के होला भेनेजुयलामा ?

भेनेजुयलाको संयुक्त समाजवादी पार्टीको स्थापना हुनुभन्दा पहिला त्यहाँका पूर्वराष्ट्रपति ह्युगो चाभेजले बोलिभिएरिएन क्रान्तिकारी सेना—२०० स्थापना गरी त्यहाँको पुरानो सत्ताका विरुद्ध लडेका थिए । सन् १९९८ मा भएको राष्ट्रपतीय चुनावमा ५६ प्रतिशत मत ल्याएर उनले चुनाव जितेका थिए । राष्ट्रपति बन्न पुगेका चाभेजले राष्ट्रियकरणलाई अघि बढाएका थिए । उनी शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास र रोजगारीको पूर्ण सुनिश्चितताको मुद्दालाई लागू गर्दै थिए । कहाँसम्म भने त्यहाँ रहेका अमेरिकी तेल कम्पनीहरूलाई पनि राष्ट्रियकरण गरेका थिए । यति मात्र होइन, होटेलहरूलाई पनि सरकारीकरण गर्न पुगेका थिए । साथै उनले अमेरिकालाई संयुक्त राष्ट्रसङ्घको बैठकमा नै सैतान र साम्राज्यवादी देश भनेका थिए । यसले गर्दा अमेरिका भेनेजुयला र ह्युगो चाभेजका विरुद्ध विभिन्न षड्यन्त्र गर्न थालेको थियो ।

मूल रूपमा अमेरिकाले ९६ प्रतिशत तेल निर्यात गर्ने अमेरिकी तेल कम्पनीहरूलाई राष्ट्रियकरण गरिएपछि र त्यहाँ रहेका सुन र हीराका खानीलाई भेनेजुयलाले आफ्नो नियन्त्रणमा लिएपछि सन् २००० देखि ह्युगो चाभेजका विरुद्ध विभिन्न षड्यन्त्र गर्न थालेको थियो । उसले त्यहाँका जनतालाई चाभेजका विरुद्ध उचाल्ने, एनजीओ÷आईएनजीओहरूलाई घुसपेठ गर्नेजस्ता हर्कतहरू गर्दै आएको थियो । ५ मार्च २०१३ मा ह्युगो चाभेजको उपचारकै क्रममा क्यान्सरले ग्रसित भई मृत्यु भएको घोषणा वर्तमान राष्ट्रपति निकोलस मडुरोले गरेका थिए ।

चाभेजको उत्तराधिकारीका रूपमा मडुरो राष्ट्रपति बनेका थिए । २० मे २०१८ मा भेनेजुयलामा राष्ट्रपतिको चुनाव भयो । उक्त चुनावमा ९३ लाख ८१ हजार २ सय १८ मत खसेकोमा मडुरोको भेनेजुयला संयुक्त समाजवादी पार्टीले ६७.८४ प्रतिशत अर्थात् ६२ लाख ४४ हजार १६ मत ल्याएर विजयी भएको थियो ।
तर निर्वाचन भएको केही समयदेखि नै चुनावमा धाँधली भएको, प्रजातान्त्रिक प्रक्रियापद्धति नअपनाइएको भन्दै अमेरिकालगायत केही शक्तिराष्ट्र भनाउँदाहरूले चुनावको परिणामलाई मान्यता नदिएको भनी उचाल्न थालेका थिए । त्यही क्रममा भेनेजुयलामा अहिले मडुरोविरुद्ध अमेरिकाको आडमा आन्दोलन भैराखेको छ । अहिलेसम्म २६ जनाको ज्यान पनि गएको छ । गत शुक्रबार २३ जनवरी २०१९ मा भेनेजुयलाका राष्ट्रपति निकोलास मडुरोका विरुद्ध अमेरिकी जासुस संस्था सीआईए समर्थित जुवान गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । त्यसको लगत्तै गुएइदोको समर्थनमा भन्दै पश्चिमा देशहरूले वक्तव्यबाजी गरेका थिए । त्यसका साथै मडुरोका पक्षमा पनि समर्थनका वक्तव्यहरू आउन थालेका छन् । मडुरोका पक्षमा वक्तव्य प्रकाशित गर्नेहरुमा चीन, रुसजस्ता अति शक्तिशाली देशहरू र अन्य साना देशहरू टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिको, इरान र प्रजातान्त्रिक जनगणतन्त्र कोरियालगायत छन् । त्यसैगरी देशभित्र न्यायिक निकाय, निर्वाचन प्राधिकरण र राष्ट्रिय सेनाले पूर्ण रूपमा सहयोग र समर्थन गरेका छन् ।

गुएइदोका पक्षमा पनि समर्थन रहेको भनी अमेरिकालगायत दक्षिण अमेरिकी देशहरू, युरोपेली देशहरू, विपक्षी दलको बाहुल्य रहेको नेसनल एसेम्बली न्यायिक क्षेत्रबाट निष्कासित व्यक्तिहरू रहेका छन् । यी परिघटनाहरूलाई हेर्दा एउटा सानो देश भेनेजुयलाको राजनीतिका रूपमा मात्र बुझ्न सकिन्छ । तर यसले विश्वका महाशक्तिशाली राष्ट्रहरूलगायत अन्य राष्ट्रहरूमा पनि तीव्र ध्रुवीकरण चलिरहेको छ । हुनत पछिल्लो क्रममा भेनेजुयलाको राजनीतिक परिघटनालाई लिएर मात्र विश्व विभाजित हुन पुगेको होइन, प्रजग कोरिया, टर्की, सिरिया, इरानजस्ता देशका विषयमा पनि विश्व विभाजित भइरहेको छ ।

साथै पछिल्लो क्रममा अमेरिका र चीनबीच भएको घोषित व्यापार युद्ध र चिनियाँ मोबाइल कम्पनी र त्यसका मालिकमाथि अमेरिका र क्यानाडाले गरेको व्यवहारबाट झनै रुष्ट हुँदै गइराखेको छ । अमेरिकाले पछिल्लोक्रममा विश्वका सबैले छर्लङ्ग हुनेगरी देखेको भेनेजुयलामाथिको हस्तक्षेपले आगोमा घिउ थप्ने काम गरेको रूपमा विश्लेषण गर्न थालिएको छ ।

यसरी भेनेजुयलाको आन्तरिक राजनीतिमा अमेरिकाको प्रत्यक्ष हस्तक्षेप र त्यसमा अनुदारवादी र अमेरिकाका पिछलग्गु देशहरूले गरेको समर्थनबाट ध्रुवीकृत हुन पुगेको विश्व अब भेनेजुयलामा मात्र सीमित रहन सकेको छैन । अमेरिकाको विशुद्ध तेल, सुन र हीरा लुट्ने स्वार्थमा सीमित रहेको मुद्दाबाट बन्न गएको पछिल्लो भेनेजुयलाको राजनीतिलाई अमेरिकाले प्रो—सोसलिस्ट देशलाई साम्यवादको बिल्ला भिराएर सिध्याउने प्रपञ्च रचिराखेको छ । त्यसैले पछिल्लोक्रममा विश्वमा देखापरेका अन्तर्विरोधहरू र त्यसको केन्द्र बन्न पुगेको भेनेजुयलाको परिघटनाले धेरै कुरा सतहमा ल्याइदिएको छ । यसको हलचल नेपालमा पनि परिराखेको छ । नेपालका न्यायका पक्षधर राजनीतिक पार्टी र सङ्गठनहरूले अमेरिकी साम्राज्यवादको हस्तक्षेपका विरुद्ध प्रतिवाद गरेका छन् ।

सम्पादकीय

२०७५ माघ २० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :