किन तर्सिन्छन् शासकहरू जनताका गीत–सङ्गीतबाट


लोककलाकार पशुपति शर्माको लुट्न सके लुट गीतमाथि सरकारले लगाएको प्रतिबन्धका कारण अहिले समाज तातेको छ । सरकारी नेकपाका कुनै पात्रले फोन गरेरै शर्मालाई उक्त गीत यूट्युबबाट हटाउन धम्की दिएपछि र शर्माले उक्त कुरा सार्वजनिक गरी गीत यूट्युबबाट हटाएपछि वर्तमान सरकार गलत कामकारबाहीबाट आहत नेपाली समाज पशुपति शर्माका पक्षमा जुरुक्क उठ्यो र गीतको समर्थन ग¥यो । गीतले पीडित र आक्रोशित जनसमुदायका पीडाहरूलाई सम्बोधन गर्दै वर्तमान शासकहरूका कर्तुतहरू उदाङ्गो पार्ने प्रयास गरेको थियो । गीतका केही शब्द यस्ता थिए :
गणतन्त्र ल्यायेम् भन्छम् फालेम् भन्छन् राजा
त्यै फालेका राजाजस्ता कैयौँ निस्के आज
जनताको मुटुभित्र काँडा कतिकति !
डेढ अर्बको हेलिकोप्टर चढ्छिन् राष्ट्रपति
लुट्न सके लुट कान्छा लुट सके लुट
अरू देशमा पाइँदैन नेपालमै हो छूट ।

गीत प्रगतिवादी र क्रान्तिकारीभन्दा पनि प्रगतिशील चेतनाबाट प्रभावित यथार्थवादी छ । असन्तुष्ट जनसमुदायको हृदय छुने खालको छ । यही कारण शासनसत्तामा बसेका मानिस प्रलापपूर्ण धम्कीमा उत्रिए । उनको गीतले भनेको थियो :
वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे
सुनकाण्ड खै कहाँ पुग्यो जेलमै छन् कि छुटे
ठूलै नेता भ्रष्टाचारी न डराउँछन्–लुक्छन्
कार्याकर्ता क्यै बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्…

पशुपतिको यो गीत यथार्थभन्दा टाढा छैन । स्रष्टाहरू स्वाभाविक रूपमै आलोचक हुन्छन् । असङ्गति, विसङ्गति र जालझेल रुचाउँदैनन् । प्रगतिशील चेतनाका हुन्छन् । राज्यसत्ताले जनतामाथि गरेको दमन, अन्याय, अत्याचर र जालझेलको विरोध नगर्ने स्रष्टा प्रगतिशील हुन सक्तैन । नाउँमा प्रगतिशील झुन्ड्याउँदैमा कोही प्रगतिशील हुन सक्तैन । यसरी एउटा स्रष्टाको सिर्जनाको हत्या गर्ने सत्ताविरुद्ध चुँ नबोल्नेहरू प्रगतिशील हुन सक्तैनन् ।

२०५२ सालमा तत्कालीन अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय सदस्यसमेत रहेका सामना परिवारका कलाकार ध्रुव ज्ञवाली (जनयुद्धका सहिद) ले गाउनुभएको थियो :
क्रान्तिकारी
निस्क न झट्टै निस्क
बन्दुक बोकेर निस्क
यही गीतसमेत समेटिएका अभिवादन र हुरी चल्दैछ, आँधी आउँदैछ नामका गीति एल्बमहरू तत्कालीन सरकारले बजारबाटै जफत गरेको थियो । त्यतिेबला पनि समाज दुई भागमा विभाजित भएको थियो । सच्चा प्रगतिशीलहरू (कथित प्रगतिशील होइन), प्रगतिवादी अर्थात् माक्र्सवादी स्रष्टाहरूले सरकारको उक्त निन्दनीय कामको विरोध गरेका थिए । यिनै सन्दर्भहरूलाई लिएर सहिद कृष्ण सेन ‘इच्छुक’ ले त्यतिबेला लेख्नुभएको थियो ः
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ !
हाम्रा विचारमा प्रतिबन्ध लगाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि¥याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ !
यस्तै गीत लेखेका कारण इच्छुकले मारिनुप¥यो ।
१९७७ सालमा मकैको खेती पुस्तकका लेखक कृष्णलाल अधिकारीले राणाशासकहरूलाई मकैमा लाग्ने रातो टाउको र कालो टाउको भएका कीरा विदेशी कुकुरसँग तुलना गरेका थिए । राणा शासक चन्द्रशमशेरले कृष्णलाललाई जेलमा हाले र त्यहीँ सडाएर मारे ।

यसै सन्दर्भमा पशुपति शर्माको गीत यूट्युबबाट हटाइएको विरोधमा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसंस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाले विज्ञप्ति जारी गर्नुभएको छ ।
केपी–प्रचण्ड गठबन्धन सरकारले गायक पशुपति शर्माको ‘लुट कान्छा लुट, सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ शीर्षकको जागरणमूलक गीत बन्द गराएको छ । सरकार, सरकारका केही मन्त्री र सरकारनिकट भ्रातृ सङ्गठनको धम्कीपूर्ण चर्को दबाबपछि उक्त गीतलाई अहिले यू ट्युबबाट हटाइएको छ । पशुपति शर्मा जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ ।

उक्त विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विरोध तथा भत्र्सना गर्दै सरकारको यस्तो किसिमको रबैयाको निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत भएको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाले प्रेसविज्ञप्ति प्रकाशित गर्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘केपी–प्रचण्डको सरकार यतिबेला दुईतिहाइको कम्युनिस्ट आवरणमा दिन–प्रतिदिन देश र जनताका विरुद्ध जाइलाग्दै आएको छ । ‘शान्ति र समृद्धि’ को भाषण गरेर नथाक्ने यो सरकारले पशुपति शर्माको ‘लुट कान्छा लुट सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको जागरणमूलक गीतमाथि जाइलाग्दै बन्द गराएको छ । सरकार, सरकारका केही मन्त्री र सरकारनिकट भ्रातृ सङ्गठनको धम्कीपूर्ण चर्को दबाबपछि यो गीतलाई अहिले यू ट्युबबाट हटाइएको छ । सरकारको यो हददर्जाको निकृष्ट रबैयाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । यो सरकारको अर्को निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत हो । नेपाली समाज आज विभिन्न समस्याबाट गुज्रिरहेको छ । अधिकांश समस्याका मुख्य कारक तत्व सरकार आफैँ बन्न पुगेको छ । सरकारकोे यस किसिमको रबैयाको चारैतिरबाट विरोध र भत्र्सना पनि हुँदै आएको छ । यही विरोध, भण्डाफोर र जनजागरणस्वरूप पशुपति शर्माले प्रस्तुत गीतबाट नेपाली जनताका बीचमा जुन जागरण फैलाउन कोसिस गर्नुभएको छ त्यसका निम्ति हामी पशुपति शर्मालाई धेरैधेरै धन्यवाद दिन चाहन्छौँ । देशभक्त, क्रान्तिकारी, परिवर्तनप्रेमीहरूलाई कथित दुईतिहाइको दम्भमा बन्दुक र बुटको आतङ्क सिर्जना गर्दै देश र जनताका विरुद्ध उभिएको यो सरकारका विरुद्ध गीतबाट यति बोल्नु पनि साहसिक कार्य हो । यस्तो साहसिक कार्य गर्नुभएकोमा हामी उहाँलगायत यो गीतसित सम्बद्ध सबैलाई हार्दिक बधाई पनि भन्न चाहन्छौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालका लेखक, साहित्यकार तथा कलाकारहरूले आआफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ । महान् जनयुद्धमा कलाकारहरूको अत्यन्त महत्वपूर्ण भूमिका थियो । जनयुद्धका क्रममा कैयौँ कलाकारले बलिदानको कोटा चुक्ता गर्नुभयो । जनविरोधी शासनव्यवस्था अस्वीकार गरेकै भरमा कवि कृष्ण सेन ‘इच्छुक’ लाई सत्ताले महेन्द्र पुलिस क्लबमा कुटीकुटी हत्या गरेको थियो । जनआन्दोलनका क्रममा सहरका कलाकारहरूले सडकमै उत्रिएर परिवर्तनको स्वर घन्काउनुभएको थियो । जुन कलाकारको परिवर्तनको स्वर र बलिदानले वर्तमान सरकार सत्तासीन हुन पुगेको छ, आज तिनै कलाकारलाई यो सरकारले दुस्मन ठानिरहेको छ । यो आश्चर्यको विषय हो ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कुनै पनि देशका न्यायप्रेमी तथा स्वतन्त्रताप्रेमी नागरिक खराब शासक र खराब व्यवस्थालाई स्वीकार्न बाध्य छैनन् । कलाकारलाई गीतका माध्यमबाट आफ्ना भावना व्यक्त गर्न रोक लगाउनु सरासर फासिवादी चिन्तनको उपज हो । यसले सरकार जनताको कुरा सुन्न तयार छैन भन्ने कुरालाई नै प्रमाणित गर्दछ । जनताका मौलिक हकअधिकारका विरुद्ध स्वयम् सरकार उभिएपछि यतिबेला तिनका विरुद्ध सशक्त प्रतिवाद गर्नु, प्रतिरोध गर्नु जनताको नैसर्गिक अधिकार बन्न पुगेको छ । आज राष्ट्रियता, जनतन्त्र र जनजीविकाको प्रश्न गम्भीर मोडमा पुगेको त छँदैछ, सरकार जनताका लेखक, साहित्यकार तथा कलाकारलाई खतरनाक दुस्मन ठान्दै तिनका विरुद्ध व्यापक दमनमा उत्रिएको छ । पशुपति शर्मा र उहाँको उक्त गीतमाथिको प्रतिबन्धलाई हामीले फासिवादी प्रकरणको निरन्तरताको नयाँ परिघटनाका रूपमा लिएका छौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनताका हरेक न्यायपूर्ण परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह मात्र गरेको छैन, इच्छुकलगायत १७० भन्दा बढी सांस्कृतिक योद्धाहरूले बलिदानको कोटा चुक्ता गरिसक्नुभएको छ । हाम्रो सङ्गठन जनताका आवाज–भावना मुखरित गर्ने कुनै पनि कलाकार र तिनका सिर्जनकर्ममाथि हुने दमनका विरुद्ध उभिन चाहन्छ । प्रतिरोध गर्न चाहन्छ । जनताका आवाज मुखरित गर्ने गीतलाई प्रतिबन्ध लगाइनु अत्यन्त निन्दनीय छ । यसर्थ हामी जनताका पक्षमा उभिने कुनै पनि कला तथा कलाकारको अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सम्बन्धित पक्षसित अपिल गर्दछौँ । अन्यथा हामी यो सरकारका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौँ । यसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् सरकार हुने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’

अन्त्यमा पशुपति शर्माको गीतको एक अंश उल्लेख गर्दै यो टिप्पणी यही अन्त्य गर्छु :
हजुर बा नि यसै मरे बाउ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति विकास कैले गर्छन्
गर्ने काम केही हैन ठूलाठूला भाषण
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन …

२०७५ फागुन ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :