कसले चिनेको छैन र !

कविता

बलिदानदेखि खुट्टा कमाएर
भोगविलासमा ¥याल चुहाएर
नैतिक मूल्यको पतनमा
किनिएका तिम्रा वैभवहरू ।

कसले देखेको छैन र
सहिदको रगतका फाल्साहरूलाई
कालीन र गलैँचामा बदल्नेहरू
घाइते, अपाङ्ग योद्धाको वीरतालाई
सुनचाँदीमा बदल्नेहरू
तिम्लाई कसले बुझेको छैन र ?

आत्मसमर्पणबाट पाएको तिम्रो जीवनदान
वर्गवैरीका टाङमुनि छिरेर
पाएको मानसम्मान
आफू हुर्केको झुपडीमा डोजर लगाएर
गद्दारीको बदला पाएको महलमा उभिएर

तिमीले डकारेको, निमुखालाई हकारेको
तिम्रो अहङ्कार कसले सुनेको छैन र ?

टिक्ने छैनन् तिम्रा जल्लादी हुकुमहरू
अस्वीकार्य हँुदैछन् तिम्रा फरमानहरू
इतिहासले गर्नेछ तिम्रा हिसाबकिताबहरू
छिट्टै धुलोमा मिल्नेछन् तिम्रा रबाफहरू ।

तिमीलाई कसले चिनेको छैन र
क्षणिक तिम्रा आत्मरतिका अट्टाहासहरू
तिमीले लुटाएका मातृभूमिका हुर्मतहरू
अहिले बाहिर आइरहेका छैनन् सबै नामहरू
छिट्टै बाहिर आउनेछन्,
बादशाह नाङ्गै छ भनी चिच्याउनेछन्
सधैँ रहन्न तिम्रो अत्याचार
को बन्छ तिम्रो मतियार
क्रान्तिकारी जनताले फैसला सुनाउनेछन्
तिम्रो मृत्युमा उत्सव मनाउनेछन्
भौतिक रूपमा तिमी रहौला–नरहौला
तिम्रा चिहानमा काँडा रोपिनेछ
लाखौँलाखद्वारा त्यहाँ थुकिनेछ
तिम्रो इतिहास गद्दारीको प्रतीक बनेर लेखिनेछ ।

 

२०७५ पुस १ गते अाइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :