कतार मोर्चाले मनायो २४ औँ जनयुद्ध दिवस

 

कतार : नेपाली मजदुरहरूको प्रतिनिधित्व गर्दै आएको नेपाली जनप्रगतिशील मोर्चा कतारले मजदुर मुक्ति तथा उत्पीडित वर्गका मागहरूलाई आफ्नो प्रमुख एजेन्डा बनाएर जनयुद्ध दिवसको २४ औँ वर्षगाँठ सम्पन्न गरेको छ ।

मोर्चाका महासचिव जयकिशोर पोद्दारद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता मोर्चाका अध्यक्ष शिशिर भण्डारीले गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका मध्यपूर्व सेक्रेटरी तथा कतार मोर्चा सल्लाहकार प्रमुख रमेश गिरीको उपस्थिति थियो ।

कार्यक्रममा सल्लाहकारहरू रेशम पौडेल, श्रीकृष्ण भट्टराई, राजेन्द्र लिम्बू, टीका नेपालीलगायतको उपस्थिति थियो । १० बर्से जनयुद्धमा सहादत प्राप्त गर्ने महान् सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको कार्यक्रममा जनयुद्धमा दाजु गुमाएका गोमा मगर र बुबा गुमाएका बिर्ख शाहीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महिला प्रमुख जमुना श्रेष्ठले आधा आकाश ढाकेका महिलाहरू मुक्तिका निमित्त सशक्त भएर क्रान्तिमा लामबद्ध हुनुको विकल्प नहरेको बताइन् । उनले जो जहाँ रहे पनि देश, जनता र महिला मुक्तिको सङ्घर्षमा एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले नेपालमा अबको क्रान्ति निर्णायक हुने भएकाले युवाहरूको उत्साहलाई संस्थागत गर्दै सङ्गठित भएर अगाडि बढ्न सुझाव दिइन् ।

र्काक्रममा रमेश गिरीले जनयुद्ध दिवसको २४ औँ वर्षगाँठसम्म आइपुग्दा देशमा विभिन्न उतारचढावहरू सहेर पनि युवाहरूमा देखिएको उत्साहले नयाँ नेपाल निर्माण गर्न एकीकृत जनक्रान्तिको विकल्प नरहेको बताए । उनले यो जिम्मेवारी युवाहरूले नै पूरा गर्ने आशा दर्साउँदै यो उत्साहलाई अन्तिमसम्म निरन्तरता दिन पनि उपस्थित सबैमा सुझाव दिए ।

कार्यक्रममा सल्लाहकार रेशम पौडेल, श्रीकृष्ण भट्टराई र राजेन्द्र लिम्बूले पनि क्रान्तिमा सहयोगका लागि प्रतिबद्ध रहेको धारणा राखे । एकीकृत जनक्रान्तिमा प्रत्यक्ष योगदान दिने उद्देश्य राखेर स्वदेश फर्किन लागेका मोर्चाका कोषाध्यक्ष गणेश विकलाई उनको योगदानको कदर गर्दै ससम्मान बिदाइ गरिएको थियो । सचिव रवीन पुनलाई कोषाध्यक्षमा नियुक्ति गरिएको र सदस्य वेद बोहोरालाई सचिव तथा थप रिक्त स्थानमा विभिन्न एकाइका जिम्मेवार चारजनालाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरिएको जनाइएको छ ।

सोही अवसरमा अध्यक्ष सुरेन्द्र चौधरी, सचिव गौरव सूर्यवंशी, कोषाध्यक्ष थमनबहादुर, सदस्यहरू सुभास तामाङ, महेन्द्र सुनार, कृष्णमान श्रेष्ठ, देमान थापा, जितबहादुर चौधरी, कुमार कार्की, मदनकुमार वान्तवा राई रहेको ११ सदस्यीय एकाइ गठन गरिएको छ ।

२०७५ माघ २६ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :