जुम्लामा सरकारी क्रुर दमन

काठमाडौँ : चिकित्सा क्षेत्र सुधारको माग राखेर जुम्लामा आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन नदिएको भन्दै प्रहरीले उनका समर्थकमाथि निर्मम दमन गरेको छ ।
डा. केसीका समर्थकहरुले सरकारी टोलीलाई केसीसँग भेट्न नदिएको र काठमाडौँ ल्याउन सहयोग नगरेको भन्दै अनशनरत कर्णाली स्वास्थ्य प्रतिष्ठानमा प्रहरी पुगेर अन्धाधुन्द अश्रुग्याँस र लाठी प्रहार गरेर दमन गरेको हो । प्रहरी दमनका कारण केसी समर्थक विद्यार्थी, डाक्टर र बिरामी कुरुवासमेत झन्डै ५० जना घाइते भएका छन् ।

अश्रुग्याँस र अन्धाधुन्ध लाठी प्रहार गरी सरकारले नरसंहार मच्चाउन खोजेको र झन्डै ५० जना घाइते भएको केसीनिकट डा. विषद दाहालले बताएका छन् ।
प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको भन्दै पीडितहरुले आक्रोश पोखेका छन् । आमरण अनशनमा बसेको २१ दिनसम्म राम्रो उपचार नपाएर स्वास्थ्य अवस्था खस्कँदै गएपछि सरकारले डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएको थियो । त्यसपछि अनशनस्थल तनावग्रस्त बनेको थियो । केसी काठमाडौँमा आउन नमानेपछि सरकारको सुरक्षा निकाय प्रहरीले नै झडपमा प्रहरीको मृत्यु भएको हल्ला फैलाएर केसीलाई दबाबमा पार्दै झुक्याएको परिचर्चा सुरु भएको छ । आमरण अनशनरत केसीलाई सेनाको हेलिकोप्टरमा राखेर बिहीबार साँझ काठमाडौँ ल्याइएको छ ।

केसीलाई शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि भर्ना गरिएको छ । माग पूरा नभएसम्म काठमाडौँ नआउने अड्डीमा बसेको समयमा आफू र जनसमुदायमाथि बल प्रयोग गर्दै प्रहरीले अवस्था भयावह बनाएको भन्दै केसी रोएका थिए । अवस्था तनावपूर्ण हुँदै गएपछि डा. केसी काठमाडौं आउन तयार भए पनि सेनाको हेलिकोप्टर प्रयोग नगर्ने अडान लिएका थिए । केसी सेनाको हेलीमा नआउने भएपछि प्रहरीले माइकिङ गर्दै एकजना प्रहरी जवानको मृत्यु भएको भनी सन्त्रास फैलाएको थियो । आफ्नो सत्याग्रहसँग जोडिएर भएको झडपका क्रममा प्रहरीकै मृत्यु भएको खबर सुनेपछि थप झडप र नोक्सान नहोस् भन्दै केसी रुँदै ‘अब म काठमाडौँ जान्छु’ भनेर तयार भएका थिए ।

यसैबीच अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलले डा. केसीले उठाएका जायज मागहरु पूरा गर्न र जनताको बाँच्न पाउने हकमाथि बन्देज नलगाउन सरकारसँग माग गर्नुभएको छ । सरकारी दमन निन्दनीय रहेको पनि उहाँको भनाइ छ ।
२०७५ साउन ४ गते दिउँसो ४ : २३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :