अखिल (क्रान्तिकारी) क्याम्पस जिल्लाको विरोध प्रदर्शन

 

काठमाडौँ : अखिल (क्रान्तिकारी) क्याम्पस जिल्लाले काठमाडौँको त्रिचन्द्र क्याम्पसमा बिहीबार विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारीले निर्मला पन्तको बलात्कारपछि हत्याको विरोध गर्दै बलात्कारी र हत्यारा पत्ता लगाएर कारबाही गर्न माग गरेको छ । साथै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डलगायत नेता–कार्यकर्ताहरूलाई सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग पनि गरेको छ ।
सरकारी कदमको विरोध गर्दै आयोजना गरिएको प्रदर्शनमा क्याम्पस जिल्लाका उपाध्यक्ष प्रभात भट्टाराईले निर्मला पन्तका हत्याराहरूलाई केपी ओली र रामबहादुर थापाको फासिवादी प्रशासनले संरक्षण गरिरहेको दाबी गरे । उनले पार्टी प्रवक्ता प्रकाण्डलाई गैरन्यायिक रूपमा गिरफ्तार गरी कानुनको खिल्ली उडाएको बताए । भट्टाराईले सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिए पनि सरकारले आदेशको पालना नगरी नेपाललाई सामाजिक फासिवादको प्रयोगशाला बनाउन खोजेको बताउँदै नेपाली जनताले गृह प्रशासनलाई सबक सिकाउने उद्घोष गरे ।

क्याम्पस परिसरमा आयोजित प्रदर्शनको नेतृत्व क्याम्पस जिल्लाका अध्यक्ष उषाकिरण आजादले गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्लासचिव तारा सञ्ज्यालले गरेकी थिइन् ।

२०७५ असाेज ४ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :