउँमा श्रमिक वर्गीय सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्नु पार्टीको मूल उद्देश्य हो । त्यसका लागि सही विचार निर्माण गर्नु, कार्यदिशा र योजनाहरू निर्माण गर्नु, जनतालाई त्यसका पक्षमा सङ्गठित र परिचालित गर्नु साथै क्रान्तिलाई अविराम अगाडि बढाउनु हाम्रो जिम्मेवारी हो । शान्तिवार्तामा हामीलाई धोका भएपछि नै हामी निरन्तर क्रान्तिमा अगाडि बढिरहेका छौँ ।

५) यसअघि भारतीय हस्तक्षेप एकलौटी थियो । अहिले पश्चिमाहरूको पनि प्रत्यक्ष सहभागिता देखिएको छ । यसले नेपालको राजनीतिमा कस्तो प्रभाव परेको देख्नुभएको छ ?

सही भन्नुभयो । केही समययता पश्चिमा शक्तिहरूको हस्तक्षेप र प्रभाव देशमा बढेको छ । तर यो एकदमै नयाँ होइन । यसलाई साम्राज्यवादी—उत्तरसाम्राज्यवादी शक्तिहरूको आपसी खिचातानीको सार्वभौमिक आयाम मान्न सकिन्छ । पुँजीपतिवर्ग विश्व–पुँजीवादी व्यवस्थाको नेता भए पनि यही वर्गभित्रैका विभिन्न समूहहरू बजार नियन्त्रण र मुनाफा कुम्ल्याउने सङ्घर्षमा दुस्मनीपूर्ण प्रतिस्पर्धा गरिरहन्छन् । नेपाल हालसम्म पनि विभिन्न पुँजीवादी तत्वहरूको प्रतिस्पर्धा गर्ने र प्रभाव बढाउने स्थल बनेको छ । पश्चिमा हाबी भएजस्तो देखिनुमा समकालीन विश्वराजनीतिमा नेपालको सामरिक महत्व बढ्नु हो । चीन र भारत यसका कारणमा छन् । यद्यपि नेपालको प्राकृतिक सम्पदा पनि यसको कारणमा छ ।

६) देशमा वैदेशिक हस्तक्षेप र देशीय प्रतिक्रियावादीहरूको साँठगाँठमा अर्को प्रतिगमन हुने सम्भावना देखिएको छ ?

यसलाई पूरै इन्कार गर्न सकिँदैन तर नेपाली जनताको क्रान्तिकारी एवम् परिवर्तनकारी चरित्रका कारण यो सम्भावना कमजोर छ । यसको तुलनामा राज्यको असफलतालाई वैज्ञानिक समाजवादी क्रान्तिद्वारा जनताको सत्ता निर्माणको सम्भावना मुख्य देखिन्छ । जनता नै जुनकुनै परिवर्तनका मुख्य आधार शक्ति हुन् । यसरी भन्दा नेपाली जनताले दलाल पुँजीवादबाट पनि पछि फर्किन मान्लान् भन्ने लाग्दैन ।

७) विभिन्न क्रान्तिकारी पार्टीहरूका बीचमा एकताको कुरा चलिरहेको थियो । यसका बारेमा बताइदिनुस् न ?

हो हाम्रो पर्टीले सबै क्रान्तिकारीहरूसँग चाहे पार्टी होऊन्, चाहे व्यक्तिसँग एकता गर्ने नीति लिएको छ र दिन–प्रतिदिन भई पनि राखेको छ । हालैका दिनमा निकै महत्वपूर्ण व्यक्तित्वहरू कमरेड दीर्घ पाण्डे, कमरेड नरबहादुर कार्कीलगायतसँग एकता भयो । कैयौँ क्रान्तिकारीहरूसँग छलफल चलिरहेको छ । जसले दलाल पुँजीवादी सत्ताविरुद्ध विद्रोह गर्न आफूलाई तयार गर्नुभएको छ उहाँहरुसँग एकता भइरहेको छ र हुुँदै जानेछ । हाम्रो विशेष आग्रह छ– सबै क्रान्तिकारीहरू एकताबद्ध बनौँ । नेकपा (एमाले—माके) भित्रका इमानदार कमरेडहरूले पनि यसबारेमा सोच्नुपर्छ । जहाँसम्म संस्थागत ढङ्गले एकताको कुरा हो क्रान्तिकारी माओवादी, माओवादी केन्द्र, नेकपा (ऋषि कट्टेलले नेतृत्व गर्नुभएको) जस्ता पार्टीहरूका बीचमा पार्टीएकताबारे छलफल भइरहेको छ तर टुङ्गो लागेको छैन । एकताका पक्षमा वातावरण बनाउन संयुक्त मोर्चामा भए पनि काम गरौँ भन्ने हाम्रो दृष्टिकोण छ ।

८) केपी—प्रचण्डहरूले कम्युनिस्टहरूको बदनाम गरिरहेको स्थितिमा उनीहरूको प्रतिवाद कसरी गर्ने सोच्नुभएको छ ?

कम्युनिस्ट हुनु राम्रो कुरा हो तर कम्युनिस्ट भएर जनताका बैरी दलाल पुँजीपति वर्गलार्ई सहयोग गर्नु नराम्रो कुरा हो । केपी—प्रचण्डहरूले वास्तविक कम्युनिस्ट विचार, पार्टी र सरकारको नेतृत्व गरिरहेका छैनन् । यी नाम मात्रका कम्युनिस्ट, व्यवहारजति सबै पुँजीपति वर्गकै भएका तत्वहरू हुन् भन्ने जनताले बुझ्दै गएका छन् । हाम्रो जोड विभिन्न तरिकाद्वारा, छिटोभन्दा छिटो, धेरैभन्दा धेरै जनतालाई नक्कली कम्युनिस्टबारे विचार दिने, उनीहरूलाई परास्त गर्ने, सबैतिर छरिएर रहेका क्रान्तिकारी एवम् कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने र दलाल पुँजीवादी सत्ताका विरुद्ध क्रान्तिलाई निर्णायक बनाउनेतिर नै जोड हुन्छ । हामीले यो काम निरन्तर गर्दै पनि आएका छौँ ।

९) सरकारले वार्ताको कुरा ग¥यो तर तपाईंहरूले वास्तै गर्नुभएन भन्ने छ नि ?

यो एकदमै भ्रामक र दुर्नियतपूर्ण प्रचार हो । सरकारले विभिन्न सञ्चारमाध्यम र मञ्चहरूमा वार्ताको हल्ला मच्चायो, अमूर्त वार्ताको प्रचार ग¥यो तर हामीलाई वार्ताबारे कुनै पनि आधिकारिक एवम् जिम्मेवारीपूर्ण जानकारी छैन ।

१०) वार्ता गर्नुभएन भन्दै सरकारले फेरि दमन सुरु गरेको छ । कमरेड प्रकाण्ड, कमरेड जीवन्तलगायत नेतालाई वारेन्ट गरिएको छ भने गिरफ्तारी पनि सुरु गरेको छ । यसबारे के भन्नुहुन्छ ?

हो, केपी—प्रचण्डको सरकारले दमन बढाएको छ । यसले के स्पष्ट गर्छ भने उनीहरूले वार्ताको अमूर्त हल्ला जसरी चलाए, त्यो पनि समस्यालाई हल गर्नका लागि गम्भीरतापूर्वक गरेको पहल नभई जनताको आँखामा छारो हाल्न र दमन गर्नका लागि गरिएको जाल मात्र थियो । हामीले उचित ध्यान नदिएको भए वार्ताको आडमा कैयाँै देशमा (भारतमा कमरेड आजादको निर्मम हत्या गरे) मा भएजस्तै कुनै पनि घटना हुन सक्थ्यो भन्ने स्पष्ट हुन्छ । उनीहरूको षड्यन्त्र असफल भएको छ । तर केपी—प्रचण्डले के बुझ्नुपर्छ भने हाम्रा नेताहरूलाई शान्तिपूर्ण कार्यक्रममा सहभागी बन्न दिइएन भने उनीहरूले पनि गम्भीर प्रतिरोधको सामना गर्नु पर्नेछ । उनीहरूका कार्यक्रमहरू पनि चल्न सक्ने छैनन् ।

११) के अब राज्यसँग युद्धको खतरा बढेको हो ?

यो पूरा सत्य हो– सरकार जनता र देशका पक्षमा कुनै पनि लोकप्रिय काम गर्न नसकेर असफल भएपछि आफ्नो कुर्सी टिकाउने नक्कली बहाना खोज्दैछ । त्यसको सबैभन्दा सजिलो तरिका भनेको बनावर्टी द्वन्द्व मच्चाउनु हो । श्रमिक जनतालाई युद्धको भुमरीमा पार्नु हो । तर हामीले भनेका छौँ– देशलाई युद्ध चाहिएको छैन, शान्ति चाहिएको छ । तर दलाल पुँजीवादी सत्ता रहेसम्म शान्ति र समृद्धि सम्भव नभएकाले यसलाई फ्याँक्ने क्रान्ति चाहिएको छ । क्रान्तिपछिको वैज्ञानिक समाजवादले मात्र जनतालाई वास्तविक अर्थको शान्ति दिनसक्छ । हाम्रो पार्टीले त्यसैका लागि मेहनत गरिरहेको छ ।

१२) क्रान्ति सम्पन्न नहुँदासम्म जनताका पक्षमा कसरी काम गर्नुहुन्छ ?

हामीले दृढ अठोट गरेका छौँ– हाम्रो जीवन श्रमिक जनता र देशका लागि हो । हामीले जे–जति दुःख, कष्ट, त्याग र मेहनत गरेका छौँ त्यो सबै जनताकै हितका लागि हो । दलाल पुँजीवादी सत्ताका विरुद्ध जनसत्ताहरू सङ्गठित गरेर, जनताका समस्याहरूमा हातेमालो गरेर, देशको सार्वभौमिकताको रक्षा गर्न लडेर काममा समर्पित हुनेछौँ । हेर्नुस्, हामीले जनताको मुक्तिकै लागि भनेर सबै त्याग गरेका छौँ । जनताले यो कुरा बुझेका छन् र एक दिन जनता र हाम्रो बलमा दलाल पुँजाीवादी सत्तालाई समाप्त पार्नेछौँ ।

१३) काङ्ग्रेस, राप्रपालगायत पार्टीले त केपी—प्रचण्ड सरकारको असफलतलाई कम्युनिस्टकै असफलता भन्दै हिँडेका छन् नि ?

यो जनतालाई भ्रमित पार्ने प्रचार हो । न केपी—प्रचण्डहरू कम्युनिस्ट हुन्, न त उनीहरूको असफलता नै कम्युनिस्टहरूको असफलता हो । केपी—प्रचण्डहरू भनेका त क्रान्ति गर्न सकिँदैन, पुँजीवादी संसदीय व्यवस्थामै सरकारसम्म बनाएर पुँजीवादीकै सेवा गर्छौं भनेर आत्मसमर्पण गर्न पुगेका विचलित तत्वहरू हुन् । संशोधनवाद भनेको पुँजीवादी सत्ताकै एक भाग हो । जहाँसम्म उनीहरूको असफलताको कुरा छ त्यो सरकारको मात्र असफलता होइन, अपितु दलाल पुँजीवादी सत्ताकै असफलता हो । यो सत्ता रहेसम्म जो सरकारमा गए पनि यस्तै हुने हो । काङ्ग्रेस पनि असफल भइसकेको पार्टी होइन र ! परिवर्तन सरकारको होइन, सत्ताको आवश्यकता छ । जनताले यो बुझ्नुपर्छ ।

१४) पछिल्लो समयमा देशभित्र धार्मिक अतिवाद देखापरिराखेको छ । यसका बारेमा पार्टीको धारणा राखिदिनुस् न !

यो धेरै चिन्ताको विषय हो । मध्ययुगको अन्त्यदेखि उन्नाईसौँ शताब्दीसम्म जनताले दुत्कारेको धर्मको विषयलाई नेपालमा आज जनता विभाजित पार्ने र भिडाउने खेलमा प्रयोग गरिँदैछ । धर्म भनेको जनतामाथि शोषण र शासन गर्ने हतियार हो । शासकहरूले आफ्नो अत्याचार, उत्पीडन र दमनलाई सही साबित गर्न, आफूलाई भगवान्को दूत बताएर जनतामाथि अमानवीय लूट मच्चाउन प्रयोग गरेको हतियार हो धर्म । अत्यधिक श्रमिक जनताको भाग्य भत्केको देखाएर आफूलाई भाग्यमानी देखाउन शासकहरूले धर्मलाई प्रयोग गरे । धर्म जुनसुकै होस् सबै एकै हुन् । हिन्दु, क्रिस्चियन, मुस्लिम, बौद्ध सबैको एउटै सार हो– भववान्, प्रभु, अल्लाह देखाएर जनतालाई लुट्ने । विडम्बनाको कुरा के भयो भने कम्युनिस्ट भन्ने केपी—प्रचण्डहरूले क्रिस्चियनलाई प्रोत्साहन दिन अर्बौं रुपैयाँमा आफूलाई बेचेका छन् । यहाँ हिन्दुको सट्टा क्रिस्चियन भएर के हुन्छ ? के युरोपलाई मध्ययुगमा पोपको गिर्जाघरले जङ्गली, दानवी शासन गरेको होइन ? पोप र पादरीहरूलाई जनताले लखेटेर राजनीति गर्न नपाउने बनाएर थन्क्याइदिएका होइनन् ? अनि नेपालमा यी आएर के नयाँ हुन्छ ! ब्रह्मा, विष्णु र रामले नपुगेर जनता ठग्न ईशु ल्याइरहेका छैनन् ! यो सब दलाल पुँजीपतिवर्गले आफ्नो राज चलाउन चालिरहेका झेल हुन् । हामीले जनतालाई स्पष्ट पार्नुपर्छ– धर्म, भागवान्, ईश्वर सब नभएका झूट, बकबास र कल्पना हुन् । यी जनताको दिमाग समाप्त पार्ने विष हुन् । यसको भ्रममा पर्नु हुँदैन । हामीले ज्ञान र विज्ञानमा विश्वास गर्नुपर्छ ।

१५) अरू केही भन्नुहुन्छ कि ?

मैले पार्टीका धारणा राख्न पाएकोमा धन्यवाद !

२०७५ माघ ४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :