दलाल पुँजीवादी राज्यसत्ताको विकल्प वैज्ञानिक समाजवाद

भनिन्छ नेपालमा कम्युनिस्टहरूको दुई तिहाइ बहुमतको सरकार छ । झ्वाट्ट हेर्दा हो किजस्तो पनि देखिन्छ तर सत्य त्यो होइन । यो त सामाजिक दलाल पुँजीवाद समाजवाद हो अर्थात् दलाल पुँजीवादी नामधारी कम्युनिस्टहरूको सरकार । यसको सार दलाल पुँजीवाद हो । जनता र राष्ट्रप्रेमी नेपाली नागरिकले बुझ्नुपर्ने कुरा यहीँनिर हो ।

खुसीको कुरा एक वर्ष नहुँदै यी कथित कम्युनिस्टहरूको सरकारको धज्जी उडेको छ । यी असफल मात्र भएका छैनन्, बदनाम पनि भएका छन् । यो कम्युनिस्टहरूको असफलता होइन, दलाल संसदीय व्यवस्थाको असफलता हो । यो यसकारणले पनि स्वाभाविक थियो भने पहिलो त नेपाल होस् वा विश्वभरि जुनसुकै देशमा पनि साम्राज्यवादले कम्युनिस्टको सत्ता र सरकारलाई हेर्न त के सुन्न पनि चाहन्न । त्यो चाहे क्रान्तिकारी होस् वा संसद्वादी पुँजीवादी कम्युनिस्ट, त्यसलाई सफल त के एक वर्ष पनि सरकारमा टिक्न दिँदैनन् ।

दोस्रो कारण नेपालमा कम्युनिस्टविरोधी जनमत पनि छ । यो सामाजिक रूपले पछि परेको चेतनाको कारणले सम्भव भएको हो । यसलाई वैज्ञानिक शिक्षा र चेतनाले मात्र हल गर्दछ । यही पिछडिएको चेतना र अवैज्ञानिक शिक्षाको जगमा उभिएको राजनीतिको उपज नै कम्युनिस्टविरोधी राजनीतिक दलहरूको जन्म हुन्छ । नेपालमा काङ्ग्रेस, राप्रपा, मधेसवादी दलहरू, क्षेत्रवादी, जातिवादी, धर्मवादी दलहरूको उपस्थिति यसैको जगमा भएको छ । यी सब कम्युनिस्टविरोधी छन् र ती सब साम्राज्यवादले संसदीय व्यवस्थाको बहुलवादी सिद्धान्त र कम्युनिस्टविरोधी व्यवस्थाका रूपमा खडा गरेका व्यवस्थाका अभिन्न अङ्ग हुन् । त्यसैले यी जतिखेर पनि कम्युनिस्टका विरुद्ध उभिन्छन् । स्वार्थ र कुर्सीको प्रलोभनमा सजिलै किनबेच हुन, यता र उता गरिरहने डोलायमान चरित्रका भएको हुनाले साम्राज्यवादले सजिलै किनिदिन्छन् । तिनको चरित्र र सोचाइ पनि प्रतिगामी र यथास्थितिवादी भएकाले यी कम्युनिस्टका पक्षमा हुँदैनन् । क्षणिक लाभका लागि समर्थन गर्न सक्छन् तर ती वैज्ञानिक समाजवादको विरोध गर्छन् ।

तेस्रो कारण हो– छिमेकी देश भारत कम्युनिस्टविरोधी हुनु, नेपाल भौगोलिक रूपले भूपरिवेष्ठित देश हुनु र यसको तीनतिरबाट भारतले घेरिनु, स्थलमार्ग, जलमार्ग र हवाईमार्ग सबै भारतको भूमि र आकाश प्रयोग गर्नुपर्ने बाध्यता, नेपाल प्राकृतिक साधनस्रोतको दृष्टिले धनी हुनु, आर्थिक उन्नतिको कारणले अहिले विश्वमै तहल्का मच्चाइरहेको जो आफ्नै विशिष्टताको समाजवाद वा कम्युनिस्ट देशका रूपमा चिनिन्छ, चीनसँग नेपालको सीमा जोडिनु अर्थात् कम्युनिस्ट सत्ता असफल बनाउन चीनलाई चारैतिरबाट घेर्ने साम्राज्यवादी रणनीतिअन्तर्गत नेपाल सामरिक दृष्टिले महत्वपूर्ण ठाउँमा अवस्थित हुनु जसको कारण सबै पुँजीवादी–साम्राज्यवादी देशहरूको गिद्देदृष्टि नेपालमा परिरहेको छ । साथै भारत र नेपालका शासक जातिहरू एउटै नश्ल, भाषा, संस्कृति, भावनात्मक रूपले दाइभाइको साइनो लगाउँदै आउनु आदिका कारण राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक हिसाबले भारतले निरन्तर हस्तक्षेप र निगरानीभित्र राख्दै नेपाललाई लामो समयदेखि अर्धउपनिवेश बनाउँदै आउनु र पछिल्ला दशकहरूमा नवउपनिवेश बनाउँदै आउनु आदिका कारण यो कथित कम्युनिस्टहरूको सरकार भए पनि यसलाई सफल हुन नदिनु नै सबै साम्राज्यवादीहरूको रणनीति छ । कसरी हुन्छ आफ्नो दलाल सरकार खडा गरेर नेपालबाट कम्युनिस्ट सिध्याउने तत्कालिक रणनीति छ भने दीर्घकालिक हिसाबले चीनलाई घेराबन्दी गरेर संसारमै कम्युनिस्टहरूको नामोनिशान मेट्ने र कम्युनिस्ट सत्ता नै असफल भएको साबित गर्ने साम्राज्यवादी रणनीति छ । यसअन्तर्गत अमेरिका, भारत, युरोपियन, यूएनको समेत चासो नेपालमा बढेको छ । उत्तरकोरिया, क्युबालगायत कम्युनिस्ट देशहरूलाई घेराबन्दी, नाकाबन्दी गरेर असफल बनाउने दृश्यहरू हामीले देखिरहेकै छौँ । यी सबै यसै रणनीतिअन्तर्गत छन् र हरेक चुनावहरूमा साम्राज्यवादीहरूको प्रत्यक्ष चलखेल र हस्तक्षेप भएको पनि हामी देखिहेरेकै छौँ । यी सब यसै रणनीतिअन्तर्गत भइरहेको छ । नेपाल त सधैँ यसको सिकार बन्दै आएको छ । त्यसको सामना गर्न नसकेर प्रचण्ड, केपीहरू साम्राज्यवादको टाङमुनि छिरेर उनीहरूको चाप्लुसी, दलाली गरेर सत्तामा पुग्ने र सरकार टिकाउने दौडमा काङ्ग्रेससँग प्रतिस्पर्धा गरिरहेका छन् । सत्य के हो भने साम्राज्यवादले कम्युनिस्टहरूलाई दलाल त बनाउँछ तर बदनाम र सन्तुलनका लागि मात्र । उनीहरूलाई कम्युनिस्ट बन्न नदिन र कम्युनिस्टहरूको बदनाम गराउने हदसम्म प्रयोग गर्दछ तर तिनको हातबाट विकास, समृद्धि र परिवर्तनको आस गर्नु मूर्खता र अबुझपना मात्र हो ।

त्यसैले हाम्रो पार्टीको गत निर्वाचनपछिको केन्द्रीय समितिको बैठकले के निष्कर्ष निकालेको थियो भने यो निर्वाचनमा स्पष्ट दुई तिहाइ बहुमत नपाए पनि कम्युनिस्टहरूको बहुमत आएकाले संसदीय नियमअनुसार कम्युनिस्टहरूको सरकार बन्नेछ । सक्दासम्म साम्राज्यवादीहरू पहिलो त सरकार नै बन्न नदिनेमा जानेछन् । बनाउने स्थिति बनेमा दलालीको सर्तमा झुकाएर मात्र सरकारमा लानेछन् । तर त्यो अवस्था आयो भने त्यो कम्युनिस्ट सरकार नाम मात्रको कम्युनिस्ट भए पनि त्यसलाई लामो समय टिक्न दिने छैनन् । यदि टिक्न दिए भने उनीहरूको टाङमुनि छिराएर मात्र केही समय टिकाउनेछन् । यस अवस्थामा कम्युनिस्ट सरकारले धेरै ठूलठूला बदनामी र कमाउनेछ । कम्युनिस्ट सरकारका नाममा कम्युनिस्टको बदनाम गर्नेछन् । उनीहरूले सत्तामा बस्न र सत्ता टिकाउन ठूलठूला राष्ट्रघातका घटनाहरू गराउनेछन् । महँगी, भ्रष्टाचार, कमिसन, तस्करी, कालोवजारी, देशका प्राकृतिक साधनस्रोतहरू बेचिने क्रम झन् तीव्र हुनेछ । आफ्नो सुखसुुविधाका लागि कर, महसुलहरू बढाउनेछन् । यसको विरोध हामी स्वाभिमानी नेपाली जनता, राष्ट्रवादी र देशभक्त क्रान्तिकारी सचेत नागरिकले गर्नु पर्नेछ र त्यो अवस्थामा फेरि दमन, धरपकड, झूट्टामुद्दा, जेलनेल र ठूलठूला नरसंहार तथा रक्तपातका घटनाहरू गराउनेछन् । जनता झन् समस्यामा पर्नेछन् । देश ऋणमाथि ऋणमा डुब्दैै जानेछ । देश सङ्कटमा पर्नेछ र यसले उचित र अग्रगामी निकास खोज्नेछ । त्यसको समाधान यो दलाल पुँजीवादी संसदीय व्यवस्थाले दिनेछैन । त्यस बेला सरकारप्रति व्यापक असन्तुष्टि बढ्नेछ र जनताले यसको विकल्प खोज्नेछन् । यसले देशमा गुणात्मक सङ्घर्षको सम्भावनालाई निम्त्याउनेछ । त्यसबेला क्रान्तिकारीहरूको पहलकदमी पुगेन भने देश प्रतिगमनको गम्भीर सिकार बन्नेछ । यसको परिणाम देश कि त साम्राज्यवादको गुलाम र कठपुतली बन्ने छ, कि जनताले नयाँ व्यवस्था स्थापना गर्नेछन् भन्ने हाम्रो निष्कर्ष थियो । अहिले देश हाम्रो त्यो निष्कर्षको सेरोफेरोबाट अघि बढिरहेको छ ।

यसै सन्दर्भमा यो पनि भनेका थियौँ– त्यो अवस्थामा प्रचण्ड, केपीहरूको कथित विकास, समृद्धि र परिवर्तनको नाराले हावा खाने छ । यो जनता ढाँट्ने र सरकारमा जाने नाराभन्दा अरू केही हुने छैन किनकि यो दलाल संसदीय व्यवस्थामा काङ्ग्रेस आओस् कि कथित कम्युनिस्ट जो आए पनि सत्तामा जानेहरूबाहेक जनताका लागि यो व्यवस्था असफल व्यवस्था हो । किनकि यो व्यवस्थामा साम्राज्यवादले नेता, कार्यकर्ता, जनता, सांसद, मन्त्री, कर्मचारी, सचिव, पुलिस, सेना र अदालतका न्यायाधीशसमेत किनिदिन्छ । यसका लागि यिनले लोकप्रियता कमाउन र जनता झुक्याउन न्याय, स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्र, गणतन्त्र, समानुपातिक, समावेशी, विकास, समृद्धि, समाजवादजस्ता नारा खुब ओराल्छन् र जनतालाई बेबकुफ बनाउँछन् । यो साम्राज्यवादी नारा हो । त्यसैले यो संसदीय लोकतन्त्र सामाजिक दलाल पुँजीवादीहरूको जनता बेबकुफ र उल्लु बनाएर क्रान्तिकारी कम्युनिस्टहरूलाई दबाउन, क्रान्ति र परिवर्तनलाई भुत्ते पार्ने र प्रतिगमनतिर धकेल्ने प्रतिगामी कदमभन्दा केही होइन भन्ने कुरा हामीले चुनावकै बेला प्रस्ट पार्दै चुनाव खारेजीका लागि आह्वान गरेका थियौँ । आज त्यो सत्य साबित हुँदै आएको छ ।

अर्को कुरा आज यो कथित कम्युनिस्ट सरकार असफल र बदनाम भएको छ । यो यस्तो हुनु थियो, हुन्थ्यो र भयो पनि । यो स्वाभाविक थियो र अनिवार्य पनि थियो । किनकि हामी यो कुरा कथित स्थानीय र सङ्घ÷प्रदेशको चुनावको बेलादेखि विभिन्न माध्यमबाट जनताका बीच भनेको भन्यै छौँ । यो भनिरहँदा हामीलाई जेल, नेल गरियो । भूmट्टा मुद्दाहरूको ओइरो लगाइयो । कति साथीहरू चुनावको बेला सहिद पनि भए, कति घाइते–अपाङ्ग भए् । आज पनि केही साथीहरू झूट्टा मुद्दामा जेलमा छन् । नेताहरूलाई इन्काउन्टर गर्ने वा मारिदिनू भन्ने प्रचण्ड–केपीको आदेश छ रे । यति हुँदाहुँदै पनि यी असफल र नाकामी हुँदै गएका छन् । हामी यो सरकार कम्युनिस्टको होइन है, यो सामाजिक दलाल पुँजीवादको हो भनेका भन्यै छौँ । यो संसदीय व्यवस्था हो, जनताको व्यवस्था होइन । यो दलालहरूको गठजोडमा बनेको सरकार हो, कोही पनि कथित कम्युनिस्टको सरकारको भ्रममा पर्न जरुरी छैन ।

सबैलाई थाहै छ, सत्ता पुरानै छ । नियमकानुन पुरानै छन् । मान्छे पनि उही पुरानै छन् । पार्टी पनि पुरानै छ । नाम जेजे गरे पनि उही त हुन् । हिजो राजाका पालामा पनि उही, आज पनि उही । संविधानमा राजा, राजतन्त्र भन्ने पदावली हटाइएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र लेखिएको छ, फरक यति हो । त्यसकारण यो व्यवस्था नयाँ बोतलमा पुरानै रक्सी भरिएको, झट्ट हेर्दा नयाँ हो कि भन्ने भ्रम दिने पुरानै व्यवस्था हो । यो दलाल पुँजीवादी व्यवस्था हो । यसमा नक्कली कम्युनिस्टहरूको लोगो (Tag) लागेकाले केही भ्रम पर्न गएको छ । यसमा भ्रम पर्नु हुँदैन ।

त्यसकारण यो सरकार कम्युनिस्टको सरकार होइन र यसको असफलता कम्युनिस्टहरूको असफलता होइन । बरु सत्य के हो भने यो असफलता दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफलता हो । यो बदनामी सामाजिक दलाल पुँजीवादको बदनामी हो । कम्युनिस्ट भ्रम मात्र हो । साथै केपी–प्रचण्डहरूको सरकारको विकल्प फेरि काङ्ग्रेसको सरकार वा राजा ज्ञानेन्द्रको आगमन हुन सक्दैन । यी दुईको आगमनले पनि इतिहासको अग्रगामी कदममा धेरै ठूलो रक्तपातलाई निम्त्याउनेछ । बितेको कुरा फर्केर आउँदैन । त्यो भूत भइसकेको हुन्छ । यो नबुझेको मान्छेलाई तर्साउने काल्पनिक विषयवस्तु मात्र हो । विगत भनेको इतिहास हो । त्यो सकारात्मक होस् वा नकारात्मक होस् त्यो इतिहास हो र इतिहासबाट शिक्षा लिने हो, न कि इतिहासलाई जस्ताको तस्तै ब्युँताउने । इतिहास भनेको वर्तमानको तीतो विगत हो । त्यसैले राजनीतिक इतिहासलाई वर्तमानको राजनीतिक म्युजियमको विषयवस्तुमा संरक्षित गर्नुपर्छ । राजा, काङ्ग्रेस, एमाले, माओवादी अब इतिहास बनिसकेका छन् । यो भाबी पिँढीलाई इतिहास जान्ने वा पढ्ने अवसर मिलोस् तर समाज विकासको पाइला सधैँ अग्रगामी गतिमा अघि बढ्छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन । यसको मतलब हो– यो दलाल पुँजीवादले जति रोक्न खोजे पनि वैज्ञानिक समाजवादलाई रोक्न सक्दैन । रुसी जनताको सर्वहारा क्रान्तिलाई न जारशाहीले रोक्न सक्यो न हिटलरले । नेपालमा पनि नेपाली जनताको मुक्तियुद्ध र क्रान्तिको चाहनालाई न यो सामाजिक दलाल पुँजीवादले रोक्न सक्छ, न त साम्राज्यवादले । यो त विकासको अग्रगामी धार हो जो गन्तव्य (साम्यवाद) मा नपुग्दासम्म निरन्तर अघि बढिरहन्छ । एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद अब यसको एक मात्र विकल्प हो ।

२०७५ माघ २१ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :